मुखपृष्ठ

Sunday, July 04, 2010

उदास आइतवार

अलगावको डरले नै हामीलाई जोड्दछ।
-एन्तोजियो पोर्सिया

2 हजार साथीहरू। एक्लो थिई। उ मरी। इन्टरनेटको माध्यमबाट सम्पर्क स्थापित गर्ने साइट ‘फेशबुक’-मार्फत् उ 2 हजार साथीहरूसँग जोडिएकी थिई। मरिशियस सुन्दरी थिई विवेका बाबाजी। भारतमा मोडलिङ पेशा अप्नाई। छुट्न लागेको आफ्नो प्रेमीसँग जोडिने प्रयास असफल भएपछि गएको शुक्रवार सपनाहरूको महानगरी मुम्बईको हावामा उ झुण्डिई। ‘फेशबुक’-मा साथीहरूलाई उसको अन्तिम सन्देश यस्तो छ- "हामी धुलोबाट आयौं, धुलोमै अल्पिनेछौं।"

दिनहुँ जनसङ्ख्या बढ्छ। मान्छे एक्लो हुन्छ। अझ एक्लो अनुभव गर्छ। मान्छे-मान्छेले भरिएको संसारमा किन मान्छेले एक्लो अनुभव गर्छ? मान्छेले आत्महत्या गरेको खबर प्रत्येक दिन खबरकागजमा नआए पनि आत्महत्या त प्रतिदिन हुने गर्छ। किन गर्छ मान्छेले आत्महत्या? मान्छे एक्लो हुनु र आत्महत्यामाझ के सम्बन्ध छ?

जसरी हत्या व्यक्तिगत र सामूहिक हुने गर्छ, आत्महत्या पनि व्यक्तिगत मात्र नभएर सामूहिक समेत हुने गर्छ। आन्ध्र प्रदेशमा प्रतिवर्ष कपास किसानहरूले सामूहिक आत्महत्या गर्छन्। अरू किसानलाई वृष्टि फलदायक हुने गर्छ। तिनीहरूको निम्ति वृष्टि नै आत्महत्याको कारण बनिदिन्छ। लाख रुपियाँसम्मको ऋण लिएका हुन्छन् महाजनहरूबाट। वृष्टिले बाली बिग्रिए तिनीहरूसामु आत्महत्याबाहेक अरू बाटो रहँदैन।

कुनै पुष्टि नभए पनि 1930-को दशकमा 'उदास आइतवार' (ग्लूमी सण्डे) गीतले सयौंलाई सामूहिक आत्महत्या गर्न प्रेरित गरेको लोकास्था छ। विश्वभरि चर्चित र प्रतिबन्धित 'हङ्गेरीको आत्महत्या गीत' नामले जानिने यो गीतका रचयिता रेज्सो सेरेज भने साँच्चै आफ्नो फ्ल्याटबाट हाम फालेर मरे 1968-मा। घोर उदासी, विषण्णता, खिन्नता, निराशावाद, विसर्जनवादले भरिएको यो गीत सुनेर मानिसहरूले आत्महत्या गरे। भनिन्छ, हाम फालेर, ड्रग्सको अतिसेवन गरेर, आफैलाई गोली ठोकेर मान्छेहरू र प्रेमी जोडीहरू मरेका थिए। "पृथ्वीका सबै प्रेम मरे/ दु:खको आँसु झार्दै यो हावा पनि रुँदैछ / मेरो मनले अब फेरि नयाँ वसन्तको आशा कहिल्यै गर्नेछैन / मेरा आँसु र मेरा पीडाहरू व्यर्थ छन् / मानिसहरू हृदयहीन, लोभी र पापी छन् / प्रेम मरेको छ/ …संसार सकिएको छ।" गीतले यसो भनेर असन्तुलित, विडम्बनापूर्ण र आडम्बरी संसारप्रतिको वाकवाकी, खिन्नता र निराशालाई प्रकट गरेको छ। मानिसहरूको क्रूरता, लोभ र कुकृत्यलाई पनि गीतले धिक्कारै जनाएको हो।

मान्छेले जुन समाज बनायो, त्यहाँ उसले विभिन्न कालखण्डमा थरी-थरीका उत्पादन-प्रक्रिया पैदा गऱ्यो। सम्भवत प्रत्येक सामाजिक (व्यक्तिगत पनि) विषय उत्पादन र उत्पादन-प्रक्रियाको नियन्त्रणको सवालसँग सोझै वा घुमेर जोडिएकै हुन्छ। प्रकृतिलाई नियन्त्रणमा ल्याउने दुष्प्रयासमा आफूले बनाएको यन्त्रकै गुलाम भएको मानव समाजको प्रकृतिसँगको सङ्घर्षमा जति उपलब्धि छ, त्यति नै उसले आफ्नो अस्तित्व हराइपठाएको छ। यन्त्रीकरण भइसकेको मानवले न त प्रकृतिलाई जित्न सक्यो, न आफैलाई। प्रकृतिलाई नियन्त्रणमा ल्याउनु त होइन, बरू उ आफै यन्त्र र यान्त्रिकताको गुलाम भयो आधुनिक र उत्तर-आधुनिक बेलामा। मान्छे र यन्त्रमाझ खासै फरक रहेन। यहाँ सुन्नुहोला, पिङ्क फ्लोयडको 'वेल्कम टु मशिन'-लाई पनि।

