मुखपृष्ठ

Wednesday, May 19, 2010

(न) देख्नुको यान्त्रिकी

We don’t see things as they are; we see things as we are.
-A. Nin.

 भाबरिलो छ दिन। ग्लोबल वार्मिङ्गबारे भनुँ। फेरि सोचें – अहिलेलाई चित्र बनाएरै भए पनि उनीहरू शीतल अनुभव गरून्। बोर्डमा मैले आँकेको चित्र हेर्दै ड्रइङ्ग गरेपछि नानीहरूले खाता अघि सारे। आ-आफ्नो नक्शा देखाउने होड छ आज उनीहरूमाझ। साथीहरूको भीडबाट छुट्टै अजय चाहिँ एक्लै उभिएको छ। आफ्नै ठाउँमा। अरू सबै सहपाठीहरू आ-आफ्ना ठाउँ छाडेर भीड बनाउने सामाजिक (प्राकृतिक) प्रक्रियामा सामेल भएको बेला त्यो बालक मात्र किन एक्लियो त? के अजयलाई भीड मन पर्दैन? कि भीडले नै उसलाई रूचाउँदैन? प्रश्नहरूको पनि भीड लाग्यो यसरी प्रश्नमय त्यो निर्बोध बालकको अटल मेरुवरिपरि।
 ब्ल्याकबोर्डमा हात्ती आँकिदिएर भनिदिएँ- "लु त... यो हात्ती बनाऊ।" यससाथै "कसले छिट्टो र राम्रो बनाउने?" भनी स्पर्द्धाको एक-एक स्टेरोयड समेत ख्वाइदिएँ। सरल ढङ्गमा नानीहरूले बनाउन सकुन् भन्ठानी बनाइएको हात्तीको अजटिल नक्शा हेरेर सबैले आँके हात्ती। अजयबाहेक। मैले उसको अनुहार राम्ररी हेरें। पेन्सिल मुखमा घुसारेर अन्योलताकै प्रतिरूप उभिएको अजय थियो उ। भ्रम, अन्यमनस्कता, भयको उच्छवासले सकसकिएर उ केही सोध्न वा त भन्न खोजिरहेको छ।
 "के भयो तिमीलाई?" भन्दा झस्किएर धकाउँदै भन्यो अजयले- "म बनाउनु सक्दिनँ।" मैले सोधें- "बाबु, के तिमी नक्शा बनाउनु नै सक्दैनौ?" बोर्डतिर नहेरेको उसले बोर्डतिर नै पेन्सिलले देखाउँदै भन्दैथियो- "म हात्ती बनाउन सक्दिनँ।" मनोबल दिएँ - "अरे, बोर्डमा बनाएको हेर्दै पनि बनाउनु सक्दैनौ? कोशिश गर त बाबु। सक्छौ बनाउनु!" उसले झन् जोड दिएर भन्यो- "म सक्दिनँ नि त।" उसको हठलाई तोड्न खोज्दै अलिक कठोरता मिसाएर भनें - "सबैले सके। तिमी चाहिँ किन नसक्ने?" उ अब चाहिँ पक्कै रोलाझैं थियो। यसपछि उसले भन्यो- "मैले हात्ती देखेकै छैन।"
क्लास नै छक्क पऱ्यो। म पनि चकित भएँ। रिस पनि उठ्यो। लाग्यो, यो केटोले बहाना गर्दैछ। किनभने यो प्राय: हात्ती आइरहने गाँउ हो। सम्झाउन खोजें अझै- "बोर्डमा चाहिँ के हो त त्यो? हात्ती होइन?"
"त्यो हात्ती हैन...मैले हात्ती देखेकै छैन।"
