मुखपृष्ठ

Sunday, May 30, 2010

गणतन्त्रको सर्कसबाट

My house says to me, "do not leave me, for here dwells your past." And the road says to me, "Come and follow me, for I am your future." And I say to both my house and the road, "I have no past, nor have I a future. If I stay here, there is a going in my staying; and if I go there is a staying in my going. Only love and death change all things."
-Kahlil Gibran (SAND AND FOAM)

जिब्रानले भनेअनुसार मृत्युले सबथोक फेर्छ। मृत्युले ओझेल परेका विषयहरूलाई पनि उज्यालो पार्छ। उज्यालोहरूले धरि देखाउन नसकेको थोकलाई देखाउँछ। मृत्यु वास्तवमा स्थिति हो, जीवन र जीवन विपरीत तत्त्वहरूमाझको सङ्घातको। जहाँ मृत्यु हुन्छ, त्यहाँ जीवनले नयाँ आलोक पाउँछ। हेराइ पाउँछ। पाउँछ दृष्टिकोण। हामीलाई विशाल र व्यापक ब्रह्माण्डमा बालूकण र फीँजमात्र मान्ने जिब्रान पनि उनको मृत्युपछि अझ बढी पढिन्छन्। मृत्युले नै दिन्छ कसैको बितेको जीवनलाई नयाँ परिभाषा। मृत्यु वास्तवमा जीवनका वितर्कित र जटिल मुद्दाहरूको आँखा उघाराइ हो। समाजमा जब-जब कानको मृत्यु हुन्छ, तब-तब सुन्नसक्ने कलाको सामाजिक आवश्यकताबोध अझ चहकिलो प्रश्न भएर अग्लिन्छ।

 घरि-घरि चर्चामा उठ्ने गरेको विषय हो गणतन्त्र। घरि-घरि चर्चा हुन्छ र घरि-घरि यो शब्द अन्योलताकै पिञ्जडाभित्र कैद हुन्छ। गणतन्त्रलाई हेर्ने, बुझ्ने र भोग्ने कसी स्थिर नभएकोले गणतन्त्रप्रति हेराइ, बुझाइ र भोगाइ स्थिर हुन सक्दैन। गणतन्त्रलाई जनताको शासन भन्ने गरिन्छ। तर जनता राजमा जनतै शोषित भए त्यस गणतन्त्रको के अर्थ? भइरहेको छ यस्तै नै। राष्ट्रिय र क्षेत्रिय, दुवै तहमा। गणतन्त्र यहाँ चक्मा मात्र छ गणतन्त्रको नाममा। जेलाई हामी गणतन्त्र भनेर बुझ्छौं, त्यो त बाँदरको खेल मात्रै हो। बाँदरले देखाएको खेल देखेर रमाउने आँखाहरूलाई के थाहा, त्यो खेलभित्रको राजनीतिबारे। गणतन्त्र बाँदरको कैदबाट सर्कस चलाउने कला हो भनी एच एल मेन्केन भन्छन् त्यसैले।

 बाघ बाघ हो। तर जङ्गलमा उन्मुक्त गर्जिने बाघ र सर्कसमा रिङ मास्टरको ईशारामा गर्जिने बाघ एउटै हुँदैनन्। एउटा छ मुक्त र अर्को कैद। गणतन्त्रमा तपाईं बोल्नु पाउनुहुन्छ तर सयौं सिमानाहरूभित्र रहेर। नत्र तपाईं द्रोही। घोषित हुनुहुनेछ समुदायद्रोही, जातिद्रोही, धर्मद्रोही, सत्ताद्रोही, राष्ट्रद्रोही। त्यसबेला तपाईंले देख्नुहुनेछ गणतन्त्रको वास्तविक मुहार। गणतन्त्रले तपाईँलाई कसरी निमोठ्छ, त्यसको पनि राम्ररी भेउ पाउनुहुनेछ। अनि तपाईँलाई हेक्का हुनेछ-गणतन्त्रको मुहारभित्र अर्को मुहार छ। अर्कोभित्र अर्को छ। अर्कोभित्र अझ अर्को। अर्कोहरूको यस खेलमा चेप्टिएको आम मान्छेको अस्तित्वको सुनवाइ कहाँ र कसले गर्ने, त्यो कसैलाई थाहा छैन।

