मुखपृष्ठ

Friday, July 22, 2011

ऋषि फर्कला के?

त्यस दिन नेताजी क्याबिनको अघिल्तिर उसलाई देखें। देख्नसाथ चिनें। छ¬: बजिसक्दा पनि साँझ परिहाल्न नमानेको अट्टेरी दिन। तातोलामो दिनको बाफिलो पुच्छरबाट एक टक उज्यालो उसको अनुहारमा पर्छ। क्याबिनमा टर्रो चिया, टोस्ट र कटमेरो अण्डा खाएर भर्खरै निस्किएको हुँ। सिलगढ़ीको विधान मार्केटमा पुरानो चिया दोकान नेताजी क्याबिन। क्लान्तहरूलाई चियाऊर्जा दिइरहने यो दोकान वर्षौँदेखि जस्ताको त्यस्तै उभिएको छ। ठिङ्ग। दिगो बाँचिबस्ने नस्टल्जियाझैँ। कलकत्ते कफी हाउसको अघोषित सिलगढ़ी संस्करण पनि मान्न सकिने।

धेरजसो मान्छे चिया खाने निहुँमा यहाँ अड्डा हाल्न आउँछन्। दोकाने पनि अड्डा हाल्न दिन्छन्। भीड़ हुन्छ। ठेलाठेल। पर्खेरै भए पनि जग्गा त ओगटेरै छाड़्छन्। बस्छन् र चियाटोस्ट माग्छन्। अखबार पढ़्छन्। सिगरेट फुक्दै गफिन्छन्। स्वच्छन्द बहसिन्छन्। गफिन्छन्। सिलगढ़ीको व्यस्तताले यही नेताजी क्याबिनका पुर्खाझैं लाग्ने पुराना कुर्सीहरूमा थकाइ मारेको देख्छु। व्यस्तताहरूको सागरबीच एउटा निश्चिन्त टापुझैँ क्याबिनमा जाने लोभले प्राय: मलाई पनि त्यहाँ पुर्याबउँछ। कहिले एक्लै। कहिले साथीहरूसँग।

भन्दैथिएँ, क्याबिनबाट निस्किएपछि मैले उसलाई देखें। मेरो अघिल्तिरबाट तीन युवकहरू जाँदैछन्। तीमध्ये एउटा अनुहार देख्नसाथ चिनिहालेँ। खिरिलो शरीर। जुरेलीजस्तै बुथुरिएको कपाल। कम्मरमुनिसम्म खस्किएको अधमैलो जिन्स। कालो भेस्ट। ऊ ऋषि हो। मैले बोलाएँ, "ऋषि!"

मलाई नाघेर गइसकेको छ ऊ। टक्क अड़ियो र पछि फर्केर हेर्योख। पहिले उसले मलाई ठम्याएन कि क्या हो। केहीबेर गमेपछि मात्र मुस्कुरायो र हत्तपत्त भन्यो, "ए तपाईँ? कस्तो हुनुहुन्छ?"

मैले भनेँ, "म त राम्रै छु। तिमी नि?"

ऊ अहिले सिलगढ़ीमै भएको जनाउँदै उसले भन्यो, "कोचिङ लिनु आएको नि।"

"अन्त पढ़ाइ चैँ?"

"ग्रयाजुएशनको रिजल्ट पर्खिएको नि। योपालि भोटले गर्दा रिजल्ट पछि सर्योे।"

उसका साथी उसलाई पर्खिरहेका छन्। मेरा मलाई। "कोचिङ के-को लिन आएको," सोध्दा चाल पाइयो, ऊ राज्य लोक सेवा परीक्षाको प्रशिक्षण लिइरहेको रहेछ। सुनेर म झसङ्ग भएँ।

