मुखपृष्ठ

Wednesday, July 28, 2010

प्रथम हुनुको भूत

-"के भइस्?"


-"... ... ..."


-"ए... प्रथम त भइनस् पो!"

बाबुलाई परीक्षाफलबारे रिपोर्टिङ गरिरहेको त्यो निरीह बालक त्यसपछि ढुङ्गाजस्तै मौन बन्छ। उसको यो चाम्रो मौनताको ठूलै हिसाबकिताब छ उसको कमुलो मानसभरि। उसको इतिहासमा उसले लडेको र हारेको लडाइँका मैदानहरूमा प्रथमको चिहानघारी छ। उसले हरेक वर्ष प्रथम हुन नसक्नुको पीडा खप्छ। बाबुको हप्की र पिटाइ खाएर-खाएर 'प्रथम' शब्द कुनै राक्षसको नाम लाग्दो हो उसलाई। प्रथम शब्ददेखि उसलाई ठूलै विरोधिता छ। प्रथम उसको दुश्मन। प्रथम हुनुको भूतले कमसेकम अब उसलाई सताउन छाडेको छ। उ थेत्तर भएको छ। प्रथम नहुनुको अपराधबोधले उसलाई गिजोल्दैन अचेल। उ शायद खोज्दैछ प्रथमको विकल्प।

सानैदेखि हामीले एउटै ध्रुव सत्य सिकेर आयौं- दौड। यदि हामी दौडेनौं भने कोही अरू अघि निस्कनेछ हामीलाई पछि छाडेर। लङ्की पनि थाप्नेछन्। जरा पनि काट्नेछन्। हामीलाई टप्किने छन् अरूहरूले। हामीलाई किल्चिएर जानेछन् अरूहरू। प्रथम हुनेछ अरू नै कोही। अनि हामीले चाहिँ सम्झौता गर्नुपर्नेछ कुनै अप्ठ्यारो खाले दोस्रो, सयौं, हजारौं, लाखौं स्थानतिर प्रथम नहुनुको अमिलो, टर्रो र पिरो पछुतोसँग। तर यो महिमामण्डित प्रथम हुनुको सत्यले हामीलाई कुन यथार्थसम्म पुऱ्याएको छ त? यो सत्यको धुरीमा को छ- हामी कि को (के)?

दौड-दौड-दौड। यो दौडको होडले सबैलाई प्रथम हुनु अह्राएको छ (कुनै पनि हालतमा)- "प्रथम श्रेणीमा उभिनू।" नत्र अरूले लाटा भन्नेछन्। मूर्ख ठान्नेछन्। नत्र खुट्टामा उभिनु साह्रो पर्नेछ। कीर्ति अर्जिनु, धन कमाउनु गाह्रो हुनेछ। प्रथम हुनुको भूतले कसै-कसैलाई त प्रथम धेर बनाएको छ, मान्छे थोर। सके, आज जन्मनसाथ हरेक नानीलाई 'टार्गेट' दिइँदो हो, नबोलिने भाषाहरूमा, नदेखिने संस्कारहरूले, -प्रथम। हरेक ठाउँ प्रथम हुनुको मानसिक चाप बोकेको आजको पुस्ता प्रथमको धङधङीमा छ। प्रथम हुनुपर्ने बाध्यताहरू। प्रथम हुनैपर्ने क्लासमा। प्रथम हुनुपर्ने क्युमा। प्रथम हुनुपर्ने कीर्तिमा। प्रथम हुनुपर्ने क्रेतामा। प्रथम विक्रेतामा। प्रथम हुनुपर्ने धनमा। प्रथम प्रभावमा। प्रथम प्रत्येक प्रतियोगितामा। प्रथमको यो निष्ठूर लडाइँ प्रत्येकको निम्ति निर्णायक लडाइँ। प्रथमको पछिल्तिर अप्रथमहरूको खुनको खोला बगेको छ-छ।

प्रथम हुनु पर्ने होडको यो अनौठो प्रचलनले के मानव समाजलाई वास्तवमा नै लाभ पुऱ्याएको छ त? कुनै पनि स्थिति र कुनै पनि मूल्यमा प्रथमै हुनुपर्ने हठवादले थलिएको मानव समाजले कतै सृजनात्मकतासँग, सकारात्मकतासँग, मानवीय मूल्यहरूसँग कतै सम्झौता गरिसकेको त छैन? आफ्ना नानीहरूलाई प्रथम हुने अर्ती दिने आमा-बाबुले आफ्ना आमा-बाबुबाट पनि त्यही अर्ती नै धरोहरको रूपमा पाएर आएका छन्। यो पारम्परिक धरोहरले दिएको क्षयदान र पतनलाई पुस्ता दर पुस्ता सञ्चित-सुरक्षित राखिएको छ।

