मुखपृष्ठ

Saturday, December 25, 2010

भारत, भ्रष्टाचार र 'भ'


मेरा एक घनिष्ठ दाइले साँझपख फोन गरे। 'कालबोध'-मा भ्रष्टाचारबारे लेख्ने सुझाउ दिए। मैले सोचें, भ्रष्टाचारबारे जताततै लेखिँदैछन्। कसैले यसबारे चासो पनि राख्दैनन्। यसबारे एउटा कालबोध किन खर्चुँ। कुराहरू त अरूअरू र छुट्टै छन् हामीले 'कालबोध'-मार्फत् गर्नुपर्ने। मैले तिनको प्रस्तावलाई सामान्य रूपमा लिएँ। भ्रष्टाचार शब्द मेरो निम्ति उत्तेजक, नौलो र ज्वलन्त भएन कि? हाम्रो जीवनको सङ्कथनमा कति नजानिँदो पाराले फिटिएछ यो शब्द, बिस्तार आफैलाई भनें। तर पछि फेरि सोचें, होइन यसबारे लेख्नैपर्छ। यो पनि कुरै हो गरिनुपर्ने। र केही साता बितेपछि कालबोधको यो अङ्क लेख्दैछु यसरी। भ्रष्टाचारको छायाँले हामी सबैको वर्तमान र भविष्यलाई अँध्यारो, अझ अँध्यारो पार्दै लगेको अनुभव एकार्कामा नसाटे पनि हामी सबैले आ-आफ्नो एकान्तमा चुपचाप बुझिलिएका र मानिलिएका छौं। यसपालि लेख्ने औचित्य यही तीतो सत्यमा भेट्टाएँ।

भारत र भ्रष्टाचार शब्द एउटै अक्षर 'भ'-बाट शुरु हुन्छन्। भुँड़ी, भोक, भात, भुस्याहा र भोग पनि 'भ' अक्षरबाटै शुरु भएका छन्। भारतको 'भ'-बाटै शुरु हुने शब्दहरूको शब्दावली बढ़ाउँदै लगे भाटगिरी, भाइभतिजावाद, भूमण्डलीकरण पनि सूचीमा थप्न सक्छौं। 'भ'-बाट थालिने यी शब्दहरू बेग्लाबेग्लै अर्थ बोक्ने भएका भए पनि यिनलाई पारस्परिक सम्बन्धमा छिचोल्दै गए एकैथरीका गाँठी कुराको भेउ पाइँदो रहेछ। भुँड़ीलाई भोक लाग्छ। भोक मेट्न भात चाहिन्छ। यहाँ बहुसङ्ख्यकहरू दुइबेलाको अन्नको भोकमा छन्। अल्पसङ्ख्यक सुविधासम्पन्नहरू सत्ता र शक्तिको भोकमा छन्। अल्पसङ्ख्यक पूँजीपतिहरू पैसाको भोकमा छन्। भोकवादको यो बहुआयामिक कथाको गुदी एउटै छ - सामाजिक असमानता। भ्रष्टाचारको भाइरस यही विषमताबाट वंशविस्तार गर्छ।

अर्कोतिर, जीवनजगतको हरेक थोकलाई भोग गर्ने दृष्टिकोण र संस्कृतिले जीवनलाई अझ भ्रामक, कठिन र जटिल बनाइदिएको छ लाग्छ। मान्छे र मान्छेको केन्द्रक वरिपरि घुम्ने हरेक एकाइ अन्ततः भोगको वस्तुमा फेरिएका जस्ता छन्। यही संस्कृतिले भारतलाई उपभोक्तावादको निकृष्टतामा घिस्याएको छ। सत्ता र शक्तिको भाटगिरी गरेर जीविका चलाउनु नागरिक नैतिकता भएको छ। भाइभतिजावाद चाहिँ धर्म। भ्रष्टाचारको भरणपोषण गर्ने यी सब चक्रको पछि भूमण्डलीकरणको चक्र सबैभन्दा मुख्य कड़ी हो। भूमण्डलीकरण सबै समस्याहरूको जड़ भइदिएको थाहा लागिहाल्दछ जब हामी गरिबी रेखा, निरक्षर रेखा, अस्वस्थ रेखा, कुपोषित रेखा तरेर माथि आउन नसक्ने एउटा ठूलो भारतको विद्रूप मानचित्र हेर्छौं। जहाँ आफैलाई कहीँ पनि भेट्टाउँदैनौं।

भगवान र भूतको 'भ' र भारतको 'भ' पनि एउटै 'भ' हुन्। भारतमै छन् हिन्दुका तेंत्तीस कोटि काम नलाग्ने देवीदेउता र अन्यान्य धर्मका कैयौं देवीदेउता। भूत पनि त्यत्तिकै। भगवानहरू र भूतहरू सबै जिउँदा भएको भारतमा पीड़ित जनता मात्र यन्त्रझैं जड़ छन्। भगवान र भूतहरू सत्ताकै रक्षातन्त्रमा तैनाथ छन्। गणतन्त्रको नाममा राजतन्त्र चलाउने क्षेत्रीय र राष्ट्रिय तहका "गणतान्त्रिक राजारानी"-हरूको देश हो 'भ'-बाट थालिने उपर्युक्त शब्दहरूको पर्यायवाची भइसकेको देश भारत। यहाँका जनता यी थुप्रैथुप्रै 'भ'-हरूका दास हुन्। यो 'भ'-को अङ्कुसेले भारतलाई अघि तान्दैछ वा पछि, त्यो सङ्घर्षको यन्त्रागारमा पेलिने यन्त्रवत जनतालाई राम्ररी हेक्का भएको हो।

एकबेला थियो, जब भ्रष्टाचारको भण्डाफोर भएको खबर मिडियामा बम पड़्किएझैं आउँथ्यो। मानिसहरू तीनछक्क पर्थे। गर्जिन्थे। दाह्रा किट्थे। तर आज यो भ्रष्टाचार शब्द कति सामान्य भएको छ भने कुनै भुस्याहा कुकुर मरेको समाचार र भ्रष्टाचारको समाचारमाझ कुनै फरक देख्दैनन्। सामान्य रूपले लिन्छन्, जब कुनै नामी नेता वा कुनै कर्पोरेट घरानाको भ्रष्टाचार मामिला खुल्छ। बोफोर्स काण्ड, हर्षद मेहता काण्ड, हुण्डी प्रकरण, चारो घोटाला भन्दा मान्छेले गाली बक्थे। तर आज जनताको करोड़ौं करोड़ रुपियाँको हिनामिनाको बड़ेमानको खस्रो समाचारले हामीलाई कमुलो प्वाँखले जति पनि छुँदैन। ज्यादाजसो सरकारी, असरकारी कामको निम्ति घूस दिने र माग्ने दुवैलाई सजिलो लाग्ने दिनकाल छ। हामी आदी भयौं भ्रष्टाचारको।

विभिन्न सरकारी विभाग र आयोगहरूका आँकड़ाले नै बताउँछन्, भारतको गणतन्त्र कति भट्टु भइसकेको छ। "जनताको निम्ति, जनतालाई र जनताद्वारा" भनिने यो कथित गणतन्त्र कसको निम्ति, कसलाई र कोद्वारा चल्दैछ त, सन् १९९०-मा मुक्त अर्थनीति अङ्गालेर अघि बढ़्ने भारतको आचारबाट स्पष्टदेखि स्पष्टतर हुँदै गइरहेको छ। देशी-विदेशी पूँजीपतिहरूलाई खुल्ला ढङ्गमा जनाखेट गर्न दिने सरकारको ज्यानमारा नियत अहिले आएर ह्वाङहुङ भएको छ। क्षमताहीन जनतालाई जल-जङ्गल-जमिनबाट उच्छेद गरेपछि वायुमण्डलबाट समेत धावा बोल्दैछन् ठूला कर्पोरेट, नोकरशाह र नेताहरू। जनप्रिय नेता, ठूला कर्पोरेट घराना र नामी पत्रकारहरू समेत मुछिएको टु जी स्पेक्ट्रम घोटालाको पर्दाफाश भएपछि यो कुरा छ्याङ्ग भएको छ। सरकारी कोषको १.७६ लाख करोड़ रुपियाँ यो घोटालामा हावामिठाइझैं बिलियो। गएको कमनवेल्थ खेलमा ५ करोड़ रुपियाँको त बेलुन मात्रै उड़ाइएछ। कति उड़न्ते खबर? तर उड़न्ते कुरा होइन यो। रकम हजम गर्न खातामा यस्तै उड़न्ते विवरण दिनुपर्छ। यसरी नै गरिन्छ भ्रष्टाचार। यसरी नै खेलिन्छ जनताको खुनपसिनासँग। स्वीस ब्याङ्कहरूमा जमा भारतको २८० लाख करोड़ रुपियाँको अवैधानिक धनको कुरा पनि छँदैछ।

एकछिन सङ्ख्याको उदाङ्गो यथार्थतिर लागौं। मानव विकास, शोधकार्य, विज्ञानको प्रतियोगिताजस्ता समाजलाई चाहिने क्षेत्रमा चाहिँ पछाड़िएको बेञ्चमा बस्ने लद्दु विद्यार्थीझैं भारत पारदर्शिताको प्रतियोगितामा भने विश्वमा ८७-औं दर्जामा छ। जनाधिकारी र राजनेताहरूमा व्याप्त भ्रष्टाचारको मात्रा नाप्ने मानक 'करप्सन पर्सेप्सन इण्डेक्स' तय गरी 'अन्तर्राष्ट्रिय पारदर्शिता' नामक सङ्गठनले सन् १९९५-देखि भ्रष्टाचार सर्वेक्षण गर्न थाल्यो। विश्वका १८७ देश लिएर गरिएको सन् २०१०-को ताजा सर्वेक्षणमा आइसल्याण्ड, फीनल्याण्ड, न्यूजील्याण्ड, डेनमार्क, सिङ्गापुर, स्वीडेन, स्वीजरल्याण्ड, घाना, नामिबिया, बोत्सवानाजस्ता देश भ्रष्टाचारमुक्त देशको अब्बल दर्जामा आए। अवश्यै भारतदेखि तल्लो दर्जामा पाकिस्तान, सोमालियाजस्ता देश परेका छन्। सन् २००८-मा ८५, सन् २००९-मा ८४-को दर्जा पाएको भारतले ८०-को आँकड़ा छाड़्ने सङ्केतै छैन।  

भ्रष्टाचारलाई सामान्य मान्छेले कति सामान्यतासँग लिन्छ भने ससाना खुद्रा भ्रष्टाचार गर्नु उसलाई पनि कुनै अप्ठायारो लाग्दैन। टुक्रे भ्रष्टाचार गरेर आफ्नो काम ठीक गर्नुमा कुनै खेद हुँदैन। रोममा रोमवासीहरूझैं चल्नू भन्ने छट्टु उखान आत्मसात् गरेका भान हुन्छ। देश गुणाको भेष मान्छेको आदर्श सूक्तिमा फेरिएको छ। कुरा कति गम्भीर छ भने, भ्रष्टाचार दैनन्दिन जीवनकै एक अङ्ग भएको छ। यो मान्यताले जुन गहिरो तहमा सामाजिक मूल्यको स्खसन गराएको छ, त्यहाँबाट उच्च मानवीय मूल्यको तहमा उक्लिनु भारतलाई ठूलै सामाजिक परिवर्तनको खाँचो पर्ला। मात्र सत्ता परिवर्तन, शक्तिसम्बन्धको परिवर्तन र उद्योगधन्धाको नीति परिवर्तनजस्ता सतही परिवर्तनले कुनै फरक आउनेवाला छैन। मानसिकताको आधारमै आमूल परिवर्तन नआएसम्म। भ्रष्टाचार निर्मूलन आन्दोलनहरू सम्पूर्ण सामाजिक परिवर्तनको आन्दोलनसँग नजोड़िएसम्म अपूर्ण हुन्छन्। समाजको मानसिकता र मूल्यमान्यतामै गाड़िएको भ्रष्टाचारको जरा उखेल्ने जन उभारको प्रतीक्षामा छ कुहिसकेको भारतको औपनेविशक वृक्ष। 
 
हरेक थोक घरबाटै शुरु हुन्छ। घरबाटै शुरु हुन्छ भ्रष्टाचार पनि। घरबाट शुरु भएको भ्रष्टाचारले गाउँ, शहर, संसद र बजारसम्मको यात्रा तय गरिसक्दा भ्रष्टाचार बढ़ेर विशालकाय डायनासोरझैं भइसक्छ। घरको लोभ, डाह, आह्रिस, ढोङ, अन्धानुकरण, ऐश-आरामको उपभोक्तावादी जीवनशैली धेरै सीमासम्म दायी छन् यसको निम्ति। क्रिकेट खेल्दा कसैको घरको खिरकीको काँच फुटाउने नानीलाई अभिभावकले बिस्तारै सिकाउँछ, "भन्नू, म थिइनँ त्यहाँ। अरूले नै फुटाए।" जीवनशैली र चिन्तनशैली दुवै ठाउँ भ्वाङ परेको मानसिकता लिएको भारत कहिले साँच्चै मुक्त बन्ला, भन्नु गाह्रो छ। किनभने चर्को स्वर गरी देशभक्तिको नाममा जतिपल्ट "जनगणमन"-को भ्रम गाए पनि वास्तविकतामा त देश किन्ने "अधिनायक"-कै जय हो भन्नुपरेको छ।

देश त बिक्रीमा छ। देशको लिलामीको बोलको हल्ला ढाक्न "मुन्नी बदनाम हुइ" र "शीला की जवानी"-जस्ता मादक आइटम गीतहरू त छँदैछन् नि बजारमा। देशी-विदेशी पूँजीसामु घुँड़ा टेकिसकेको भारतीय नेतृत्व-नोकरशाहको खोक्रो देशप्रेम र हामी आम नागरिकको अन्योलतापूर्ण देशप्रेम एउटै रहेन। के चाहिँ आज पनि जिउँदो सत्य हो भने जुन दिन भारतको आत्मपराजित 'भ'-लाई शहीद भगतसिंहको क्रान्तिकारी 'भ'-ले जित्ला, त्यस दिन भ्रष्टाचार उन्मुक्त स्वराजले शिर उठाएको हुनेछ।    

No comments:

Post a Comment