मुखपृष्ठ

Sunday, May 23, 2010

'अवतार' हेरिसक्दा

 जण्डा कम्प्युटरकार राहुल भाइले आफ्नो ल्यापटपबाट एउटा खाली डीभीडीमा लेखेर दिएका थिए 'अवतार'। कम्प्युटरमा भर्खरै मात्र हेर्दैछु, शायद दुइ दिनपछि। एक्लै। खाना खानु पनि भुलिएर। आमा-बहिनी घरि-घरि मेरो कोठामा आएर "खाना खानू" भन्दै, कम्प्युटर स्क्रीनतिर हेर्दै भान्साकोठातिरै फर्किएका छन्। स्पेशल साउण्ड इफेक्टको मजा लिन भोल्युम चर्को गरेको छु। आमाले आउँदै स्पीकरको कान मोलिराखेर भोल्युम घटाउँदै जान्छिन्। म भने फेरि बढाइहाल्छु। लागेको छ, कम्ती आवाजमा हेर्दा 'अवतार'-जस्तो चलचित्रको अपमान हुन्छ। चलचित्रको इतिहासमा अहिलेसम्मको सबैभन्दा सफल र लोकप्रिय विज्ञान-कथा (साइन्स-फिक्शन) आधारित चलचित्र मानिँदैछ 'अवतार'-लाई। 'टाइटनिक'-जस्तो विश्वप्रिय सिनेमा बनाउने चमत्कारी चलचित्रकार जेम्स क्यामेरनले 'टाइटनिक'-को निर्माणपछि लगभग एक दशकको अन्तरालमा यो अद्भुत थ्री-डी चलचित्र आफै लेखेर निर्देशन गरेका छन्। केही महिनाअघिको 'द टेलिग्राफ'-को 'एट्सेट्रा'-ले लेखेको थियो, 'टाइटनिक' बनाइसक्नासाथ क्यामरुनले लेखिसकेका थिए 'अवतार' तर त्यसताकको प्रविधि क्यामरुनको कथालाई छायाँकन गर्न सक्षम नभएको हुँदा क्यामरुनले आफ्नो सपना पूरा गर्न लगभग एक दशक पर्खिनु पऱ्यो। अति विकसित 'अवतार' मेरो मानसमा कसरी अवतरित भइरहेको छ, सास थामेर एक्लै हेर्दैछु।
 शून्याकाश, सुदूर नक्षत्र-ग्रह, खगोलपिण्ड र पृथ्वी इतर 'पृथ्वी' (?) मानव समाजको चिर जिज्ञासा एवं नितान्त अभीष्टका ज्वलन्त विषय रहिआएका छन्। के अर्को कुनै ग्रहमा जीवन छ? यो प्रश्नले पनि मानव समाजलाई सधैं उकालो हेर्न लगाएको छ। आकाशतिर पखेटा चालौं पृथ्वी बसेर भन्ने महाकवि देवकोटाको रुमानी उक्ति वास्तवमा मानव समाजकै सर्वव्यापी आकाँक्षाको सामान्यीकृत अभिव्यक्ति हो। पृथ्वीजस्तै अर्को ग्रहको खोज जारी छ। तर विज्ञान कथाहरूमा भने यस्ता ग्रहहरू पाइएका छन्, जहाँ जीवनको अस्तित्व छ। चर्चित 'अवतार' चलचित्रमा 'प्याण्डोरा' त्यस्तै एउटा ग्रह हो, जहाँ बाह्र फुटे पुच्छरे नीलो (लगभग मानव सदृश) प्रजाति 'नाभी' बसोबासो गर्छ। अर्को ग्रहको प्रेम वा पृथ्वीइतर संसाधनको लोभ - यो नैतिक-नैतिक लाग्ने राजनैतिक प्रश्नको सजीव चित्रण गर्न सक्षम छ चलचित्र 'अवतार'। नाभीहरू त्यहाँका 'ट्राइब'। पृथ्वीको पूँजीवादी शक्तिले त्यस अज्ञात ग्रहमा आक्रमणको योजना बनाएको छ। सैनिकहरू तयार पारिँदैछन्। अत्याधुनिक प्रविधिका हात-हतियारले लैस। बुलडोजरहरू तयार छन् भर्जिन प्याण्डोराको मानव अस्पृश्य भूमिमाथि गुड्न। र यहाँ खटाइएको छ विज्ञानलाई (सधैंजस्तै)। मानवीय चेतनालाई नाभी सदृश कृत्रिम शरीरमा सारेर ती नाभीजस्ता नाभीलाई पहिले प्याण्डोरामा पठाइन्छ। जान्नलाई प्याण्डोराबारे, नाभीहरूबारे र नाभीहरूको ('बहुमूल्य') अतिप्रिय संसाधनबारे। जित्नलाई जान्नु पर्छ भन्ने जान्दछ सत्ता।
