मुखपृष्ठ

Tuesday, September 30, 2014

मिथ इबरा



 
मिथ इबरा
कति सत्य, कति भ्रम

- राजा पुनियानी



आईबी राई दार्जीलिङे साहित्यको बाघ

आईबी राई दार्जीलिङे साहित्यको बाघ हो, केवलचन्द्र लामाले भने।
त्यसकै अर्को वर्षतिर यसो पनि भने – आईबी राई बिना नेपाली साहित्यको के कुरा! राई त फेनमेना हो नि भाइ।
निक्कै पछि यसो पनि भने, कत्ति मीठो बोल्छ हौ बूढ़ोले। आम्मामा... बोल्नु पनि जानेकै हो। कुरा पनि आकै हो
लामा दार्जीलिङे उम्दा कवि-चित्रकार-गीतकार हुन्। पहिलोपालि लामाको अनुहारमा कुण्ठा र क्रोधको मिश्ररङ थियो। अर्कोपालि थियो पवित्र भक्तिभाव। त्यसको पनि अर्कोपालि थियो अग्लो श्रद्धा। जीवनको अस्सी दशकको मझेरीबाट गुज्रिरहेका आईबी राईलाई यसरी यस्तै विरोधाभासहरूमा हेरिन्छ अचेल। व्यक्त नभई हाले पनि केही सर्जक आईबी राईको जटिल व्यक्तित्वको मौन विरोध जनाउँछन्। 
नेपाली साहित्य चर्चामा लिनै पर्ने नाम। दार्जीलिङको नेपाली साहित्यमा चुलिएको व्यक्तित्व आईबी राई। इन्द्रबहादुर राई। विपना कतिपय (सन् १९६१), आज रमिता छ (सन् १९६४), कठपुतलीको मन (सन् १९८९) - जस्ता मास्टरपीस कृति दिएर दार्जीलिङको नेपाली साहित्यमात्र नभएर डल्लै वैश्विक नेपाली साहित्यकै लागि एक लिजेण्ड भइसकेका इन्द्रबहादुर राई।
यिनको प्रसङ्गमा दार्जीलिङे साहित्यिक शिविरहरूमा थरी थरीका मत, उक्ति र धारणा प्रचलित छन्। यिनलाई कि मान्ने कि नमान्ने – यी दुइ वारपारे खेमामा बाँड़िएका छन् लेखक र पाठक। राईलाई लिएर ठूलै जमातको आजको स्थिति भनेको कवि लामाको झैँ अन्तर्विरोधी स्थिति हो। यस जमातले वैचारिक अन्तर्विरोधको पेण्डुलममा हल्लिँदै राईलाई घरी हिरो-लेखक देख्छन् त, घरी भिलियन-लेखक

