र्याण्डम
सर्वेक्षण
कविताको
आवाज
सन्दर्भ
समकालीन नेपाली भारतेली कविता
-
-राजा पुनियानी
कविता र सनक
‘चुपचाप
जानुदिनुहोस् सर’।
कुनै
सानोले ‘ठालू’-लाई होइन। यो त वाचित एउटा कविताले ‘सर’-हरूलाई भन्दैथियो। सुनेर असन्तुलित भएका थिए साहित्यिक-बुद्धिजीवीबाट
अहिले राजनीतिजीवी भएका ड. हर्कबहादुर छेत्री । घरि दार्जीलिङे कविहरूसँग बिच्किन्थे,
घरि उनीहरूकै नाक थाप्थे। सत्ताको चाप र कविताको तापमाझ धर्मरिरहेका देखिन्थे
तिनी।
कविताले गरेको
इमानदार अपीलले सुन्नेमा पार्ने गरेको अपेक्षित प्रभावको यस्तो लाइभ उदाहरण हामी
कविताको इतिहासमा यदाकदा पाइरहन्छौँ। कविताको अपील भनेको कविताले भन्ने कुराको
स्वरूप हो, अन्तर्वस्तु हो। त्यो स्वरूप र अन्तर्वस्तुमाझबाट निस्किएको आवाज
वास्तवमा कविताको आवाज हो। खासमा कविताको आवाज समाजले बोल्न चाहेर पनि बोल्न
नसकेको र जानिँदो-नजानिँदो पाराले दबाइएको आवाज नै हुने गरेको छ। वास्तवमा एउटा सफल
कविताको पाठकोपयोगी र पाठकमैत्री चरित्र भनेकै यही आवाज हो। जुन दिन कविताबाट यो
आवाज हराउँछ, संसारबाट कविताको पनि उठीवास लाग्छ।
कालेबुङमा कविका
रूपमा हठात् देखा परेका हुन् पत्रकार प्रदीप लोहागुण। तिनको कविताको किताब ‘सनकी समय’ -को विमोचन। ड. हर्कबहादुरको असन्तुलित
प्रतिक्रिया देखापर्नअघि (किताबको नामै ‘सनकी समय’ भएकोले) सनकीपन वा बौलाहापनामाथि त्यस दिन शुरूबाटै चर्चा अघि बढ़ेको थियो।
भनिँदै
थियो - कवि सनकी हुन्छ। कविता सनकी हुन्छ। यही कारणले पश्चिमका शेली, प्लाथहरू
सनकी थिए। पूर्वका देवकोटा, रिमालहरू पागल। उता गिन्सबर्ग त यता मुक्तिबोध सदा
व्यग्र रहन्थे। यता दार्जीलिङमा उहिलेका वीरेन्द्र सुब्बा, नोर्जाङ स्याङ्देनहरू बौलाहा
छन्। अहिलेका टीका भाइ, मनोज बोगटीहरू झोंक्की छन्। जुन सनक, बौलहट्ठी, झोंकको
कुरा हो, त्यो वास्तवमा ‘स्थापना’-को ‘हाइरार्की’-को
बुनोटविरूद्ध कविहरूको आजादीप्रिय चेतमा अर्जापिएको प्रतिरोधी व्यवहार हो। जुन
व्यवहार कविको सामाजिक अन्तर्क्रियाकै अभिव्यक्ति हो। यसबाट धेरथोर हरेक इमानदार
कवि नै अछुत छैनन्। यसैले कविलाई चलाउनु भनेको कुनै कोमलभन्दा कोमल फूललाई छुँदाको
संवेदनशीलतादेखि लिएर चाम्रोभन्दा चाम्रो चट्टान फोड़्दाको फौलादीपनको अख्तियारको
कुरा हो। त्यसै भन्दैनन् बोगटी, “म मात्र होइन, कुनै पनि असल
