मुखपृष्ठ

Saturday, January 29, 2011

चुपो लाग्नुको संस्कृति



 
टाउकोभरि विद्रोह बोकेर/ माचिसका सिन्काहरू/ निस्सारताको खोलभित्र/ सधैँ चुपचाप।
                      -उमेश उपमा थापा

कहिले धेरै बोलेर पनि केही नभनिएको हुनसक्छ। कहिले चाहिँ चुपो लागेर पनि धेरै बोलिएको हुनसक्छ। बोलिएन भन्दैमा बोलिएन भन्नु त्यसैले कहिलेकाहीँ मूर्खता नै साबित हुन्छ। कि बोलेर विरोध जनाउनु कि नबोलेरै समर्थन जनाउनु। हाम्रो इतिहासको रूपरेखा हेरेर सोच्छु, यो कौशलमा कति पोख्त हामी! हामी बोल्दै नबोलेर नचाहँदा-नचाहँदै पनि कुनै नचाहेको विचार, नचाहेको पहल, नचाहेको नेतृत्व, नचाहेको संस्कृति र नचाहेको व्यवहारलाई मूक समर्थन जनाइदिइरहेका हुन्छौं। यसले प्रतिक्रियावाद, विसर्जनवाद, संशोधनवाद र समर्पणवादकै तत्त्वहरू फाइदामा हुने गर्छन्। यहाँ एउटा संस्कृत सूक्ति प्रासङ्गिक बनेको हुन्छ - मौनम् स्वीकृति लक्षणम्। कुनै कुरोप्रति मौन रहनु त्यसलाई स्वीकृति जनाउनु हो। हुन्छ के भने, अन्यायप्रति मौन रहेका चेतनाका ढोङ्गी पाखालाई इतिहासले अझ सुनसान छाड़िदिन्छ। समयको वेगसँगै त्यो सुनसान अझ चहकिलो गरी सुनिने हुन्छ। कसैको दाल गले पो!

आफ्नो हकहितको निम्ति मान्छेले बोल्न पाउँछ भनेर ढोल पिटिन्छ हामी बाँचेको सामाजिक व्यवस्थामा। तर ऊ बोल्न पाउँछ भन्दैमा बोलिहाल्नु चाहिँ पाउँदैन। बोल्नु पाउनु र बोलिहाल्नुमाझ त्यही फरक छ जुन फरक हुन्छ पार्कमा सजाउन राखिएको नक्कली हात्ती र जङ्गली हात्तीमाझ। अभिव्यक्तिको स्वतन्त्रतामा वाक्-स्वाधीनता मूलांश हो। तर यही अभिव्यक्तिको स्वतन्त्रता तब-तब जोखिममा पर्दछ, जब-जब उक्त स्वतन्त्रतालाई दबाउन स्वतन्त्रताको नाममा अभिव्यक्तिको पराधीनतालाई थोपिन्छ टिकिरहनु चाहने यथास्थितिवादी व्यवस्थाद्वारा। दबिएकाहरूको संस्कृतिलाई अझ दबाएर, अझ ओझेल पारेर सांस्कृतिक हैकम चलाउँछ व्यवस्था। सत्ताले त्यही संस्कृति थोपर्नेछ, जुन संस्कृतिले उसको अस्तित्व रक्षाको प्रतिभूति दिनेछ। चाहे त्यो संस्कृति अवैज्ञानिक होस्, चाहे अतार्किक। चाहे त्यो संस्कृति सड़ेगलेको होस्, चाहे अश्लील। संस्कृति थोप्ने यो दादागिरीलाई हामीले "सांस्कृतिक हैकम" भनेर बुझ्दै आएका हौं। विश्वमा अमेरिका यो सांस्कृतिक दादागिरीमा अब्बल छ। भारतमा अब्बल छन् हिन्दु कठमुल्लावादीहरू, बङ्गालमा बङ्गलावादीहरू। दार्जीलिङमा गोर्खा संस्कृतिको नाममा गोर्खेहरूकै वास्तविक अस्तित्व र इतिहाससम्मत परिचयको कुप्रस्तुति र अपव्याख्या गर्ने केही अतिगोर्खेवादी कित्ता पनि यस्तै सांस्कृतिक दादागिरीको चेष्टामा रहेको देखिन्छ। जातीय उत्थानको निम्ति जातिभित्रकै यो प्रभावशाली सत्ताप्रेमी कित्ता बाहिरका दुश्मनभन्दा खतरनाक भित्रको दुश्मन साबित हुनेछ। गतिलै चिन्ताको विषय।   

अभिव्यक्तिको पराधीनताको रक्षाको निम्ति उठेको सत्तामुखी "आवाज" पराधीनता थोपर्नेको निम्ति खतरा साबित हुने गर्छ। तर मौनता नै बाँच्ने एउटै मात्र उपाय हो भन्ने ठानेर सत्ताद्वारा चुपो लगाइएकाहरू सबै चुपो लागिबस्दैनन् पनि। नभए त इतिहास कोरा तथ्याङ्कहरूको अल्छीलाग्दो विवरण मात्र त हुने हो। जिब्रो थुतिएका सबाल्टर्नहरू रगताम्मे भएर पनि बोलेका छन् र नै इतिहासको निर्माण भएको छ। इतिहास कुनै दैविक शक्तिको ईशारामा एउटै अचल धुरी वरिपरि घुमिरहने वृत्तीय प्रक्रिया नभएकोले गर्दा नै यो नित्य चलायमान अग्रगामी मानवीय चेष्टाको सक्रिय रचनाको गतिशील कथा हो। त्यसैले इतिहास निर्माण हो। निर्माता चाहिँ मानव। उसले जस्तो चाह्यो, त्यस्तै बनिन्छ यो। कुनै भावीले न त कसैको भाग्य लेख्छ, न लेख्छ इतिहास।

