मुखपृष्ठ

Saturday, March 26, 2011

हिरोशिमादेखि फुकुशिमासम्म


   छक्क परे सबै। हीरा छेत्रीको पौरखको पाखुरी छामेर। सुमसुम्याएर। कतिले खूब लोभ गरे। कतिले इबी गरे त कतिले आह्रिस। कतिले चाहिँ देखासिकी गर्ने ठाने। नेपाली भारतीय पत्रकारिताको सय वर्षको गहकिलो लेखाजोखा गरिएको तिनको किताबको विमोचन कार्यक्रम उल्टा बेला समयमै सकिएको हो। कालेबुङको सिउसिउलाग्दो चिसो साँझ। अहिले सम्भवतः, आँखा छल्न सकिने कुनै कोजी रेस्तुराँतिर लम्किँदै छौं। उमेश भाइ र टिका भाइ मेरा दुइपट्टि ठमठम हिँड़ेका छन्। मोटामोटी निर्जन डम्बरचोक आइपुग्न लाग्दा जापानको ताण्डवकारी सुनामीले हाम्रो हिँड़ुवा गफबाट एकपल्ट फेरि हाम्रो मानसलाई नजानिँदो गरी सोहोरेको छ।
सानी छोरी मानसीको कलिलो मानसमा विनाशका हृदयविदारक दृश्यहरूले नकारात्मक प्रभाव पार्ला कि भन्ने डर पोख्दैछन् टिका भाइ। त्यसैले टिभीमा न्यूज च्यानलहरू कम चलाउने गरेको बताउँदैछन्। शताब्दीकै महाप्रलय संसारैले प्रत्यक्ष देखेको-सुनेको क्रूर समयको यो साँघुरो गल्ली भएर यसरी गुज्रिरहेका छौं। तँलाई खाने बाघले मलाई पनि खाला भन्ने त्रासको हावाले सबैको छालालाई एक न एकपल्ट त छोएर गएकै हुनुपर्छ। उमेश भन्छ- "यसपालि त कालबोध जापानमाथि नै होला नि होइन दाज्यू।"      
शक्ति सधैं शक्तिशाली हुँदैन। विश्वकै एक महाशक्ति भइसकेको जापानमा यो शक्तिशाली सत्य साबित भएको छ। शक्तिको भोकले सधैँ कसैलाई शक्तिशाली बनाउँदैन। बरू बनाउँछ दुर्बल। बनाउँछ तहसनहस। पाँच टापुहरूको देश जापान यसको उदाहरण भयो। भैंचालो र सुनामीको प्रकोप प्रायजसो नै भोगिरहने भैंचालो प्रवण इलाका जापान। तर यसपालि भैंचालो र सुनामीभन्दा पनि घोर चिन्ताको विषय छ जापानको फुकुशिमास्थित चार परमाणु संयन्त्रहरूको विस्फोट। यी परमाणु संयन्त्रहरूको विस्फोटमा तात्कालिक काबू पाउन सकिए पनि संयन्त्रबाट निस्किएको रेडियोधर्मी विकिरणको दूरगामी दुष्प्रभाव जापान र छेउछाउका देशहरूले वर्षौं भोग्नपर्ला। अमेरिका तर्सिएको छ। रुसले जापानको रेडियोधर्मी विकिरणको प्रभाव आफ्नो भूमिसम्म आइपुगेको बताउन थालिसकेको छ। घातक प्रभावको लहरमा जापानको जोखिमपूर्ण यो रेडियोधर्मी विकिरणले बदनाम भूपाल ग्यास त्रासदीलाई पनि पछि पार्नसक्ने लख सबैले काटिरहेको बेला रेडियोधर्मी विकिरणबारे अड़कलबाजी, खोजीनिधि र चियोचर्चा जनसाधारणले गर्नथालेको देखिन्छ।    
