"अहिलेदेखि झण्डा बोकेको होइन माइलाले/ माइलालाई रमिता छ।" कालेबुङका विचलन-कवि सुधिर छेत्रीले सिलगढ़ीको एउटा कविताभेटमा यो कविता पाठ गर्दै गर्दा म कविताको अन्त्यतिर पुगेको थिएछु। 'माइलालाई रमिता छ' कविता सुनाई सुधिरले समयको घाँटीमै च्याप्प समातेर तुन्द्रुङ्ग झुण्डयाई देखाएको झैँ लाग्थ्यो। यति जीवन्त कविता सुन्न पाएर म काव्यतिर्खाले हुरुक्कै भएँ। मैले सुधिरदाइलाई कविता इ-मेल गरिमागेँ। तिनले पूरै कविता पठाइदिएछन्। मैले धन्यवाद र बधाइ दिँदै फोन गरेँ। तिनले भने, "माइलाको कविता सिरिज गर्दैछु।" मैले भनें, "गर्नुहोस् है। पर्खिन्छु। अरू कविता पनि। कालबोधमा लेख्छु।" तर माइला सिरिजका अरू कविता तिनले आजसम्म पठाएनन्। मलाई भने माइलाले छोइरह्यो। चिमोटिरह्यो। कुतकुत्याइरह्यो। सताइरह्यो। र यो लेख्न बसेँ यसरी यसपालि।
रमिता हेर्नु र रमिता देखाउनु दुवै मानव सभ्यतामा शुरुदेखि थालिएका गतिविधि। दार्जीलङमा चाहिँ यो चिरकालीन परम्परा सधैँ रहिरहन्छ कि लाग्छ। आरामफूर्तिको विख्यात पेय चिया उमार्ने दार्जीलिङले नित्य आवश्यकताको अन्नको निम्ति अरूमाथि भर पर्नुपर्छ। देशविदेशका नानीहरूलाई भलाद्मी बनाएर पठाउने शिक्षाख्यात दार्जीलिङले आफ्नै गाउँबस्ती र कमानका नानीहरूलाई माध्यमिकसम्मको किरानी शिक्षा दिनु पनि हम्मे पर्छ। छुट्टै राजपाट चलाउने जनत्याग र जनबलिदानको हरेक राजनैतिक उभार अन्तत: मौकापरस्त सम्झौतामा गएर टुङ्गिन्छ। पानी छर्ने बादलकै हाराहारी उभिएका दार्जीलिङे पहाड़हरू पानीकै तिर्खाले हिरिकहिरिक भइरहनुपर्छ। अन्तरविरोधले टम्मटम्म भरिएका यी महाकथाहरूलाई लघुकथा बनाएर भन्ने, लेख्ने र सुन्नेसुनाउने चलनको रमिता भोगेको-भोगेकै हुन्छ दार्जीलिङ। यो रमिता कहिलेसम्म, कसैले सोध्दैन पनि, कसैले भन्दैन पनि। दार्जीलिङे सबाल्टर्नहरूलाई रमिता देखाउनेहरू कि आफैहरूबीच जन्मन्छन्, कि जन्माइन्छन्। बाहिरकाहरू थप्पड़ी मार्दै गिजाउँछन्। हाम्रो रमिता हामीले नै हेरेको शुल्क उठाउँछन्। शुल्क तिर्छौँ हामी। तिरिबस्छौँ।
रमिताको यो आख्यानलाई सबैभन्दा पहिला प्रभावी ढङ्गमा साहित्यमा चीलले झैँ टिपे इन्द्रबहादुर राईले। तेस्रो आयामको सत्य खोज्ने आन्दोलनदेखि यात्रा थालेर लीला लेखनको सत्यबाट भाग्नखोज्ने विचारमा पुगेर यात्रा बिसाउने क्रममा रहेका प्रतिभावान् र विवादास्पद इन्द्रबहादुर राईले भ्रामक लीलाको सञ्जालमा पर्न अगावै यथार्थको नगिचै बसेर लेखेको एउटै उपन्यास 'आज रमिता छ'। दार्जीलिङको यो महाख्यानले यसका अन्तरकुन्तरका उपनेविशत पाखाहरूको चाक्लो चित्र कोर्दै यहाँको विरोधाभासी रमिताको कुतकुतीलाग्दो, लाजलाग्दो र दुखलाग्दो गीत सुनाएको छ। मान्नै पर्छ, सत्यको नजिक पुग्न खोज्ने आरम्भिक क्रमतिरै लेखिएको यो उपन्यास नेपाली साहित्यमा एउटा गतिलो रचना बन्न पुगेको छ।