समानता र मुक्ति- यी दुइ अवधारणा गाँसिएका छन् गणतन्त्रको अवधारणामा। तर समानताको नाममा जब पक्षपात र मुक्तिको नाममा जब शर्तहरू भेट्छ, तब मान्छेले आफ्नो गणतान्त्रिक अस्तित्वलाई कुन कसीमा, कुन आधारमा परिभाषित गर्ने? खटिखाने र चुसिखाने दुइ श्रेणीका मान्छेहरूमाझ विभाजित समाजमा स्वतन्त्रता, समानता, गणतन्त्र पनि पक्षपातपूर्ण नै हुने गरेका छन्। टाटाहरूको गणतन्त्र र सिङ्गुरवासीहरूको गणतन्त्र कहाँ मिल्यो र? फिलिस्तिनीहरू र अमेरिकीहरूको मुक्ति कहाँ मिल्छ? हुनलाई त लाखौं शब्द छन्, लाखौं अर्थ पनि। तर सबै अर्थहरू अर्थपूर्ण छन् र? अर्थहरू भएर पनि अति अव्यावहारिक र अति निरर्थक साबित भएको शब्द हो गणतन्त्र।

 नानीहरू बोले हामी "चुपो लाग्" भन्छौं। नानीहरूले हल्ला गरे उनीहरूको हल्लालाई दबाउन कराउँछौं हामी। उनीहरूलाई अगणतन्त्रको पाठ त्यहीँबाट दिने गर्छौं यसरी। उनीहरूको गणतन्त्र सानैबाट खोस्छौं। आफू मात्र बोल्ने र अरूलाई बोल्नै नदिने अगणतान्त्रिक मानसिकताको बीजारोपण हामी नानीहरूमा गणतन्त्रबोधका आरम्भिक दिनहरूदेखि नै गर्न थाल्दछौं। गणतन्त्र उनीहरू केवल पाठ्यपुस्तकहरूमा मात्र अमूर्त्त अवधारणाको रूपमा घोक्छन्। अचेल पैसा तिरी-तिरी धेरै बोल्नुहरू बोलेर पनि वास्तविकता नबोल्नुकै परम्परालाई जारी राख्न हामी सबै व्यस्त छौं। मोबाइल फोनहरूमार्फत्।

 त्यसैले सुन्ने संस्कृतिको खाँचो छ। आकर्षक र घनीभूत व्यक्तित्व चाहिन्छ उन्नतिको निम्ति- व्यष्टि र समष्टि दुवैलाई। सुन्ने क्षमता यस व्यक्तित्व निर्माणमा अति उपयोगी क्षमता हो। सुन्नु र सुन्नसक्ने क्षमता भएको दक्षता र सीप जन्मजात हुँदैन। जसरी जन्मजात हुँदैन सुन्न नसक्ने र अरूलाई सहन गर्न नसक्ने प्रवृत्ति। सबै सिकिन्छ र सिकाइन्छ संसारमा। समाजमा। सुन्ने बानी गणतान्त्रिक बानी हो। यसको विकासले समाज गणतान्त्रिक मूल्यहरूले धनी बन्छ, नत्र बन्छ पङ्गु र पत्रु। ऐतिहासिक दार्शनिक भोल्तेयर भन्छन्- म तपाईंले जे भन्नुभयो, त्यो कुरोसँग सहमत नहुन पनि सक्छु। तर म मेरो आखिरी साससम्म तपाईंको बोल्नुसक्ने हकको रक्षा गर्न लड्नेछु। भोल्तेयर वास्तवमा त्यस गणतान्त्रिक अधिकारको कुरा गरिरहेका छन्, जसको लडाइँ अझसम्म मानव समाजले लडिरहेकै छ।