 हो त। म झसंग भएँ। एकाएक मज्जको भय र सीमितताबोधले मेरा स्नायुहरूलाई कुतकुताएर गए। बोर्डमा हात्ती बनाउने प्रयत्नमा कोरिएका धर्साहरू त मात्र चकका धुला त हुन्। (तर फेरि हात्ती पनि त हात्तीकै धुलाहरूले न निर्मित छ : सोचाइको पछिल्तिर।) अस्तित्वलाई अस्तित्वेतर ठाउँहरूबाट बुझ्नुपर्ने बाध्यता छ तर। कालोलाई सेतोको, सेतोलाई कालोको कन्ट्रास्ट चाहिएझैं। हिप्पी बुझ्न अतिरिक्त मूल्यको अवधारणामा जानु पर्ने, वैश्वीकरण बुझ्न सङ्कीर्ण वैश्विक ध्रुवीकरणहरू बुझ्नुपर्ने। अरूलाई देख्ने तर आफैलाई नदेखेर ऐनाको सहारा लिएझैं। अस्तित्वलाई छिचोल्न यसरी परा-अस्तित्वका आयाम चाहिने अस्तित्वगत जटिलता र मानवीय सीमिततामाझको द्वन्द्व यहाँ अझ चाक्लियो। मैले त वास्तवमा नानीहरूलाई जबर्जस्ती हात्तीको चकीय भ्रमलाई हात्ती भन्न लगाइरहेको छु भन्ने यथार्थको बोध अकस्मात् भइदिएको थियो। अजय सही थियो। यहाँनेर 'फुच्चे' अजयलाई कथित म 'ठूलो'-को अघोषित गुरु हुनु थिएछ यसरी।
 देख्नुको कति ठूलो अर्थ! तपाईँहरूलाई सामान्य लाग्ने गुरुत्वपूर्ण यस घटनाबाट देख्नुलाई देखेछु मैले। ज्ञान प्राप्ति प्रक्रियामा ठूलै भूमिका छ देख्नुको। मान्छेले देखेर 83 प्रतिशत कुराहरू सिक्ने गरेको तथ्य शिक्षाविद् मनोवैज्ञानिक लिस्ले टी. जिब्लिन आफ्नो खोजबाट पत्तो लगाउँछन्। यस उपरान्त मान्छेले सुनेर 11, सुँघेर 3.5, छोएर 1.5 र चाखेर 1 प्रतिशत सिक्ने गरेकैले ज्ञान (नलेज)-को प्रारम्भिक तरेली संज्ञान (कग्निशन) निर्माणमा पाँच ज्ञानेन्द्रियहरूमध्ये सर्वोच्च मर्यादा आँखालाई जान्छ। आँखा त्यसैले निर्णायक। आँखा तर खतरा पनि। आँखा तर भ्रामक पनि। आँखाले सधैं यथार्थ देखाउँदैन। आँखाले वस्तुलाई जस्ताको त्यस्तै देखाउँदैन। देखाउँछ, नदेखिएकोहरूमा। आँखाले तपाईँ जे हेर्न चाहनुहुन्छ, जसरी हेर्न चाहनुहुन्छ, त्यही र त्यसरी नै देखाउँछ। आँखा त्यसो र वस्तुबाट यथार्थ टिप्ने मात्र होइन, यथार्थ उप्काएर, त्यसैमा भ्रम (आत्मपरक सत्य) टाँसिदिने यन्त्र पनि हो। आँखा त्यसैले जोखिमपूर्ण। भ्रमको वाहक। तपाईँलाई लागिरहन्छ- तपाईँले देखेको देखियो। देखिने लिखितलाई सुनिने श्रवितभन्दा बढी सत्य ठानिएकैले लेखनीबाटै चोरबाटोहरू तयार गरिन्छन् मनमा। र समाजमा पनि।
