मुखपृष्ठ

Sunday, June 13, 2010

बिरालोको डीएनए

"यो बिरालोको पनि स्वभाव फेरिनसक्छ नि, होइन त," लोग्नेले आत्मविश्वास प्रकट गर्दै भनेका थिए। भनेकी थिइन् स्वास्नीले, "अँह, फेरिनसक्दैन।" अन्तरविरोधी बयानले बहस चर्किँदै गएको थियो। निकै लामो तर्कातर्कीले पनि दम्पतीलाई कुनै ठोस र सामूहिक निचोडमा पुऱ्याउन सकेन। दुवै आ-आफ्नो टेकमा अडिरहे। आफ्नो कुरालाई सत्यापित गर्न लोग्नेले बिरालोलाई हत्तपत्त जादुइ शक्तिद्वारा एक आकर्षक युवती बनाइदिए। त्यसपछि स्वास्नीसँग बाजी लगाएको ढर्रामा एक युवक खोजी त्यो बिरालो-मानव युवतीको बिहे पनि आयोजित गरिदिए।

त्यसपछि नवविवाहित जोडीतिर हेर्दैथिए तिनीहरूले। स्वास्नीलाई विश्वास दिलाउन खोज्दै लोग्नेले भने-"हेर, उसको स्वभावमा कति स्वाभाविकता आयो! कसले भन्ला, हिजोसम्म उ बिरालो थियो?" स्वास्नी "एकछिन पर्खिनुहोला" भनिराखेर बाहिर गइन्। फटाफटी। केही बेरपछि कोठाभित्र स्वात्त पस्दा तिनको हातमा थियो एउटा मूसा। थरथर कामिरहेको मूसा। तिनले मूसालाई भुइँमा फट्ट फ्याँकिदिइन्। मूसा एकछिन अललिएपछि अन्धिएर कुद्नथाल्यो। मूसाको लोभले नवविवाहिता हतारिएर मूसा समात्न झम्टिई। स्वास्नीले अहिले चाहिँ अलिक छडके हाँस्दै भनेकी थिइन्- "अब भन्नुहोस्, कायासँगै बिरालोको चरित्र पनि फेरिएछ त?" लाजले पानी भएर समर्पणको मुद्रामा खिच्च हाँस्न मात्र सकेका थिए लोग्ने। लोग्नेको हाँसोको उत्तरमा हाँसेकी थिइन् स्वास्नी पनि। त्यो हँसाइ थियो जितुवा हँसाइ।



यो हो उहिलेको लोककथा। यस नाटकीय कथाभित्रको सङ्कथन (डिस्कोर्स)-ले आज पनि आजको कालको सान्दर्भिकता बोक्छ। सयांश। परिवर्तन सजिलो छैन। परिवर्तनको धारणा सधैं सत्य हुँदैन। भ्रम हुनसक्छ। देखिएको परिवर्तन साँचो परिवर्तन नहुन पनि सक्छ। परिवर्तनलाई स्थायित्व दिनु गाह्रो छ। बाह्य परिवर्तनले आन्तरिक परिवर्तनको प्रतिभूति दिन सक्दैन। रूपभन्दा अन्तरवस्तुको परिवर्तन वास्तविक परिवर्तन हो। परिवर्तन सतही हुँदैन। परिवर्तन जराइलो (मौलिक) हुन्छ। परिवर्तन छ बडो जटिल। भन्नसकिन्छ, माथिको सरल लोककथालाई चौतर्फी निर्क्यौल गरे मस्तिष्कको फाँटमा परिवर्तनमाथि यी सबै चेतना सहजै टुसाउन थालिहाल्दछ।

मान्छेलाई सबैभन्दा मनपर्ने वस्तु हो परिवर्तन। फेरि मान्छेलाई सबैभन्दा मन नपर्ने वस्तु पनि हो परिवर्तन। मान्छेको मनोगत स्वभाव नै यस्तो छ। मान्छे एकरसतादेखि वाक्क मान्छ (बोरडम)। उ परिवर्तन चाहन्छ। परिवर्तन आएछ भने परिवर्तनदेखि समेत वाक्क मान्छ। भाग्छ उ। परिवर्तन भोगिरहेको स्थितिलाई जगेरा गर्ने बुता पनि थोरै राख्छ। परिवर्तन हुनु सजिलो छैन। परिवर्तन भएछ भने टिकाएर राख्नु जति गाह्रो छ, उति नै गाह्रो छ परिवर्तनलाई परिवर्तित गराउनु पनि। परिवर्तनलाई लिएर धेरै सोच छन्। चिन्तन छन्। छन् दर्शनहरू। दर्शनहरू समर्पित छन् जगतको परिवर्तनको प्रकृति बुझ्न र बुझाउन। विज्ञान उहिल्यैदेखि लागिपरेको छ यसै काममा। साहित्य-कला समेत परिवर्तनको कथा हाल्छन्, गीत गाउँछन्।

