मुखपृष्ठ

Sunday, July 18, 2010

पछिल्तिरको कुरा

कुनै कार्यक्रम भएको हुनुपर्छ। हुनेवाला पनि हुनसक्छ। सिलगढीमा प्रायजसो यस्तो कार्यक्रम भइरहन्छ। सांस्कृतिक, साङ्गीतिक। अथवा त्यस्तै कुनै कार्यक्रम। देखाउन, हेराउन। देख्न, देखिन। देखिमाग्न, हेरिमाग्न। पण्डाल ठूलै छ। पण्डालको अघिल्लो भाग देखिएको छ। गाडी केही अघि बढेपछि पण्डालको पछिल्लो भाग पनि देखिन थालेको छ। अघिल्लो भाग रङ्गीन कपडाहरूले सजाइएको छ। चारैतिर सिङ्गारपेटार गरिएको छ। सिलगढी पस्दैछौं। गाडीमा अघिल्लो सीटमा एक दम्पती छ। स्वास्नीमान्छेको काखमा बसेको जिज्ञासु बालकले यात्रा सकुञ्जेलमा दर्जनौं जिज्ञासा प्रकट गरिसकेको छ। भलै उसको धेरजसो जिज्ञासा बाबुठूलाहरूले अनसुना नै किन नगरून्। दुइएक चोटि त उसले प्रश्नाहत बाबुको लाचार हपाराइ पनि खाएको छ- "भयो, भयो, अब चुपो लाग् त।" बालक प्रश्न गरेको छ-छ। उसको मुख थाक्दैन बोल्नलाई। उसको आँखा थाक्दैन हेर्नलाई। अन्त्य छैन उसको कौतुहलको। हतारिएको गाडी मात्र यात्रा थन्काउन लागेको छ हतारिँदो सिलगढी पुगेपछि।

गाडीबाट ओर्ह्लिएपछि हिँड्दैछु ब्याग बोकेर। बस, रिक्सा, अटोहरूबाट छेलिँदै हिँडेको छु। विशृङ्खल शहरमा गणतान्त्रिक गर्मीको मजा लिँदै। त्यो बालक अहिले प्रश्न भोगिरहेका आमा-बाबुसँग कहाँ पुगिसकेको छ कुन्नि, त्यो बालकको अन्तिम सोधाइले चाहिँ कुन्निकस्तो, के-के-के-के भइरहेको छ मलाई। उसको सोधाइ कान चिथोर्ने यो हल्लाखल्ला र कोलाहलबीच पनि स्पष्ट गुञ्जिरहेको छ कानमा। कम्तीमा पनि त्यो प्रश्नले मेरो मानस उभिएको भुइँलाई सुतुतु तानेर लगेको छ। प्रश्नले मस्तिष्कमा युक्तिको मार्तोलले हिर्काइरहेकै छ, हिर्काइरहेकै छ। ठूलो उत्तरको केस्रा उत्तरहरू एकपछि अर्को केलाउँदै दिन्छु। अहँ प्रश्न जहीँको त्यहीँ ठिङ्ग उभिरहन्छ भित्र। तपाईँ सोच्नुहुन्छ होला, आखिर के छ त त्यो बालकको प्रश्न?