 समाजमा बोल्नुपाउने हकको जति पैरवी हुन्छ, त्यति नै हुनुपर्छ सुन्ने हकको पनि। सहमत नभए पनि अरूलाई सुन्नु सक्नु सभ्यताको समेत परिचायक हो। सुन्ने कला जन्मजात हुँदैन, सिक्न सकिने र विकास गर्न सकिने कला हो। चीनबाट सिक्न सक्छौं हामी। कम बोलेर र धेर सुनेर, धेर काम गरेर एकबेलाको विपन्न चीन आज शक्तिसम्पन्न देश भएको छ। अरूलाई सहिष्णुतापूर्वक सुन्नसक्ने आचरणको सामुहिक र सामुदायिक विकासले मात्र कुनै पनि समुदाय विशेष सभ्य र विकासशील हुनसक्छ। नत्र जति नै सभ्यताको डीङ हाँके पनि कहीँ न कहीँ प्वाल त परेकै हुन्छ। त्यस्तै प्वाल परेको छ-छ दार्जीलिङमा पनि उहिल्यैदेखि। कसले र कहिले टाल्ने त्यो प्वाल?

(हिमालय दर्पण, सिलगढी, भारत; 29 मई 2010, आइतवार; वर्ष 8, अङ्क 295)

1 comment:

  1. प्रिय राजा दा,
    तपाईंको यो निरन्तर सिर्जनशीलताको निम्ति बधाई।

    कालहरूलाई बोध गराइने तपाईंका समसामयिक विचारस्तरमाथि चढ़ेर आनन्द लिइरहेको छु। गणतन्त्रको सर्कस हेरें। हामीले मिलेरै हेर्‍यौं। सर्कसवालाहरूले देखाएको बाटोमा तिर्खाले लड़िरहेको गणतन्त्रको अनुहारमा विचारको जङ्गल फॉंड़िएको रुखो पाखा चर्को घाममा पल्टिएको छ। विचारको जङ्गलमा चराहरू कराउनै छाड़िसकेको, सुनेर पनि नसुन्नेहरूहरूबाट उठिरहेको आवाजले छ्वाप्प छोपिएको निर्दोष वर्तमान तन्किएर घर-घर पुगिसकेको छ। घर बन्द छ। आँगनमा लङ्गड़ो यथार्थ चोया कात्तैछ। त्यसले बनाएको डोरीमा अब बॉंचेको गणतन्त्र पनि झुण्डि मर्ने हो कि!
    ग ण त न् त्र
    ग ण त न् त्र
    ग ण त न् त्र ग ण त न् त्र ग ण त न् त्र
    ग ण त न् त्र
    कति ठाउँ टुक्रिएको छ। तरूणी छोरीको जिउमा फाटेको चोलीको प्वालबाट स्पष्ट देखिने गणतन्त्र,छोरोको च्यातिएको पुरानो डोकुमेन्ट फाइलबाट मुन्टो निकालेर चेप्टिरहेको गणतन्त्र, बाउको बिँड़ीको ठूटोसित कैय्यौं पल्ट झोसिएको सपनाको धुलो गणतन्त्र अनि मञ्चमा उभिएर त्यसको सुरक्षा गर्छु भन्ने स्यॉंठ हुकूम। र, त्यसलाई हेरेर मुर्मुरिनेहरूको आत्महारा जनलहर
    -मोटोमोटी हाम्रो उपस्थितिको मानचित्र।

    माथिबाट किबोर्ड सम्हाल्नेहरू अनि लेखिन बाध्य कुटनैतिक अक्षर।
    देशको संविधान अनि फुटेको खिरकी। चोर र पुलिस भएर खेल्न आएको व्यवस्थाको धारिलो बूट।




    जनता। ज न ता....।
    न ज न ता।

    गणतन्त्रको सर्कसमा अझ्झै के के हरू खेलिनुपर्ने खेलहरू बॉंकी नै छन्‌।
    तपाईं जस्तै म पनि कलम तिखार्दैछु।
    ( साह्रै मन पर्‍यो है राजा दा। जारी रहोस्‌, यस्तै केक्के केक्केहरू बोध गराउने कालबोध।)
    भाइ मनोज वोगटी।

    ReplyDelete