राईको मार्क्सवादी एलर्जी

सन् १९८०-को दशकमा राई भिड़े कथित प्रगतिवादी’-हरूसँग। आइडियोलोजीमा प्रतिबद्ध साहित्यकारहरूले साहित्यलाई अपहरण गरिरहेको आरोप लगाए उनले। आइडियोलोजी नै आइडियोलोजीहरूको बैशाखी बिना नउभिने राईले आइडियोलोजीको घोर विरोध गरे। दार्जीलिङे प्लेटोकै भूमिका वहन गरे। जनतामुखी लेखक-कविलाई लगभग उठीवासै लगाउने रवैया। सन् १९८३-मा दार्जीलिङे फुचुना कामरेड भाइहरूको बाठे दाइ भएर किताबै लेखे राईले साहित्यको अपहरण। किताबलाई उनले कम्युनिस्ट लेखनको जाँचकाम ठहर गर्दै कम्युनिजमको एकपाखे आलोचक भए। किताबको आठौँ अध्यायको फेदमा लेखे -  प्रतिबद्ध (कि सीमाबद्ध) लेखाइको छोटो जाँच यो लेख्दा कम्युनिस्ट तहमा ओर्लनु पर्दा मलाई ग्लानि लागेको छ। कम्युनिस्ट लेखनको चर्चामात्र गर्दा समेत ग्लानि लाग्ने राईलाई आफूलाई कम्युनिस्ट लेखक भाइहरूले बुर्जुआ लेखक भनेकोमा ठूलै इख बोकेका थिएछन् भन्ने लाग्छ। कम्युनिजमको रटुवा ज्ञान राखेका र कम्युनिजमलाई टुप्पो-टुप्पोबाट मात्र बुझ्ने दार्जीलिङे लोकल कामरेडहरूको गतिविधि हेरे राईले। ठाने- हो न हो कामरेडहरू त यस्तै बौद्धिक गुलाम हुन्छन्। वैज्ञानिक महामत मार्क्सवाद रानीमासुको भेउ नपाई छाला-छालामै छामेर आलोचना गरेको थाहा पाइन्छ।
संशोधनवादी कम्युनिस्टहरूको सुधारवादी क्रियाकलापको धराप कसौटीमा राखेर राईले किताबभरि मार्क्सवादको सिद्धान्त र व्यवहारलाई आलोचना गर्ने धृष्टतै गरेका मार्क्सवादी जानिफकारहरूले ठाने। कम्युनिस्ट लेखकको मार्क्सवादी विचारधाराप्रतिको प्रतिबद्धता भनेको लेखकीय स्वतन्त्रताको हरण हो भन्ने ठोकुवा गरे। नेपाली दार्जीलिङे साहित्यलाई प्रगतिवादी लेखनले रावण भएर सीतालाईझैँ अपहरण गरेको आरोप कसेर प्रगतिवादी र गैर-प्रगतिवादी खेमामा निकै चर्चामा आए आईबी राई। तर उनी पनि कुनै न कुनै विचारधाराको टेवामा अड़ेसो लागरे बोल्दैथिए भन्ने चाहिँ आफैले भुलेका थिएछन्। उनी आफै पनि जातीयतावादी विचारधारा’-प्रति कति प्रतिबद्ध थिए, त्यो उनलाई दिइएको साहित्य अकादमी पुरस्कार (ताम्र प्रतीक र भारू ५ हजार) सन् १९७९-मा फिर्ता पठाउने चिट्ठी लेखेर देखाइदिइसकेका थिए। तत्कालीन प्रधानमन्त्री मोरारजी देसाइले दिएको बयाननेपाली भाषा विदेशी भाषा हो - को साङ्केतिक विरोधस्वरूप पुरस्कार फिर्तीको चिठी लेखे। अकादमीले मान्यो-मानेन, त्योबारे प्रायः अनभिज्ञ छन्।
प्रगतिवादको सही फड़्को मार्न नपाई दार्जीलिङमा प्रगतिवादी साहित्यको लगभग अवसानै भयो। विकास गोतामेको देह अवसानसँगै पहिलो अवसान भयो। प्रगतिवादी सिर्जना सम्भावनायुक्त नेपालमुखी अखिल भारतीय नेपाली एकता समाज’-को टेक्निकल पूर्ण अवसानपछि भने दोस्रो अवसान भयो दार्जीलिङे प्रगतिवादी लेखनको। एक त प्रगतिवादी लेखनको टुसासम्म मात्र लाग्दैगरेको अवस्था। अर्कोतिर बङ्गालमा मखुण्डे कम्युनिस्टहरूको चर्तिकला। दार्जीलिङे नेपाली साहित्यमा प्रगतिवादी लेखनले राईको नियोजित प्रचारका मारमा सदालाई हिमनिद्रा भोग्नुपरेको हो।
राईलाई प्रगतिवादी साहित्यसँगको एलर्जी जगजाहेर थियो। भिड़े उनी। उनीसँग भिड़ियो दार्जीलिङको पहिलो पुस्ताको सिकौरे काँचो प्रगतिवादी लेखक जत्था। पछि गएर यिनै राईले लेख-लेखमा, बात-बातमा त्यही प्रगतिवादी साहित्यका दर्शन स्रोत मार्क्सकै थाङ्ग्रा लगाइरहे। राईको यस्तो दुइधारे साहित्यिक व्यक्तित्व उनले साहित्यको अपहरण लेखेको धेरै वर्षपछि लीला लेखनकालमा भने खुलेरै एक्सपोज्ड भएको हो। कुनै न कुनै ढङ्गमा मार्क्सवादीहरूसँग जोगिनू भन्ने राईले मार्क्सलाई नै पनि जसोतसो तानिछाड़े उनको थोरै बुझिएको र धेरै हल्ला पिटिएको लीलालेखन’-मा।          

