मुखपृष्ठ

Sunday, June 27, 2010

देश हरायो भने के हुन्छ?

"Imagine there's no countries


It isn't hard to do


Nothing to kill or die for


And no religion too "


-JOHN LENNON


 आफ्नै प्रशंसकले गोली ठोक्दा मरेका थिए। 60-को दशकमा उधुम मच्याउने युगान्तरकारी रक् ब्याण्ड ‘बिटल्स’-को निम्ति अर्थपूर्ण गीतहरू लेखे। पछि ‘बिटल्स’ फुट्यो। तिनी छुटे। लेखिरहे-गाइरहे गीतहरू तर। जापानी योकोसँग बिहे गरे। साम्राज्यवादी युद्धविरुद्ध आवाज चर्काए। ‘गीभ पीस ए चान्स’ गीत लेखे। “म योद्धा हुन चाहन्नँ, रुन चाहन्नँ/ म योद्धा हुन चाहन्नँ, झूठो बोल्न चाहन्नँ” भन्दै एउटा गीतमा युद्धको मुख्य संसाधन मानवलाई युद्धमा भाग नलिने आह्वान गर्छन्। विश्वका कुना-कुनामा विभिन्न जातिहरू र समुदायहरू आ-आफ्ना राज्यहरू र देशहरू निर्माण गर्न उत्तेजित भइरहेको प्रेक्षापटमा असम्भव प्रतीत हुने प्रस्तावना दिन्छन् - देशकै नामनिशान मेटाउने। मानचित्रहरू मास्ने। यस्तो अनौठो ‘देशविहीन एकीकृत विश्व’-को कल्पना गर्न लगाउँछन् बहु वितर्कित र प्रसिद्ध गीत ‘इम्याजिन’ (1971)-मा। यहाँसम्म कि तिनले मात्र यो 'सपना' देखिरहेको नभएर, हामी पनि एक दिन यस सपनाको अभियानमा ‘एकबद्ध हुने’ आशा राख्छन्। गायक-गीतकार जोन लेन्नन।

 राज्य माग्नेहरूको निम्ति "देशकै मानचित्र उडाइदिऊँ" भन्ने यस्तो ‘उडन्ते’ प्रस्ताव मनोबलभञ्जक साबित होला। देशै नभए देशभित्र हुने राज्यको के होला त? कट्टर राज्यप्रेमीहरू यस्तै सोच्लान्। विद्यमान देशबाहिर देश माग्नेहरू सोध्लान् - देशै नरहे, देशको बाहिर के, भित्र के? देश रहोस्-नरहोस्, तर रहन्छ मान्छे। मान्छेले ठीक आफ्नो जीवन धान्नेछ। जीवनको अग्लो प्रश्नअघि पुड्के छन् अरू सबै प्रश्नहरू। देशकै प्रश्न पनि। देशलाई देश बनाउने सिमाना मान्छेको निम्ति होस्-नहोस्, मान्छेलाई मान्छे बनाउने प्रकृतिका तमाम आयामहरूले मान्छेलाई जिउने कला (लोक) संस्कृति बनाउँदै लैजान त सघाउँछ नै। उसले टेकेको माटो, उसले छोएको पात, उसलाई छोएको घामको किरण, उसले फेरेको श्वास भने उसको संस्कृतिका एकाइ बन्छन्। पछिबाट सभ्यताका देवाल, दैलो र खिरकीहरूले जन्माउँछन् सीमा-साँधहरू। मान्छेको मनभित्रको सिमाना छ भौतिक सिमानाजस्तै। सिमाना कोरिए पनि त्यो त मान्छको मन-मस्तिष्कमा कोरिन्छ बढी चर्को गरी। देश त्यसैले मनमा छापिन्छ। मानचित्रको चैत्रिक आडमा।

 यसरी यहाँ कुरा छ विकल्पको। राज्य र देशको विकल्पको। युद्धकै विकल्पको। कुरा छ सिमानाको विकल्पको। जुन सिमानाले मान्छेलाई मान्छेदेखि छुट्टाउँछ। मान्छेलाई मान्छेकै दुश्मन बनाउँछ। त्यस्तो सिमाना हामी राजनीतिदेखि अर्थनीतिसम्म पाउँछौं। कवितादेखि मनोविज्ञानसम्म पाउँछौं। खाद्यान्नदेखि वैद्युतिक यन्त्रहरूसम्म पाउँछौं। मान्छे-मान्छे बीच तगारो भएर उभिएको (उभ्याइएको) देवालले दूरी अझ बढाउँछ। देवाललाई हटाउन देवाल तोड्नुपर्छ। यही हो देवालको विकल्प। माटोलाई कोरेर बनाइएका देशहरूमाझ लगाइएको काँढेतारले मान्छेलाई देशभित्र र बाहिरको बनायो। काँढेतारको विकल्प- काँढेतार हटाउनुपर्छ।

