मुखपृष्ठ

Sunday, January 09, 2011

ठूलालाइ कानून लाग्दैन हजुर


"ठलालाइ कानन लाग्दैन हजुर,
बोलेर नेता थाक्दैन हजुर
गर्छन गल्ती हजारौ हजार,
र्नेले माफी माग्दैन हजुर
अपराधी बजार डुलेरै हिँड़्छ,
प्रहरी देख्दा भाग्दैन हजुर।"

एकजना भाइले मलाई एक दिन एउटा एसएमएस पठाएछन्। एसएमएसमा भनिएको रहेछ- "अन्न आर्जित गर्न गरिब कैयौं माइल हिँड़्छ। धनी कैयौं माइल हिँड़्छ अन्न पचाउन।" यो खाले विरोधाभासको संसारमा भारत एउटा अघिल्लो पङ्क्तिको विरोधाभासपूर्ण देश भयो। गणतन्त्रको नौटङ्की चलेको निकै भयो यहाँ। गणतन्त्र रमिता मात्र रहेको यो देश डराउँछ आफ्नै जनतादेखि। जनताका प्रेमीदेखि। यो खतरा कहाँ पलाउँछ, कहाँ सकिन्छ, त्यसको भेउ सत्तालाई हुँदैन। तर यस खतराको खेती गर्ने सत्ताले सधैं व्यवस्थाको सिञ्चन गर्ने नाममा व्यवस्थाको लुगा खोल्दैखोल्दै यसलाई घरि अर्द्धनग्न बनाउँछ। घरि पूर्णनग्न। तमाशा यहीँ आएर क्लाइमेक्समा पुग्छ।

नेपालस्थित स्याङ्जाकी कुसुम थापाले माथि लेखेको गजल यता भारतको स्थितिसँग दुरुस्तै मिलेको पाउँछु। जहाँ दोषी ठहर्‍याइएको आतङ्कवादीलाई जेलभित्र बिरयानी खुवाउँदै राखिन्छ। जहाँ सयौं नानीहरूको हत्या र बलात्कार काण्डका दोषी करोड़पति मनिन्दर सिंह पान्धर चाहिँ निर्दोष ठहरिन्छन् र गरिब बलात्कारी धनञ्जयलाई भने फाँसीमा चढ़ाइन्छ। जहाँ आतङ्कवादीको नाममा निर्दोष गाउँलेलाई छाला काढ़्दै थुनुवा पारिन्छ। जहाँ अपराधीहरू चुनाउ लड़्छन्, मन्त्री बनिन्छन्। जहाँ लाखौंको ज्यानसँग खेल्ने भोपाल ग्यास काण्डका दोषी एण्डरसनलाई अमेरिकाको हावामा मुक्त श्वास फेर्ने बाटो खोलिन्छ।

ठूलालाई कानून नलाग्ने त्यही ठूलो देशको ठूलो कानूनको ठूलै कोप केवल सानाहरूले मात्र सहँदै आएको दशकौं पार भइसकेछ। नक्सलीहरूलाई सघाएको कथित 'दोष'-मा साठीवर्षे मानव अधिकारवादी ग्रामीण चिकित्सक विनायक सेनलाई दिइएको आजीवन कारावासको दण्डले भारतको कोल्टे न्यायिक प्रक्रिया अझ कोल्टिएर गएको कमोबेस सबैले देखेका छन्। देशभित्र र बाहिरबाट हजारौं मानव अधिकारप्रेमीहरूले सेनको मुक्तिको गुहार मागिरहेका छन्। सरकार कानमा तेल हालेर बसेको छ-छ। यहाँ अवतार सिंह पाशको एउटा कवितांश सान्दर्भिक भएको पाउँछु।  पाश आफ्नो एउटा कवितामा सिपाहीलाई सोध्छन् यसरी- "सिपाही बताऊ, तिमी पनि मलाई खतरनाक देख्छौ त?"