कम्युनिस्ट सरकारकै पुरस्कार थाप्दा

संसदमुखी विभाजित कम्युनिस्ट पार्टीले पनि पश्चिम बङ्गालमा सत्तामा आएदेखि एकपछि अर्को सैद्धान्तिक र व्यावहारिक भूल गर्दै अन्ततः संशोधनवादी बाटो हिँड़ेको हो। कम्युनिस्ट नेता बुद्धदेव भट्टाचार्यले द टेलिग्राफ-लाई दिएको एउटा अन्तर्वार्तामा आत्मस्वीकृति गरे – हामी पूँजीवादी कम्युनिस्ट भैसकेका छौँ।प्रगतिवादी लेखकहरूको नाममा दुमो लेखकहरूमध्ये दार्जीलिङमा सबैभन्दा अघि थिए गणेशलाल सुब्बा। सुब्बा र राई जिगरी पनि थिए एकार्काका।
प्रगतिवादी लेखनमा हौसिएका अन्यान्य लेखक थिए बद्रीनारायण प्रधान, नन्द हाङ्खिम, भीम योञ्जन, असीत राई। र पछिबाट चहकिला कवि विकास गोतामे। यी बढ़ीजसो प्रगतिवादी भनिने लेखक नै त्यस कम्युनिस्ट पार्टीका नजिक थिए, जुन पार्टी पछि गएर यहाँको गहिरो जरामा उभिएको जनाकाँक्षा अलग राज्यको विरोधमा बलियो गरी उभिनपुग्यो। त्यसले गर्दा यी प्रगतिवादी लेखकलाई प्रगतिवादी कम र नारावादी धेर भएको आरोप पनि लाग्यो। चाखलाग्दो प्रकरण के भने आफूले यही उल्लिखित कारणले गाली गर्दै आएको कम्युनिस्ट सरकारले दिएको भानुभक्त पुरस्कार सन् २००२-मा थापे राईले। त्यसबेला मार्क्सवाद विरोधी राईको वैचारिक इन्टिग्रिटीतिर शङ्काको नजरले हेर्ने ठाउँ पनि प्रशस्तै बनिएको हो। 

