मुखपृष्ठ

Sunday, November 14, 2010

छान्नुको सङ्कट



फोटो सौजन्यः 
http://politicstheoryphotography.blogspot.com
 
तारमा बसेको चराझैं
मध्यरात गायनटोलीमा मातेको मान्छेझैं
मैले आफ्नै ढङ्गमा मुक्त हुने कोशिश गरें 
-लियोनार्द कोहेन  
सङ्घाइको कोम्युन रेस्तुराँले थालेको रहेछ 'रक्सी-गणतन्त्र'। महिनाको एकपल्ट सामुहिक फोकटे सेवनको निम्ति रेस्तुराँले कुन रक्सी उपलब्ध गराउनुपर्ने हो, ग्राहकहरूले पहिल्यै छान्न पाउँदा रहेछन्। 'रक्सी-गणतन्त्र'। छान्नुको 'गणतन्त्र'-को नाममा यस्ता मिथ्याचारको प्रचार गरिरहन्छ बजार।

व्यस्त बजारको बीच दैत्याकार होर्डिङ चिच्च्याउँछ- एउटै छानामुनि सबै सेवा। आकाश नै सीमा। तपाईंकै छनौट। तपाईंको मालिक तपाईं नै। छान्नुहोस्, मुक्त बन्नुहोस्। इत्यादि-इत्यादि। यस्ता मिथ्याचारी बयानका शिकार हुने मान्छेहरू बजारको वैचारिक र भौतिक दुवै अत्याचार सहिरहन्छन्। नानाथरी सामानले अटब्बे भरिएको बड़ेमानका शपिङ मलमा सौदा गर्ने बजारेहरू गदगद रमाउँछन्। यो भड़काउ 'मल-संस्कृति'-को खुद्रा बजार अर्थनीतिले विकल्पहरूलाई झन् बाँधिदिएर उपभोक्ता स्वाद थोपिदिँदै पङ्गु बनाएको चाहिँ हेक्का गर्दैनन् बजारेहरू। इराकमाथि हमला बोल्दा तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज बुशले विश्वलाई नै धम्क्याएका थिए- यदि तिमी हामीसँग छैनौ भने हाम्रो शत्रुसँग छौ। अमेरिकाको साथमा हुने र साथमा नहुने निर्णय छान्नु धरि पाएन कुनै देशले। अमेरिकाको हैकमअघि कसको के चल्यो र? यहाँ कुरा छ - छान्नुको सङ्कटको। जुन सङ्कटको सामाजिक उत्पीड़नलाई हामी 'छान्नुको उन्मुक्ति' मान्ने भ्रमको गौरवमा हुन्छौं। यसलाई बुर्जुवाहरू 'स्वतन्त्रता' (लिबर्टी)-को नाम दिन्छन्।

दोकानमा नानीलाई कुन चकलेट खाउँखाउँ भएको देखेर मैले केही सोच्न खोजें। किन हो, म छटपटिएँ भित्रभित्रै। सदा भित्रभित्र सलबलाइहिँड़्ने यो सकस फुत्त निस्कन खोज्यो बाहिर। उड़ेर गई तारमा मुक्त बस्न खोज्यो। बरालिँदै मध्यरातमा निश्छल मताइ मात्न खोज्यो। आफ्नै ढङ्गको मुक्ति रोज्न खोज्यो। त्यो नानीलाई हेर्दै म सोच्नथालें छान्नुको समस्याबारे। जब सोच्नुको पनि वर्ग हुँदो रहेछ भन्ने विचार अझ प्रबल  भन्ने विचार अझ प्रबल भयो। कुन वर्गको कुरा सोच्नु? सोच्नुको स्वाधीनताको कुरा कि नसोच्नुको पराधीनताको कुरा? जे म सोच्नु चाहन्छु, त्यो के सोच्नु सक्छु र म? सोच्नु पाउँछु र? हेर्नुहोस् त, सोच्न नदिनलाई मेरा वरिपरि धेरै-धेरै काँढ़ेतार छन्। सोच्न दिइनलाई मसँग धेरै-धेरै लहसाइहरू छन्। 