कवि सत्ता र शक्तिकेन्द्रका प्रतिपक्षी हुन्”।
वरिष्ठ पत्रकार
अशोक प्रशान्त समकालीन धेरै कविताहरूले चलिआएको भावधारासित आफूलाई ‘पृथक्’ गर्न खोजिरहेजस्तो ठान्छन्। “केही अघिसम्म यो विचलन थियो, अब हस्तक्षेपकारी हुन चाहिरहेको छ”, प्रशान्त भनिरहेका हुन्छन्। केही अघिसम्म नेपाली कविताको आक्रोश र कुण्ठा
अमूर्त्त र दिशाहीन थियो। एउटा थकाइ र असन्तोषलाई यसले अभिव्यक्ति दिइरहेको
देखिन्थ्यो। “हाल यो आत्मविश्वासले लबालब भई आफ्नो समयलाई
हस्तक्षेप गर्न, व्यवस्थालाई बदल्न अनि समाजको त्यो अन्तिम पङ्क्तिमा
उभिएको मानिसलाई नायकको रूपमा प्रस्तुत गर्न केन्द्रित देखिन्छ”, तिनी भन्छन्।
एक त कवि
सनकी हुन्छ र अर्को उसले जे र जसरी देखेको, त्यही र त्यसरी नै लेख्छ। उसको आफ्नो
शब्दबुनोटमा। जे देखेको त्यही लेखेपछि, त्यो कविताको आवाज बन्छ। अनि त जे देखिन्छ
त्यो लुकाउन खोज्नेहरूका लागि कवि दुश्मन भइदिन्छ। जसरी उहिल्ये नै ग्रीसका दार्शनिक
प्लेटोले कविहरूलाई राज्यबाट लखेट भन्ने उपदेश दिएका हुन्। जसरी धेरै कवि थुनामा
पारिए, हट्टाबाहिर गरिए, घरथुनुवा पारिए र मारिए। पश्चिममा फेदेरिको गार्सिया
लोर्काको र पूर्वमा अवतार सिंह पाशको हत्या यस कुराका ‘केस’-हरू हुन्। नेपालमा बागी कवि कृष्णसेन इच्छुकको राज्यहत्या
अर्को केस। नेपाली भारतीय कवितामा पनि यो सनकले समाजलाई लोभलाग्दो निकास दिएको थाहा
लाग्दै गएको अवस्था यो।
भारतमा
अहिले लेखिँदै गरेका कविताहरूको समष्टिगत पठनले बताउँछ, कविता कविको सनकको अर्को
नाम हो। स्थापित हाइरार्कीले समाज र सभ्यताको नाममा थोपेको ‘कोड अफ कण्डक्ट’-मा फीट नहुने प्रजाति हो कवि।
त्यसैले कवि जन्मजात सनकी हुन्छ स्थापना वा स्ट्याब्लिशमेण्टको निम्ति। स्थापनाले
नचाहेको लेखेर उनीहरूले सनक नै गरेका हुन्छन्। कवितालाई बीचबीचमा शासकको स्तुति
भट्टाउन लट्टाइए पनि साँचो कविता सदा जनताका कविता थिए र हुन्। ती कविता जसले
मान्छेको दुःख-दर्द र सपनाबाट टाढ़ा भाग्न खोजे, कविता कम र ढोङ बढ़ी थिए। र ढोङ
कविता हुँदैन। यहाँ कुराले खाप खाने लोहागुणको आह्वान सुनौँ, “पीड़ितहरू पीड़ितहरूजस्तै
हुनुपर्छ। न कि पीड़ा लुकाएर शालीन हुने हिप्पोक्रिट प्राणी”।
‘अन्धा कविताहरू’-को रगरगीपछि
कुनै
एउटा समय दार्जीलिङमा अन्धा-कविताहरूको रगरगी रहेको कवि भूपेन्द्र सुब्बालाई