वास्तवमा आजसम्मको इतिहास भनेको परिवर्तनकै कथा न हो। तर त्यो कुन, कस्तो र कसको परिवर्तनको कथा हो, त्यो इतिहासवाचकमाथि भर पर्ने कुरा हुन्छ। उसको आर्थ-सामाजिक वर्ग-इतिहासले उसलाई त्यो पूर्वाग्रहपूर्ण इतिहास भन्न लगाएको हुन्छ। इतिहास त्यसैले निरपेक्ष छैन। परिवर्तन आत्मपरक (सब्जेक्टिभ) हुन्छ र वस्तुपरक (अब्जेक्टिभ) पनि। आत्मपरक परिवर्तनलाई वस्तुपरक र वस्तुपरकलाई आत्मपरक परिवर्तन मान्नेहरूको ठूलै जमातले भरिएको समाजमा परिवर्तन लिएर धेरै भ्रम विद्यमान रहेको हुन्छ। यसले गर्दा अस्तित्ववान व्यवस्थाको पृष्ठपोषक तत्त्वलाई आफ्नो सत्ता कायम राख्न सघाउ पुग्दछ। त्यसैले अमेरिकादेखि लिएर भारत, कश्मीरदेखि लिएर दार्जीलिङसम्मको परिवर्तन र इतिहास एउटै खाले भ्रम र यथार्थको सेरोफेरोमा छन्।

प्राग्वैज्ञानिक बुद्ध भन्छन्- "प्रत्येक कुरो फेरिन्छ। प्रत्येक कुरो देखा पर्छ र हराउँछ। केही पनि परिवर्तन नभई रहँदैन।" परिवर्तन अपरिहार्य छ। परिवर्तनको लहर चाहे आफै आवोस् वा कसैले ल्याओस्, यो एक सामाजिक परिघटना हुन्छ। परिवर्तनको कामना नराख्नेले पनि परिवर्तनलाई स्वीकार्नै पर्ने हुन्छ। कुनै वस्तु, विचार, धारणाको स्थिरताको विघटन भई उत्पन्न गतिले परिवर्तन गराउँछ। त्यसर्थ हरेक परिवर्तन गतिले गर्दा हुनेगर्छ। गति नै प्रकृतिको मौलिक प्रकृति हो। "स्थिरता त गतिको एक विशेषावस्था मात्र हो" (जर्मन भौतिकवादी गुस्ताभ रोबर्ट किर्चफ)।

हरेक थोकमा परिवर्तन आए पनि परिवर्तन सधैं प्रत्यक्ष देखा पर्दैन। मात्रा (परिमाण)-मा आएको हेरफेरले गुण (प्रकृति) फेरिन्छ। त्यसर्थ गुणात्मक परिवर्तन नै वास्तविक परिवर्तन हुँदछ। सतही परिवर्तन केवल रूपान्तरण (मेटामर्फसिस) हुन्छ। कहिलेकाहीँ सङ्क्रमण (ट्रान्जिशन)-लाई पनि हामी परिवर्तन भनेर बुझ्ने गर्छौं। तर सङ्क्रमण त परिवर्तनको प्रक्रिया मात्र हो। परिवर्तन आफै होइन। त्यसैले जबसम्म वस्तुस्थितिको समस्त गुणमा परिवर्तन आँउदैन, तबसम्म त्यो वस्तु कि परिवर्तनको प्रक्रियामै हुनेगर्छ कि जस्ताको त्यस्तै हुन्छ। त्यसैले फेरिएर पनि परिवर्तन नहुन सक्छ। नफेरिएर पनि परिवर्तन हुनसक्छ।