रमिताको यसै महाख्यानलाई छोटो कवितामा उतार्ने सिपालु कवि भए सुधिर छेत्री। उनको 'माइलालाई रमिता छ' कविता सुनेपछि-पढ़ेपछि लागिरह्यो कमानमा, शहरमा, वासमा, प्रवासमा छरिएका माइला-माइलीहरूको चिलाउने, मज्ज आउने, दुख्ने संवेदनको स्वादकलिका कति भुत्ते भइसकेका। दुखेर पनि रमाइदिने जातीय कमजोरी जातीय गौरवको रूपमा स्थापित भयो। हेप्ने, ठग्ने र दल्नेहरूको रगरगीमा उभेर माइलाहरू माड़ जुटाउन पाखुरी बजारिरहेका छन्। तर पनि दुख्दैन माइलालाई जीवन। बेलाबेला दुख्छ भनेर उसलाई कसैले भनिदिनुपर्छ। कुनै नेताले, कुनै नायकले, कुनै लेखकले, कुनै गायकले।
'माइलालाई रमिता छ' कवितामा सुधिर भन्छन्, "खबरमा पढ़्नै हुन्छ/ माइलाले नारा दिन्छ अघिल्लो जुलूसको पङ्क्तिमा/ बादलको खरी उप्कने गरी पछिबाट त्यसपछि माइलाहरू कराउँछन्।" जब उसलाई भनिन्छ कि उसलाई दुख्दैछ, उसको दुखाइको अन्तको निम्ति उसले लड़्नुपर्छ। ऊ लड़्छ र लड़्छ। लड़ेपछि लड़ेकोलड़ेकै हुन्छ। उसलाई लडड़ाइराखेर उसकै नाइकेहरू भने कहिल हो कहिले माथिमाथि उठिसकेका हुन्छन्, उसलाई पत्तै हुँदैन। उसलाई फेरि भनिन्छ - नाच् माइला नाच्! ऊ नाच्छ इतिहासको कलेटी परिसकेको उसको उपभोक्ता कम्मर मर्काउँदै। ऊ नाच्छ र उसको नाचको रमिता हेर्छ ऊ आफैले। उसले रमिता हेर्छ मात्र। रमिता देख्छन् अरू सबैले। रमिताको यो महाख्यान भोगेर-भोगेर दार्जीलिङका ऐतिह्य भइसकेका धरोहर चाउरीहरूमा शोषक समयसत्ताले उपनिवेश बसाइरहन्छ।
उपनिवेशित माइलाले उपनिवेशकहरूको निम्ति सत्ताका विभिन्न मोडल ल्याउने लड़ाइँ लड़िदिइबस्नु उसको राजनैतिक बाध्यता छ। यो बाध्यता उसको आवश्यकता बनाएर ऊभित्र हालिएको छ। अङ्ग्रेजी शासन सकिएर पनि त्यसैले दार्जीलिङको कथा भनेको उपनिवेशकै कथा भएर रहिरह्यो। रमिताको यो कथा कताकता विश्वका सानाठूला उपनिवेशका कथाहरूसित पनि मिल्छजुल्छ। यसको कथान्त पर्खेर बसेको माइलाको अवचेतनले उसको छोरालाई तँ चाहिँ रमिता नदेखा भन्न सकेको छ के, शङ्कै लाग्छ। त्यसैले कवितामा दार्जीलिङको राजनैतिक विरोधाभासको पोल खोल्दै कवि सुधिर अझ भन्छन्, "पोहोर साल माइलाको मलिलो छातीमा टेकेर/ ठूलो कथाको कटिङ सरेको थियो/ पाठकवृन्द! उसैले काटिबस्नु जराहरू, हाँगाहरू, युगैपिच्छे।"
सुधिर दार्जीलिङविरुद्ध भइरहेका भित्री र बाहिरी दुवै षड़्यन्त्रहरूतिर इशारा गर्दैछन् कवितामा यसरी- "छिरिबस्छ रगतसरिको माड़मा/ उसको लपलपे भोक। ढकढकाइरहन्छ प्रत्येक ऋतु/ षड़्यन्त्रका नयाँ संस्करणहरूले/ सजिलै चुइँकिने उसको अवचेतनको दैलो।" कसकसको उपनिवेश हुने षड़्यन्त्र भोगिरहनुपर्ने, सत्ताको नाममा जुत्ता हुनुपर्ने, जुत्ताको ठाउँमा खालीखुट्टै हिँड़्नुपर्ने दार्जीलिङको चाम्रो रमिता कति गाह्रो हुन्छ होला पचाउनु दार्जीलिङको भोलिलाई, पर्सिलाई र निकोर्सिहरूलाई। सुधिर छेत्रीहरूलाई माइलाको कथा हाल्न लगाउने इन्द्रबहादुर सरलाई पनि लाग्दो हो, रमिता त आज पनि यथावतै छ। जस्ताको त्यस्तै। दार्जीलिङमा जसले इन्द्र सरलाई भेट्छन्, उनलाई यस्तै लाग्छ कि लाग्दैन त, सोधिहेरे पनि हुने।
No comments:
Post a Comment