शक्तिहीन र निमुखा गाउँलेहरूको सेवा-सहायतामै जीवन सुम्पिने यी साठी वर्षे बूढ़ा कसरी देशको दुश्मन भए र किन देशका निम्ति खतरा भए, कसैले बुझेका छैनन्। यहाँसम्म कि सत्ताधारी र विपक्षी दिग्गज नेताहरूसम्मले सेनको नाममा सुनाइएको फसेलाको विरोध गरेका छन्। लेखिका-आन्दोलनकारी अरुन्धती रायले यो फसेलालाई फसेला नभएर अरूहरूको नाम "चेताउनी" रहेको  ठहर्‍याइन्। देशद्रोहको परिभाषा र बहुजन हितको कामको परिभाषा भ्रष्ट हुन्छन्। कहाँसम्म भने भारतीय स्थापनाका प्रशंसक नोबेलजयी विश्वप्रसिद्ध अर्थनीतिविद् अमर्त्य सेनको समेत चित्त बुझेन। तिनले त यो विडम्बनापूर्ण फसेलालाई 'कानूनको अपप्रयोग' तोके। यहाँनेर दोष सिद्ध हुन नसके तापनि थुनामा सड़िरहेका छत्रे सुब्बालाई समेत सम्झँदा हुन्छ।

यहाँ हामीसँग आ-आफ्नै खाले प्रश्न तयार छन्। आफ्नो सत्ता बचाउन 'इमर्जेन्सी'-को नाममा मान्छेको सास थुन्ने दलको दोषको दण्ड कसले दियो? 'इण्डियन पीस किपिङ्ग फोर्स'-को नाममा छिमेकी देश श्रीलङ्काको अशान्ति बढ़ाउने राजीव गाँधी सरकारले सजाय पायो के? 'अपरेशन ब्लू स्टार'-को नाममा जल्दो पञ्जाबमा खूनको नदी बगाउने सरकारको कार्यनीति के साँच्चै उचित थियो? आतङ्कवाद उन्मूलनको नाममा कश्मीर र उत्तरपूर्वमा मारिसकेका लाखौं साना मान्छेको हिसाबकिताब कसले राख्यो? यी प्रश्न जति बढ़्नेछन्, उति नै बढ़्नेछ अन्योलता पनि। गहिरो गरी।

सेनको सजायले उदाङ्गो पारिदिएको छ गणतन्त्रको मखुण्डाले छोपेको भारतको कोत्रे अनुहार। गणतान्त्रिक मूल्यमान्यता किताबका निर्जीव पन्ना र चम्किला गफगाफमा मात्र उपस्थित छन् लाग्छ। गणतन्त्रको कोल्टे तराजुमा तौलिएको नागरिकता पनि वर्गीकृत हुनजान्छ। अलगअलग वर्गका मानिसका लागि अलगअलग गणतन्त्र। यो गणतन्त्र शब्दको ठूलै दुरुपयोग हो लाग्छ। ठूलाहरूको गणतन्त्र र सानाहरूको गणतन्त्र। बलियाहरूको गणतन्त्र र लुब्धाहरूको गणतन्त्र। सत्तासीनहरूको गणतन्त्र र सत्ताहीनहरूको गणतन्त्र। शक्तिशालीहरूको गणतन्त्र र शक्तिहीनहरूको गणतन्त्र। कालेहरूको गणतन्त्र र गोरेहरूको गणतन्त्र। पानीमाथिकाहरूको गणतन्त्र र पानीमुनिकाहरूको गणतन्त्र। बुद्धिजीवीहरूको गणतन्त्र र पैसाजीवीहरूको गणतन्त्र। शासकहरूको गणतन्त्र र जनताको गणतन्त्र। ब्राण्ड-ब्राण्डको टाटेपाङ्ग्रे गणतन्त्रमा कुन गणतन्त्र हाम्रो, कुन उनीहरूको, चिन्न मुश्किल छ। यस्तोमा चिकित्सक सेनलाई सुनाइएको सजाय र यसबाट अविचलित हाम्रो नागरिक समाजको आश्चर्यजनक र खतरनाक मौनताले हाम्रो मानसिक चरित्रको एक पाटालाई उदाङ्गो पार्छ। स्पष्ट छ, गणतन्त्रको नौटङ्की देखेर रमाउने हामीलाई गणतन्त्रको भ्रमको राम्रै मात छ। नक्कली गणतन्त्रको मातले लट्टिएकोले गर्दा होला, असली गणतन्त्रको आकाँक्षा मात्र राख्न समेत हामीले अचेल भुलिसकेको भान हुँदैछ।

No comments:

Post a Comment