लाग्यो। अहिले केही वर्ष कटेपछि यताको कविताले आँखा देख्न थालेको पनि लागेको हो
तिनलाई। ‘अन्धा कविता’
भनेर भूपेन्द्रले ईङ्गित गर्न खोजेका खासमा ती कविता हुन्, जुन
कविता कविताको नाममा रूञ्चे रोमान्स र स्वैर नस्टल्जियाको थुप्रो थियो। समाज भोकग्रस्त
र दिशाहीन सोमालिया भइरहँदा शान्त र जड़ स्वीजरल्याण्डको जल्पना गर्नेहरूको घुँइचो
त अझै पनि छ दार्जीलिङे समाजमा।
एक अर्थमा
नेपाली भारतेली कविताको सरल एप्रोचको र सरल ट्रिटमेण्टको कुरा पनि हो। आज कुरा
सोझै भनिन्छ यहाँको कवितामा। नोर्जाङ स्याङ्देन, मनप्रसाद सुब्बा, राजेन्द्र
भण्डारी, मोहन ठकुरीहरूले रोपेको सरल एप्रोचको बीऊ आज आएर टुसाउँदै गएको अवस्थाबाट
गुज्रिरहेको वर्तमान छ आजको दार्जीलिङे नेपाली कवितामा। आजका कविताहरू “दुरुह प्रतीक र विम्बको प्रयोगबाट
टाढ़ा रहेका छन्” मान्ने समालोचक पेम्पा तामाङको मन्तव्य यही
लाइनमा उभिएको छ।
कुरा त के
पनि छ भने फेरि ‘युद्ध र योद्धा’-जस्तो नेपाली भारतेली साहित्यको ल्याण्डमार्क कविता लेख्ने अगमसिंह
गिरीले धरि स्वकेन्द्रित कृतिहरू ‘याद’
र ‘आँशु’ लेखे। केही समाजकेन्द्रित
रचनाहरूमाझ वीरेन्द्र, नरबहादुर दाहालहरू रसिक भइरहे। अहिसेसम्म अनवरत कलम
चलाइरहेका कवि दाहालको भनाइमा “साहित्यको मूलमा प्रेम नै
हुन्छ”।
पछिबाट जुन
आक्रोश, क्रोधहरूको बाढ़ कवितामा चल्यो, त्यो पनि अन्धकारमा हानेको ढुङ्गाझैँ थियो।
कसलाई के भनेको हो, कविहरू आफै स्पष्ट देखिँदैनन्। विकास गोतामेमा त्यो विद्रोह-चेत
तिनका समयका अन्यान्य कविभन्दा तीखो देखिन्छ। तथापि, ‘लड़ वीरहबादुर लड़’ लेख्ने गोतामे पनि स्पष्ट छैनन्,
वीरबहादुर आखिर कसको विरूद्ध लड़्नुपर्ने हो वास्तवमै? सन् अस्सीको
दशकका ‘सङ्क्रमण’ कविहरू फेरि
अन्योलताकै भ्रमणमा व्यस्त रहेको पाइन्छ। सन् नब्बेको दशकका ‘विचलन’ कविहरू उत्तर-आधुनिकताप्रतिको अतिमोहले गर्दा
आफू बाँचेको समाजको जमीनबाटै विचलित भएर फरेन विम्बहूरको आधिक्य भएको शिल्पमुखी काव्यरचनामा
व्यस्त रहेको अवस्था देख्नपाइन्छ।
आज आएर नेपाली
भारतेली कविता के स्पष्ट हुने प्रयासमा छ त उसोभए? छ भने कसरी? समालोचक लक्ष्मण दाहाल भन्छन्, “समकालीन भारतीय नेपाली कविता निम्नवर्गीय सर्वहारा मानिसहरूलगायत नेपाली भारतीयहरूका
स्वाधीनता र अधिकारमाथि अतिक्रमणको तीव्र संवेदनात्मक काव्यात्मक हस्तक्षेप पनि हो”। भारतीय नेपाली साहित्यमा व्याप्त जड़वाद, पूर्वाग्रह