घर उसको दार्जीलिङ। केही दिनअघि सिलगढ़ीको सिटी सेण्टरमा आयोजित एक अन्तर्महाविद्यालय रक स्पर्द्धामा उसको लोमहर्षक गायन प्रदर्शन हेरेर म रक्ड भएछु। कार्यक्रम सकेपछि ऋषिहरू बाहिरिँदै गर्दा मैले आफै अघि बढ़ेर ऊसँग परिचय साटेँ। म पनि कहिलेकाहीँ गीत लेख्नु मन पराउँछु भन्ने बताउनु मन लागेर आयो। बताएँ। मबाट "रक पनि लेख्छु नि" सुनेपछि त ऋषिले उसको ब्याण्डका लागि गीत लिने चासोसम्मै देखायो। म खुशी भएको थिएँ, कम्तीमा एउटा रक-सङ्गत त पाइयो नि। त्यसपछि एकपल्ट फोनमा बात भयो। फेरि हामीबीच कुनै कुरा थिएन। हठात् मैले उसलाई त्यस दिन देख्दा रक-सङ्गतको लोभले मलाई उकासिहालेको हो। तर ऊ थियो हतारमा। मैले पनि उसलाई रोकिरहन चाहिनँ। उसलाई जानुदिएँ। जानेलाई जानु दिनुपर्छ। मैले जानु नदिँदा पनि ऊ त जाने नै हो। मनैमन सोचेँ।

मैले जब सधेँ, "गीत गाउँदैछौ के त?" उसले हल्का मुस्कुराएर भन्यो, "गाउँदैछु।" ऋषि गीत गाउने मान्छे। बीस-एक्काइस वर्ष पुगेको युवक। देख्दा सोह्र-सत्रहको छ। हार्ड-रक, मेटल- रक र डेथ-रकका चाम्रा, चित्कार्य र गह्रौँ गीतहरू गाउन थालेपछि उसको स्वर पाको चालीसको हुन्छ। पातलो ढाँचा र घोर्ले स्वरको द्वन्द्वबाट ऋषिको गायन जन्मन्छ। उसको एटिट्युड, उसको विचारले गीतका कुनाकाप्चाहरूबाट चिहाउँछन्। उसले गाउँदा उसले गाउँछ मात्र। ऊ नगाउँदा जे-जे गर्दो हे, लाग्छ, नगाएर पनि ऊ गाइ नै रहँदो हो। ऋषिले बाँच्नु भनेको नै उसले गाउनु हो लाग्छ। ऋषि रकको ऋषि। रकको जेन।

रक गीत प्रतिस्पर्द्धाको दिन कलकत्ते निर्णायकले अन्यान्य ब्याण्डलाई गिटारको कर्ड मिलाउने, ड्रम एडजस्ट गर्ने अतिरिक्त समय प्रदर्शनअघि ढुक्कसँग दिएका छन्। तर ऋषिहरूको टोलीप्रति भने तिनको अनापेक्षित आपत्ति देखियो। किन – थाहा लागेन। तीस मिनटको प्रदर्शन अवधिबाट गिटार-ड्रमहरू एडजस्ट गरेर नै लगभग बीस मिनट ऋषिहरूले चुहाइपठाएका छन्। पहिलोपल्ट देखेको छु ऋषिहरूलाई। शङ्का लाग्न थाल्यो। देखावटी भयो धेर- लाग्न थाल्यो। के गाउलान्-बजाउलान् यस्ता नाथुहरू, सोचेँ। निर्णायकले दश मिनट मात्र रहेको घषणा माइक्रोफोनबाटै घोषमा गरिसकेपछि ऋषिहरू अन्तत: जसोतसो प्रदर्शन गर्न बाध्य हुन्छन्।

कसैले नपत्याएको ऋषि जब गाउन थाल्छ, सबै जाराकजुरुक उठ्छन्। रक हुन्छन् सबै। बसिरहनै सक्तैनन् कोही। ढाड़मा रौंहरू ठाड़ा भएको, नसाहरूमा तातो रगत बग्न तालेको अनुभव हुनथाल्छ। छेउको बिल्डिङमा खटिरहेका मजदुर दाजु-दिदीहरू पनि काम रोकेर ट्वाल्ल परेर हेर्छन् ऋषिको ताकतलाई। ऋषिक अद्भुत प्रतिभाले सबै ठहरै पर्छन्। प्रतिस्पर्द्धाको विजेता दल ऋषिको दल घोषणा गर्न बाध्य हुन्छन् निर्णायक।