त्यो नानी अन्त्यमा समझौता गर्छ छान्नुको सङ्कटसँग। कुनै एउटा चकलेट किनिमागेर खुशी भएको स्वाङ गर्छ। त्यो नानीको अनुहारै ढाक्ने दुविधामा हाम्रा विद्रूप दुविधाहरूको छायाँ देख्छु। कुन बाटो हिंड़्ने तपाईंहरू-महरू? के र कस्तो बोल्ने? के र कसरी खाने? कुन रक्सी पिउने? कुन सिनेमा हेर्ने? कतातिर हेर्ने, आकाश कि भुइँतिर? कसलाई फोन गर्ने? वर्तमान कि भूतपूर्व प्रेमीलाई? कुन गीत गाउने? गाउने कि सुन्ने? सुन्ने कि छुने? पढ़्ने मात्रै कि लेख्ने पनि? लेख्ने मात्रै कि पढ़्ने पनि? जित्ने कि हार्ने? लड़्ने कि समझौता गर्ने? हाँस्ने कि रुने? नदी तर्ने कि वारि नै रहने? सिमाना तोड़्ने कि सिमानाभित्रै बस्ने? काम गर्ने कि आराम गर्ने? के रोज्ने, बोल्नु कि चुपो लाग्नु? के छान्ने, सहनु कि प्रतिवाद गर्नु? के चुनाउ गर्ने- मर्दै-मर्दै बाँच्नु कि लड़्दै-लड़्दै बाँच्नु? मध्यराततिर मातेर लरबराउँदै कतैबाट सुइसुइला लाउँदै आइपुगेका अगमसिंह गिरी मेरो पछिल्तिरबाट हठात् मेरो कुम समातेर भन्दैछन् लाग्यो- "जिउने नै व्यर्थ किन यहाँ चिसो खरानी भएर, बाँचौ एकैक्षण यहाँ अग्निज्वाला भएर।"

वितण्ड दुविधाहरू एकएक गर्दै जुरुकजुरुक उठी सामुन्ने आउन थाल्छन्। चाहिएको के हो- सास थुन्ने गणतन्त्र कि सास फुक्ने जुझारुपन? चिहानजस्तै देश कि जीवनजस्तै धरती? शान्तिको नाममा प्रायोजित हिंसा कि स्वाभिमानको नाममा नियोजित प्रतिरोध? छाड़ा बोल्ने स्वाधीनता कि साँच्चीकै वाक्-स्वाधीनता? गोर्खाल्याण्डको सहीछाप कि गोर्खाल्याण्डको पुतला? स्वाधीन पराधीनता कि वास्तविक स्वाधीनता?
 
मेरो एक मित्र छ। उभन्दा आठ वर्ष ठूली स्वास्नी छे। दश वर्ष जेठो उसको आफ्नै बौद्धिकता छ। भ्रमण उसको उन्माद हो। सिनेमा, वृत्तचित्र, किताब र रक्सी पनि। इञ्जिनियरिङ पढ़्न कलेज हालेर घर फर्के बुवा। एक वर्षमा कलेज छाड़ेर उ जागिर खानथाल्यो। उसलाई थाहा थियो- उ साहित्यको मान्छे। उसले छान्यो त्यही हुनु। अङ्ग्रेजी साहित्य पढ़ेर भाषाको शिक्षक भयो। उसले आजसम्म भोट हालेन। भोट हाल्ने छनौट दिने यो कथित गणतान्त्रिक देशमा भोट नहाल्ने छनौट आफ्नो निम्ति उसले आफै गरेको छ। तर पनि कुनै नेता छनौट नगर्ने छनौट गर्न उ भोटको बूथसम्म त पुग्नै पर्छ। कसैलाई भोट हाल्दिनँ भन्ने फारम भर्नलाई बुथसम्म जानैपर्छ। भोट हाल्नु पाउनेझैं भोटै नहाल्नु पाउने गणतान्त्रिक अधिकारको सुनवाइ देशमा अझ भएकै छैन। जनताको यो गणतान्त्रिक माग देशले मानिदिएछ भने त गणतन्त्रको पोलै खुलिन्छ कि भन्ने डर छ यो गणतान्त्रिक देश चलाउनेहरूलाई। कतिजनाले भोट हाल्लान्, त्यसपछि। साह्रै छ भन्नु। भन्दैथिए मेरा एक घनिष्ठ दाज्युले। त्यसो र छान्नै दिँदैन देशले जनताको नेता, कित्ता र सत्ता नछान्नु पाउनुको हकलाई।
 