र यथास्थितिवादप्रति निर्भय ‘हस्तक्षेपी आवाज’ उठाइनुलाई दाहालले ‘क्रान्तिकारी काव्यिक पदक्षेप’ मानिरहेका छन्।
वर्तमान
हाँचका युवा कविहरूको ‘प्रभावकारी सामूहिकता’ अनि ‘पाठकोन्मुख लेखन’ - ले
ल्याएको पाठकीय संलग्नताले आजको कविताको स्वर आफ्नो प्रभाव उत्पन्न गर्नमा समर्थ
भएको मान्छन् इञ्जिनियर र सचेत पाठक प्रदीप शेर्पा। यो पाठकोन्मुख लेखन कविताले
आँखा देखेपछिको दिन हो।
समयको छातीमाथि सिरियस कविहरू
कविता लेखिरहँदा
समयको छातीमाथि सङ्घर्षशील भएर उभिएको पाउँछन् भूपेन्द्र आफैलाई। कवितासँगै आउँदै
र बित्दै गर्ने ‘समय र स्पेस’
- को आवाज बोक्ने कविता-लेखन कुनै जोखिमभन्दा तल्लो तहको काम होइन। ठिक्काबिघामा रचिने कविताको अपवादलाई पन्साएर हेर्नु
हो भने कवितामा जे पायो त्यही लेखिँदैन। त्यसैले कवितालाई सिरियसली लिइन्छ, जतिको
सिरियसली एउटा मौरीले चाकालाई, आमाले नानीलाई, आदिवासीले माटोलाई, मजदुरले
मिहिनेतलाई, किसानले खेतलाई र गायकले गीतलाई लिएको हुन्छ। भन्न सकिन्छ, आज भारतमा
लेखिएका ज्यादातर कविताहरू सिरियसली लेखिएका कविताहरू हुन्।
साहित्यमा
बुद्धिको पैरवी गर्ने ‘तेस्रो आयाम’ र लेखनमा वैचारिक जुझारूपनको दावा गर्ने ‘किनारा
लेखन’ - पछि लेखनमा राजनैतिक प्रतिरोधको आह्वान गरिरहेको आजको
‘हस्तक्षेप’ -
सम्म आइपुग्दा नेपाली भारतेली कविहरूमा एउटा सिरियस एप्रोच विकसित भइरहेको हो। कविहरूले
कवितालाई यसरी सिरियसली लिनुले समाजका उपेक्षित मुद्दाहरूले वैचारिक प्रश्रय पाउने
सम्भावना बढ़ेको हो। पत्रकार-समालोचक रूपेश शर्मा समकालीनताको अवधारणामा तत्समयको
राजनैतिक चेतना र परिघटनालाई निर्णायक महत्त्वको मान्छन्। नेपाली भारतेली कविताको
मूलमा यो ‘राजनैतिक विचार’ रहेको
हेक्का राख्छन् शर्मा।
कवि-समालोचक
ड. कविता लामाको भनाइले पनि यही कुराको पुष्टि गर्छ, “आजको नेपाली भारतेली कविताले सन्तुलित सामाजिक व्यवस्थाको कुरा मात्र
गर्दैन। वर्तमान मान्छेले जिउने असन्तुलित मानसिकता, विसङ्गत
सामाजिक व्यवस्था एवं लछेप्रै राजनैतिक हस्तक्षेपहरू पनि आज कविता भएर लेखिएको
देखिन्छ”। पत्रकार प्रशान्तको
तीक्ष्ण हेराइले नेपाली कविताहरूले आफ्नो वरिपरिको व्यवस्थालाई सधैँ प्रतिपक्षमा
राख्दै आएको देखेको हो।
आवाज कि हल्ला?