 जलसैनिक जेक सुली मानव देहमा कुँजे छन् तर तिनको चेतना नाभी देहमा पठाइएपछि तिनी बेजोड लडाकू। प्याण्डोरा पुगेर नाभी समुदायका मुखियाकी छोरी नीतेरीसँग प्रेममा पर्छन् जेक। त्यसपछि बिस्तार प्याण्डोराको प्रकृतिकै अङ्ग बनिएका जेक पक्का नाभी बन्छन्। जेकको आक्रमणकारी दलको यानले बुल्डोजर झार्छ प्याण्डोराको भूमिमा। त्यसपछि शुरु हुन्छ जेकको नायकीय रोमाञ्चक भूमिका। नाभी भइसकेका जेक अन्तत: प्याण्डोरा र नाभीहरूको बचाउमा आफ्नै पूर्व समुदाय मानवविरुद्ध उभिन्छन्। जेकले प्याण्डोराको संसाधनको लोभमा धावा बोल्ने त्यस विस्तारवादी साम्राज्यवादी ताकतको चुनौति स्वीकार्दै प्याण्डोराका समस्त आदिवासी समुदाय-प्रजातिहरूलाई गोलबद्ध गर्छन्। अन्त्यमा जीत जेकहरूकै हुन्छ। कमजोर ठानिएको भियतनामबाट परास्त फर्किनु परेको अमेरिकाझैं परास्त फर्किन्छ पृथ्वीको टोली। जेक हुन्छन् नाभीहरूको नायक।
 यस चलचित्रले धेरै विषय सतहमा तर पारेको भान भयो। चलचित्रको प्राविधिक विचित्रता र सफलताबारे नै धेरै चर्चा भइरहेको छ तर गम्भीर राजनैतिक मुद्दालाई उठान गर्नसक्नु चलचित्रको मुख्य उपलब्धि हो भन्ने लाग्छ। साम्राज्यवादले आफैलाई बचाउन नयाँ बजार खोजिबसेको हुन्छ। नयाँ संसाधनहरूको खोज पनि अनिवार्य हुन्छ। संसाधनहरूको प्राप्तिको निम्ति प्राकृतिक सम्पदाहरूको विनाश गर्दछ। आदिवासीलाई भू-उच्छेद गर्न परे गर्दछ। त्यसैले पर्यावरणवाद पनि राजनैतिक मुद्दा हो। मानवीय अलगाव र उच्छेद पनि राजनैतिक मुद्दा हो। मानवीय (लैङ्गिक, जातिगत) किनारीकरण र पर्यावरणको किनारीकरणको चेतना त्यसर्थ विस्तारवादी सत्ता विरूद्धका राजनैतिक चेतना हुन् र एकबद्ध जनविरोधी शक्तिको सामना एकबद्ध जनमुखी शक्ति भएरै गर्न सकिन्छ भन्ने राजनैतिक सन्देश चलचित्रले दिइरहेको प्रस्ट हुन्छ। जेक सुली एक ठाउँ भन्छन्- "म शान्ति ल्याउन खोज्ने एक सैनिक थिएँ। तर ढीलोछिटो प्रत्येकले जाग्नुपर्दो रहेछ।" जेकको यो व्यङ्ग्योक्तिले हामी प्रत्येकको चेतनालाई एकपल्ट चिमोट्छ नै। जेकको यस वक्रोक्तिबाट धेरै अर्थ खोज्न सकिन्छ: शान्ति निष्पक्ष अवधारणा होइन, शान्ति वर्गीय हुन्छ, शान्तिको नाममा हिंसा फैलाउन प्रयोग हुने सबैले 'एक दिन आँखा उघार्नुपर्छ'। जे शान्ति हो, त्यो शान्ति नहुनु पनि सक्छ। शान्तिको नाममा गरिने अरूको दमन-दोहन र उच्छेदनको विरोध गर्ने ताकत अवश्यै जन्मन्छ।
 उपनिवेशवाद, पूँजीवादहरूको तरेली बसाउँदै आएको आजको साम्राज्यवादको स्वरूप हिजोको जस्तो छँदै छैन। हामीलाई हेक्का होस्-नहोस्, हामी साम्राज्यवादी विश्व व्यवस्थामा बाँचिरहेका छौं। तर हामी सोध्छौं आफैलाई, वास्तवमै साम्राज्यवाद छ कहाँ त? साम्राज्यवाद कस्तो हुन्छ? कसले देखेको छ त साम्राज्यवाद? यो छ छद्मभेषी र बहुरूपी। विश्वास गर्नुहुन्छ के? साम्राज्यवाद कहिले मादक एमटीभीको आडमा आउँछ त कहिले उत्तेजक सुन्दरी प्रतियोगिताको निहुँमा। कहिले उद्दीपक सफ्ट ड्रीङ्क संस्कृतिको बुइ चढेर आउँछ त कहिले तपाईंकै आँसु पुछ्ने कुसुमे रुमालको डिजाइनमा लुकेर आउँछ। चिन्नै नसकिने यो साम्राज्यवादलाई तर छिचोल्न सकिन्छ अन्तरराष्ट्रिय खाडी युद्धहरू र 'विशेष आर्थिक क्षेत्र' (स्पेशियल इकोनोमिक जोन)-जस्ता राष्ट्रिय पूँजीवादी हैकमवादहरूबाट। मानव सभ्यताको विकास पनि विस्तारवाद र बहुलतावाद, चाहे त्यो कुनै पनि मूल्यमा होस्, जस्ता उच्छेदन, किनारीकरण र शोषणका माध्यमबाटै भएकाले 'सभ्यता'-को अवधारणा पनि आफैमा बहसदेखि अछुतो छैन। मान्छेले नै मान्छेको भएभरको बस्ती उजाड्छ, वनजङ्गल मास्छ, प्रजातिहरू लुप्त गराउँछ। मान्छे नै अघि आएर पर्खाल उभिनुपर्छ।
