मुखपृष्ठ

Sunday, November 07, 2010

गीतको हिसाब





सारङ्गीको तारले मेरो मनको गीत गाँउछ
लेकदेखि बेंसीसम्म गाइने मीत लाँउछ।

                     -मनबहादुर मुखिया

"यसरी नेप्टीकी आमालाई चैं कसरी पाल्नु?" तिनले मुस्काउँदै तीतो उगेलेका छन् यसरी। अझ केही गीत गाउने निवेदनको एउटा खरो यथार्थवादी उत्तर। जिस्किएर कुरा मोड़्न खोज्छु, "तपाईंको नाक त चुच्चै छ। छोरी भने नेप्टी? उसो भए भाउज्यू चाहिँ नेप्टी भित्र्याउनुभएको हुनुपर्छ होइन त?" उनी फिस्स हाँस्छन् मात्र। त्यो हाँसोले केही इशारा गर्न खोज्छ। हुनसक्छ, तिनको जीवनसँग मेरो आत्मीयताको कुनै सरोकार छैन। यही सत्य भन्छ तिनको एकथरीको औपचारिक हाँसो। सारङ्गीका धुनहरूमै यस प्रश्नको नभनिएको उत्तर पनि बिलाइदिन्छन्। जसरी तिनको सङ्गीतले डढ़ेर मैनझैं बिलिँदैछ यो तरल-तरल समय। र झर्दैछ अलिनो शून्यमा। तपतपतपतप... 

"एकै ठाउँ यसरी दिनभरि गाउन थाले कसरी हुने हो हजुर," तिनको खरो तर्क तेर्सिन्छ। यसअघि ठट्टा गरिरहेको हुँ। यतिखेरसम्ममा सारङ्गीको धुनले मेरो मुटुलाई चिरा-चिरा र सोचलाई धुजा-धुजा पार्नथालिसकेको बिस्तारै थाहा हुनथाल्छ। उल्टा बेला तीन बजिसकेको छ। दक्षिणायणको घाम मलिन हुनलागेको छ। भित्रबाट आमाले खानु बोलाउँदा पनि म चाहिँ पछि आउँछु भन्दै गीतै सुनिरहेको छु। केही बेरपछि आमा भित्रबाट दानको थाल लिएर आउँछिन्। तिनीहरू ढुक्क मान्छन्। धपक्क बल्छन् दुइ गहुँगोरो अनुहार।
        
गन्धर्वद्वय भोजपुरका रे। दुवै सारङ्गी रेट्ने। तीमध्ये एक चाहिँ मूल गाउने। मादक लोक-स्वर। टेसिलो लोक-लबज। जबजब जहाँजहाँ भोजपुरको जिकिर हुन्छ, म तबतब चोटिका कविता गर्ने भूपाल राईलाई सम्झनेगर्छु। मैले गन्धर्वद्वयलाई उत्सुकतावश भनें, "भूपाल राई भन्ने कवि पनि त तपाईंहरूकै भोजपुरे हुन् नि।" तिनीहरूले एकार्कालाई निस्तेज हेरे र फेरि यन्त्रवत सारङ्गी रेट्न लागे। आमा भन्छिन्, "वर्षैपछि दशैंमा आउँछन् इनीहरू। नभुला न। अरू घर पनि जान दे।" झलकमान र नारायण गोपालहरू सारङ्गीमा सुन्ने लहड़ले म लहसिरहेको छु। मात्र दुइएक गाएर नारायण गोपालको टाटो मार्छन्। "मेरो उठ्ने पालो..."-ले तिनीहरूकै उठ्ने पालो आएको सङ्केत दिइरहेको छ। स्वर उस्तै। सारङ्गी रेटाइ उस्तै। कटमेरो-कटमेरो। तिनीहरूसँग समकालिन स्पर्श भएका लोक-लयका केही तिक्खर, केही ठिमाहा गीतको स्टक रहेछ। सिर्जनात्मकताको एकप्रकारको खड़ेरी समेत देखिन्छ। यति चाहिँ हो, पतीत हुँदै गएको समकालिन समाजको गिल्ला गरिरहेका छन् तिनीहरूका ठेट गीतले। सङ्गीत बिनाको जीवन एक भूल हो, त्यसै भनेनन् नित्सेले भन्ने धरि लाग्दैछ यहाँनेर।  
      