 मनोरञ्जनको पराकाष्ठा वैद्युतिक सामग्री 'आइ-पड'-दखि लिएर मानव चरित्रको चिरकालीन वाहक डीएनए वास्तवमा पूँजीवाद नजन्मीकन शुरु भएको ग्लोबलाइजेशन (वैश्वीकरण)-कै प्रतिउत्पाद हुन्। खाद्यान्न र संसाधनको सङ्ग्रह र खोजीमा एक ठाउँदेखि अर्को ठाउँ सरिरहने मानवले आज पनि त्यही प्रकृतिको वहन गर्ने हुनाले ग्लोबलाइजेशनको दाग मानव समाजको मौलिक आयामतिर पनि लागेको हो। त्यसैले मानव जीवन र मानव समाजमा गहिरो गरी गाडिएको छ ग्लोबलाइजेशन। यसले घातक प्रभाव पारिरहेको छ सबैलाई। सबभन्दा पहिला संस्कृतिमै सोझै आक्रमण चलाउने ग्लोबलाइजेशनले नैतिकता र विश्वास मानव समाजबाट विलोप गराइदिएको छ। परिचय (आइडेन्टिटी) र राष्ट्रियता (न्याशनलिटी)-कै निम्ति यो जोखिमपूर्ण साबित भएको छ। यसले मानव समाजलाई सोलोडल्लो एकरसीय अस्तित्व प्रदान गर्न खोज्दै परिचय सङ्कट जन्माइदिएको छ। राष्ट्रियताको आधारमै जरा गाडेको छ। यसो हेर्दा र सुन्दा वैश्वीकरण देशहरूलाई जोड्ने र एक पार्ने विश्व व्यवस्था हो जस्तो लाग्नसक्छ तर वास्तवमा ग्लोबलाइजेशन देशहरूमाझको पारस्परिक सम्पर्क निर्भरता र आर्थिक अन्तरसम्बन्धको प्रक्रिया हो। यो प्रशासनिक व्यवस्थाको विषय हो। यसले देशहरूको सिमाना तोडेझैं लाग्छ तर देशहरू देश भइरहनुमै यसका हिमायतीहरूलाई लाभ छ।

   ग्लोबलाइजेशनले देशहरूभित्र देश बनाउँछ। पूँजीले बढ्दो तर बजारले खुम्चँदो अमेरिकाजस्तो ताकतवर देशलाई नयाँ 'उदार' बजार चाहिन्छ। विशेष गरी पहिलो विश्वका केही पूँजीवादी देशहरूले तेस्रो र चौथो विश्वका भारतजस्तो देशभित्र नयाँ बजार पाउनमा ग्लोबलाइजेशन मुख्य कारक सिद्ध हुन्छ। त्यसैले ग्लोबलाइजेशन देश-देशको सीमा तोड्न होइन, सीमा अझ चहकिलो कोर्नमा सक्रिय छ। ग्लोबलाइजेशनलाई चाहियो भने गोर्खाल्याण्ड भोलि हुन्छ। काम्तापुर भोलि हुन्छ। नागाल्याण्ड सहजै भारतबाट चुँडिनेछ। सिक्किम फुकिनेछ। देशको अस्तित्व नै ग्लोबलाइजेशनको महामारी फैलिने माध्यम र कारण हुनसक्छ। ग्याङ्ग्रीन र क्यान्सरजस्तो रोगको उपचार नै हुन्छ उक्त रोगले प्रभावित अङ्गलाई शरीरबाट उच्छेद गर्नु। ग्लोबलाइजेशनग्रस्त मानव समाजको प्रभावित अङ्ग देशलाई उच्छेद गर्नु एक उपचारै हुनुसक्छ। ग्लोबलाइजेशन र देशहरण एउटै अवधारणा होइनन्। एकै लागे पनि विपरीत अवधारणा हुन्। सबैलाई गुणकारी लाग्ने ग्लोबलाइजेशन गणतान्त्रिक छैन। यो अमेरिकाजस्तो देशको लागि लाभकारी र भारतजस्तो देशको लागि हानिकारक छ। कहाँसम्म भने, अर्थनीतिका केही सर्वेक्षणले त अमेरिकाजस्तै गतिला देशका आम जनतालाई ग्लोबलाइजेशनले गुल्चे गरिरहेको बताएका छन्।