मौनता सुनौलो हुन्छ। भनेका थिए कसैले। व्यक्तिगत धेरै लाभ भए पनि चुपो लाग्नुले सामूहिकतामा भने हानि मात्र हुनसकेको छ। मौनताको यो सुन केवल लगाउन सकिन्छ। खानाको रूपमा, दबाइको रूपमा खान सकिँदैन। किताबको रूपमा पढ़्न सकिँदैन। त्यसो र यसको व्यावहारिक उपादेयता भने नगण्य रहन्छ। यो आभूषणरूपी मौनताले खासै कुनै परिवर्तन वा क्रान्ति हुने होइन। त्यसैले आभूषण लगाउने फेसनजस्तै नबोल्ने फेसनमा पारङ्गत छौं हामी। तर नबोल्नुको कल्चरले लैस हामी सभ्य भएको प्रमाणपत्र थाप्न किन यसरी आतुर छौं र कसले थमाइरहेको छ त त्यो प्रमाणपत्र, घोत्लिएर हेर्ने विषय छ। रङ्गभेद विरोधी आन्दोलनका नेता मार्टिन लुथर किङ्गले त्यसै होशियारी गराएनन्। तिनले भने- "हामी हाम्रा दुश्मनका शब्द याद राख्नेछैनौं। तर हाम्रा साथीहरूको मौनतालाई याद राख्नेछौं।"

र पनि मान्छे सामान्यतः बोलेर जोखिम उठाउन चाहँदैन। चुप भलो भन्छन्। चुपचाप बस्नुको आफ्नै किसिमका केही गोप्य र केही प्रकाश्य लाभहरू छन्। छद्मभेषमा मौनताले धेरै आवाजहरूको शुक्राणु छरिराखेर जान्छ। ती कुनै पहलका डिम्बाणुसँग दुर्घटनावश ठोक्किएछन् भने त्यहाँ गतिको भ्रूण बन्दछ। र त्यो गतिको भ्रूण बढ़ेछ भने खतरा हुन्छ स्थापनालाई। शक्तिलाई। त्यसैले मौनतालाई आवाजको उल्टी गर्न दिइँदैन यहाँ। बस, आवाजको, हल्लाको नाटक गर्न चाहिँ दिइन्छ। त्यसैले आन्दोलन पनि कुनै सक्कली हुन्छ, कुनै नक्कली। त्यसैले कुनै आन्दोलन जनस्फूर्त हुन्छ, कुनै शासक-प्रायोजित। कुन असली, कुन नक्कली - चिन्ने क्षमताको विकास हुन उति सजिलो छैन। यसको निम्ति सांस्कृतिक चेतनाको ऐतिहासिक विकासक्रमको खाँचो पर्दछ।  

मौनताले गरेको आवाजको नाटक हेर्दा लाग्छ- साँच्चै, हो त! तर वास्तविकतामा, नाटक नाटकै मात्र हुन्छ। त्यसैले आन्दोलनहरू समेत शक्तिले किन्दछ। विद्रोहहरू किनबेच हुन्छन्। आक्रोशमा पैसाको जलप चढ़ेपछि, त्यो अनुनयमा फेरिन्छ। त्यसैले आवाजको नाममा उठेका स्युडो-आवाजहरूदेखि न त तर्सिने काम छ। न ढुक्क बस्ने। किनभने कसैले त बोल्नैपर्छ। बोलेन भने, विस्मृत बन्नेछ भाषाको गौरव। भाषाको प्राण। भाषाको जीवन। त्यसो र निश्चित छ, मान्छेले धेरैथोक बोलेर पनि चाहिएको बोल्नै नसके ऊ यन्त्रको औकातदेखि पनि तल झर्नेछ। हिन्दीका चिन्तनशील कवि मुक्तिबोधले आफ्नो एउटा सान्दर्भिक कवितामा आन्दोलित समयको कठिन भाषालाई दुरुस्त उतारेका छन्। तिनी भन्छन् - "अब अभिव्यक्तिको खतरा उठाउनै पर्नेछ/ तोड़्नै पर्नेछ/ मठ र गढ़ सब।"

इतिहासमा एकपाखे इतिहासको अवमानना गर्दै इतिहासको पुनर्लेखन र पुनर्निमाणका कोशिशहरू भएको इतिहासले नै घरि-घरि प्रमाणित गरेको छ। खेदिएका, पेलिएका, हेपिएका, बोल्न नदिइएका शोषित मान्छे सबाल्टर्नको यही कोशिशको सङ्घर्षले नै इतिहासको रचनागर्भ उर्वर बनेको छ। त्यसैले केही मान्छे बोलेनन् भन्दैमा शक्तिशालीहरूसामु शक्तिहीनहरू आत्मसमर्पण गरिहाल्दैनन्। भारतलगायत विश्वभरि चलिरहेका समस्त आत्मनिर्णयका लड़ाइँ यसका बल्दा उदाहरण हुन्। सय वर्षभन्दा धेर समय जिम्लिँदै-बौरिँदै गरेको गोर्खाहरूको राजनैतिक सपना मेधासम्पन्न र जुक्तिसम्पन्न सांस्कृतिक चेतनामा अर्जापेर धारिलो बनाउँदै लानु समयको माग भएको छ। तब नै स्थापनाको भ्रमको कारागारबाट उम्किने चुड़ान्त लड़ाइँ लड़्न सम्भव हुनसक्छ। साँच्चै, अब अभिव्यक्तिको जोखिम उठाउने बेला आइसकेको छ। सँघारमै।

No comments:

Post a Comment