मुखपृष्ठ

Saturday, December 18, 2010

ट्याट्टु, गिटार र विचार

किरिङमिरिङ रङ्गीन ट्याट्टुले नाड़ीदेखि कुहिनासम्म ड्याम्मै ढाकिएको उसको देब्रे पाखुरा कुनै लोककलाकृतिझैं लागिरहेको छ। अटोमा मेरो छेउमा बसेको छ। के हालेको छ कुन्नि, निक्कै जतन गरेर समातेको छ ब्याग। सके, उसले गिटार बोकेको हुनेथियो। तर आज उसँग गिटार छैनरहेछ। बिहान म जागीरअड्डातिर जाँदैछु। शहरको बड़ेमानको शपिङ मलमा उसको डेटिङ रहेछ प्रेमिकासँग। मसँग बात मार्न उसले अल्छी मानेको छैन। म पनि ऊसँग बात मार्न रुचाइरहेको छु। प्रायः देखिरहने उसलाई म जान्ने प्रयास गर्दैछु। ऊ मेरा र्‍याण्डम सोधाइहरूको टुक्रे जवाब दिँदै गइरहेको छ। जति सोधेको छु, त्यति नै भनेको छ। अतिरिक्त बोलेको छैन। ऊ पनि मलाई केकेहरू सोध्दै गइरहेको छ। समकालिन युवा पिँढ़ीको एउटा प्रतिनिधि युवकसँग म बात मारिरहेको छु। समकालिन युवाले के सोच्दैछ, म सोच्दैछु ऊसँग बात मार्दै। युवाहरूको पड़ताल गर्ने यो छोटो प्रयोगै भएछ पनि लाग्दैछ। लाग्छ, कूल छु म।

हाम्रो कुराकानीको वेगलाई उछिनेर अटो द्रुत गतिमा दौड़ँदैछ। जिज्ञासावश बीचबीचमा म उसको देब्रे पाखुरा हेर्छु। पाखुरामा अङ्कित त्यो देहचित्र हेर्छु। आदिम इजिप्टेली समाजको ट्याट्टु खोपेका मानिसहरू सम्झन्छु। फेरि उसको बालसुलभ अनुहारतिर हेर्छु। जेल लगाइएर ठाड़ो पारिएको उसको बुथुरे केश पनि हेर्छु। उसलाई हेर्दा वाक्क लाग्दैन। तर हेरिरहुँ पनि लाग्दैन। अङ्ग्रेजीको टिपिकल स्वराघातसँग सल्किएको उसको अप्ठ्यारो नेपाली बोलीको ठिमाहा रिमिक्स उच्चारण अनौठो सुनिन्छ। एकथरीको मज्ज पनि लाग्छ यस्तो बोली सुन्न। नेपाली पप गीततिर गरिने यस्तो अङ्ग्रेजी-नेपाली रिमिक्स उच्चारण प्रवृत्तिको छाप यसरी यताको मध्यमवर्गीय-निम्नवर्गीय युवा समाजमा सुन्न पाइन्छ। विशेष गरी "र" वर्णको उसको टिपिकल अङ्ग्रेजी उच्चारणले उसलाई आम नेपालीभाषीको बोलचालबाट बेग्लै पारेको छ। बिस्तार बोल्छ ऊ। कूल – पपुलर कल्चरमा चलेको शब्द। बिस्तारै बोल्नु, रुखो व्यवहार, अलगावपरक हावभाव, छरितो ठाड़ो केश, छोटो कमेज, फेडेड जिन्स, टिलिक्क टल्किएको सानो कानको टप र किरिङमिरिङ ट्याट्टु - यी सबलाई जोड़ेर बनिएको कुनै पनि उत्तरऔपनिवेशिक प्रतिनिधि नेपालीभाषी युवा व्यक्तित्व आफूलाई यो एकशब्दे विवरणले चिनाउन रुचाउँछ - कूल।

"कन्फ्युज्ड छु," नाकको डिलमा चश्मा मिलाउँदै उसले कूल भएर भन्यो। उसका आँखाका नानी एकपल्ट विचलित भएर चलमलाएपछि फेरि स्थिर बन्छन्। स्कूले पढ़ाइ पढ़्न ढिलो भएको छ। दशौंको बोर्ड परीक्षामा ऊ केहीचोटि अड़्किएको थिएछ। बाह्रको परीक्षा भर्खरै सकेको छ। अब के गर्ने, पढ़्ने कि नोकरी खोज्ने, निर्णय लिन गाह्रो परेको बताउँदैछ। म केही सुझाउ दिनअघि उसको मनोभाव बुझ्न खोजिदिन्छु। बुझ्छु, उसलाई नोकरी गर्नै त मन छ। बाबु रिटायर भएका छन्। भाइ छ। बिहे पनि गर्ने सोचेको छ। उसको रोजाइको पेशा हो पर्यटन। पर्यटनमा स्नातक गर्न त पढ़्नै पर्छ, त्यो पनि बुझ्छ ऊ। दूर शिक्षाको विकल्पबारे उसलाई बताइदिन्छु। उसले पनि लगभग यस्तै योजना चिताएको रहेछ। कूल योजना।