बालकको प्रश्न छ- "बाबा, त्यो पण्डालको पछि चाहिँ किन नसजाएको?" प्रश्न बाङ्गो छैन। बालसुलभ छ। झ्वाम्मै सोधिएको सोझो सोधाइ छ। तर छ संवेदनशील। छ जटिल पनि। हो त, किन सजाइँदैनन् त पण्डालका पछिल्ला भागहरू? किन छाडिन्छन् ह्वाङ्हुङ? बाबु चाहिँ निरुत्तर थियो। प्रश्नले प्रश्नै जन्माउँछ। किताबको अघिल्लो आवरण पृष्ठभन्दा कम आकर्षक किन बनाइन्छ पछिल्लो आवरण पृष्ठ? मान्छेले ढाड हेर्ने ऐना किन नराखेको त? केवल अघिल्लो भाग मुख हेर्ने ऐना मात्र किन सजाइन्छ? भित्तामा झुण्ड्याइएको फ्रेमको पछिल्लो भाग कसले हेरिरहन्छ? क्यालेण्डरको पल्टिसकेको पाताको महिना कसले हेर्ला? बितिसकेको समयलाई कसले फर्केर हेर्ला? जे हुनुथियो, भइसक्यो। जे भयो, त्यो भयो। समयको मात्र अग्रभाग हेर्नेहरूको जमातमा छौं हामी। कसैले "इतिहास त मऱ्यो नि" भन्दा छक्क पर्दै "ए हो त है भन्छौं।" जब कि काँध-काँधमा सबै आ-आफ्नो एक-एक इतिहासको गह्रौं भारी घिसार्दै हिँडिबसेका छन्। इतिहासको एक-एक पन्ना एक-एक पृथ्वी गह्रौं। समयमा टेकेको एक-एक पाइलाको छाप परेकै छ इतिहासमा पनि। त्यो छापको दाग खिलेर हिँड्नेहरू भूतकालको मलामी गएर आएको स्वाङ गर्छन्।

अघि जे छ, पछि त्यो छैन। पछि जे छ, अघि त्यो छैन। अघि र पछिमाझको असन्तुलित योगफलको विडम्बनाले थलिएको समाजमा त्यसैले गणतान्त्रिक मूल्यमान्यताको अपेक्षा गर्नु धेरजसो समय वृथा हो। त्यहाँ समान अधिकार, समान हित, समान न्यायको समीकरण मिल्दैन, जहाँ अघि र पछिमाझको समीकरण नै असन्तुलित छ। अघिल्तिर एउटा कुरा, पछिल्तिर अर्को कुरा गर्नेहरूको संस्कार घरबाटै शुरु हुने सभ्य समाजमा कहिल्यै समानता, सद्भावना, भाइचारा स्थापित हुन सक्दैन। समाज कोल्टे छ। पृथ्वी कोल्टे भएकोझैं। समाजले सबैलाई बिझाउँछ। विचलित, विस्थापित, विभग्न समाजमा गणतन्त्र, शान्ति, न्याय, स्वतन्त्रता, मुक्तिजस्ता शब्दहरूलाई एकखापे, एकपाटे अर्थमा बुझ्नुहुँदैन। अर्थहरूकै अर्थ पनि त्यसैले निकाल्न जरुरी हुने गर्छ।

रुमाल भनेको कात्रो हुनसक्छ, भात भनेको टाँड हुनसक्छ, गुलाफ भनेको विष हुनसक्छ, लट्ठी भनेको बन्दुक हुनसक्छ। सुन्दर देखिने मुहारको पछिल्तिर कुरुप प्रस्ताव लुकेको हुनसक्छ। मीठो बोलीको पछिल्तिर धोका लुकेको हुनसक्छ। अनि ठीक उल्टा पनि। शान्ति हिंसा हुनसक्छ। हिंसा शान्ति। जात हार हुनसक्छ। हार जीत। न्याय सजाय हुनसक्छ। सजाय न्याय। सुकिलो लुगा लगाएका भद्र मान्छेको मनको पछिल्लो भागमा अर्कै केही हुनसक्छ। उसले देखाएको भन्दा बेग्लै। किताब राख्ने ठाउँमा रक्सी हुनसक्छ। सन्देश दिने ठाउँमा धम्की हुनसक्छ। दुध पिउने भाँडामा विष हुनसक्छ। आन्दोलनको नाममा खेल खेलिनसक्छ। सेतो बहुलाभित्र कालो साँप लुकेको हुनसक्छ। अघि हात मिलाउने हातले पछिल्तिरबाट छुरी घोंपिदिनसक्छ। पछिबाट गाली दिनेले अघिबाटै वार गर्नसक्छ। मैले उत्तर अझ पाएको छैन त्यो बालकको प्रश्नको। के तपाईँले चेष्टा गर्न थाल्नुभयो?

No comments:

Post a Comment