कविताको
आवाज हुन्छ? हुन्छ। सबैले भन्नेछन्। आवाज
कहाँबाट पैदा हुन्छ त? सबैले भन्नेछन्, कविता जहाँबाट पैदा
हुन्छ। कविता कहाँबाट पैदा हुन्छ त? सबैले भन्नेछन् - समाजबाट,
जहाँबाट कविता आफै पैदा हुने गर्छ। कविले साँच्चै कवितै लेख्न के
गर्नुपर्दछ त जसले गर्दा कविताको पाठक अपेक्षित आवाज मुखरित होस्? धेरै होलान् कसौटीहरू।
कवि
ज्ञानेन्द्र खतिवड़ा भन्छन्, “म कवितालाई
जीवन मान्छु र जीवनलाई समाज। एक्लो कविता हुँदैन जसरी एक्लो जीवन सम्भव छैन।
समाजको जरैबाट जन्मन्छ विचार। कविताले विचार बोक्छ र विचार बोक्ने भाषा - शैली,
अझ मोठमा भन्ने हो भने कला पनि समाजकै धरातलबाट टिपिन्छ”। समाजबाट टिपेर समाजलाई नै दिने मनसाय राख्ने खतिवड़ा तिनको रचना निमुखाहरूका
निम्ति हतियार होस् भन्ने आशय राख्छन्। अघिल्ला पुस्ताका र पछिल्ला पुस्ताका दुइ सशक्त
कवि खतिवड़ा र भूपेन्द्रको सोचले यहाँ मज्जले खाप खान्छ। भूपेन्द्र पनि यस्तै सोच
राख्छन्। उनी भन्छन्, “कविता
मेरो निम्ति हतियार हो र म कविताको शक्तिप्रति सधैँ विश्वस्त छु । कविताले आम
सरोकारको आम बोली बोल्न सकोस्”। अर्का कवि टिका भाइ कवितालाई
आम जनताको सुर अनि स्वरसित गाँस्न चाहन्छन्। कवि मनप्रसाद सुब्बाको टेक छ, “पछिल्लो समयमा (पुग नपुग
डेढ़ दशकदेखि यसो) मेरो कविताको आवाजमा उत्तरौपनिवेशिक सौन्दर्य-चेत बढ़ी टड़्कारो
सुनिन्छ”। हुँदा-हुँदै पनि मनप्रसादको उत्तरौपनिवेशिक
सौन्दर्य-चेतले सार्विक प्रयोगको बाटो पाउनु निक्कै समय पर्खनुपरेको हो।
राजनैतिक
बुद्धिजीवी समीर भाइ गिरी त्यसै भनिरहेका होइनन्, “साहित्यकार सामाजिक एक्टिभिस्ट पनि हुनुपर्छ”। गैर-साहित्यिक शिविरबाट चनाखो दृष्टिले हेरिरहेका तिनी थप्छन्, “भारतका नेपाली कविता पढ़्दा सामाजिक सरोकारका मुद्दाहरूलाई एड्रेस गरिएको
देखिँदैछ”। साहित्यकार समाजसँगै नङ-मासुझैँ गाँसिएको ‘अर्ग्यानिक बुद्धिजीवी’ पनि हुनुपर्ने कुरा गरेका छन्
सबाल्टर्न सोचका प्रवक्ता एन्तोनियो ग्राम्सीले।
रोगबारे
मात्र होइन रोगीबारे पनि कुरा गर्नुसक्नुमा लेखकको सफलता छ। र सामाजिक औचित्य पनि।
समस्यालाई सतहमा मात्र छैन। ज्याँ पल सार्त्रले पनि आफ्नो किताब ‘साहित्य के हो?’ - मा यही कुरा जोड़तोड़ले उठाए। समस्याको जड़सम्म पुगेर त्यसलाई भण्डाफोर गर्नु
कविको काम हो। चेखव, लु शुन, गोर्की, वोले शोयिङ्का, अचेबेले झैँ सामाजिक चेतनामा
