मुखपृष्ठ

Saturday, November 27, 2010

हजार वर्षको निद्रा

चित्र सौजन्य- www.redbubble.com
 कोही हजार वर्ष निदाएछ भने कस्तो हुन्छ होला? कसलाई, किन र कसरी लाग्दो हो यस्तो लामो निद्रा?  हजार वर्षको। यस्तै के के सोचिरहें भूपिन व्याकुलको किताब "हजार वर्षको निद्रा"-को बारेमा पढ़ेपछि। कालेबुङबाट निस्कने कविताप्रधान पत्रिका 'विचलन'-को गएको अङ्कमा यस कविताकृतिमाथि समालोचक डा. गोविन्दराज भट्टराईको लेख छापिएको छ। लेख पढ़ेपछि नेपालको वर्तमान समयका महत्त्वपूर्ण कवि भूपिनका कविताको हरहर तिर्खा लागिरह्यो। किताब नपाउञ्जेल लागिरह्यो, केही मिस गरिरहेको छु।

जब भूपिनले पठाएको 'हजार वर्षको निद्रा' पाएँ, मैले ठानें, गुनिला कविताको किताब कति प्रिय हुन्छ। प्रेममा फूलको साटासाटझैं। अहिले भूपिनका ताजा-युवा शब्दहरूमा म मेरो बूढ़ो विश्वलाई खोज्दैछु। कचल्टिएको देशलाई खोज्दैछु। कटमिरो आफूलाई खोज्दैछु। हजार वर्षको यो रोमाञ्चक खोजी मलाई हजार वर्षको निद्रालाई ओल्टाइपल्टाइ हेर्नुजस्तै लाग्दैछ। निद्रामाथि प्राणीको प्रकृतिगत हेराइदेखि विज्ञानसम्म र दर्शनसम्म समेत पुर्‍यायो यो खोजीले। 'निद्राको दर्शन' नाममा किताब समेत लेखिएका रहेछन्। पहिले रेने देकार्त र पछि लाइब्निजले निद्रा-दर्शनमाथि विशेष व्याख्याहरू राखेका रहेछन्। तथापि, प्राणी किन निदाउँछ, यसको खोजी विज्ञानले अहिलेसम्म ढुक्क भइञ्जेल गर्नसकेको छैन। मानिसलगायत समस्त प्राणी जगतलाई यो निद्राले छोपेकै हुन्छ। शारीरिक निद्रालाई सकारात्मक शारीरिक प्रकृति मानिन्छ। तर बुद्धिको, चेतनाको र अनुभवको निद्रालाई सकारात्मक मान्न गाह्रो पर्नेछ।
       
"एउटा जीवनमा/ म हजारौं वर्ष सुतिसकेको छु" भूपिन लेख्छन् 'हजार वर्षको निद्रा' कवितामा। यो अभिव्यक्ति पढ़ेपछि मलाई बीसौं शताब्दीका महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको एक लोकप्रिय उक्तिको सम्झना हुन्छ। तिनले प्रतिपादन गरेको सापेक्षतावादको सिद्धान्तलाई साधारण ढङ्गमा बुझाउन तिनी  भन्छन्- "मात्र एक मिनटको निम्ति तपाईंको हात भुभ्रोमा हाल्नुहोस्, तपाईंलाई त्यो एक मिनट एक घण्टा लाग्नेछ। एउटी सुन्दर युवतीसँग एक घण्टा बस्नुहोस्, तपाईंलाई त्यो एक घण्टा मात्र एक मिनट लाग्नेछ। यही हो सापेक्षतावाद।" विवादास्पद भए पनि मानिसको वर्तमान हरदर जीवन-अवधि लगभग अस्सी वर्ष मानिँदैछ। अघिल्ला शताब्दीहरूभन्दा बीसौं शताब्दीमा जीवन-अवधि दोब्बर भएको मन्तव्य राख्छन् शोधार्थीहरू। एक्काइसौं शताब्दीमा यो हरदर अवधि दस वर्ष बढ़्नसक्ने अड़कल काटिँदैछ। उसो भए यो अस्सी वर्षको जीवनमा भूपिन हजार वर्ष सुतिसकेका छन् त? भूपिनले यहाँ सोद्देश्य वा उद्देश्यरहित  आफ्नो कवितामा सापेक्षतावाद भित्र्याएका छन् भन्ने लाग्छ।

निद्रा बढ़ी र थोरै दुवै हानिकारक मानिन्छ। सबभन्दा बढ़ी तीन वर्षसम्म चिप्लेकीरा सुत्नसक्दो रहेछ। सबभन्दा थोरै दश मिनटदेखि दुइ घण्टा मात्र सुत्दो रहेछ जिराफ। लामो मानसिक निद्राले थलिएको दार्जीलिङे समाजको विसङ्गत इतिहास र अन्योलतापूर्ण वर्तमानसँग खाप खाएको छ नेपालको चितवनमा बसेर भूपिनले लेखेको हजार वर्षको यो उन्नाइस-लहरे कविता। हजारौं वर्ष नै निदाएको जस्तै छ यहाँको समाज। सत्तरको दशकका कवि हर्कजङ्गसिंह छेत्रीले "डेनजोङका अबोला पहाड़हरूसित" कवितामा दार्जीलिङ अबोला भइसकेको अनुभव गरे। तिनले दार्जीलिङलाई बोल्ने आह्वान गरे। लाग्छ, हजार वर्षे अचेत निद्रा निदाएरै पो नबोलेको थियो कि। नबोलेको हो कि। यो निदाइरहेको दार्जीलिङ। जाग्दो हो त, परनिर्णयमा रहेरै आत्मनिर्णयको सपना देख्दै यसरी घुरिबस्ने थिएन।

