मुखपृष्ठ

Sunday, June 06, 2010

तिमी एक्लै छैनौ शर्मिला

जब सकिएला जीवन
कृपया मेरो जीऊलाई बोकेर
राखिदिनू तिमीले
बाबु कोउब्रूको माटोमाथि

आगोका ज्वालामा झोसेर
मेरो देहलाई खत्तम गर्न
बञ्चरोले चिरा-चिरा चिरेको सोचेर
मेरो मन भरिन्छ घृणाले

बाहिरी आवरण त आफै सुक्ला नि
बरू यो देह कुहियोस् माटोभित्रै
बरू आउने पुस्ताको निम्ति यो केही काम लागोस्
बरू फेरियोस् खनिज पदार्थमा यो

फैलाउनेछु म शान्तिको बासना
मेरो जन्मभूमि काङ्लेइबाट
आउने दिनहरूमा
जसले ढाक्नेछ संसारै




यो जुझारु कविले लगभग छ: वर्ष भयो पानीको एउटै थोपोसम्म मुखमा सोझै नहालेको। अन्नको एउटै सितासम्म मुखमा नहालेको। हुनसक्छ, तिनको शरीर अहिले भरिएको छ हावाले मात्र। तपाईं अचम्म मान्नुहुन्छ होला। आखिर कसरी यो सम्भव छ? तिनी को हुन्? एउटा मान्छे पानी नपिई, अन्न नखाई कसरी छ-छ वर्ष बाँच्न सक्छ त? तर ज्यू, हो। तिनले पानी र अन्न नखाई बितेको छ वर्ष बिताइसकेकी छन्। तर यो केही नखाई बस्नुको पछि कुनै कीर्तिमानको लोभ छैन। यो त हो सिङ्गै भारतीय राज्यसत्ता विरुद्धको तिनको एक्लो लडाइँ। इन्टेलिजेञ्सिया, पुलिसबल, अर्द्धसैनिक बल, सैनिकबललगायत उच्चप्राविधिक हातहतियारले लैस भारतीय राज्यशक्ति विरुद्ध लड्न तिनले प्रयोग गरको एक मात्र हतियार हो तिनको खिनौटे शरीर। 2 नोभेम्बर 2000-देखि भोक हडलातमा बसेकी मणिपुरकी आइरोम चानु शर्मिला अहिलेलाई सिङ्गै भारतीय राज्यसत्तालाई विश्वस्तरीय चुनौति दिइरहेको व्यक्ति हुन्।

असम राइफल्सको अर्द्धसैनिक बलका सैनिकहरूले मालोममा दशजना मैती समुदायका युवकहरूको हत्या गरेको तीन दिनपछि शर्मिला पक्रा परिन्। नालिश – "आत्महत्याको प्रयास"। शर्मिलाले गत छ वर्षदेखि विरोध गरिरहेकी छन् "निर्विरोध सशस्त्र सेना विशेषाधिकार ऐन, 1958" (एएफएसपीए)-को। राष्ट्रिय मुक्ति आन्दोलनले दन्किरहेको मणिपुरमा थोपिएको यो ऐनको निहुँमा सेनाले निर्विरोध, नि:शर्त शक्ति प्रयोग गर्दै कसैलाई पनि वारण्ट बिना नै पक्रन सक्छ। शास्ती दिन सक्छ। सक्छ शूट गर्न। धारणात्मक रूपमा कसैले राज्यसत्ता विरुद्ध काम गरेको शङ्कामा मात्रै सेनाले कुनै पनि मणिपुरवासीमाछि यस्तो दमन र अत्याचार गर्ने प्रपञ्च अद्यापि विद्यमान छ। त्यति मात्र नभएर, यो ऐनले कुनै पनि सैन्य सदस्यविरुद्ध केन्द्रिय सरकारको पूर्व अनुमति बिना कुनै पनि थरीको न्यायिक जाँच वा न्यायिक प्रक्रिया चलाउन नसकिने प्रावधान समेत राखेको छ जसले सैन्यदललाई निर्विरोध र निरङ्कुश अभियान चलाउन उद्यत गरेको छ।

