मुखपृष्ठ

Sunday, December 12, 2010

गोरा, हब्सी र गोर्खा


  रातिको खानापछि टीभी हेर्दैछु। एउटादेखि अर्को च्यानल उफ्रँदै गरेका मेरा आँखा 'हिस्ट्री' च्यानलमा पुगेपछि रोकिएछन्। एउटा सनसनीखेज वृत्तचित्र देखाइँदै रहेछ। रङ्गभेदमाथि। यताउता नहल्ली बस्छु। वृत्तचित्र सकिएर मात्र उठ्ने अब। श्वेत-आतङ्कवादीहरूको नस्लवादी सङ्गठन 'क्लान'-को टाउके बोल्दैछ। कालाहरूलाई नामेट पार्ने कालो लक्ष्यमा रहेछन् गोराहरू। आफूलाई सभ्य देशको 'मानक-देश' ठान्नलगाएर विश्वलाई 'गणतन्त्र', 'शान्ति', 'विकास' र 'समानता'-का कोल्टे पाठ घोकाउने देश अमेरिका। विश्वसमुदायको सांस्कृतिक, अर्थनैतिक र राजनैतिक 'दादा-देश' अमेरिका। घृणित रङ्गभेद अनौपचारिक रूपमा अझ जारी रहेछ त्यही अमेरिकामा। श्वेत-आतङ्ककारीहरू जमीन्दारवादी समाजका उग्रधार्मिक-उग्रनस्लीय कामकुरा गरिरहेका रहेछन्। स्थिति देखेर हैरतमा परें म त। हिटलरले थोप्नखोजेको शताब्दी पुरानो जर्मन-दम्भको सन्दर्भ याद आउँछ।

"हामी मात्र विशुद्ध जाति हौं," क्लानको टाउके भन्दैछ। गोराहरूको जातीय रक्षाको खातिर अश्वेत र श्वेतमाझ कुनै पनि थरीको संसर्ग गोराहरू सहनेछैनन्। गोराहरू अश्वेतहरूसँग सह-अस्तित्वको विरोध गरिरहनेछन्। मेरो स्मृतिले टिपेसम्म झण्डै यस्तै-यस्तै थियो त्यो उग्रजातिवादी बयान। वृत्तचित्र हेर्दाहेर्दै लागिरह्यो, ती अन्ध-जातिवादीहरू कति रुढ़िवादी। कति अतिवादी। कालाहरूलाई तिनीहरूले सोझै हत्या गरेका, मानसिक र शारीरिक अत्याचार गरेका लोमहर्षक दृश्यहरू पनि देखाइएका छन्। सोझो हत्याभन्दा कता हो कता ठूलो आपराधिक काम त हब्सीहरूप्रति गरिएको मानसिक अत्याचार प्रतीत हुँदैछ।

वृत्तचित्रको नाम भुलें। तर यो वृत्तचित्रसँग जोड़ेर मैले अङ्ग्रेजी भाषाका हिपहप-र्‍याप गीतका शब्द, सङ्गीत र पिक्चराइजेशनको कैरन गर्नथालें। यसो सम्झिएँ, हिपहपमा किन काला विद्यार्थीलाई स्कूलमा गोरा विद्यार्थीहरूको हुलले धक्का दिएर लड़ाएको। धक्का पाएर झरेका किताब उठाउन जाँदा किन लात लगाएका। जहिले पनि 'कप्स' (अमेरिकी पुलिस)-ले हब्सीहरूलाई पक्रिरहेका, न्याकझ्याक गरिरहेका, चुटिरहेका। थुनामा हालेर कीरासरिका भात कुकुरलाई झैं फ्याँकिदिएका। जेलभित्र पानी छम्किँदै कुटेका। हब्सीहरूको गीतमा रिसले मुरमुरिएका शब्द छन्। सङ्गीत पनि रीससरिकै। भिजुअलमा पनि तिनीहरू निदौरे, गम्भीरे र रिसाएकै। सेतासफा र सिनिक्कचिटिक्क कपड़ामा शिष्ट र सौम्य शब्दहरूको गीतमा गोराहरूको नाच्ने प्रवृत्ति, शैली र रूप प्रायजसो शान्त र सन्तुलित छन्। उक्त सौम्य गोरा शैलीको विकल्पस्वरूप ध्वाँसेमैला र ह्वाङलाङहुङलुङ कपड़ामा रीस र गालीका शब्दहरू भट्टाउँदै जीउ लच्काउँदै-कम्मर उफार्दै असन्तुलित पारामा नाचिने हब्सीहरूको हिपहप गतिशील नाच नै वास्तवमा गोराहरूको अतिजातिवादमाथि सांस्कृतिक-प्रतीकीय प्रहार लाग्दैछ। डेड प्रेज, ब्ल्याक आइड पीज-हरूको गीत सुन्दा-हेर्दा मेरो यो ठम्याइ तपाईंलाई पनि हो-हो लाग्ला। 'अण्डरग्राउण्ड हिपहप', 'पोलिटिकल हिपहप', 'कन्सियस हिपहप' आज चलेका हिपहपका प्रवृत्ति। हिपहपबाटै पलाइदियो र्‍याप। गोरा एमिनेम हब्सीहरूकै दुखपीड़ा र्‍यापमा गाएर र्‍याप-सम्राट भएका छन्।           
"मेरो एउटा सपना छ। मेरा चार नानी एक दिन यस्तो राष्ट्रमा जिउनेछन्, जहाँ तिनीहरूलाई छालाको रङ्गबाट होइन, तर तिनीहरूको चरित्रको स्तरबाट जाँचिनेछ।" ४ एप्रिल १९६८-को दिन एउटा ढाबाको कौसीमा उभिएका बेला गोली ठोकी मारिएका रङ्गभेद विरोधी आन्दोलनका पुरोधा मार्टिन लुथर किङ्ग जुनियरले 'मेरो एउटा सपना छ' भन्ने प्रसिद्ध भाषणमा भनेका थिए। मार्टिनले कालाहरूलाई जगाए। अन्यायको विरोधमा बोले र बोल्न लगाए। "कहीँनेर अन्याय हुन्छ भने त्यो जहाँ-जहाँ न्याय छ, त्यहाँ-त्यहाँको न्यायको निम्ति खतरा हो," तिनले भने। रङ्गभेद विरोधी चर्को प्रतिरोधले गोराशासित पश्चिममा विद्यमान रङ्गभेदको कालो अध्यायमा औपचारिक विराम लगाइदियो। यो आन्दोलनलाई 'नागरिक अधिकार आन्दोलन' भनियो। रङ्गवादले कहिल्यै समग्र मानव जातिको भलो हुन नसक्ने तर्क गोराहरूमाझकै सकारात्मक चिन्तनशील तब्काले समेत आत्मसात गरे। तिनीहरूले आफ्ना उग्र गोराहरूको कैफियत दिएनन्। बरू हब्सीहरूको न्यायोचित आन्दोलनलाई नै सघाए। कालाहरू नबोलेका भए, गोराहरू तिनीहरूलाई हेपेकाहेपेकै गर्नेथिए। अमेरिकाका राष्ट्रपति पदमा एक अश्वेत पुगेर त पश्चिमे समाजबाट रङ्गभेद अझ पखालिएर गएको छैन। नबोल्नुको जोखिम बोल्नुको जोखिमभन्दा अझ बढ़ी रहेछ भन्ने मलाई लागिरहेको थियो टेलिभिजनमा त्यो वृत्तचित्र सकिएको विवरण आउनलाग्दा।

मलाई यतिखेर छिमेकी देश नेपालको चिन्ता लागेर आएको छ। नेपालमा बाहुनवाद त थियो नै। अब विभिन्न धाराका नस्लवाद त्यहाँको चिन्तन, राजनीति र साहित्यमा समेत हावी भइसकेका छन्। भारत आफै विशाल गणतन्त्र हुनुको दम्भमा रहे पनि भित्रभित्रै रङ्गवादी-नस्लवादीहरूकै घुनकीराले खाइरहेको छ। दशकौं तन्किएको बाबरी मस्जिद-रामजन्मभूमि विवादले हजारौं हिन्दू र मुसलमानको निर्मम हत्या गरायो। तर मानिसको हत्या हुनु त्यति हानिकारक होइन, जति हानिकारक हुन्छ हत्याभित्र लुकेको कुत्सित मानसिकताको बीजारोपण। गुजरात काण्डको घीनलाग्दो सामाजिक प्रभावबाट अझ मुक्त छैन भारतीय आम समाज। उत्तर भारत होस् वा दक्षिण, पूर्वी भारत होस् वा पश्चिमी, चारैतिर जातीय मुद्दाले पिरोलेकै छ। जहाँसम्म जातीय अधिकारको निम्ति मानिसहरू जातीय चेतनामा एकबद्ध हुन्छन्, त्यो स्वीकार्य छ। तर जातीय चेतना जब जातीय-उन्माद, अतिजातिवाद र जातीय-दम्भ (चाव्हिनिजम)-मा फेरिन थाल्छ तब त्यसको सबैभन्दा बढ़ी हानि त्यही जाति विशेषलाई हुने गर्छ। इतिहासको पाठ यो। गोर्खाहरूको जातीय चेतना पनि जातीय दम्भमा फेरिएछ भने यो समुदाय एक शताब्दी पछि धकेलिने निश्चित छ। अर्कोतिर, एउटा जातीय दम्भको विकल्प वा विरोधिताको निम्ति अर्को जातीय दम्भ खड़ा गर्नु उक्त समाजको निम्ति रक्षात्मक नभएर ध्वंसात्मक साबित हुन्छ।
              
टुप्पो न फेदको पुङमाङे परिषदको चौकीमा बसिरहन एकबेलाका उग्र आन्दोलनकारी सुवास घिसिङ पछिपछि चुपो मात्र लाग्ने भए। जनसभाहरू हुन छाड़े। औंसीपूर्णेमा हुने तिनको जनसभामा मान्छेको समुद्रै उर्लिन्थ्यो। अब बूढ़ाले नबोलेरै के बोलिराख्लान् त, एकाबिहानै पेपरमा आँखा गाड़्थें म। घिसिङको नबोल्नुको राजनीति तिनी र तिनका भ्रष्ट पार्षदहरूलाई मात्र तात्कालिक वरदान भयो। उत्पीड़ित आम मान्छेलाई तिनको नबोल्नुले पिरोल्यो एक्काइस वर्षसम्म। गोर्खाल्याण्ड काल्पनिक मुद्दा हो। घिसिङले गोर्खाल्याण्डको कल्पनालाई अझ कल्पनीय र गोर्खाल्याण्डको सपनालाई अझ स्वप्निल बनाउनुमा ठूलै भूमिका खेले। गोर्खाल्याण्डको वस्तुगत र व्यावहारिक पक्षभन्दा अमूर्त्त "जातीय-चिह्नारी"-को भ्रामक विम्ब महत्त्वपूर्ण हुनथाल्यो। यस्तो हुनथाल्यो, मानौं गोर्खाल्याण्ड दिल्लीको आकाशबाट झर्नेवाला कुनै "स्वर्ग" हो। कस्तो भने, त्यो गोर्खाल्याण्डमा रोटी नभए पनि फूलैले काम चल्ने। स्कूल नभए पनि पुलैले काम चल्ने। तथाकथित तर्क।
  
गोर्खाहरू त्यसै पनि आफै झ्याप हुन्। नेताहरूले पनि सधैं झ्याप पारिदिए। रक्सी पिउन्-नपिउन्, बौद्धिक र मानसिक शून्यताले सधैं झ्यापको झ्याप। "जे गर, जसो गर, जतासुकै लैजाऊ मलाई" (नाइण्टिन सेभेण्टीफोर)-जस्तो 'आत्मलज्जा'-को गीतलाई 'आत्मगौरव'-को गीत ठान्दै त्यसै उफ्रिँदैनन् गोर्खेहरू। आफ्नै सत्ता सञ्चालन र शक्ति उपभोगको अधिकार रहने संसदीय संरचना आम खटिखाने गोर्खेको निम्ति रामराज्य होला के त, भन्नु गाह्रो छ। गोर्खाल्याण्ड अहिलेसम्म युटोपियाजस्तै मात्र छ। दार्जीलिङको इतिहासमा गोर्खाल्याण्डको धारणालाई व्यावहारिकतामा फेर्न न त कुनै नेता प्रतिबद्ध र समर्पित देखियो, न कुनै राजनैतिक दल। घिसिङ स्वयं, घिसिङअघि र पछिका धेरै नेताका निम्ति व्यक्तिगत र गुटगत करियरको राम्रो सिँढ़ी साबित भयो यो गोर्खाल्याण्ड। अघि निकै चम्किएको र पछिबाट रुग्ण भएको घिसिङ कम्पनीका बागी नेता विमल गुरुङले पहाड़ेहरूको नेतृत्व गरिरहेको बेला हामी कौतुहलवश हेर्छौं – अब विमलले मार्टिन लुथर किङ्गले झैं प्रतिबद्धताको संस्कृति अघि बढ़ाएर लाने हुन् वा घिसिङले झैं नबोल्ने संस्कृति।

बङ्गालमै पनि नेपाली-बङ्गाली समुदायमाझको नस्लीय विभेदको रेखा बेला-बेला चहकिलो हुनेगर्छ। कहिले स्वतःस्फूर्त ढङ्गमा। कहिले राजनैतिक स्वार्थपूर्तिका निहुँमा। यसलाई लिएर दुवै सम्प्रदायका जनताले इतिहासबाटै पाठ सिक्नुपर्दछ। डुवर्समा वर्षौं नङ-मासुझैं एकसाथ बसेका आदिवासी-नेपालीमाझ जातीय वैमनष्य उत्पन्न भए यता त नस्लीय चिन्तनको सङ्कथन र विमर्श अझ महत्त्वपूर्ण विषय भएको छ। नस्लको संस्कार, व्यवहार र राजनीतिलाई नजिकबाटै हेर्दैछौं। यस्तोमा गोराहरूको पप, हब्सीहरूको र्‍याप-हिपहप र गोर्खाहरूको झ्याप-संस्कृति फिट्दा कुन रङ्ग बनिन्छ, सोध्नु मन छ तपाईंलाई।

No comments:

Post a Comment