गाह्रो बनाइएको छ छान्नु। जब कि छान्नुपाउनु नै गणतन्त्र हो भन्ने ठूलै मिथक खड़ा गरिएको छ। थुप्रै-थुप्रै वस्तु, आचार र विचारमाझ आफ्नो मनपर्ने छान्नु पाइन्छ लाग्ने रमाइलो उपभोक्तावादी यो समाजमा छान्नुको सङ्कटले ग्रस्त छौं हामी। छान्नु दिएकोझैं छान्नै नदिने यो सांस्कृतिक दादागिरीसामु कसैक केही चलेन। थाहा हुनु दिँदैन र पो। छान्नुको त सपना मात्र देख्नसकिरहेका छौं। छान्नुको भ्रममा छौं। हामीमा धेरजसो त छान्नुको अभिनयमा समेत छौं। छानौटको त्यो सपनाको फलामलाई पनि खिया पार्ने पतित संस्कृतिको पानीमा चुर्लुम्म डुबेका छौं हामी। सपनाको चुनाउ, कति मुश्किल? कुन सपना हो, कुन विपना, त्यसको समेत हेक्का हुन नसक्नुको दुःस्वप्नमा हामी छटपटिरहेको देखेर शायद तारमा बसेको चरा, हाँगामा बसेको चरा र आकाशमा उड़ेको चरा खिसी गर्दा हुन् सपनाको प्वाँख उप्किएको नाङ्गो पखेटा देखेर।

व्यवस्था सपना देखाउँछ - स्काइ इज द लिमिट। आकाशै सीमा। कमाइराख्। पाइराख्। थुपारिराख्। बाँचिराख् भन्छ। तर निस्मीम आकाशझैं सीमाहीन कहाँ छ र यो समाज व्यवस्था। व्यवस्थाको आफ्नै सीमा छ। व्यवस्थाकै निम्ति पनि आकाश सीमा छैन। हरेक थोकलाई कोठाकोठामा छुट्ट्याउने यो लाभमुखी व्यवस्थाले जीवनजगत र समाजलाई सिङ्गो हुन नदिएकैले मान्छे टुक्रा सत्य, टुक्रा आशा, टुक्रा सपना, टुक्रा लड़ाइँ र टुक्रा वास्तविकतामा बाँच्न परेको छ। समाज, साहित्य-कला, दर्शन, संस्कृति, विज्ञान, जीवनहरू त्यसैले अपूर्ण, विखण्डित, विभग्न, विशृङ्खल र बहुलतावादी छन्। समरूपको यही सङ्कट नै विद्यमान विषम समाजको दार्शनिक समस्या हो। यही वस्तुगत सीमाले गर्दा भौतिकीजस्तो प्रकृति-विज्ञान समेत कुँजे भएको कुरा गरेका हुन् क्रिस्टोफर कडवेलले।

