मुखपृष्ठ

Saturday, January 22, 2011

जेसिकालाई कसैले मारेन


 हड़तालको पहिलो दिन। घरमै थन्किएको छु बिहानदेखि। अपराह्न हुनलाग्दा सहकर्मी भाइ आइपुग्छन् मोटरबाइकमा। कठ्याङ्ग्रिने जाड़ोमा बाहिरिने मन छैन। भाइ सिनेमा हेर्न जाने प्रस्ताव दिनछन्। यसो सोच्छु, हड़तालको सदुपयोगै हुने। हत्तपत्त तयार हुन्छु। हड़तालले नछोएको सिलगढ़ीको टुप्पोमा रहेको मल्टिप्लेक्स सिनेम्याक्सको टिकट काउण्टरमा छौं। दुइ-तीन सिनेमामध्ये एक 'नो वान किल्ड जेसिका'। विकल्पहरू दिने निहुँमा उपभोक्तावादी व्यवस्थाले थोपरेको छ कुनै एउटा विकल्प। मिडियाले मेरो अवचेतनलाई कुन छान्नु, अघि नै अह्राइसकेको छ। कुन सिनेमा हेर्ने सोधिरहेको भाइलाई भन्छु, "नो वान किल्ड जेसिका नै हेरौं न।" नामैले आकर्षित गरेको छ। हेरौं न कस्तो रहेछ। सत्य घटनामाथि आधारित यो सिनेमा। राजकुमार गुप्ताद्वारा निर्देशित।
सिनेमा शुरु भइसकेको छ। शुरुदेखि नै खिँचेको छ। हड़तालको प्रभाव सिनेमा हलमा पनि देखिन्छ। भरिनु हम्मे परेको छ हललाई। पर्दामा देख्दैछौं - थर्किरहेको बारको गीतले थर्किरहेका तीन सय मान्छेहरूको भीड़। बारमा काम गर्ने मोडल जेसिका लालको कन्पटमा अप्रत्याशित कुदेर आइपुग्छ गनको गोली। मदान्ध युवकहरूको टोलीले थप रक्सी माग्दा जेसिका र उसकी साथीहरूले रक्सी सकिएको बताएका छन्। दिनु भन्ने र दिँदैनौं भन्ने दुवैतिरको जबर्जस्ती। अन्त्यमा गोली। गोली दाग्ने युवक सत्तारूढ़ दलका प्रभावी मन्त्रीको छोरो। "जे होस्, मेरो मोनुलाई चाहिँ केही हुनुहँदैन नि," साड़ीको फेर समातेर मन्त्रीनीले मन्त्रीलाई कोठाभित्रबाट चेताउनी दिएकी छन्। मन्त्रीका धुपौरेहरू हत्यारा युवकलाई बचाउने कसरतपट्टि लाग्छन्। सबुतको हेरफेर गर्नेदेखि लिएर गवाहहरूलाई धम्क्याउने-किन्ने काम शुरु हुन्छ। "कि एउटा गोली कि एक करोड़ खा" भनेर जेसिकाका मित्र एवं हत्याका प्रत्यक्षदर्शीलाई लिखित बयानबाट छड़किन लगाइन्छ। अन्ततः हत्यारालाई न्यायालयले मुक्त गरिदिन्छ।
'टाइम्स अफ इण्डिया'-ले छापेको फसेलाको समाचारको व्यङ्ग्यात्मक शार्षक छ- "नो वान किल्ड जेसिका।" अर्थात्, कसैद्वारा मारिएकी जेसिकालाई कसैले मारेन। कसैले सोधेन पनि- उसो भए कसरी मरी त जेसिका? विडम्बना हेर्नुहोस्, नमारी वा नमरी मरेकी जेसिका। डल्लै भारतीय राजकाजको पोल खोलिदिने जेसिकाको यो सनसनीखेज हत्याकाण्डको खस्रो फसेलाले न त नागरिक समाज नै झस्किन्छ, न बुद्धिजीवी जमात नै चलमलाउँछ, न सगबगाउँछन् आम भारतीयहरू।