कसैले थपथपाउनु बुझाउने पोलिनेशियन शब्द "ताताओ"-लाई र कसैले चिनो लगाउनु बुझाउने ताहितियन शब्द "टाटु"-लाई ट्याट्टु शब्दको मुहान मान्छन्। पाँच हजार वर्षअघि इजिप्टमा ट्याट्टु खोपाउने चलन भएको इतिहास छ। विभिन्न सभ्यताको शुरुआतमै मान्छेले निधार, छाती, ढाड़, भुँड़ी, कम्मर, तिघ्रा, हात, खुट्टा शरीरका विभिन्न भागमा चित्र खोपाउने कला विकसित गरेको पाइन्छ। विशेष गरी इजिप्टका सङ्गीतकार, नर्तकीहरू र दासहरूले ट्याट्टु खोपाउने गरेको दृष्टान्त पाइन्छ। मानिसहरूले आफ्नो संस्कृतिको अभिन्न अङ्गको रूपमा यसलाई पुस्तैनी रूपमै अघि बढ़ाएर ल्याए। आज पनि कैयौं लोक-समाजमा यसको अवशेष पाइन्छ। अर्कोतिर, पूँजीवादी मूल्यमान्यताले खोक्रिएको समाजले आफ्नो शून्यतालाई भर्ने क्रममा उपयोग गरेका विविध साधनमध्ये ट्याट्टुलाई पनि यस्तै एक साधनको रूपमा सतही प्रयोग गरेको पाउँछौं। फेशनको निहुँमा।

ट्याट्टुको शाब्दिक र साङ्केतिक अर्थले के भन्छन्। अर्थ निर्माणमा सङ्घर्ष छ। मेरो चासो यस्तै कुरामा छ अहिले। ऊसँग मेरो कुरा आधीमै चुँड़ाउने बाध्यता छ। उसलाई पनि त्यो मन परेको छैन। गाड़ीबाट ओर्ह्लिएपछि भन्छ, "दादा, भेट्दै गरौं है।" ट्याट्टु खोपाउन उसले बाबुको निषेधाज्ञालाई स्वीकृतिमा फेर्न निकै कष्ट गरेछ। ट्याट्टुकार वृत्तिजीवी उसको खरसाङे साथीले हजार रुपियाँमा खोपिदिएको यो आकर्षक ट्याट्टुको सौन्दर्यशास्त्रीय व्याख्या र मूल्य कसरी गर्न सकिएला, सोचें। ट्याट्टु गर्नु त फेशनेबल पेशा नै बनेको छ पश्चिमतिर। यता पनि यसले वृत्तिकै ओहोदा लिनसक्ने छाँट छ, हामी कुरा गर्छौं। ट्याट्टुको राजनैतिक-दार्शनिक-समाजवैज्ञानिक पृष्ठभूमि, इतिहास औ विमर्शतिर विचरण गर्न मलाई खूबै चाख लागेर आएको छ।

"ट्याट्टु खोप्न एक दिन लाग्छ, मेटाउनु हो भने वर्षौं लाग्नसक्छ," कुनै ठूलै सिद्धान्तको व्याख्या गरेझैं बताउँछ। मन परेर बनाएको अरे ट्याट्टु उसले। विशेष केही अर्थ उसले जोड़्न नसके पनि रक गायकहरूले खोपाएको ट्याट्टुको देखासिकी गरेर उसले ट्याट्टु खोपाउने धोको सानैदेखि पालेको बताउँछ। कुनैकुनै साँझ सुकनाको धरोहर रेल स्टेशनछेउछाउ उसलाई केही साथीहरूसित बसेर गिटार बजाउँदै गरेको देखेको छु। कुनैकुनै स्थानीय कार्यक्रमतिर गिटार लिएर निस्किएको पनि देखेको हुँ। गिटार बजाउनु उसको जीवनको सबैभन्दा तीव्र लहड़ हो भन्छ। फन्तासी हो भन्छ। तर गिटार बजाएर जीवन धान्ने विचार गर्न बाबुले नदिएकाले सङ्गीत लिएरै उच्चाध्ययन गर्ने उसको सपनासँग उसले समझौता गर्दै द्वितीय विकल्प करियर पर्यटनतिर सोच्ने सङ्घर्षमा छ ऊ। उसको गिटारमोहलाई उसले पर्यटनजस्तो गतिशील वृत्तिमा जारी राख्न सक्ने आशा पनि ऊ गर्दो हो। निश्चित छ, ऊभित्र गिटार र विचारमाझ फाटो त आएकै हो।