 कहीँ अग्लो पार्न कहीँ खाल्डो पार्नै परेको विडम्बनाले गर्दा नै मानव समाज खाने र खुवाउने, लुट्ने र लुटिमाग्ने, खेद्ने र खेदाउने, चुस्ने र चुसिमाग्ने दुइ मोटा खेमामा बाँडियो। बजार विस्तारको निम्ति समस्त भौतिक, मानसिक र सांस्कृतिक युद्धहरू, आन्दोलनहरू र लडाइँहरू लडिए, लडिँदैछन्। मानव सभ्यताको जगेराको नाममा मानवीय मूल्य र मानवीय तत्त्वहरूकै तिलाञ्जलि चढिरहेको हामी सबै आज अनुभव गरिरहेका नै छौं, आ-आफ्ना स्तरहरू र स्थितिहरूमा। गहिरिएर व्यक्तिहरू र परिवारहरू हेर्नुहोस्, अस्पतालहरू र स्कूलहरू हेर्नुहोस्। नजिकिएर सामाजिक संस्थादेखि लिएर साहित्यिक संस्था हेर्नुहोस्, धार्मिक संस्थादेखि लिएर राजनैतिक संस्था हेर्नुहोस्। हरेक ठाउँ र हरेक काल, बुनियादी र सूक्ष्म मानवीय मूल्यको कसरी रेला भइरहेको छ, आफै ठम्याउनुसक्नुहुनेछ बिस्तार।
 अन्तर्विरोधहरूले नै फेरि मानव समाजलाई विकास गराउँदै ल्याए पनि। संसाधनहरू सीमित तर इच्छाहरू असीमित भएकै कारण मानव समाजको उद्भवदेखि आजसम्म सङ्घात-अन्तर्सङ्घातहरू छन्। यस्तै इच्छाहरूको उद्धत अन्वितिले नै नयाँ बजारको स्थापना र नयाँ संस्कृतिको बीजारोपणसम्म पुऱ्याउने गरेको हो। साम्राज्यवादको जरा यही कथित नयाँ बजार, नयाँ संवाद, नयाँ संस्कृति, नयाँ भाषा, नयाँ देश, नयाँ सत्ताको स्थापनाको भोकको नाभिमा गाडिएको छ। यत्रतत्र लडाइँ छ, माटोको, पानीको, हावाको, खनिज पदार्थको र तेलको निम्ति। संसाधनगत लडाइँकै हाराहारी रङ्गभेद, लिङ्गभेद, जातिभेद, जातभेद, समुदायभेद, संस्कृतिभेदको विरुद्ध लडिने आन्दोलनहरू पनि छन्। यससाथै छ चिह्नारीको लडाइँ पनि। तर समस्त लडाइँहरू लडिएका हुन्छन् कुनै एक ध्रुवमा उभिएर। कि जनताको ध्रुवबाट कि सत्ताको। सत्ताको आकर्षणमा लडिएका लडाइँको मुहान साम्राज्यवादी मुखमै छ। यहाँसम्म कि नीति, मान्यता, न्याय, कानून, अधिकारजस्ता मुद्दा पनि फ्याक परेका हुन्छन्। जति शक्तिशाली सत्ता, उति भ्रष्ट कानून भन्छन् ट्याकिटस। त्यसर्थ, समस्त लडाइँ सत्ताको लडाइँ हो र समस्त सत्ता संसाधन प्राप्तिको माध्यम हो। त्यसैले कुनै पनि सामाजिक मुद्दा सत्ता र संसाधनसँग जोडिएकै हुने गर्छ। वर्तमान अन्तरराष्ट्रिय परिप्रेक्ष्यमा, मलाई लागिरहन्छ, गोर्खाल्याण्डजस्तो राष्ट्रिय मुक्ति आन्दोलन तब नै सफल होला जब यो साम्राज्यवाद प्रतिरोधी आन्दोलनहरूको धारामा बग्छ। पृथ्वी इतर ग्रहमा नाभी प्रजातिमा अवतरण भएका 'अवतार'-का मानव जेकले मानव आक्रमणको प्रतिरोध गर्न विभिन्न समुदायहरूलाई एकबद्ध गरेको दृश्यले मलाई यति भन्न लगाएको छ यस बेला।
(हिमालय दर्पण,सिलगढी, 23 मई 2010, आइतवार -वर्ष-8, अङ्क-288)

No comments:

Post a Comment