चित्र सौजन्य- www.waxoil.com
 आत्मनिर्णयरूपी मुक्तिको सपनालाई पूरा गर्न दार्जीलिङ बीस वर्षपछि जाग्छ र फेरि बीस वर्ष निदाउने तयारी गर्नथालिहाल्छ। यस्तै त छ यसको राजनैतिक चरित्र। तर दार्जीलिङसँग जागो बस्ने गच्छे भए पनि सुत्ने धम्कीको डरमा कि उ सुतिहाल्नुपर्छ। कि हतारहतार ओछ्यान पसेको अभिनय गरिहाल्नुपर्छ। नत्र भाग तानातानको शक्तिको खेलको सङ्कीर्ण नियमको उ दुश्मन चिह्नित हुने डर। सुतेकोसुतेकै हुनुपर्छ। उठे सुतिहाल्नुपर्छ। यस्तै रहेछ यहाँको चलन। उठेर पनि नदेख्ने, नसुन्ने र नबोल्ने अभिनय गर्नुपर्छ।
     
दार्जीलिङ शीतनिद्रा (हाइबरनेसन)-मा गइरहन्छ। शीतकाल आयो कि भ्यागुता शीतकालिन दीर्घ निद्रामा पर्छ। प्रत्येक बीस वर्षको अन्तरालमा हुने राजनैतिक उत्थान र पतनको वस्तुगत स्थिति भोगिरहेको दार्जीलिङलाई यो स्थिति एक मिनटको भुङ्ग्रो साबित भएको छ। मान्छे आशङ्काग्रस्त छन्- कतै फेरि अर्को बीस वर्ष पनि? यो पालि एक भुल्को आन्दोलनपछि दार्जीलिङ फेरि शीतनिद्रामा जालाझैं छ।

मैले चिनेका एक दाइले एक दिन कुरैकुरामा तिनी दुइ वर्ष सुत्न नसकेको कुरा गरे। पत्याएनौं। तर तिनले आफ्नो कुरा यति आत्मविश्वाससाथ भने कि अन्ततः हामीले ठान्यौं तिनी निदाउन नसक्ने इन्सोम्निया रोगले ग्रस्त छन्। रोमानियाका शून्यवादी दार्शनिक एमिल सियोरानले आफ्नो किशोरावस्थाको धेर भाग नसुती बिताएका थिए। तिनले लामो समय नसुतेरै केही चर्चित किताब लेखे भनिन्छ। तिनले भनेछन्- "ओछ्यानसँग खाप खाने एउटै नायकत्व नै अनिद्रा हो।" तर यी केहीजनाको नसुत्नु र जागो रहनुले समस्त समाज सुतेको छैन भन्न सकिने होइन।

"बुद्धले पनि मलाई सुताएरै गएको छ" कवितामा एक ठाँउ भन्छन् भूपिन। सुताएरै जाने लहरमा भूपिनले बुद्धलाई समेत राखे। जार, हिटलर, नेपालियनले झैं जनतालाई नसुताए पनि बुद्धले एक किसिमले मान्छेलाई सुताउनै खोजेका हुन्। जनतालाई बोरामा सुताएर, बोरै ओढ़ाएर जाने सामाजिक नेतृत्वको वास्तविक उद्देश्य व्यक्तिगत लाभ मात्र हो भन्ने जान्न साह्रै मिहिनेत गर्नुपर्दैन। कहिले एक्काइस र कहिले दुइ वर्षको निद्रा सुत्ने दार्जीलिङको राजनैतिक चेतना भुत्ते भएको छ। समझौतापछि समझौताको कसरतमा थाकेको छ। अन्याय, अत्याचार, असामानताको मुद्दा सरोकारको भए पनि त्यस्तै प्रतिगामी तत्त्व समाजलाई दैनन्दिन सामान्यता लाग्ने बानी पर्छ। बौद्धिकताको र सचेतनाको लामो निद्रा सुतेको समाज नै अँधेर नगरी चौपट राजाको अगणतान्त्रिक देशको निम्ति आधार हुन्छ। "नैवेद्य"-मा कवि धरणीधरले "जाग जाग अब जाग न जाग, लाग उन्नतिविषे अब लाग" भनेको प्रतिध्वनि म भूपिनको 'हजार वर्षको निद्रा'-को निष्कर्ष लहरमा गुञ्जिएको सुन्छु - "ब्युँझन चाहन्छु अब म/ हजार वर्षको गाढ़ा निद्राबाट"

गाँउ-गाँउ गएर मान्छेसँग बात मार्ने, त्यहीँ तात्कालिक कविता लेख्ने सक्रिय कविता अभियान "संरक्षण-कविता" चलेको छ नेपालमा। संरक्षण कविताका मूल स्तम्भ सरूभक्तसँगै मुख्य छन् कवि भूपिन। भूपिन मान्छेलाई यही हजार वर्षको निद्रा त्याग्ने आह्वानमा हुन्छन्। हजार वर्ष पनि हेर्दा-हेर्दै बित्छ। जसरी बित्छ जीवन। त्यसैले एउटै जीवन सुतेरै बिताउनु बुद्धिमता हुँदैन। उठ्नुपर्छ। खोज्नुपर्छ। "सुतेपछि त चोरले काटेर गएको पनि थाहा हुँदैन। चङ्खो सुत्नू"- भन्थिन् मेरी बोजू। अहिलेलाई भूपिन यस्तै चङ्खो बन्ने सल्लाह लिएर उपस्थित छन् हामीसामु। सल्लाह लिनु-नलिनु हामीमाथि।

No comments:

Post a Comment