 हामी टिभीले जे देखाउँछ, हेर्छौं। मिडियाले जे देखाउँछ, हेर्छौं। नेताले जे देखाउँछ, हेर्छौं। हेर्छौं र देख्छौं। देख्छौं र जितेको ठान्छौं। देखेको झैं बुझ्छौं। बुझेको झैं बाँच्छौं। तर देख्नु र बाँच्नुको यो ठूलै अन्तरालमा यथार्थहरूको के हुन्छ त? एउटा-एउटा सत्य टिपेर आँखाले ल्याएपछि यथार्थलाई सत्य बुझेको भ्रममा बाँच्छौं। आएँ, देखें, जितें : वास्तवमा देखिएपछिको जिताइ हो त्यो देखिएका इलाकाहरूमा। नदेखिएका ओझेल परेका इलाकामा चाहिँ? छायाँ परेका यथार्थलाई कसैले सपना भन्लान्, कसैले फन्तासी। तर त्यो हो देख्नुको पूरक। एक भयावह पूरक। जुन पूरकलाई अङ्गीकार गर्न नमान्नेहरूको बहुलतावादी जमातभित्र हामी पर्छौं। र हामी जिउँछौं टुक्राहरूमा। टुक्रा हाँसोहरूसँग। टुक्रा इच्छाहरूसँग। टुक्रा आकाँक्षाहरूसँग। टुक्रा स्पेसमा उभेर टुक्रा कालखण्डको अस्तित्वसँग हाम्रो पूर्णाँग समझौता जारी छ। जारी छ हाम्रो तथाकथित खुशी बाँच्ने ढोँग। तथाकथित लडाइँ। तथाकथित आन्दोलन।
 विश्वास गर्नुहोस्, जे वास्तवमै छ र जे वास्तवमै हो, त्यो देख्न चुकिरहेकै कारण हामी आफैदेखि पनि टाढिन्छौं। हामी हाम्रै निम्ति एक-एक 'एलियन'। मान्छको यही अलगावभूमिमाथि 'आत्मज्ञान'-को धार्मिक धन्धा राम्रै फस्टाएको छ। राजनीतिको भौतिकीकरण (आइडियोलोजीहरण) प्रक्रिया सजिलो भएको छ। भर्जिन बजारका आविष्कारहरू सम्भव भएका छन्। यसै अलगावीकरणले शिक्षालाई माल बनाउन समेत सघाएको छ। घुस खाने र घुस माग्ने अँध्यारा ठाउँहरू बनाइदिएको छ यसले। बनाइदिएको छ मान्छेको सपना, प्रेम र आँसुलाई सिनेमाको पर्दाको यान्त्रिक उपभोग्य वस्तु।
 आलिशान अपार्टमेण्टहरू सजिएर बनेका देख्छौं, तर ती कसका हड्डीमाथि खडा छन्, त्यो देख्दैनौं। मादक रेस्तुराँका टिलिक्क प्लेटहरू कुन पसीनाले पुछिएका हुन्, त्यो देख्दैनौं। विकासको नाममा ठडिएका पर्खालहरू देख्छौं, तर पर्खालपछिल्तिरका भ्रष्टाचारलाई देख्दैनौं। प्रशासनको नाममा सरकारी शिष्टाचारहरू देख्छौं, तर शिष्टाचारहरू भित्रका व्यभिचारहरू देख्दैनौं। सङ्घर्षको नाममा गरिएका हुँकारहरू देख्छौं, तर हुँकारहरूभित्रका डकारहरू देख्दैनौं। किनभने हामीलाई त्यति नै हेर्न लगाइएको छ, जति देखाइनु छ। जादुगरले देखाएको जादु हेरेर हामी आफ्नो युक्ति (ऱ्याशनल)-लाई भुत्ते बनाइरहेका हुन्छौं। हेर्नु, हेरिनु, हेराइनु अनि देख्नु, देखिनु, देखाइनुमाझको अति सङ्कुचित राजनीतिले पिसिएको व्यापक यथार्थ देख्नेलाई अथाह विषाद छ। छ निर्मोही पीडा। देख्नु र जान्नुले दुखै दिन्छ। जसरी सिद्धार्थ गौतमलाई जान्नुको पीडा भयो। त्यसो र जान्नुको डरले पनि हामीलाई धेरै ठाउँहरूमा रोकेको छ। रोकेको छ कौतुहली र अन्वेषी बुद्ध हुनुदेखि। बरू नहेर्नु, नदेख्नु, नजान्नु नै आजको मानक सामाजिक नैतिकता (बेञ्चमार्क एथिक्स) भएको छ।