 भित्र बसेर बाहिरको कुरा गर्नु सजिलो छ। बाहिर बसेर भित्रको कुरा गर्नु पनि सजिलै। तर भित्र बसेर भित्रकै कुरा गर्नु बडो अप्ठ्यारो। बाहिर बसेर बाहिरकै कुरा गर्नु पनि अप्ठ्यारो। पृथ्वीको गर्भबाहिर बसेर गर्भभित्रको तापमान नाप्न सकेको छ मान्छेले। त्यसैले मान्छेले पृथ्वीभित्र स्वर्गको कल्पना गरेन। नर्क पनि बाहिरै राख्यो। कहाँ छ स्वर्ग, कहाँ नर्क, कसैलाई थाहा छैन। तर यति चाहिँ भन्छन् किटान गर्दै सबैले- “बाहिर छ बाहिर।“ किनभने पृथ्वीमा अप्राप्य सुख-शान्तिको कल्पना पृथ्वीबाहिर रहेको छ भन्नु कति सजिलो छ। तर प्रमाणित गर्नु? ग्लोबलाइजेशनले बाहिरलाई भित्र र भित्रलाई बाहिरको भ्रम दिएको छ। भित्रलाई भित्र र बाहिरलाई बाहिर हुनु दिएन यसले।

 देवालहरू, काँढेतारहरू छैनन् भने के हुन्छ? देश हराउँछ। तर नभएको चीज के हराउँथ्यो र? देश वास्तवमा माटो, पहाडपर्वत, झील, खोलानाला, रूखपात। ती त रहन्छन्। हराउँछ त नागरिकको मस्तिष्कलाई बाँध्ने व्यवस्थाको साङ्लो। व्यवस्थाले नानीहरूलाई 'ठूलो' बनाउन सानैदेखि प्रशिक्षित गर्छ: "यो मेरो देश हो। यो मेरो महान् देश हो"। ठूलो भएपछि त्यही नानी कुनै देश भन्ने चीजको अन्योलतापूर्वक अवधारणा धारण गरेको जटिल नागरिक बन्छ। त्यही देशको। देश त्यसर्थ जमीनमा भन्दा पनि मनमा छ। मस्तिष्कमा छ। अवधारणामा छ। चाहे हाम्रो प्रोग्राम्ड मानसिकताले मान्न सकोस् वा नसकोस्, निश्चित छ, देशको अवधारणा मानसबाट हराउँदै जानेछ। यो थोत्रे हुँदै जानेछ। सहजै पत्यार नहोला, तर यो 'प्याराडाइम शिफ्ट'-को कुरा हो। दृष्टिकोणको जरामै परिवर्तनको सम्भाव्य कुरा हो यो।

 हामी आफैले आफैलाई सोध्दैछौं- देश हरायो नै भने के हुन्छ त? भन्न सकिन्छ, देश हरायो भने मानव समाजका धेरै रोग, विसङ्गति, विकृति र अन्योलता हराउलान्। सङ्कीर्णता र उदारताजस्ता सापेक्षिक शब्दले नयाँ अर्थ, नयाँ दृष्टिकोण र नयाँ परिभाषा भेट्टाउलान्। देश हरायो भने विद्यमान अन्तरविरोधहरू हराउलान् र नयाँ अन्तरविरोधहरू जन्मलान्। एक सीमासम्म, वर्गभेद हराउला। हराउला सत्ता। शक्तिको पाश्विक होड हराउला। दमन, शोषण र अत्याचारको एक अन्धो अध्याय मेटिएला। मानव शब्दको पछि लुकेको अर्थ, र त्यस अर्थको पछि लुकेको दर्शनले पनि नयाँ गति पाउलान्। देश हरायो भने 'सभ्यता'-बाट एक टुक्रा क्रूरता पनि झरेर जाला। एकाबिहानै ग्लोबलाइजेशनको विकल्प भएर उदाउला देशहरण भएको एउटा नाङ्गो विश्व। के जोन लेन्ननको त्यस विख्यात सपनाको अभियानमा 'एकबद्ध' हुन लागेका हौं हामी? तर यो मात्र सपना नहुन पर्ने।

No comments:

Post a Comment