परिवर्तन सापेक्षिक (रिलेटिभ) धारणा हो। त्यसैले वातावरण, पारिस्थितिकी, संस्कृति, अर्थनीति, राजनीति, शिक्षा, विचारमा आएको परिवर्तन समाजको एक तब्कालाई हो, अर्कोलाई होइन। पराधीन भारतमा आएको परिवर्तनपछिको कथित स्वाधीनता पनि यसकै एक ज्वलन्त उदाहरण हो। एकमुठी तब्का स्वाधीन छ, विशाल सङ्ख्या पराधीन छ। तिनीहरू स्वास्थ्य-शिक्षाजस्ता मूलभूत अधिकार गर्हण गर्न स्वाधीन छैनन्। प्रस्तावित पृथक् गोर्खाल्याण्ड वा गोर्खा-आदिवासी अञ्चलमा समेत परिवर्तन आए यस्तो दुइखाले परिवर्तनको स्थिति त जन्मने नै छ, जहाँ एकमुट्ठी गोर्खेहरूले बहुलांश गोर्खेहरूकै शोषण गर्नेछ। यसरी परतन्त्रको स्थिति परिवर्तित भएर गणतन्त्र बहाल भए पनि गणतन्त्र समेत चुसिनेहरू र चुस्नेहरूको निम्ति बेग्ला-बेग्लै न हो।

गणतन्त्रको आकाँक्षामा युद्धरत समाजले गणतन्त्र पाइहालेछ भने पनि त्यस परिवर्तनको भेललाई जोगाइराखेन भने परिवर्तन आउटडेटेड हुन्छ। फेरि उही मान्छेभित्रकै एक श्रेणी तत्त्वले परिवर्तनलाई रोक्न र प्रतिरोध गर्न खोज्नेछ। प्रतिक्रियावादीको नामले चिनिने उक्त तत्त्व वास्तवमा मानव समाजको वस्तुगत प्रकृतिकै उपज हुन्छ। 'साङ्गठनिक व्यवहार' (अर्गनाइजेशनल बिहेभियर) विषयका विश्वस्तरीय जानिफकार स्टिफन रब्बिन्स पाँच व्यक्तिगत कारणबारे बताउँछन्, जसले परिवर्तनप्रति प्रतिरोध उत्पन्न गर्न मानिसलाई उद्यत गराउँछन्- बानी, अज्ञानताको भय, आर्थिक स्थिति, सीमित तथ्य सङ्ग्रह र सुरक्षाको प्रश्न। रब्बिन्स साङ्गठनिक कारणबारे पनि बताउँछन्- संसाधनको विद्यमान आबन्टन व्यवस्थामा हेरफेरको सम्भावना, संरचनागत जडत्व, परिवर्तनप्रति सीमित ध्यान, सामूहिक जडत्व, विशेषज्ञता गुमाउने भय र शक्ति समीकरणमा हेरफेरको भय।

मनोविज्ञानी कर्ट लेविन प्रशिक्षण नै मानवको व्यक्तिगत र समष्टिगत परिवर्तनको निम्ति दायी ठहर गर्छन्। अर्थात्, अनिश्चितहरूमाझ समाजले प्रशिक्षण निश्चित गरिरहेकै हुन्छ। लेविन 'त्रिस्तरीय परिवर्तन सिद्धान्त' दिन्छन्, जसद्वारा परिवर्तनप्रति प्रतिरोधलाई नामेट पार्दै व्यक्तिगत र समष्टिगत परिवर्तन सम्भव हुन्छ। पहिलो स्तर- अहिमीकरण (अनफ्रिजिङ), दोस्रो स्तर- परिवर्तनको निम्ति सङ्क्रमण गति र तेस्रो स्तर- परिवर्तित स्थितिको हिमीकरण (फ्रिजिङ)। कुनै पनि गुणात्मक परिवर्तनद्वारा प्राप्त वास्तविक परिवर्तनलाई सञ्चय गरेर विकसित पार्दै लैजान नसके पुरानै स्थितिमा फर्किने सम्भावना बढ्छ। लाबरलाई तन्क्याएर छाडिदिए त्यसले पहिलाकै आकार लिन्छ। मानव समाज पनि यस्तै हुन्छ। गणतन्त्रको आलाप गरिरहेको सङ्क्रमणरत जनताले जुझारूपनको परिवर्तनमुखी मूडलाई दिगो राख्न नसके प्रतिक्रियावादी तत्त्वले शोषणमुखी यथास्थिति टिकाइराख्न जनमुखी शक्तिविरुद्ध कुनै युद्धै गर्न पर्नेछैन। सम्भव छ, मानव देहमा कायान्तरित लोककथाको बिरालोले मूसा खान दौडँदैन। यदि त्यो बिरालोमा रूपान्तरणसँगसँगै गुणान्तरण पनि भएको भए। कसरी? बिरालोको डीएनएमा भएको जीन नै फेरिदिनुहोस् न।

No comments:

Post a Comment