 मान्छु, धेरै कुरा हेरेर धेरै कुरा देख्छौं। तर ती धेरै देख्नुहरूसँग धेरै नदेख्नुहरूको सुनवाइ कसैले गर्दैनन्। देखिएको यथास्थितिको जगेरा र पैरवी सबै गर्छन्। तर यथास्थितिभित्र गुजुल्टिएर बसेको नदेखिएको रूढिको विरोधिता गर्नु त टाढाको कुरा हुन्छ, त्यसको निर्क्यौलसम्म गर्ने आँट गरिँदैन। मूर्तिको आकार हेर्छौं र त्यसको सौन्दर्य देख्छौं। तर मूर्ति बनाइँदा खिपिएको ढुँगाका टुक्राहरू (जसले गर्दा आकार जन्मन्छ)-को यथार्थ देख्नु भुलिन्छौं।
 अर्कोतिर, देखेर पनि देख्न नचाहनु एउटा मनोवैज्ञानिक विषय हो र साथै यो मुद्दा सामाजिक पनि हो। नदेख्नु र नदेखाइनु एउटा कुरो। देखेर देख्न नचाहनु अर्कै। जहाँ अतिशय पग्लिँदै गरेको हिमाल, अतिरिक्त बढ्दै गएको ऊष्णता, मासिँदै गएको जङ्गलतिरबाट टाउको अर्कोतिर घुमाउने चलन हावी छ। जहाँ सङ्घर्षभूमिमा लडेको रगतपच्छे योद्धा, दैनन्दिन जीवनमा पिसिएकी अबला नारी, स्खलित भइरहेको सामाजिक मूल्यतिरबाट दृष्टि हटाउने परम्परा हावी छ। जहाँ आफैमाथि भइरहेको शोषणको हेक्का भएर पनि चुपचाप आफैबाट आँखा हटाउने स्थिति चालू छ। त्यहाँ वास्तवमै देख्नु र नदेख्नुमाझ निकै पातलो धर्सा छ। त्यहाँ राम्रोपनको माग नभएकोले नै राम्रो भइबस्ने औचित्य नरहेको हो (ब्रेख्त)।
 यस्तैमा तर, अजयजस्तो बालकले देखाइएको हात्तीलाई हात्ती मान्दैन भने आशाको त्यान्द्रोसम्म त छ बाँकी। उ आफै देख्न चाहन्छ। उ नदेखिएको देख्न चाहन्छ। र जबसम्म वास्तविक हात्ती देख्दैन, अरूले देखेर बनाएको हात्तीको प्रतिरूपसम्मलाई उ विश्वास गर्दैन। हाँक दिन्छ उ प्रतिरूपलाई। उसले छायाँ देख्छ। उसले 'प्रक्सी' बुझ्छ। प्रक्सी नेता, प्रक्सी नारा, प्रक्सी भाषण, प्रक्सी आन्दोलन, प्रक्सी शिक्षक, प्रक्सी डक्टर, प्रक्सी इजिनियर, प्रक्सी बुद्धिजीवी, प्रक्सी मान्छे, अजयहरूबाट डराउनुपर्छ। किनभने उसमा केही छ, जसले उसलाई रोक्छ परम्परालाई मान्नबाट। उ चुनौति भइदिन्छ मखुण्डा ओढेकाहरूको निम्ति। तपाईंलाई पनि लाग्दैन र, अजयहरूले देख्नेछन् नदेखिएकाहरू?

('हिमालय दर्पण',सिलगढी, 16 मई 2010, आइतवार, वर्ष-8, अङ्क-281)

No comments:

Post a Comment