टेलिभिजनले घोकाउँछ एकाबिहानै ठूला र नानीहरूलाई- "सारे जहाँ से अच्छा...।" समाजको असमान स्थिति नियन्त्रणमा राख्न र सङ्कटलाई ढाक्न व्यवस्थाले नियम, परम्परा र धर्म चलाएको छ। भूत-भगवान, स्वर्ग-नर्क र तन्त्र-मन्त्रको बन्दोबस्त गरेको छ। मन्दिर, मस्जिद, गिर्जा खड़ा गरेको छ। ढोङ सिकाउन स्कूल-कलेजहरू बनाएको छ। देशप्रेम, देशभिक्त र आदर्श नागरिकको फ्रेम ठोकेको छ। त्यतिले मात्र नपुगेर ऐनकानून गढ़ेको छ। पुलिस राखेको छ। नागरिकमाथि खनाउन समेत सेना मतायन गरेको छ। शिक्षक-चिन्तक-कलाकार-बुद्धिजीवीहरू पालेको छ। उसको पक्षमा इतिहास लेखाएको छ। उसकै पक्षमा साहित्य रचाएको छ। उसकै संस्कृतिको पाठ पढ़ाउन मिडिया पोषेको छ। कसलाई साथी छान्नु, कसलाई शत्रु, त्यो समेत व्यवस्थाले तय गरिदिने यो समाजमा कुन बार कुन लुगा कसरी लगाएर घरबाट निस्कनु, त्यो पनि आदेश गर्छ विज्ञापनहरूबाटै।

भूमिहीन चिया मजदुरले कुन मजदुर सङ्गठनमा सदस्यता लिनु, आम नागरिकले कुन नेता पछ्याउनु, किसानले कुन साहुबाट ऋण काढ़्नु र रिक्सावालाले कति रोज थाप्नु, सबै ठीक गर्छ व्यवस्था। कुन देउता मान्नु, कुन जातिमा बिहे गर्नु, कुन सड़क भएर हिँड़्नु, कुन कार्यालयमा घूस दिनु, कुन चरणमा आन्दोलनलाई समर्पण गर्नु, सबै तय गर्छ। अब तपाईं नै भन्नुहोस् पाठक, तपाईंलाई कुन झण्डा मनपर्छ? कुन आदर्श मनपर्छ? तपाईंसँग छनौटको विकल्प यथेष्ट र प्रचुर छन् तर पनि यथेष्ट र प्रचुर छैनन्। याद गर्नुहोला, छान्नुको सङ्कटको चुरो अर्थनीतिको कठोर धरातलमा छ। राजनीतिको बाटो हुँदै हाम्रो छान्नुको सङ्कटले कलात्मक रूप लिन्छ। गीतकार लियोनार्द कोहेनले झैं हामी सबैले आफ्नै ढङ्गको मुक्ति सोचमा मात्र भोग्नसक्छौं।

दास बनाएर राखिएका हब्सीहरूलाई एकार्कासँग बोल्न समेत नदिँदा जन्मिएको हो 'ब्लूज' गीत। यही भयो तिनीहरूको विकल्प एकार्कासँग बोल्ने। पीड़ा साटासाट गर्ने। विकल्पको चुनाउ गर्न अन्ततः जनतालाई कसैले पनि रोक्न नसकेको इतिहास मान्छेसँग छँदैछ। यति हो, समयको यो विन्दुमा आइपुगेर स्पष्ट भइसकेको छ- मुक्ति भनेको हामीले चाहेको जीवन छान्न पाउने मुक्ति हो। व्यवस्थाले बलजफ्ती थोपेको मुक्तिको भ्रमलाई टकटकाउँदै, पन्साउँदै र फ्याँक्दै सही मुक्तिको निम्ति लड़्ने विकल्प मात्र बाँचेको छ हामीसित अहिलेलाई। तपाईंले चाहेकै तपाईंको जीवन छान्नुभयो त? ज्यू, म तपाईंसँग नै केही सोध्दैछु प्रिय पाठक। सुन्नुहुँदैछ?

No comments:

Post a Comment