रुसका भ्लादिमिर कोरोलेन्कोले तेह्र वर्ष गाल्दा तयार हुन्छ एउटा उपन्यास। 'अन्धा सङ्गीतज्ञ'। उपन्यासमा एक अविस्मरणीय ठाउँ छ। अन्धो बालकलाई पियानोवादिका उसकी आमाले पियानोका आवाजहरूको आरोह-अवरोहबाट विभिन्न रङ्गहरू अनुभूत गराइरहेकी छन्। पढ़्नेलाई छुन्छैछुन्छ त्यो ठाउँले। हेलेन केल्लरलाई पनि सम्झाउँछ। पारस गजमेरलाई बल्झाउँछ। कोरोलेन्कोका ती बाल पात्र युवा भएपछि जीवन धान्न गीत गाउँदै डुल्ने टोलीमा सामेल हुन्छ। त्यही औपन्यासिक नायक मेरो स्मृतिमा फेरि एकपल्ट ताजा भएछ यी तन्नेरी गन्धर्वद्वयलाई भेटेपछि। सुनेपछि। 

तर कस्तो अचम्म? लेकदेखि बेंसीसम्म मीत लगाउने गाइनेको रोमान्सेली विवरण पर्लक्क पल्टिँदैछ मेरोअघि। कोमल छन्, तर गाइने यन्त्रवत लाग्छन्। सुमधुर छ, तर गाइनेको गीत यान्त्रिक लाग्छ। सारङ्गी कुनै अदेख ब्याट्रीले बज्दैछ लाग्छ। गाइनेले किन आफ्नो कलाको यसरी लिलामी गर्दै हिँड़्नुपर्दो छ त? मान्नुहोस्, यो मेरा घर आएका गाइनेहरूको आर्थिक बाध्यतासँग सम्बन्धित सवाल होइन। यस कुराको चुरो कहाँ छ त? राम्ररी नियालेर होर्नुहोस् त हामी बाँचेको समाजको बन्दोबस्ततिर। चेतना, उद्देश्य र पहल मात्रको फरकले कति फरक पार्छ कुराहरूलाई, सोच्दैछु। जीवन धान्न गाउँदै हिँड़ेका यी गन्धर्व र जीवन खोज्न गाउँदै हिँड़ेका राल्फाहरूमात्रको फरक खुट्याउँदैछु अहिले। कुनै नयाँ जनवादी संस्कृति निर्माण गर्ने सङ्कल्पमा गीतसङ्गीत टिप्दै-छर्दै हिँड़्ने उत्साहमा सङ्घर्षशील हुन्थे। कुनै पुरानो परम्परा काँध हालेर गीतसङ्गीत दोहोर्‍याउँदै हिँड़्नुपर्ने बाध्यतामा चलायमान छन् गन्धर्वहरू। विभेद कति स्पष्ट! र बाध्यतामूलक पनि। 

थाहा पाउनुहुनेछ, कलाकारहरूलाई तबसम्म कुनै पनि प्रकारको (चाहे मानसिक होस् वा आर्थिक) मुक्ति उपलब्ध हुनेछैन, जबसम्म समाजकै मुक्ति सम्भव छैन। यो शिल्पकारहरू, कालिगढ़हरूकै मुक्तिको कुरा पनि हो। जो पूँजीवादी समाज व्यवस्थाको श्रमविभाजन, महा-उत्पादन प्रणाली, उत्पादनको प्रतिलिपिकरण र बहुलतावादका जघन्य शिकार भए। मजदुर मुक्ति, बँधुवा मजदुर मुक्ति, निर्वासितहरूको मुक्ति, राष्ट्रिय मुक्ति, गे मुक्ति, लेस्बियन मुक्ति, क्रसड्रेसर मुक्ति, बाल-श्रमिक मुक्ति, नारी मुक्तिको मामिलामा पनि यस्तै हो सत्य त। समाजकै सर्वाँग मुक्तिको सवालसँग गाँसिएका छन् सबैसबै दबिएका, हेपिएका, किनारिएका सवालहरू। तपाईंको गीत भोको मान्छेले पेटको बाटो सुन्छ, भनेका थिए कतै जिब्रानले। यसलाई उल्टाबाट भन्नु हो भने, भोको गायकले चाहिँ पेटकै बाटो गाँउदा हुन्। यसैले त मनमोहक, पृथ्वी-इतर, पराप्राकृतिक, दैविक गीतसङ्गीत भन्ने कपोलकल्पना र कोरा भावुक कुरो मात्र हुन्छ। शरीर-विज्ञानअनुसार, गीतले हाम्रो प्रधान ग्रन्थी पिट्युटरी ग्रन्थीलाई उत्तेजित गर्छ। त्यसैले यसको प्रभाव हामीलाई सर्वश्रेष्ठ, सर्वोच्च लागेको मस्तिष्कले तय गर्छ। 
 