प्रथम हुनु नसक्ने विद्यार्थीले प्रतिवर्ष आत्महत्या समेत गर्छ। प्रतिवर्ष बोर्ड परीक्षाफल घोषित हुनसाथ खबरकागजहरू विद्यार्थीको आत्महत्याको समाचार लिएर आउँछन् एकाबिहानै। तीव्र मनोविषादको रोगले ग्रस्त हुन्छन् आत्महत्या गर्न नसक्ने नानीहरू। यसरी प्रथमको लडाइँमा लड्दा-लड्दै बलि चढ्छन् भोलिका सम्भावित नेता, प्रणेता, प्रतिभा र विजेताहरू। धेरजसो चाहिँ लडाइँ लड्नै नसकेर पहिल्यै आत्मसमर्पण गर्छन् प्रथमहरूको दासत्व स्वीकार्दै।

प्रथमको क्रूर लडाइँमा पिसिएको सृजनात्मकता र सकारात्मकतालाई कसैले हेर्दैनन्। बढीजसो प्रथमको लडाइँ नै नकारात्मक र विध्वंसक छन्। केन्द्रबाट मानवीयता विस्थापित छ। यानत्रिकता बलशाली छ। सहजता र प्राकृतिकता गौण भएको यस्तो सङ्कटकालीन स्थितिमा कृत्रिम मूल्य-मान्यताहरूले निर्मित र भरिभराउ जीवन जिउने क्रम जारी छ। यही कृत्रिमताको हस्तान्तरण भइरहेको हो एउटा पुस्ताबाट अर्को र अर्कोबाट अर्कोसम्म।

मान्छे यतिसम्म यान्त्रिक भएको छ कि उसले आफैलाई समेत देख्न छाडेको छ। फैलाई एउटा सजीव प्राणीको रूपमा चिन्न छाडेको छ। आफू बाहिर र भित्र केवल उ यन्त्र, यन्त्र र यन्त्र देख्छ। यो खरो यान्त्रिकताले जीवनका सबै कसौटीमा सबैथोक एकोहोरो, विषण्ण र पट्यारिलो बन्छ। बोरडम। त्य सत्यलाई मिच्न मनोरञ्जन, ध्यानधर्म र भौतिक क्रीडाकर्मको शरण लिइन्छ। यी मनोरञ्जन, ध्यानधर्म र भौतिक क्रीडाकर्म पनि आफैमा यान्त्रिक नै त हुन्छन्। यान्त्रिकलाई दबाइ यान्त्रिकताकै। जहीँ पुगे पनि, जो गरे पनि यात्रा छ यान्त्रिकतादेखि यान्त्रिकतासम्मको। यान्त्रिकताको यो भयानक वृत्त भोगिरहेको मान्छेले गति र परिवर्तन भनेको त्यही वृत्तभरिको दौडलाई बुझेको र बुझाएको छ। बडो यान्त्रिक ढङ्गमा। जसको न कहीँ शुरु छ, न छ अन्त्य। यान्त्रिकताको वृत्तको यो अतिसरलीकरण र न्यूनीकरण गर्छन् यान्त्रिकताभोगी मानवहरू। सबै अन्योल सत्यलाई लिएर यन्त्रझैं घस्रिरहन्छन् चल समयको अचल बालुवामाथि।

स्कूलै नजाने, फेल हुने, लद्दु नानीहरू ठूला भएर आइन्सटाइन, एडिसन र रविन्द्रनाथहरू भए। स्कूल गएर प्रथम हुने नानीहरू ठूला भएर के हुँदैछन्? कपीक्याट? यथास्थितिका अनुसरणकर्ता। हिजो सृजनात्मकता थियो। हिजो सृजनात्मकता थियो। आज छ प्रतिरूपकता। हिजो थियो गुण। आज मात्रा। गुणात्मकताको मृत्युबोध लिएर हिँडिरहेको (दौडिएको) समाजले मात्रात्मकताको हैजा भोग्दैछन्। अन्धो मूसादौडमा कति डक्टर, कति इञ्जिनियर, कति म्यानेजर, त्यो सोधिन्छ तर कति सोधिन्छ तर कति मान्छे, यो विरलै सोधिन्छ।

प्रतिभामा तथाकथित प्रतिस्पर्धाको स्टेरइड इञ्जेक्ट गरी पोल्ट्री बनाइने यस युगमा साहित्य, कला, विज्ञान, प्रविधि, अर्थनीति, राजनीति समस्त ठाउँमा प्रतिरूपहरूको खेती हुन्छ। समाजै पोल्ट्री फार्म। समाज पोल्ट्री फार्म भएको छ पैसा, र अण्डा पार्ने कुखुराहरू हुर्काउने। यस्तोमा के को मूल्य-मान्य़ता, के को स्वतन्त्रता, के को आत्मनिर्णय? बोल्ने अधिकार पाओस्-नपाओस्, खोरभित्र चारो पाए भइगयो। गणतान्त्रिक परिवेशसँग कसलाई के को वास्ता? उपभोग गर्न पाए पुगिगयो। संसार र आफूलाई किन बुझ्ने, प्रथम हुनपाए त भइगयो। कहिले छोड्ने हो कुन्नि यो प्रथमको हिड्कीले।

No comments:

Post a Comment