लिपि बनिनहालेको पोलिनेशियन र न्यूजिल्याण्डको समाजमा लिङ्ग, कुल, समुदायगोष्ठी, सामाजिक ओहोदा-पदको 'हाइर्‍यार्की' बुझाउने व्यक्तित्व र चिह्नारीको उपज ट्याट्टुलाई आज हाम्रा युवा साथीहरू फेशनकै मात्र लिँदा हुन्। आदिम समाजमा मानवले बाघ, साँप, कछुवा, छेपारो, रश्मिजस्ता प्राकृतिक वस्तुहरूको टङ्कन गरेर ट्याट्टुले शरीर सजाउनुको पछि गम्भीर संस्कृतिक विकासको कारण छ। एकातिर प्राकृतिक घटनाहरूलाई व्याख्या गर्ने विज्ञान उनीहरूसित नभएकोले कुनै अमूर्त्त अलौकिक शक्तिको कल्पना र उक्त शक्तिसँगको जादूमय सम्पर्क देखाउन अनि अर्कोतिर सामाजिक वर्गीकरण, श्रम-विभाजनको द्योतकको रूपमा चीन, अफ्रिका, अमेरिकाका पुरानो सभ्यतामा शरीरचित्रको प्रथा थालियो।



"शरीर परिवर्तन"-को उद्देश्यमा शरीरलाई छेंड़ेर, खोपेर आफ्नै शरीरबाट आफ्नै शक्तिमाथि विजय पाउने प्रयास मानवले प्रकृतिको प्रभुत्व स्वीकारे पनि त्यस प्रभुत्वमाथि विजय पाएर 'गैर-प्राकृतिक' बन्ने सांस्कृतिक उद्दीपनको सामूहिक पहल पनि थियो। त्यसबेलाको बाल्यावस्थाको भाषाको कमजोरीलाई भर्न सम्पर्कको माध्यमको काम पनि ट्याट्टुले गरेको हो। ट्याट्टु सपनाको अभिलेखन हो। गहिरो मनोवैज्ञानिक 'आदिम इच्छाशक्ति'-को मनोबल प्रदर्शन र बहिर्प्रकाश हो। ट्टाट्टुले व्यक्तित्वको अभिव्यक्ति दिइरहन्छ र स्व-लाई अर्थात् प्रकृतिलाई पुनर्रचना गरिरहन्छ।

इसाइहरूले पश्चिममा निषेध गरेर लगभग अस्त भएको ट्याट्टु सन् १९८०-को दशकदेखि पुनः उदय हुनुले झन् बढ़ी निर्वैयक्तिक र एकान्तिक बन्दै गएको पूँजीवादी समाजमा मान्छेले आत्मप्रकाश र परिचयको बाटो खोजिरहेको स्पष्ट हुन्छ। नजिक रहेरै पनि अलगाव भोगिरहेका मानिसहरू विचारले नजिक आउने कोशिशमा साझे संस्कृतिको अङ्ग बन्दछन्। सत्ताले थोपेको दबुवा संस्कृतिको समानान्तर वैकल्पिक गणतान्त्रिक संस्कृति निर्माणको सङ्घर्षमा थोरैले भए पनि हिस्सा लिने गर्छन्। भेड़ाबाख्राको हुलबाट छुट्टिन ट्याट्टु बनाउनु, अरू करिअरको मूसादौड़मा कुद्दा बहिष्कृत कुनातिर गिटार बजाउनु र विचारको सङ्कटको बेला कुनै विचार बोक्न खोज्नु यस्तै सङ्घर्षको दृष्टान्त न हो।

फेरि एकचोटि अटोमै भेट भएको छ ऊसँग। "आज जबको पहिलो दिनै ढिलो भएँ नि दा," भन्छ ऊ। उसको निमुखा देब्रे पाखुरा फेरि एकचोटि नियालें। धर्का, रङ्ग र आकृतिहरूले  कुन्नि केकेजाती बोलिरेहको उसको निर्वाक् ट्याट्टु हेर्दै आफैलाई सोध्दैछु - दार्जीलिङलाई के साँच्चै "चिनारीको सङ्कट" छ त? दार्जीलिङले चिनारीको लड़ाइँ के सही ढङ्गमा लड़िरहेको छ? सधैं भामना र फन्तासीमै रमाउन खोज्ने हाम्रो समाजको बौद्धिक चिनारीस्वरूप खोप्नुपर्ने वास्तविकता र विचारको ट्याट्टु के हुनुपर्ला त- खुकुरी कि कलम? कम्प्युटर कि बन्दुक? यसचोटि पनि उसको नाम सोध्नै भुलेछु। करिअरको मूसादौड़को व्यस्ततामा उसले कतै गिटार बजाउन त छाड़्दैन, म गहिरै चिन्तामा छु अहिले।

1 comment:

  1. there is a fine line between fashion and vulgarity...

    ReplyDelete