तर परमाणु संयन्त्र र रेडियोधर्मी विकिरणहरूको परिसीमाको गोलाइभित्र मात्र सोचिरहेका  धेरैले परमाणुशक्तिप्रेमी देशहरूको राजनैतिक, अर्थनैतिक कुनियतको कैरन र पड़ताल गर्नसकिरहेका छैनन् कि लाग्छ। शक्ति र द्रव्यमान एकार्कामा रूपान्तरित हुनसक्ने अकल्पनीय नाता छ भन्ने तथ्य अल्बर्ट आइन्स्टाइनको खोजअघि कसैलाई थाहा थिएन। विस्मयकारी वैज्ञानिक आइन्स्टाइनले खोजी निकाले यस नाताको भेद खोल्ने विश्वप्रसिद्ध सूत्र "इ बराबर एमसी स्क्वायर"। तिनकै सिद्धान्तमा परमाणु शक्तिको सिङ्गो विज्ञान खड़ा भयो। दोस्रो विश्वयुद्धको पुछारमा जापानको हिरोशिमा र नागासाकीमा मानवीय इतिहासको सबैभन्दा कालो अध्याय लेखियो। तिनकै सिद्धान्तले जन्माएको घातक परमाणु बमको खरानीले। भनिन्छ, आइन्स्टाइनले पछिबाट आफ्नै खोजप्रति अफसोस जनाएका थिए। यो पनि भनिन्छ, परमाणु शक्तिको जोखिमबारे सबैलाई होशियारी गराएका थिए तिनले। तर भौतिक शक्तिको सूत्र खोज्ने आइन्स्टाइन त ठहरिए साधारण वैज्ञानिक। समाजवादको विचारलाई मान्ने आइन्स्टाइनलाई कसैले टेर पुच्छर लगाएन।
हेर्दाहेर्दै महाशक्ति बन्ने पाशविक होड़ले मातिएर परमाणु शक्तिको खेतीपातीमा लागे देशहरू। अहिले पनि करोड़ौं भोकमरीले मरिरहेको देश भारतले समेत ठूलै सम्पत्ति उड़ाएर पोखरानमा परमाणु विस्फोटको परीक्षण गरिहेर्‍यो। फुच्चे देशहरू चाहिँ हेरिबसे तमाशा। शक्तिको खोज र शक्तिको भोकले तड़पिएको विश्वको सभ्यताको चुरो साम्राज्यवादी देशहरूको हातमा छ। तिनीहरूको हात रङ्गिएको छ मानवीय खुनको हेमोग्लोबिन र प्राकृतिक खुनको क्लोरोफिलका अरबौंअरब जीवन्त कनिकाहरूले।
थोरै रङको प्रयोगले सुन्दर वाश आर्ट गर्ने, थोरै शब्दको प्रयोगले विलक्षण हाइकु र ताङ्का लेख्ने, थोरै बोल्ने देश जापान शक्तिको मामिलामा थोरैले सन्तुष्ट छैन। अति र धेरैको भूतले सताएको जापानले प्राकृतिक आपदा र शताब्दीकै महाविनाश भोग्दा सारा विश्व एकछिन स्तब्ध बनेको छ। यसरी साम्राज्यवादी शक्ति पनि प्राकृतिक ताकतसामु नतमस्तक छ। प्रकृतिसँग जति जुझोस्, उति मार खपेको छ मानव समाजले। देशहरू सशङ्कित छन्। भयभीत पनि छन्। सजाइको पालो पर्खनुपरेको जस्तै त छ विश्वको उजाड़ हुँदै गएका पाखापखेरातिर। अब पालि कसको?    
दोस्रो विश्वयुद्ध। हिरोशिमामा परमाणु बम विस्फोट। विश्वलाई युद्धको विभीषिकाको चेताउनी। त्यसपछि शीतयुद्ध। खाड़ी युद्ध। र अरब क्रान्ति। फुकुशिमा परमाणु संयन्त्र विस्फोट। विश्वलाई शक्तिको विभीषिकाको खबरदारी। उदारीकरण र वैश्वीकरणको नारा लगाउने विश्व समुदाय तर आफ्नै क्षेत्रीय मुद्दाहरू र प्रान्तीय सरोकारहरूमै जेलिएको छ। जति सभ्य भनिए र ठानिए पनि विश्व त अहिले पनि