पछि ऋषिसँग बात मार्दा थाहा लाग्छ, उसले गाएको गीत डेथ-रक थिएछ। डेथ-रक अर्थात् मृत्यु-रक। सत्तरीको दशकतिर जन्मिएको कठिन पश्चिमा गीत। प्रथमत: डराउने फिल्म, विज्ञानकथा फिल्महरूमा प्रयोग गर्न बनाइएको यो गायनशैली पछिबाट जीवनजगतका अँध्यारापन, अवसाद, पीड़ा, पट्यार, उहापोह, विरक्ति, क्रोधलाई व्यक्त गर्ने अग्लो माध्यम बन्छ। समाजसभ्यता मरिसकेको मान्न खोजेको हो वा मार्न खोजेको हो- त्यो स्पष्ट छैन। तथापि, यो रकस्वरूपले सबैको स्थिरतालाई भने अवश्य मारिदिन्छ। सबै जमाउलाई मार्छ र तरल पार्छ। विचार, भावना, संवेदना तरल भएर बाफिएका अनुभव हुन्छ। गीतबाट धुनलाई नै च्यातेर निकाल्ने डेथ-रक वास्तवमा गेयात्मक अगीतको नमूना पनि हो। धुनका रेखाहरूबाट उछिट्टिएर गएका यी गीत स्थापित रूपबाट विच्छिन्न बन्न खोज्ने प्रयासका द्योतक पनि हुन्। त्यसैले यी गीत रूपवादका विरोधितामा उभिएका प्रतिवाद समेत हुन्। त्यसै पनि समाजमा व्याप्त ढोङ, विसङ्गति, विडम्बना, मिथ्याचारको विरूद्ध गायनको जुक्तिवादी मोर्चा हो रक गीत। डेथ-रक चाहिँ समाजको जीवन्तताको मृत्युमा गाइने शोकगीत। सुरको, लयको विखण्डन गरिने शैलीमा गाइने डेथ-रक थोत्रे नियमको बोझले थाकेकाहरूका लागि उन्मुक्तिको ऊर्जा स्रोत हुन्छ।साँघुरो विचारको साँघुरो गल्लीबाट निस्कँदा लगाउनु परेको बल डेथ-रक गाउँदा लगाइँदो हो। त्यसैले डेथ-रक गाउनु सजिलो छैन। ऋषिले गाएको डेथ-रकले सबैलाई आफ्ना कृत्रिमताको छाला काढ़ेर साँचोसजिलो बाँच्ने कठोर आह्वान गरेको प्रतीत हुन्थ्यो। विषम देवालहरूले घेरिएका मान्छेहरूको चित्कारले डेथ-रकको प्रस्तुतिमा उद्बोधन पाएका महसुस हुन्थ्यो।

नेताजी क्याबिन सामु त्यो साँझ स्वरका जादुगर ऋषिले लोक सेवा अधिकारी परीक्षा बस्न लागेको जानकारी दिँदा म स्तब्ध भएँ। स्तब्ध यस कारणले भएँ कि समाजले सही मान्छे, सही ठाउँ, सही समयमाझ सन्तुलन ल्याउन सक्नु अझ कति जुनी कटाउने हो, हिसाब गर्न गाह्रो भयो। "तिमी कहाँ अफिसर हुने? तिमी त गायक पो बन्नुपर्छ। स्तरीय रक-ब्याण्ड चलाउनुपर्छ नि," भनेँ। ऊभित्रको कुनै घाउ बल्झिएकोझैँ देखियो उसको विक्षिप्त अनुहारमा। उसले मुस्कुराउँदै भन्यो, "कोशिश त गर्छु।" ऋषिसँग छुट्टिएपछि घर पुगेर पनि निकै बेर ऋषिकै बारेमा सोचिरहेँ। आफैलाई सोधिरहेँ, "ऋषि फर्कला के?"
(17.07.2011.)

No comments:

Post a Comment