राईको ख्याक र साहित्यिक हेजिमोनी

केवलचन्द्र लामाको पहिलो भनाइको मोटिफ् थियो - राई दार्जीलिङे साहित्यका दादा हुन्। लेखनमा उनले जे भन्छन्, त्यही हुनुपर्ने। उनले जे ठीक भन्छन्, त्यो गलत नहुने। जे बेठीक भन्छन्, त्यो ठीक नहुने। हुँदा-हुँदैको प्राज्ञदेखि आम, सबैले चलाउने सम्म नेपाली शब्दको सट्टा राईले हिन्दी शब्द तक लेखे बलजफ्ती। प्राज्ञदेखि अखबार, अखबारदेखि साहित्य र साहित्यदेखि जनता। बहुजनको एकमत थियो - दार्जीलिङलाई दार्जीलिङ लेखौँ। राईले एक्लैले ढिप्पी गरेर लेखे दार्जिलिङ। लेखिरहे। उनको लेख छपाउन माग्ने पत्रिका र दैनिक अखबारका सम्पादकलाई मीठो आदेश हुन्थ्यो- छाप्ने हो भने, जस्ताको त्यस्तै छाप्नू। राईको तक-लाई सम्मदार्जिलिङ-लाई दार्जीलिङ बनाउने हिम्मत कुनै मानिला सम्पादकको पनि भएन।
राई राई हुन्। राईलाई यसरी बिस्तारै पूजै गर्ने प्रवृत्ति पनि झाङिएर गयो दार्जीलिङे र गैर-दार्जीलिङे नेपाली साहित्यमा धरि। लगभग व्यक्तिपूजा र वीरपूजाकै हाराहारी उभिने राईपूजा’-ले विशेष गरेर दार्जीलिङको नेपाली साहित्यलाई दशकौँ ट्राफिक जाम गराइदियो। बीच-बीचमा त्यो जाम खुले पनि इन्द्रबहादुर राईको बड़ेमानको हावाजहाज गुड़िरह्यो पब्लिक बाटो भएर। कुनै लेखन, कसैको लेखनी लिएर उनी जे घोषणा गर्छन्, लगभग त्यही अन्तिम भन्ने प्रथा बसेको हो। हत्तपत्त राईले नस्वीकारे पनि राईको लेखकीय हेजिमोनी बहुतै प्रभावी छ। महाविद्यालय र विश्वविद्यालय तहका बौद्धिक गुलाम प्राध्यापकहरूको अन्धो आईबी राईभक्ति यो प्रथाको कोख बन्यो। त्यो भक्तिप्रथाको विद्यार्थीहरूमा सङ्क्रमण पनि भई नै रह्यो।
अलिखित रूपमा मानिन्छ - राईबारे तार्किक हेराइको कसौटीमा केही लेख्नु जोखिमभन्दा कम होइन। स्वयं आईबी राईले चाहेर होस् वा नचाहेर, उनको मूर्ति जिउँदैमा यसरी ठड़िसकेको हो। राईको ख्याक’-ले यसरी उनको मृत्यु नभई दार्जीलिङे नेपाली साहित्यलाई तर्साइरहेकै हो। राई एउटा यस्तो बाँधजस्ता पनि भए, जसले समस्त लेखकीय ऊर्जास्रोत नदीप्रवाहलाई थुनेर राखिदियो अनि उत्पादित ऊर्जालाई लेखन-विलास’-मै खर्चने दार्शनिक हुकूमनामा दिइराख्यो। 
बितेको दशक एक युवक पत्रकारले क्याक्टस छद्मनाममा यो जोखिम मोलेका थिए। राई साहित्यको नालीबेली अध्ययनको आत्मविश्वास एवं विभिन्न ज्ञानशाखाको हतियारको पौरख लिएर क्याक्टसले विचारद्वन्द्वको शङ्खघोष गरे। मैदान थियो सिलगढ़ीबाट निस्कने सुनचरी समाचार। सोझै हप्तैपछि ललकारे राईलाई। राई चुँ बोलेनन्। बोले त विश्वविद्यालयतिर पढ़ाउने उनका धुपौरे बौद्धिकहरू। क्याक्टसले मलाई राईका चेलाहरू होइन स्वयं राईकै जवाब चाहिन्छ भनेर ढिप्पी गरेपछि अन्तमा राईले एक कलम फ्यास्स उत्तर लेखे। टाटो मार्न खातिर। यसैबाट पनि अन्दाज लगाउन सकिन्थ्यो राईको वर्चस्व। लीलालेखनका सिद्धान्तपुञ्ज र वैचारिकतामाथि उठाइएका क्याक्टसका केही आधारभूत सवाललाई राईको निष्ठारक्षाखातिर षड़्यन्त्रपूर्वक दमन नै गरिएको थियो।         
मौखिकभन्दा बढ़ी लिखित अन्तर्वार्ता दिन रुचाउँछन् राई। पाण्डुलिपि-कै लागि अन्तर्वार्ता लिने भनेर कालेबुङबाट भाड़ा पिटी-पिटी  दार्जीलिङ हाँक्किएर गएका मनोज बोगटी निन्याउरो मुख लिएर रित्तो हात फर्कनु परेछ। मुखामुख बात मार्नुको मजा लिन नपाएर बोगटी थिए नाखुश। निराश। सरसँगको भेटघाट कस्तो भयो त, सोध्दा उनी भन्दैथिए, सर त आँखा त नजुधाइ बोल्छन्। भित्तातिर हेरेर भने, लेखेर पठाउनू प्रश्न। म पनि लेखेरै पठाइदिन्छू उत्तर           
दार्जीलिङको साहित्य संसारमा दशकौँ राईको बोलबाला रह्यो। हैकम पनि। धेरैले मनबाटै भन्न र दिमागबाटै लेख्न चाहेरै पनि भनेनन् पनि, लेखेनन् पनि राईको वैचारिक दखल र लेखकीय हेजेमोनी-बारे। आयामको कुरा गर्दा पनि ठीक्क। लीलाको कुरा गर्दा पनि ठीक्क। वस्तुता-को कुरा गर्दा पनि ठीक्क। अध्यात्मको कुरा गर्दा पनि ठीक्क। राईको वर्चस्व कायम रहिरह्यो। बौद्धिक जमातमा नै बढ़ी फेमस राईको पहुँच कहिल्यै आम मान्छे र आम पाठकसम्म भएन। जसको निम्ति एककाल राईले जोरजुलूम लेखे। आम मान्छेसम्म लेखनसँगै राजनैतिक मञ्च र कुटनैतिक पहुँचबाट पनि छेउ पुग्ने केशिश गरे। कोशिशले निरन्तरता पाएन। तिनी साहित्यिक भ्रमको खेती गर्नतिर लागे।
पहिले थोपे तेस्रो आयाम’-को नाममा पिकासोको क्युबिजम वा घनवाद। त्यसपछि थोपे बौद्ध शून्य, जैन स्यादवाद, सापेक्षवाद, फ्रायडवाद, गेस्टाल्ट, क्वान्टम मेक्यानिक्स, औपनिषदिक माया र मार्क्सवादी आइडियोलोजी आदिको ककटेल लीलालेखन। मार्क्सवादी आइडियोलोजीले योखाले सोरसारे प्रवृत्तिलाई सारसङ्ग्रहवादी भन्छ। अहिले आएर मरणोप्रान्त जीवनचिन्ता’- मा लीन राईले नेपाली साहित्य शिविरहरूमा थोपिरहेको सोच हो अध्यात्म। उनको वर्तमान चिन्ता भनेको उनी मरेपछि उनले आर्जेको समस्त ज्ञानपुञ्जको के हुने हो? के उनीसँगै यी समस्त ज्ञान जाँदैन त? बाग्राकोटले बर्सेनी दिन्छ बद्रीनारायण पुरस्कार। गएको वर्षको वितरण समारोहमा राईले साहित्यको नाममा रोचक पाराले उनको धर्मगुरूको कथा सुनाए। रून-रून खोजे। अन्तमा धर्ममै जीवनको प्रश्रय हुने ज्ञान थोपिराखे। उनी अहिले साहित्यिक कम, धर्मगुरू धेर लाग्छन्। 