अस्तित्वको निम्ति हुने बुनियादी घम्साघम्सीमै सबै व्यस्त छन्। परमाणु मामिलाको जोखिम र संवेदनशीलताको हेक्का भए पनि सोच्ने साह्रै फुर्सद छैन कसैलाई। विशेष गरेर साम्राज्यवादी महाशक्तिहरूलाई। जो परमाणु शक्तिलाई विश्वकै विकल्प शक्तिको रूपमा उभ्याउन चाहन्छन्। र, यसको धन्धाबाट मोटो रकम कमाउन चाहन्छन्। यहाँ चेताउनी र सावधानीहरूभन्दा पनि बढ़ी मुख्य भए किनबेच र तोलमोल। वास्तवमा अतिशय लोभले नै पूँजीवादलाई चम्काएको पनि छ। सड़ाएको पनि।
कविहरू जति नै 'हरियो कविता' लेखुन्। 'हरियो समालोचना'-को कुरा गरुन्। सरकार र व्यापारिक संस्थानहरू जति नै "गो ग्रीन"-को नारा भट्टाउँदै पारिस्थितिकी योजना चलाउन्। वैश्विक उत्तापीकरण (ग्लोबल वार्मिङ) त अझ बढ़्ने नै हो। मान्छेलाई क्षति हुने धुवाँ मान्छेले नै फाल्ने नै छ। विश्व अर्थनीति नै बेलगाम लोभ, अन्धो स्वार्थ र निर्मम होड़मा आधारित भएपछि मानवीय र प्राकृतिक मूल्यमान्यताहरू बिस्तारै गौण र किनारीकृत बन्दै जानेछन्। यसमा कुनै शक छैन, पूँजीवादी र साम्राज्यवादी ताकतहरूले नार्दै गरेका देशरूपी गोरूहरू पनि मालिकले खटाएकै दिशामा प्राकृतिक र मानवीय शोषणदोहनमा लागिपर्नेछन्। व्यवस्थाको धुरीमै अतिलाभको किलो ठोकिएपछि मानवीय र सामाजिक सक्रियताहरू लाभकै हिसाबकिताब वरिपरि घुम्ने गरेका छन्।
थाहा छैन, जापानको पाठ कसकसले पढ़्ने हुन्, कसकसले छाड़्ने हुन्। तर निश्चित छ, पर्यावरण दिवस मनाएर र पर्यावरण महासम्मेलनहरू गरेर सानासाना देशहरूलाई पर्यावरण संरक्षणको तालिम दिने ठूला देशहरू आफै पर्यावरण दोहनको तालिकामा अघिल्लो पङ्क्तिमा छन्। सबभन्दा कम तेल उत्पादन गर्ने महाशक्ति अमेरिकामा विश्वको सबैभन्दा बढ़ी तेलको खपत हुन्छ। अहिलेसम्म प्रायजसो देश खेतीपातीकै भरमा चल्ने गरेका छन्। बढ़ी ताकतवर देशहरूको तुलनामा 'बनाना इकोनोमी' र 'बास्केट इकोनोमी'-मा चल्ने देशहरूले प्रकृतिलाई कति पो खनजोत गरे र? प्रकृतिलाई फलमासु, हड्डी र सके मासीसम्मै चुस्नखोज्ने बलिया देशहरूले नै बृहत् उद्योगहरू बसालेका छन्। कालकारखाना बसाएका छन्। सबभन्दा बढ़ी होड़को संसार बसालेका छन्। यी देशहरू नै वास्तवमा प्राकृतिक संहारमा लागेका छन्। प्रकृति शोषणको बाध्यतामूलक नियत त त्यसैले मानवीय प्रवृत्तिमा भन्दा पनि लोभको सामाजिक प्रवृत्तिको मूलमा नै निहित छ। यही लोभी संस्कारको संहार नभएसम्म प्रकृतिको संहार गर्ने प्रवृत्तिले संहार गरिरहनेछ मानवीय समाजको। मानवीय कोशिशहरूको। मानवीय सपनाहरूको।

No comments:

Post a Comment