कालान्तरमा मानव समाजमा विशाल जटिलता देखा पऱ्यो- अलगाव (एलियनेशन)। विभिन्न मनोवैज्ञानिक, समाजवैज्ञानिक र दार्शनिकले आ-आफ्नो व्याख्या राखे। सबैभन्दा चर्चित व्याख्या छ दार्शनिक कार्ल मार्क्सको। उत्पादन प्रकियामा आएका युगान्तरिक परिवर्तनहरूले मान्छेलाई जटिल र अराजक बनाइदियो। पूँजीवादी अर्थ व्यवस्थाले उत्पादक (मानिसहरू)-लाई विचित्र ढङ्गमा आफ्नै उत्पादन प्रक्रियाबाट विच्छिन्न बनाउँदै लैजान्छ। मानिस यसरी आफ्नै उत्पादन प्रक्रियाबाट काटिन्छ, अलग्गिन्छ। समाजबाट पनि। यहाँसम्म कि आफैबाट समेत काटिएको मनोस्थितिमा बाँच्ने प्रयास गरिरहन्छ। उसको अलगावले उसलाई अझ कमजोर र उसको शासक-शोषकलाई अझ बलियो बनाइदिन्छ। अलगाव त्यसैले मानिसलाई एक्लो बनाउने प्रक्रिया हो। इतिहासबाटै मान्छे अलग्गिएर बस्न नसकेको हो। उ झुण्डमा बस्थ्यो। झुण्डमै रुचाउँछ। अलगाव र यसको डरले उसलाई जोडिरहेको छ। अलगाव तर रहिरहन्छ। जबसम्म यसलाई उत्पन्न गराउने पूँजीको अस्तित्व छ।

 समाजविज्ञान अनुसार उक्त अलगावको खाता खोलिएको छ अगावै जब व्यक्तिगत सम्पत्तिको चलन शुरु भएको थियो। अलगावको भावले नै मानिसमा उदासी, खिन्नता, विषण्णता, निराशा उत्त्पन्न गराउँछ। संसार यति यान्त्रिक भएको छ, मान्छे झुण्डमाझ एक्लै बाँच्न चाहन्छ। अलगावको नकारात्मक प्रभावले मान्छेको समाजमा अन्तत मनोवैज्ञानिक जटिलता, मनोविषण्णता। मान्छे जोडियो, संसार उनीहरूको। मान्छे छुट्टियो, संसार अरूको। मान्छे अझै एक्लो, अझ एक्लो हुन्छ। हुँदै गएको छ। मान्छे-मान्छे बीचको अन्तर अझ फराकिलो हुँदै जान्छ। मान्छेहरूलाई जोड्ने सूत्र अझ झीनो हुँदै जान्छ। चुँडिँदै पनि जान्छ। पहिलो बङ्गला रक ब्याण्ड 'महिनेर घोडागुली' -को विख्यात गीत 'पृथ्वीटा नाकी' (कवि गौतम चट्टपाध्यायद्वारा लिखित) –मा एक ठाउँ यस्तो छ- "पाशापाशी बोसे एक साथे देखा, एक साथे नय आसोले जे एका" (छेउछेउ एकसाथ बसेर हेरिँदैछ, तर एकसाथ छैनौं, वास्तवमा एक्लाएक्लै छौं)। यस गीतांशले पनि अलगावको त्यो चरम र रौंचिरा प्रभावलाई नै पराकाष्ठामा अभिव्यक्त गरेको छ, जसको अनुभव हामी प्रत्येक दिन प्रत्येक क्षण घरमा, बजारमा, चौकमा, पाठशालामा, कार्यालयमा, व्रकशपमा, फ्याक्ट्रीमा गरिरहेकै छौं।

मनोविज्ञानले एक्लोपनलाई मनोविकृतिगत जटिलताको रूपमा व्याख्या दिन्छ। विषण्णता, उदासी- त्यसपछि आत्महत्या, यो शृङ्खलाले मानव समाजमा मानसिक र भौतिक उपस्थिति पाएकै छ। उसो भए, के अलगावदेखि उत्पन्न आत्महत्या कुनै पनि समस्याको समाधान हुनसक्छ त? हुन सक्दैन। आत्महत्या आफैमा नकारात्मक शब्द हो। तर अलगावको सामना गर्न यसको ऋणात्मक आयामको प्रयोग गर्नुपर्नेछ। ऋणात्मक शक्ति सकारात्मक-धनात्मक शक्तिमा फेर्नेहरू पनि छन्। मानव समाजको संरचना, अधिरचना नै यस्तो खाले छ, जसले गाँउ-शहर चारैतिर एक्लो स्वार्थमा डुब्न सिकाइरहेको छ मान्छेलाई। यो अलगावको विस्तार खटिखाने वर्गदेखि लिएर नव धनाढ्य, मध्यवर्गीय र उच्च्मध्यवर्गीय मानिसहरूसम्म छ। मान्छेलाई यस अलगावबाट मुक्ति चाहिन्छ। अलगावबाट मुक्ति तब नै छ सम्भव, जब साँच्चै मुक्तिको अर्थ खुल्छ। आइतवारहरू उदास रहनेछन् सदा। जबसम्म मान्छेले मुक्तिको सही अर्थ खोज्दैन।

No comments:

Post a Comment