इन्द्रबहादुर राईले मेरो कविता पढ़िदिएन

नोर्जाङ स्याङ्देन, राजेन्द्र भण्डारी, मनप्रसाद सुब्बाहरूपछिको केवलचन्द्र लामा, सञ्जय बान्तवा, सुधीर छेत्रीहरूको हाँचको लगभग दुइ दशक लामो लेखन साधनालाई राईले एक आँखाले पनि हेरेनन्। त्यसपछि अहिलेकालाई त झन् आधी आँखाले पनि हेरेका छैनन्। केवलहरूकै हाँचका कवि सञ्जय बान्तवाले त कवितैमा गुनासो गरे इन्द्रबहादुर राईले मेरो कविता पढ़िदिएन (अन्तिम प्रश्न - बान्तवा)। युवा हुँदा राईको साहित्यिक दबदबाप्रति व्यक्त गरेको साझा सोझो आक्रोशपूर्ण वाक्यमा पछि किताब छाप्दा बान्तवाले सुटुक्क आदरार्थी क्रिया थपिदिएको बताउँछन्। पढ़िदिएन -को पुछारमा चट्ट न् जोड़ेछन्। एकसमय बान्तवाको यो कविता उता नेपालका धुरन्धर युवा कवि श्रवण मुकारुङको बैरागी काइँलाको लाश’-कै हाराहारी पढ़्थे, वाच्थे दार्जीलिङे नयाँ छिमलका युवा कविहरू।
बान्तवाको त्यो युवा आक्रोश वा लाड़ेपल्टाइ सन् १९९०-को दशकको अन्तिम सन् २०००-को दशकसम्म दन्किरहेकै हुन्थ्यो। राईको रिकोग्निशननितान्त जरूरी हुने गर्थ्यो लेखकले लेखक होइनु। तर त्यसपछि बिस्तार इन्द्रबहादुर राईले मेरो कविता पढ़िदिएनभन्ने त्यो आम युवा क्षोभ आम वितृष्णामा फेरिँदै गएको थाहा पाइन्छ। पछिल्लो समयदेखि दार्जीलिङे साहित्यमा राईलाई पढ़्दै नपढ़्ने, मान्दै नमान्ने वा राईको पास सर्टिफिकेट खोज्दै नखोज्ने युवा जमात पनि पलाउँदै आएको हो। राईको भ्रामक लेखन संसारमा सचेत हस्तक्षेप गर्दै एक नयाँ सर्जकीय पुस्ताले बिस्तार राईलाई फाइनल वर्ड भन्नबाट पन्साइरहेको भेउ पाइँदो छ। अबउसोको लेखक पुस्ताले राईको लेबलिङ पर्खँदैन।      

कहाँ छन् विश्व साहित्यमा आईबी राई?

विश्व साहित्यमा शेक्सपियरबाट अङ्ग्रेजी साहित्य, चिनुआ अचेबेबाट अफ्रिकन साहित्यको प्रतिनिधत्व हुन्छ भने नेपाली साहित्यको चाहिँ इन्द्रबहादुर राईबाट किन हुन सकेन – संवेदनशील सवाल उठाए कवि बोगटीले। सामाजिक सञ्जाल फेसबुकमा। यो गहिरो सवाल धेरैलाई सवाल थियो र धेरै-धेरैलाई चुनौती। हौसिए धेरै बोगटीलाई लुछ्न, ताछ्न र घोच्न। तर कसैले सही निर्क्यौल गर्नै सकेनन्, किन नेपाल र भारत दुवैतिर ठूलै नाम पिटिएको राईले साँच्चै प्रतिनिधित्व गर्न सकेनन् विश्व साहित्य मञ्चमा नेपाली साहित्यको। धेरजसो तर्क नै फीका र व्यक्तिगत आक्षेपले उद्देश्यप्रेरित थिए। साहित्य चर्चा थोरै र राईको निष्ठा जोगाउने क्रम बढ़ी त्यो बहस उत्तिकै फुस्स भयो। सामाजिक सञ्जाल होस् वा वास्तविक समाज, यसरी नै हुने गर्छ गम्भीर बहसको अन्तिम संस्कार अचेल।
साँच्चै यति ठूलो ढर्रा भएको राई साहित्य अनुवाद भएर विश्व साहित्यमा जानु हो भने यसको के प्रतिक्रिया होला? यो गम्भीर प्रश्नै हो। यस सोचले राईको दीर्घ साहित्य लेखनको सान्दर्भिकता, उपादेयता र चिरस्थायित्वमाथि गहकिलो सवाल उठाउँदछ। यस्ता सोचले राईको कृतिलाई सही मूल्याङ्कन गर्ने अपेक्षा पनि राखेका हुन्। साहित्य अब राई आफैले एक ठाउँ स्वीकारेको साहित्यकारको कागजी विलासमात्र रहला वा संसार उपयोगी बौद्धिक साधन? यो चुनौतिपूर्ण परिधिमा राईका कृतिबारे सोच्नु हो भने रातभरि हुरी चल्योजस्तो राईको मास्टरपीस कथाले विश्व साहित्यमा गजबकै ठाउँ ओगट्छ, ठूलै आशा गर्न सकिन्छ। तर आज निक्कै चुलिइसकेको र अन्यान्य साहित्यलाई उछिनेसकेको अफ्रिकी निग्रो साहित्य, ल्याटिन अमेरिकी साहित्य र अरबी साहित्य सामु लीला लेखनको खिचड़ीको के होला, शङ्का गतिलै छ।
प्रश्न नेपाली साहित्यलाई विश्व साहित्यको पटभूमिमा उभ्याउनु हो भने देवकोटा, सम, भूपिहरूकै हाराहारी के इन्द्रबहादुर राईलाई पनि खड़ा गर्न सकिन्छ त भन्ने पनि हो। राईको भ्रान्तिको पैरवी गर्ने लीलालेखनले विश्व साहित्यमा नेपाली साहित्यलाई लिएर भ्रम नै बढ़ीभन्दा बढ़ी पैदा गर्ने सम्भावना बढ़ी छ। यसै त राईले लीलामार्फत् अघि ल्याएको उत्तर आधुनिकतासँग विशुद्ध मार्क्सवादीहरूकै पनि उस्तो लड़ाइँ छैन, जति राईको लड़ाइँ थियो मार्क्सवादीहरूसँग।
जिउँदैमा मिथ भइसकेका राईको आयामेली वस्तुता मिथक लीलालेखनसम्म आइपुग्दा बहुरूपी भ्रम र अजनबी धारणा भइसकेको हो। राईको मिथको भ्रम तोड़्न एउटा गतिलै यथार्थको अभियानको जरूरत छ - समकालीन दार्जीलिङे लेखक पुस्ताले यसरी समय संवादमा सोचिरहेको अवस्था हो यो।                  