कथावस्तुमा केही यताउता, सत्य घटनाको बढ़ी फिल्मीकरण, संवादकर्मीहरूको नाटकीय जीवनशैलीको प्रस्तुतिजस्ता दुइएक अपवादलाई पन्साउनु हो भने, भन्न सकिन्छ, फिल्म सफल छ। फिल्म हेर्दै गर्दा भाइलाई भनेको छु, भारतीय सिनेमामा अब 'कला फिल्म' र 'मूलधारा फिल्म'-को भिन्नता मेटियो। दुवै खाले प्रवृत्ति मुछिएका फिल्म बनिनथाले। गुलजारको 'माचिस', गोविन्द निहलानीको 'द्रोहकाल', दीपा मेहताको 'अर्थ्', मणि रत्नमको 'बम्बे', सञ्जय लिला भन्सालीको 'ब्ल्याक', मधुर भण्डारकरको 'पेज थ्री', आमीर खानको 'थ्री इडियट्स'-सँगै गुप्ताको 'नो वान किल्ड जेसिका'-लाई यसखाले गुणात्मक फिल्मको कित्तामा राखेर पर्गेल्न सकिने हो। दोस्रो विश्वयुद्धपछि फस्टाएको इटालीको नवयथार्थवादी फिल्म परम्परामा एउटा थप उपस्थिति दिएको छ 'नो वान किल्ड जेसिका'-ले।
एक प्रतिष्ठित समाचार च्यानलकी संवाददाता हुन् मीरा। गुप्ती स्टिङ अपरेशन गराएर बन्द भएको जेसिका मामिला खोलाउन महत्त्वपूर्ण भूमिका खेल्छिन् मीराले। मान्छेहरू सड़कमा ओर्ह्लिन्छन्। जुलूसहरू निस्किन्छन्। प्रदर्शनहरू हुन्छन्। दिल्लीको यो हलचलले हल्लाइदिन्छ पूरै देश र देशको कोल्टे न्यायिक तन्त्रलाई। उच्च न्यायालयले पुलिसलाई सुओ मोट्टोको निर्देश दिएर मामिला फेरि खोलाउँछ। अन्त्यमा, जेसिकाको हत्यारालाई आजीवन कारावासको दण्ड सुनाइन्छ। फिल्मको सारांश यति नै। वृत्तचित्र बनिन लायक एउटा सपाट कथावस्तुलाई जीवन्त पारेका छन् गुप्ताले।
फिल्मको एक ठाउँ जेसिकाकी अन्तर्मुखी दिदी सबरीनाले एक टिभी च्यानलको साक्षात्कारमा उल्टो  सोधेकी छन्- "हाम्रो देशमा नागरिकको जीवन के एक बोतल रक्सीभन्दा सस्तो छ?" कति ठूलो व्यङ्ग्यात्मक सोधाइ। शासकहरूको शोषक अनुहारमा जोड़दार थप्पड़। हलमा कसैले थप्पड़ी नमारेको यो प्रश्नरूपी थप्पड़। लगभग सबै हेर्नेहरूलाई अप्ठ्यारो त भएकै हुनुपर्ने यो काँचोनाङ्गो प्रश्नले। प्रहसन पो होला होला भएको यो प्रश्न यक्ष प्रश्नभन्दा कम लागिरहेको छैन। प्रतिरोधमा हार मानिसकेकी सबरीनालाई  प्रतिवादको स्वर उराल्ने बनाएको छ जनउभारले। यो फिल्मले र्‍याडिकल लाइन पकड़िएको भान भए पनि कानूनबाट उठिसकेको जनास्थालाई बौराउँदै जन चेतनामा फेरि स्थापित गराउनुमा विशेष ऊर्जा खर्चिएको छ। जहाँनेर फिल्मले व्यवस्थाकै गरिमा-गीत गाउन खोजेको छ। फिल्मले न्यापालिकालाई धोइपखाली जनास्थाको पुनर्जागरणको कथा हालेको छ। फिल्मको कमजोर पक्ष।
फिल्मको बलियो पक्ष पनि छ। फिल्मले गणतन्त्रको नाममा चलिरहेको राजतन्त्रको भण्डाफोर गरेको छ। उदाङ्गो भएका छन् धेरै 'खुल्ला रहस्यहरू'। समान न्याय र सन्तुलित न्यायिक प्रक्रिया नामक मिथको भेद पनि ह्वाङ्गै खोलिदिएको छ फिल्मले। भारतीय मूलधाराको राजनीति र शासनतन्त्रमाझको गहिरो साँठगाँठ, अपराधको राजनैतिक समीकरण, राजनीति-अपराधको हेलमेल, राजनीति र न्यायप्रक्रियाको बुझाबुझजस्ता देखेर पनि हत्तपत्त नदेखिने, बुझेर पनि हत्तपत्त नबुझिने पाटाहरू उत्तानो पारेको छ। भारतमा न्याय पाउन जेसिकाको मध्यवित्तीय परिवारलाई जति गाह्रो भयो, त्यसभन्दा बढ़ी साह्रो पर्ला आम नागरिकलाई। गतिलै चेताउनी समेत छ।
निष्पक्ष न्याय दिन्छ भनेर शासनतन्त्रले सदा धाप मार्ने न्यायतन्त्र कति बिकाउ र गिरेको छ, त्यो स्पष्ट हुन्छ। शासनतन्त्रले आफ्नो स्वार्थमा कुनै निर्दोषको ज्यान लिन र लिएपछि त्यस ज्यानको भाउ कस्नमा कुनै कसर नछाड़्ने चरित्र पनि स्पष्ट हुन्छ। ठूलालाई मात्र काखी चेप्ने कानूनले आम मान्छेलाई थिच्छ। जनताले साख्खे सम्झिएको न्यायतन्त्रले तन्दुरीकाण्डको अपराधी पति, आरुषीको हत्यारा बाबुलाई सजाय दियो-दिएन, सबैलाई थाहा छ।
एक छिन मानौं न त। कसैले मारे पनि जेसिकालाई कसैले मारेन। उसो भए, इन्काउण्टरको निहुँमा नजिकबाटै मारिएका माओवादी नेता आजादलाई कसले मार्‍यो? मार्गरेट्स होप र चाँदमणि चियाबगानमा मारिएका बगानकर्मीहरूलाई कसले गोली ठोक्यो? यता रुद्र प्रधान, सीके प्रधान, मदन तामाङहरूलाई कसले मार्‍यो? कानूनले खोज्न समेत चासो देखाएन। अग्निगर्भ भइउठेका सिङ्गुर, नन्दीग्राम, नानुर, मेदिनीपुर, निताइमा मारिने कैयौं निर्दोष जेसिकाहरूको हत्याको सुनवाइ कसले गर्ने? कश्मीर र उत्तरपूर्वमा मारिने हजारौं-लाखौं निमुखा जेसिकाहरूको पैरवी कसले गर्ने? त्यसैले प्रश्न एक्लो जेसिकाको हत्याको मात्र होइन। एक्लो जेसिकाको मामिलामा न्यायालयको आँखा खोलिएको पनि प्रश्न होइन। प्रश्न छ सामूहिक। प्रश्न छ, के जेसिकाहरूको यसरी नै हत्या भइरहला? जेसिकाहरूका हत्याराहरू के मुक्त भइरहनेछन्? सत्ता र अपराधको कुचक्रलाई ओत दिने गणतन्त्रको यो ठूलो झ्याम्म परेको रूखमा के अझ कीरा परेको छैन? यदि हाम्रा मानसमा यी प्रश्नको उत्तर खोज्ने चेतनाको टुसा पलाउन नसके हाम्रो निम्ति यही सत्य ठहरिनेछ – जेसिकालाई कसैले मारेन। मार्दै मारेन।    

No comments:

Post a Comment