मानव उदविकास क्रममा चारवटा खुट्टामध्ये अघिल्ला दुइ खुट्टाको हातमा रूपान्तरण एउटा क्रान्तिकारी उपलब्धि हो। पहिले-पहिले बुद्धिभन्दा पनि हातले नै मानवलाई अरू पशुबाट अलग गरायो। र प्रकृतिबाट पनि। एङ्गेल्सको भनाइमा पछिल्ला दुइ खुट्टाले मात्र हिँड़्नु र रहल दुइ खुट्टा (हात)-ले श्रम गर्नुथाल्नु बाँदरबाट मान्छे बनिने गुणात्मक सङ्क्रमणकालको एक ऐतिहासिक र निर्णायक घुम्ती थियो। झन् मानव उदविकास-शास्त्रको खोजअनुसार त, मस्तिष्कको विकास हुनुअघि नै दुइ खुट्टाले हिँड़्नथालेको र हातले काम गर्नथालेको हो मानवले। त्यसर्थ, पहिला श्रम र त्यसपछि बुद्धि। त्यसर्थ, पहिला अनुभव-आचार-व्यवहार। त्यसपछि नै भावना-विचार-चैतन्य। त्यसर्थ सङ्गीतको उत्पत्ति पनि दैनन्दिन जीवनजगतका अनुभवको मुहानबाटै हुन्छ। 

सङ्गीत कुनै दैविक शक्तिको अवदान वा पराभौतिक, परलौकिकजस्तो चीज होइन। त्यसो र गाइनेको ठर्रा गीतभन्दा मुख्य मलाई तिनका झर्रा दुःखपीड़ा र समस्या, तिनका काँचो वस्तुगत स्थिति हो भन्ने लाग्यो। तिनको गीत सुन्दै म भोजपुरको तिनको दुर्गम गाँउ सम्झँदैछु। तिनका गाँउका अप्ठ्यारा बाटा सम्झँदैछु। तिनका ऋणदाता साहुहरूको धम्की सम्झँदैछु। सामन्ती शोषणको स्वरूप ठम्याउँदैछु। किनभने, गीत अवश्यै पनि समाजको आर्थिक समीकरणको लयबद्ध अमूर्त्त अभिव्यक्ति हो।
           
भौतिकबाट मानसिक स्तरमा उक्लिँदा मानवीय श्रमको चेतनाले वातावरणका अप्ठ्यारा र सजिलाहरूलाई गीतकै माध्यमबाट प्रतिक्रिया जनायो। सम्भवतः मौलिक मानवीय क्रियाकलाप श्रमको स्वर बोकेको लयबद्ध सामुहिक आवाज "हैंसे-हैंसे" नै विश्वको पहिलो गीत थियो। भाषा पनि बामे सर्दै गरेको बेलाको कुरा हुनुपर्छ यो। त्यसो र सङ्गीतले मान्छेलाई चेतना भलै नदेला तर चेतनाको निम्ति उत्साहित अवश्यै गर्नुपर्दछ। भोको व्यक्तिले जुनसुकै गीत सुने पनि उसले भोकको लड़ाइँको गीत नै सुन्नखोज्नेछ। भोको गायकले जेसुकै गाए पनि उसको गीत भोकको लड़ाइँको गीत नै बन्नेछ। भजनको अफीमले उ लट्टिन सक्छ तर आफ्ना समस्याबाट पार पाउन उत्प्रेरित हुँदैन। हुनैसक्दैन।

गीतको जन्म जल-जङ्गल-जमिनमाझ श्रमको आँतबाट भएको इतिहास बताउँछ। गीत त्यसर्थ जल-जङ्गल-जमिनका मान्छेहरूको आफ्नै गीत हुन्छ। त्यो गीतमा प्रकृतिको स्पन्दन पनि छ। छ समाजको गति पनि। एउटै गीतले सबैको पीड़ा, सपना, रिस, सपना, सङ्घर्ष, आशाको क्षतिपूर्ति गर्नसक्दैन। त्यसैले त गीतको हिसाब मिल्दैन। कमसेकम विद्यमान समाजमा। गीत पनि सबैको स्वरले उसलाई गाउनसकोस् भन्ने गणतन्त्र स्थापनाको लड़ाइँ लड़्दालड़्दै शहीद हुन्छ। तब गीत गीत हुँदैन। हुन्छ औजार। जसरी भाषा। जसरी शब्द। जसरी अङ्क र सङ्ख्याहरू। जसरी सूत्र, सिद्धान्त र परिकल्पनाहरू। 

मेरा-तपाईंका मनका गीत गाउने गाइने दाइहरूलाई अहिले हामीसँग मितेरी गाँस्ने फुर्सदै छैन है। घरघर डुलेर नेपाल भोजपुरको कुनै सुदूर दुर्गम गाँउ पुग्नुछ तिनीहरूलाई त। त्यहाँ तिनकी नेप्टी स्वास्नी र भाक्कालभुक्कुल छोराछोरी पर्खिरहेका छन्। घरबाट निस्केको महिनादिन भइसकेको छ। सोधिरहेका होलान् आमालाई इन्दुरेमिन्दुरेहरू, "बाबा खै? बाबा खै?" हाम्रा मीठा गीत ती हुन्, जसले हाम्रा महापीड़ाको कुरा गर्छन्, शेलीले नै भनेको हुनुपर्छ। गीत सिक्रीहरूमा बाँधिएको हुन्छ। स्वर आर्थिक विपन्नताको साङ्लोमा जकड़िएको हुन्छ। धुनहरू सुनका पिञ्जड़ामा कैद हुन्छन्। 

कुनै पनि मानिएका सङ्गीत विशेषज्ञ वा स्थापित सङ्गीतकारको विचार सुन्नुहोस्, फर्कँदा सङ्गीतबारे अस्पष्टता, अन्योलहरू र भ्रमहरूको नचाहिने भारी बोकेर फर्कनुपर्दछ। भौतिक समाजबाटै उत्पादित र विकसित गीतलाई पराभौतिक उपज, दैविक देन मान्ने चल्तीतलनको गलती ठूलै सङ्गीतज्ञहरू, विशेषज्ञहरू समेतले गर्ने गर्छन्। यसरी गीतको वास्तविक गतिशील चरित्रको सट्टा काल्पनिक स्थिर चरित्रको पोषण हुन्छ, जसले पोष्छ विषम समाजको यथास्थितिलाई अझ स्थिर गराउने शोषकीय दुष्प्रयासलाई। टक्क अड़िएका विचारहरूको कसीमा सङ्गीतलाई यान्त्रिक ढङ्गमा फील गर्ने, हेर्ने, नाप्ने, बुझ्ने अवैज्ञानिक मान्यता टकटक्याएर गतिशील गीत-सङ्गीतलाई गतिकै जीवन्त अवस्थामा अनूभूत र मूल्याङ्कन गर्नु आवश्यक छ। 


गीत त्यो हो, जसले पाकेका मानसिक ओड़ारहरूलाई उदाङ्गो पार्छ। जसले घाउ निचोरेर पीपहरूलाई निकासी दिन्छ। घाउको दुखाइलाई अर्थ दिन्छ। दुखाइलाई दर्शनको कायान्तरण गराउन उत्प्रेरक बन्छ। इतिहासको चोटलाई आक्रोशमा अनुवाद गर्न समेत सघाउँछ। गीत खरोकाँचो छ। गीत भौतिक छ। गीत आकाशबाट वर्षिँदैन। गीत धरतीबाटै उब्जन्छ। यति सरल यथार्थ अनुभूति गर्न हामी अक्षम छौं। यो कुरा बुझ्न रकेट-विज्ञान बुझ्नुपर्छजस्तो लाग्दैन। सङ्गीतको नाममा बजारद्वारा थोपिएका सस्तो, काम नलाग्ने, पत्रु सङ्गीत र अव्यावहारिक सङ्गीत विशेषज्ञहरूको थोत्रो विचारले हाम्रो सङ्गीत-चेत बाँधिएको छ। सङ्गीतजस्तो तरल अनुभूतिजन्य विषयलाई सधैं ठोस अध्यात्मवादी-अधिभूतवादी दृष्टिकोणले हेर्ने रोगले आम मान्छे मात्र होइन तथाकथित सङ्गीत ज्ञाताहरू पनि थलिएका हुन्। यसैले हाम्रो सङ्गीत-चेतलाई एउटा नयाँ चिन्तनको धरातल चाहिएको छ।   
  
गाइने दाइको गीत म पनि भोको भएरै सुन्छु। हामी सबै भोकै छौं- चेतनाको भोको, जान्नुको भोको, सम्झनुको भोको, लड़्नुको भोको, जित्नुको भोको र भोको हाँस्नुको। भोको बाँच्नुको। हामी हाम्रो भोक गाउँदैछौं। हामी हाम्रो भोक सुन्दैछौं। घरि भियतनाम लड़ाइँमा। घरि कोतपर्वमा। घरि राल्फाको अभियानमा। घरि नक्सलबाड़ीमा। घरि मार्गरेट्स होपमा। घरि कालेबुङको डम्बर चोकमा। घरि नन्दीग्राममा। हाम्रो यो लगभग सात लाख वर्ष पुरानो भोक कहिले मेट्ला नि? पाठक, हाम्रो भोकको कुनै अन्त्य छैन र? तपाईंहरू सुन्नुहुँदैछ कि, अहिले गाइनेहरू पल्लो घरमा गाउनथालिसकेका छन्। त्यही स्वर। त्यही गीत। त्यही सारङ्गी। त्यही धुन। आखिर किन मिल्दैन गीतको कहिल्यै नमिलेको हिसाब? सोचौं अझ गहिरिएर।

No comments:

Post a Comment