चाहिएन इन्द्रबहादुर राईको कथा

 चाहिएन इन्द्रबहादुर राईको कथा। कविताबाट लेखेर भने जस योञ्जन प्यासी’-ले। आईबी राईको भाषा र वाक्यविन्यासले ल्याएको बाढ़ीले डल्लै दार्जीलिङे साहित्य सोहोरिएको लेखन प्रवृत्तिप्रतिको अभिव्यक्ति थियो यो उनको। शैली आवृत्तिबाट वरिक्तिएर उत्तराधुनिक भनिएको कविता लेखे प्यासीले।
जसले पनि राईकै भङ्गिमामा लेख्ता डल्लै साहित्यलेखन राईको रेप्लिकेशनजस्तो मात्र देखिएको थियो। राईको घेरोबाट मुक्तिन नसकेर दार्जीलिङे साहित्य दशकौँ थलियो। राईकै भाषा र यहाँसम्म कि वाक्यविन्यास र विचारधुरी समेत दोहोरिएको एकनासेपनले लेखन टाक्सिएको अवस्था टड़्कारो थियो। नयाँ लेखन पुस्ताले नयाँ भाषाको बान्की र नयाँ अभिव्यक्तिको तत्त्व दिनथालेको धेर भएको होइन।
राईले जीवनकालमा गरेका सामाजिक कटिबद्धताका प्रशंसनीय कामहरूमध्ये एक थियो – भाषान्दोलन। नेपाली भाषालाई भारतीय गणतन्त्रमा संवैधानिक स्वीकृति दिलाउन अग्रपङ्क्तिमा नेतृत्व गरे राईले। त्यसपछि थियो – भानुभक्तीय नेपाली भाषाको विनिर्माणमार्फत् छुट्टै दार्जीलिङे आञ्चलिक भाषाको साहित्य निर्माण।
दार्जीलिङमा बोलिने भाषालाई उनले साहित्यमा खिपेर हाले। समाजले टिप्यो उनको भाषा। समाजबाट उनले पनि टिपे। पछ्याउनेहरूले पछ्याए। दार्जीलिङे आञ्चलिक भाषाको व्यापक सफल प्रयोग थियो मत्स्येन्द्र प्रधानको बहुचर्चित उपन्यास नीलकण्ठ। त्यसपछि राईकै गोहो पछ्याउँदै परम्परा अघि बढ़ाउँदै लैजाने सर्जकहरू मोहन ठकुरी, मनप्रसाद सुब्बा, ज्ञानेन्द्र खतिवड़ा, केवलचन्द्र लामा, सञ्जय बान्तवा, उदय थुलुङ, सुधीर छेत्री, प्रवीण राई जुमेली, जय क्याक्टसहरूको लेखनीमा राईको भाषाको छायाँ हल्का वा गाढ़ा गरी परेको मान्नै पर्छ। कसैले कथामा सारे राईलाई, कसैले आलोचनामा र कसैले कवितैमा समेत सारे।
अबको लेखनको चुनौती भनेको यही आईबी राई धुरीय भाषाबाट बाहिरतिर छलाङ मार्नु।

राईको भ्रम र भ्रमको राई

खेलौँ बाँच्ने खेल। लीलेलेखनको सारकथन यै र यत्ति हो। - सन् १९९७-मा लिइएको लीलालेखनमाथिको अतिपठित एक अन्तर्वार्तामा भन्छन् आईबी राई। राईको बयान यस्तो पनि छ भोग र योग दुवै रहन्छन् लीलालेखनमा। लीलालेखन दुर्गाभवानी हुनपर्छ। ... अनुभूति, अनुभव भावावेग, बोध सबै लेखिन्छन् यसमा। तीहरू भ्रान्तिग्रस्त छन् पनि जान्दछौँ। भ्रान्त देखाउन विश्लेषणको सहायता समाउँछौँ।
नित्सेको इम्पल्स होस् वा सस्युरको संरचनावाद होस् वा देरिदाको विनिर्माण – लीलालेखनका आधार मानिएका यी धारणाहरूमा उनिएर आएको राई लेखनले चाहेको मान्छेको सम्पूर्णता मार्क्सवादको सारले पनि दिन चाहन्छ। कतै न कतै, कुनै न कुनै रूपमा कम्युनिजमको सम्पूर्ण निचोड़ यी सिद्धान्तमा छन्। राईले तानेको मार्क्सवादी आइडियोलजीले मानवको सम्पूर्ण मुक्तिको मार्गचित्र अगावै कोरेको छ। राईले जत्ति नै मार्क्सवाद अव्यावहारिक वा असफल भनुन् – उनको लेखनले मार्क्सवादकै सारतत्त्वको विस्तारीकरण गरेको छ। लेखनको उत्तरकालमा आएर राईको लीलाखेल साहित्य वास्तवमा साहित्यको कलात्मक पराकाष्ठा हो। यो शिल्पगत पराकाष्ठा उत्तराधुनिक कल्पनाजगतकै एउटा नमूना हो। राईको विश्वजनीन लेखन स्तर यहाँ दृष्टिगोचर हुन्छ।
सबकल्चर’- हरूमा टुक्राएर उत्तराधुनिक लेखनले जीवनलाई इतिहासको महाख्यान (मेटान्याराटिभ)-बाट च्युत गरिदिन्छ। यसले क्षणिकता वा इन्स्ट्यान्टेनियस रियलिटी’-मा हेरेको सत्य लीलाले टिप्न खोजेको हो। त्यो क्षणिकता समाजको शुरूआतदेखिको विशाल कथा (महाख्यान वा मेटान्याराटिभ)-कै एउटा निरन्तरता हो र यो क्षणिक सत्य विशाल सामाजिक संरचना (वर्तमान सन्दर्भ – पूँजीवादी सामाजिक नियम) –कै अन्तर्सम्बन्धले तय हुने गर्छ भन्ने सत्य उत्तराधुनिक लेखनले जान्न र मान्न चाहँदैन र मात्र। नत्र त उत्तराधुनिक भनिने नयाँ प्रयोगले मान्छेको सम्पूर्णतालाई अंशमै भए पनि निकै गहिराइबाटै हेर्न खोजेको हो। राईले लीलालेखनबाट लेख्न र भन्न खोजेको यस्तै केही हुनसक्छ।
भ्रान्तिग्रस्त छन् पनि जान्दछौँराई आफैले मानेको लीलालेखन भाषिक जटिलता र दुरूहताको झ्यालखानामा कैद रहेको रहेकै छ। पाठक र जनतादेखि निक्कै निक्कै किलोमिटर टाढ़ा। भ्रान्तिकै कुरा पढ़ेर पाठक थलिएको थाहा पाएर पनि राईले लीलाको बुल्डोजर चलाइरहेका हुन्। राईलाई पाठकले उनी त भयङ्कर लेखक हुन् नि भनेर हेर्ने भ्रम जन्माउन यत्ति नै काफी हुने हो।
एकातिर राईले पाठ र पाठकलाई सही अर्थमा बुझ्न अनि अर्कोतिर  रिप्रेजेण्ट हुन खोज्ने राईलाई पाठकले दुरुस्त मानेमा बुझ्न सक्ने स्थितिको हिउँ जमिरह्यो। सधैँ एउटा भ्रमको देवल उभिरह्यो। आईबी राई मिथ नै त्यो भ्रम थियो। छ पनि। आईबी राई तबसम्म मिथ रहिरहनेछन्, जबसम्म उनका पाठहरू भ्रमको परिधि तोड़ेर बाहिर निस्कँदैनन्। जबसम्म उनलाई पूजा गरिरहने प्राज्ञ-वृत्तले उनलाई उनको मिथ छविबाट मुक्त गरिदिँदैन।