"इस्पात महिला" (आइरन लेडी)-को नामले पनि चिनिने शर्मिलाको हठअघि लगभग हार मानेको भारत सरकारले तर अहिलेसम्म एएफएसपीएजस्तो निरङ्कुश, पक्षपाती र जनविरोधी ऐनलाई रद्द गर्ने तिनको मागलाई पूरा गरेको छैन। विश्व समुदायमाझ लोकप्रिय शान्ति आन्दोलनकर्ताको रूपमा परिचित भइसकेकी शर्मिलालाई केही भइहाल्यो भने मानव अधिकारवादी विश्वसमुदायबाट चर्को विरोधिताको सामना गर्नुपर्ने डरले भरात सरकारले तिनलाई बलजफ्ती ड्रिप थ्रस्ट तक्निकको माध्यमबाट नाकको प्वालमार्फत् तरल पेय खुवाएर राखेको छ। 2 डिसेम्बर 2006-मा एएफएसपीएलाई "लचिलो" बनाउने भारतका प्रधानमन्त्रीको प्रस्तावनालाई ठुक्राउँदै ऐन पूर्ण रूपले खारेज गर्ने मागमा डटिरहिन् शर्मिला।

2010 देखि नै हडतालमा बसेकी शर्मिलाले बितेको छ वर्षदेखि त एउटै थोपा पानीसमेत मुखमा हाल्न मानेकी छैनन्। न त तिनले अहिलेसम्म कपाल बाटेकी छन्। न अनुहारमा शृङ्गार गरेकी छन्। तर तिनी अहिले सबैभन्दा आकर्षक नारी योद्धाको रूपमा चिनिन्छन्। तिनको ओठलाई अहिलेसम्म पानीको एउटै थोपोसम्मले छोएको छैन। तिनको मुखबाट अन्नको एउटै ठोस सितासम्म पसेको छैन। आफ्नो भोक हडताललाई जारी राख्न तिनी आफ्नो दाँत सुक्खा रुवाले सफा गर्छिन् भने ओठ सुक्खा स्पिरिटले पुछ्दछिन्। तिनको शरीर तर भित्रभित्रै क्षय भइरहेको छ। तर पनि तिनी यति हठी छन् कि बेलाबेला तिनी आफ्नो नाकमा जडान गरिएको कृत्रिम खाद्यनलीलाई निकाल्छिन्। तिनी भन्छिन्- तिनको आवाज शान्तिपूर्ण एवं युक्तिसङ्गत ढङ्गमा "सुनिने" बनाउन तिनको यो नै एकमात्र उपयुक्त अभियान हो।

फलामजस्तै दह्रो आत्मविश्वास साथ एक्लै लडिरहेकी शर्मिला तर एक्लै कहाँ छिन्? किनभने उनको लडाइँ मात्र गणतन्त्रको निम्ति हो तथाकथित गणतान्त्रिक देशभित्र। आफ्नै आञ्चलिक मुद्दाहरूबीच व्यस्त अन्यत्र मानिसहरूले शर्मिलाको त्यो शुष्कप्राय: अनुहार देखेको छ? देखेको छ त्यो शुष्क अनुहारबाट आइरेहको गणतान्त्रिक आन्दोलनको ऊष्मायुक्त आभा। शर्मिला कहाँ एक्लै छिन् र? गणतन्त्रको निम्ति लडिरहेका, आवाज चर्काइरहेका समस्त जनमुखी ताकत तिनको पक्षमा उभिँदै छन्। विश्वका सबै मानिस भाइ-भाइ भएकाले सबैको दुख-समस्या साझे हो भन्ने आशयको प्रख्यात गीत "वी आर अन द सेम बोट" अहिले स्मरण भइरहेको छ। शर्मिलाको नाममा। मानव अधिकारको निम्ति प्रतिबद्ध 'एसोशिएसन फर प्रोटेक्शन एफ् डेमोक्रेटिक राइट्स' (एपीडीआर)-को जलपाइगढी शाखाले यस वर्षको क्यालेण्डर तिनै गणतान्त्रिक योद्धा शर्मिलालाई समर्पित गर्दै लेखेको छ- "तिमी सक्छ्यौ अनि हामी तिम्रै पक्षमा उभिएका छौं।"


(कविता साभार- www.manipurfreedom.org)

(हिमालय दर्पण, सिलगढी, भारत; 6 जून 2010-आइतवार; वर्ष-8, अङ्क-302)

1 comment: