मुखपृष्ठ

Wednesday, March 16, 2011

चियाको बुट्टामा अल्झिएको पछ्यौरी

"अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुट्टैमा..."
यो गीत नसुन्ने विरलै होलान्। दुइ पात एक सुइरोको गीत गुनगुनाउँदै दार्जीलिङेहरू दुइ शताब्दी बिताउँछन् दुइ पलकझैं। उनीहरूको लामो कथाको अदृश्य पछ्यौरी अल्झिएको छ-छ चियाका अबोला बुट्टाहरूमा। अङ्ग्रेजहरू सन् १८५६-मा चिया उद्योग बसाल्छन्। सामन्तवादी समाज व्यवस्था प्रत्यक्ष नभोगेको दार्जीलिङमा एकैचोटि साम्राज्यवादको छायाँ पर्छ। हिल कार्ट रोड वा पहाड़को गाड़ा सड़कमा गाड़ावानहरूले भर्खरभर्खर गोरूगाड़ाहरू हाँक्न थालेका हुन्छन्। मानव सभ्यताको अतिउन्नत सम्पर्कसाधन रेल हस्याङफस्याङ गर्दै चढ़िरहेको हुन्छ दार्जीलिङ। मङ्गोलियन, राइलिम्बू र भोटेलाप्चेहरूको गुन्द्री बजारको नक्कल बढ़्छ। जति नक्कल बढ़्छ, त्यति नै बढ़्छ पीरमर्का पनि। गुन्द्री बजार दार्जीलिङ बनिसक्दा दार्जीलिङले आफ्नो नामसँगसँगै धेरै मिथहरू र धेरै यथार्थहरू कमाइसकेको हुन्छ। कति चाहिएको। कति नचाहिएको।

साम्राज्यवादीहरूले त्यागेर गइसकेपछि पनि दार्जीलिङ टी, कञ्चनजङ्गा र टोय ट्रेनहरूले गर्दा सबैले हेर्ने, सबैले मुसार्ने र सबैले टेक्ने ठाउँ बनिसकेको हुन्छ दार्जीलिङ। विश्वकै निम्ति दार्जीलिङ एउटा फन्तासी बन्छ। "बज्रको भूमि" दार्जीलिङ बन्छ एउटा सपनाको भूमि। एउटा रोमाञ्चको भूमि। बन्छ नोस्ट्याल्जियाको अविस्मृत संसार। तर साम्राज्यवादीहरूले चुसेरचुसेर भारतीय शोषकहरूको निम्ति चुस्न छाड़िएका दार्जीलिङेहरूको स्वप्निल मिथ झन्-झन् चर्को यथार्थ बन्दै जान्छ। गाढ़े घाउझैं। बागडोर यसरी ब्रिटिश साम्राज्यवादको हातबाट बङ्गाल साम्राज्यवादको हातमा सरिसक्दा दार्जीलिङको दुइपात एक सुइरोको उत्पीड़नको कथा एउटा खरो वास्तविकता भइसकेको हुन्छ।

मिथकजस्तो, रोमाञ्चजस्तो कुन्नि कस्तो कीर्ति कमाउने दार्जीलिङको सामाजिक-राजनैतिक-आर्थिक घाउ बिग्रेर क्यान्सर भइसक्दा पनि दार्जीलिङलाई उति हतारो छैन। दार्जीलिङ तिमी बिसञ्चो छौ भन्ने भावका सैकड़ौं कविताहरू लेखिएता पनि दार्जीलिङलाई त सञ्चै छ जस्तो लाग्छ। किनभने दार्जीलिङले मुस्कुराउने कला जान्दछ। सारा विश्वलाई अदभूत बासना र विचित्रको स्वाद भएको प्रसिद्ध चिया खुवाउने दार्जीलिङले बेलाबेला मात्र बोल्छ। दार्जीलिङे चियाको पसीनाले आफ्नो श्रमको साङ्लो चुँड़ाउनको निम्ति बेलाबेला बोलेको आवाज चाहिँ राष्ट्रिय मुक्तिको आकाँक्षाको स्वरसँग धेरै मिल्छजुल्छ।

"दार्जीलिङमा" कविताभित्र कवि उदय थुलुङ भन्छन् - "चियाबारीमा म तर मालिककै हातमा छु/ मालिकदेखि मालिक हस्तान्तर हुँदै अहिलेसम्म आइपुगेको पीढ़ीको/ मेरो घरभित्रको एउटा निजी इतिहास नै छः/ स्वाभिमान यसरी/ प्रत्येक पीढ़ीमा बिक्री भएकै बोध गर्छु।" जुन  निजी इतिहासको कुरा यहाँ कवि थुलुङले झिकेका छन्, त्यो निजी इतिहास समेत दार्जीलिङको "निजी" छैन। हूकर, म्याले र फ्रेड पीनहरूले लेखेको, व्याख्या गरेको र प्रस्तुत गरेको दार्जीलिङको इतिहास दार्जीलिङको "निजी" होइन। त्यो हो साम्राज्यवादीहरूको। आफ्नो पीड़ा अर्काले कसरी भन्नसक्छ र। आफ्नो निजी पीड़ाको गाँठो नखोलिदिएको एउटा 'जादूमय पुराकथा'-को नचाहिने झिल्टो बोकेको दुइपात एक सुइरोको गाथालाई गौरवको रक्तसञ्चार गराउने ऊहापोहमा दार्जीलिङ छटपटिएको पनि छ।

यस दिशाको एउटा पहल देखिएको छ दार्जीलिङे चियाको निर्यात रोकिदिने अभियान। चियाकमानहरूमा खट्दाखट्दै चियाकै बोटहरूजस्तै धरोहर भइसकेका दार्जीलिङे चियाकमानवासीहरूको उत्पीड़ित जीवनलाई स्वतन्त्रता र समानताको हक दिलाउन र उनीहरूको पसीनाको उचित मूल्य दिलाउन चिया निर्यात बन्दले व्यापारिक शिविर र शासक शिविरलाई बाध्य गराउन सके एउटा तहको उपलब्धि हुनसक्छ। नत्र अरूकै ऐतिहासिक व्याख्यामा भर पर्ने दार्जीलिङको निजी इतिहास भनेको पीढ़ी दर पीढ़ी स्वाभिमान बिक्री गर्ने इतिहासमा नै सीमित रहिरहने निश्चित हुन्छ।

दार्जीलिङ चियाको रङ र दार्जीलिङे चिया परिश्रमीहरूको खूनको रङमाझ कति फरक छ र। यो कुरा चिया खाँदै कम्प्युटरमा यी शब्दहरू टङ्कन गर्दै सोच्दैछु। यससाथै सम्झँदैछु श्रम ऐनहरू पनि। भारत सरकारले ब्रिटिश सरकारको निरन्तरतामा तयार गरेका खोक्रो कानूनहरू। औद्योगिक विवाद ऐन, कारखाना ऐन, बगान ऐन, न्यूनतम हाजिरा ऐन, समान पारिश्रमिक ऐन, ग्र्याचुटी ऐन, पीएफ ऐन, इ.एस.आइ. ऐन, बोनस प्रदान ऐन आदि। लाग्छ, जति धेर ऐन, उति धेर शोषण। दार्जीलिङको चिया उद्योगमा। श्रमिकका लागि भनेर बनाइएका कानून किताबमा पढ़्दा कति धीत मर्छ। लाग्छ, अहो, सरकारको पनि मुटुकलेजो रहेछ। सरकारको पनि मस्तिष्क रहेछ। श्रमिकहरूलाई कति माया गर्दोरहेछ। तर ती कानूनको जबजब सरेआम हत्या हुन्छ। बलात्कार हुन्छ। त्यसबेला लाग्छ- सरकार कति जाली। कति ढोङ्गी। किनभने कानून सरकारको इच्छाशक्ति नभएर लागू नभएका होइनन्। अरू नै छन् कारण त। श्रम शोषण गरी अततिरिक्त मुनाफा कमाउने व्यापारीवर्गको हितको रक्षार्थ नै सरकार मूकदर्शक बनेको त्यसै स्पष्ट हुन्छ। तब लाग्छ, ऐनको किताबमा ढुँड़ी परेको छ। कानून नामको नौटङ्कीमा केवल अभिनय मात्र छ। भ्रम मात्र छ स्वतन्त्रता र समानताको कथानकमा पनि।

अर्थनीति-राजनीति-साहित्यका छात्रहरू शैलेशहरू, सुचनहरू। केही दिनअघि बन्द पुटुङ चियाकमानमा गई तिनीहरूले आफ्नो करियर निर्माणको समयका केही टुक्राको सदुपयोग गरेछन्। त्यहाँका श्रमिकहरूको पीड़ाको कथा सुनेछन्। कथालाई खिँचेछन् पनि ह्याण्डिक्याममा। "पुटुङ बोल्दछ" भन्ने वृत्तचित्र बनाएछन्। सिलगढ़ीमा भेटेर वृत्तचित्रको सीडी मलाई सुचनले दिए। अप्रदर्शित यो वृत्तचित्रमा प्रदर्शित रहेछ मूलधारामा ओझेल परेको दार्जीलिङे चिया श्रमिकको एक फाल्सा कथा। चियाको बुट्टामा पैसा फल्छ भन्ने हल्ला सुनेर आफ्नो इतिहासै चियाको बुट्टामा दाउमा हाल्ने चिया श्रमिकहरूको कथाको एक झलक दिने यो वृत्तचित्रको निर्माणले चिया श्रमिकको मुक्तिबोधलाई आत्मस्थ गरेको रहेछ। चियाका बुट्टाहरूमा अल्झिएको दार्जीलिङे चियाको कथाको पछ्यौरीको कुनै एक फेर उनीहरूले वृत्तचित्रमा समातेर देखाएका छन्। अप्रदर्शित यो वृत्तचित्र हेरिसक्दा मलाई यस्तै लाग्यो।

पछ्यौरीका नदेखाइएका रहल फेर समात्न तपाईँहाम्रा विचारका हात सलबलाउलान्-नसलबलाउलान्। तथापि, ठट्टैमा जोबन बित्न लागेको बूढ़ो दार्जीलिङको अधमरो कथाको पछ्यौरी अल्झिएका चियाका बुट्टाहरूको अस्तित्व नै पनि आफैमा बहस र चिन्तनको विषय त हो नै। जुन अनुपातमा चियामालिकहरूले ऐनको समेत अवमानना गर्दै नोटिससम्म नटाँगी रातारात कमान बन्द गर्दैछन्। जुन अनुपातमा चिया शोषण दार्जीलिङ राजनैतिक आन्दोलनको मूल मुद्दामा गाभिँदैन। जुन अनुपातमा चियाश्रमिकहरूको जीवनस्तर खस्किँदैछ। जुन अनुपातमा चियाश्रमिकहरूको आन्तरिक र बाह्य गमन बढ्दैछ। जुन अनुपातमा चियाकमानका युवतीहरू देहव्यापारमा लिप्त हुन बाध्य गराइँदैछन्। जुन अनुपातमा चियाकमानका युवकहरू कुण्ठा भोग्दैछन्। त्यो अनुपातले चिया श्रमिकहरूले चिया उद्योगकै विकल्पहरू पनि सोच्न बाध्य गराउँदछ। लप्चुपेशोक यस विकल्प सोचको ज्वलन्त उदाहरण हो। एकताकाको चियाकमान लप्चुपेशोक अहिले दुग्धउत्पाद उद्योगमा स्थापित नाम हो। चियाउद्योगको मालिकाना श्रमिक सहकारी संस्थाहरूले लिएर दुग्ध, सुन्तला, कुच्चो, अलैंची, रबरसहित अन्यान्य पारम्परिक-अपारम्परिक विकल्प उद्योगहरू बसाल्न सके दार्जीलिङको कथा र इतिहासले अर्कै आयाम पाउने विचारको आयाम पनि हामीसँग छँदैछ।  

'कालबोध'-मा दार्जीलिङे चियाबारे पनि लेख्नपर्ला - कवि भाइ सुचनले भनेको अहिले सम्झिपठाएँ। दार्जीलिङे चिया कमानको जटिल वर्तमान र अनिश्चित भविष्यप्रति सुचन भाइको गहिरो सुर्तासँग म एकाकार भइरहेको अनुभव भइरहेको छ। हल्लाले भरिएको सेभोक मोड़को व्यस्त ट्राफिकछेउ भेट हुँदा सुचन भाइ र मैले एकछिन चर्चा गरेका थियौं- चियाको अर्थनीतिमाथि नै अड़्किएको दार्जीलिङमा अझसम्म 'चिया-साहित्य' समेत गरिएन रहेछ। छुट्टै चिया-आन्दोलनको कुरा त टाढ़ोको।   

No comments:

Post a Comment