हस्तक्षेप गर्नुपर्ने आवश्यकता हरेक युगले सर्जकबाट मागेको थोक हो। युगपाठकले
नेपालको इतिहासको ठूलो भुक्क उठेको ठाउँ जनयुद्धको अंशलाई समूल कलात्मक नक्सा
दिएका छन् ‘उर्गेनको घोड़ा’-मा। ‘क्यान्तो जेनेरल’ कविता खासमा पाब्लो नेरुदाले
कोरेको ल्याटिन अमेरिकाको सजीव चित्र हो। लामो कविता ‘अंधेरे
में’ मुक्तिबोधले मूल्यहीनताको रोगसँगै स्वतन्त्र्योत्तर
रोगी भारतबारे कुरा गरेको ‘सिरियस डिस्कोर्स’ हो। विकृत साहित्यकारहरूको पनि ठूलै जमात छ, जसले समाजलाई समाजको जटिल र
दुरूह नक्सा देखाइदिएर मिसगाइड नै गर्न खोजेका छन्। आफ्नो अड़ानबाट हट्ने कवि कवि
होइन। यस्तोमा साहित्यकार राजनैतिक सोचले लैस हुनैपर्ने खाँचो टड़्कारो हुनजान्छ।
अर्का गैर
साहित्यिक एवं गणितका शिक्षक मनोज गिरी त भारतको नेपाली कवितामा कुनै आवाजै नपाएको
सोझो र खरो टिप्पणी गर्छन्। कविताको आवाज भनेको सामाजिक-राजनीतिक जीवनमा चल्ने
गरेको आम मानिसको जीवनको स्वर हो। तिनी भन्छन्, “त्यो अभिव्यक्ति दिने कविको दार्शनिक दृष्टिभङ्गिको यथेष्टता र स्थिरता,
समाजको इतिहासपरक बुझाइ, त्यसले जन्माएको बौद्धिक प्रतिबद्धता अनि त्यहीबाट
जन्मिने आँट, जोश र सरलता केही पनि वैशिष्ट्यहरू हाम्रा आजका कविहरूमा देखिन्न।
फलतः, कविताहरू चिच्याइएको पाइएता पनि तीहरूमा कविको कुण्ठाहरू नै व्यक्तिएको
पाइन्छ। आवाज होइन हल्ला मात्रै छ”।
साँच्चै
यताका कविहरू हल्लै मात्र गरेका त होइनन्? प्रायः
कविहरू नै आफ्ना कविताका विषय वस्तुवादी यथार्थ (अब्जेक्टिभ रियलिटी) - भन्दा
व्यक्तिवादी यथार्थ (सब्जेक्टिभ रियलिटी) - लाई छानिरहेका छन्। यो पूँजीवादी समाजले अठाह्रौँ शताब्दीको औद्योगिक
विप्लवदेखि नै थोपेको मानवीय ‘अलगाव’
(एलिएनेशन) - को समस्याको पनि प्रतिफलन हो। पूँजीवादी व्यवस्थाको धमाकादार एण्ट्रीसँगै
भित्रिएको अलगावी चरित्र आज आएर सङ्कटकालीन दौरको पूँजीवादी व्यवस्थामा चरममा छ। यसको
पञ्जाबाट कविहरू पनि के अछुत रहलान्? ठूलै चुनौती चुलिएको छ।
ल्याबमै कविता
समालोचना-कर्मको
अभावमा कवितासित खेलाइँची गर्ने, कविताको नाममा
घस्यौटा लेखेर आफ्नो मित्र लगाई दैनिक समाचार पत्रमा सर्काइमाग्ने कविहरूलाई
कुटुँ-कुटुँ हुन्छ कवि-समालोचक सुधीर छेत्रीलाई। एकातरि यस्तो स्थिति पनि। अर्कोतिर,
नेपाली भारतेली कवितामा हल्ला मात्र छ भन्ने तर्क। नेपाली कविताले मान्छेको हैकमी
शोषकेन्द्रविरूद्ध हक हाँक्ने कसरत गरिरहेको अवस्था पनि। प्रशान्तको पाठकीय
टिप्पणी मान्नु हो भने उत्पीड़ित, सीमान्तीकृत र दलित मान्छेहरूको आवाज हुन
खोजिरहेका वर्तमान नेपाली भारतेली कविताहरू ती समूहहरूको गीत बन्नसकेको पनि छैन।
एक अर्थमा यो अझै ल्याबमै छ अलि-अलि रूमानियतसँगै।
प्रयोगशालामा
रहेको कविताको भविष्य के होला, यो पनि गम्भीरै सवाल हो। प्रवृत्ति-विश्लेषणको
चश्माले हेर्दा कविताको भविष्य उज्ज्वल नै छ। नयाँ-नयाँ छिमलका कविहरू भटाभट उम्दा
कविता लेख्न तम्सिरहेका देखिएका छन्। लेखनाथ छेत्री, सूरज रोसूरि, शरण मुस्कान,
नीमा शेर्पा, डी.के. वाइबा, विशाल राई टिस्टे, कर्ण विरह,
वासु थापा पुलामी, निरज थापा अयोग्य, पुष्कर सिङ्गर, ज्ञानेन्द्र सुब्बाहरूकै
आशालाग्दो हाँचमा भर्खरै देखिएको उज्यालो नाम हो राकेश शर्मा। राकेश कविताले
आक्रोश, व्यङ्ग्य मात्र नपस्केर चेताउनी पनि पस्किएको चेताउनी
दिन्छन्। यो चेताउनीको प्रयोगशालामा के हुने हो, त्यो चाहिँ चाखको विषय हो।
समालोचक
वासु थापा पुलामीलाई अधिकांश कविहरूमा भारतेली
नेपालीहरूका जातीय जीवनको पीड़ाका स्वरहरू मोटिफका रूपमा घरि-घरि दोहोरिनुले
कवितालाई खासै नौलो रूप दिन सकिएको लाग्दैन। यो पनि प्रयोगशालामा ध्यान दिन योग्य
प्रक्रिया चिन्तन हो। इञ्जिनियर एवं सर्जक खुसेन्द्र राई विश्वबोध आजको कविताको
मूल स्वर हुनुपर्ने विचार राख्छन्। भन्छन्, आजको
भारतीय नेपालीको स्वर विश्वबोध हुनुपर्ने हो तर युवा कविहरुमा आक्रोश, अप्राप्ति र कुण्ठाको बाहुल्य
रहेको देख्छौँ।
भारतेली नेपाली कविताको संरचना एउटै भएको मन्तव्य गरिराखे नेपालका
मनु मञ्जिलहरूले। सन् २०१२-मा कालेबुङमा आयोजित ‘काव्यसाँघु’-मा तिनीहरू समकालीन भारतेली कविताको अनुहार हेरिराखेका थिए। यही एकरूपताको
लाखेस छ साहित्यकर्मी हिरा छेत्रीको। युवाहरूमा निहित फ्रस्टेशन यताउति गरेर
राजनीतिक परिस्थितिसित गाँसिएको छ। हरदर कवितामा त्यही फ्रस्टेशन मात्रै पनि
दोहोरिने गरेको छ। हिरा भन्छन्, “आत्मनिर्णयको अधिकार उपलब्ध
नहुँदा फ्रस्टेशन छ जसलाई कवितामार्फत् आक्रोशपूर्ण रूपमा व्यक्त गर्छन् अधिकतर
युवाकविहरू। यसैकारण प्रायः सबै कविताहरू एकैएकै खालका पाइन्छन्”।
नेपाली भारतेली कविताले यो एकरूपताको एकक्षत्र राजलाई तोड़्नु
पनि प्रयोगशालाभित्रको अर्को एउटा चुनौती हो। तथापि, कवि राजेन्द्र भण्डारी भने भारतीय
नेपाली कविता बहुस्वरयुक्त भएको मान्छन्। भण्डारी आफ्ना कवितामा कुनै विषयलाई पनि
अछुत मान्दैनन्। ‘आदिम बस्ती’-मा भौतिकीको एण्टी-पार्टिकल वा प्रतिकणको धारणालाई कवितामा अड़ेसो लगाउने
मनप्रसाद सुब्बाले ‘ऋतु क्यान्भसमा रेखाहरू’ - मा ऋतुहरूलाई सक्नु मानवीकरण गरेका छन्। पछिल्लो समय तिनका कवितामा
समकालीन बुद्धले अनुहार देखाइरहेको हो। सुब्बा डटेरै “मेरा कविताका विविध आवाज छन्” भनिरहेका छन्।
सुधा एम
राई गाउँमा जन्मेकी। गाउँको हरेक दृश्यले तिनीभित्र कविताको प्रवाह चलाउँछ। हुँदा-हुँदै
पनि “विगतका ढाँचाबाट मुक्त हुनु मेरो कविताको अभीष्ट हो”
भन्छिन्। नयाँ कविताको आत्मसङ्घर्ष सुधाको टेकमा देख्न पाइन्छ। कवि अभय खालिङ
बहुरूपी कविहरूको मौसमअनुरूप स्वरले खिन्न हुन्छन्। तिनी कविमा विचारको दह्रो
धुरीको पक्षपाती छन्।
समकालीन
नेपाली भारतीय कविताको मूल स्वर एउटै छैन। बहुध्रुवबाट कवि सर्जकहरूले बहुस्वर
लेख्न खोजिरहेका छन्। तर त्यसले भने जस्तो निकास पाउन अझै समय लाग्ला। पुलामीलाई
यस्तै लागिरहन्छ। सुधीर छेत्रीलाई आजको विविध र बहुल चरित्र भएको समयमा कविताको
एकमात्र मूल स्वर भएको कविता-साहित्य कमजोर हुने लागिबस्छ।
भाषा-सङ्कटको त्रासदी
“जसको
लागि कविता लेखिने हो, उसैले सुनेको छैन” - अहिले यही
चिन्तामा छन् कालिकाप्रसाद सिंह।
सिलगढ़ीवासी
यी हिन्दी कवि नेपाली भारतेली साहित्यलाई निक्कै नजिकबाट हेर्छन्। देवकोटाको ‘मुना-मदन’-का फ्यान। मुना-मदनको एउटा गुत्थी
सुल्झाउन नसकेर लगभग पन्ध्र वर्ष कविता लेख्न नसकेको आत्मस्वीकृति छ यिनको। आखिर
मदनले भोटबाट त्यति कष्टसाथ कमाएर ल्याएको सुनको थैला इनार खनाउन कसरी दिनसके?
मदनको व्यष्टिसोचबाट समष्टिसोचमा यो मानसिक सङ्क्रमण ल्याउनुमा
देवकोटाको समाजवादप्रेम थिएन र? आज साम्राज्यवादले थोपेको
ग्लोबलाइजेशनमा कविहरूको भूमिका के हो? एकातिर कविता लेखेर
अर्कोतिर व्यावहारिक रूपमा चाहिँ हामी ग्लोबलाइजेशनले चाहेको ‘देश’ बनाउने प्रक्रियाका माध्यमै हुने हो त? मुनामदनले आउँ हालेको यिनको कवि दिमागमा वैचारिक अन्तर्विरोधहरूको मेला
लागेछ। अनुत्तरित प्रश्नहरूको रापले तपिनुसम्म तपिए। सुत्न सकेनन्। सञ्चोले बाँच्न
सकेनन्। तिनका आँखा जहिल्यै राता छन्। निधार जहिल्यै खुम्चिएको। तिनी हाँस्दा पनि
गालामा निराशाको रेखा लहर परिबस्छन्।
एक दिन
आक्रोशित हुँदै भने, “तपाइँले कवितामा उठ्
भनिरहेको ‘जेठा’ के साँच्चै उठ्नसक्छ त?” आर्थिक असमानताको मारले जेठाको कम्मरको हड्डी भाँच्चिएको छ। ऊ पङ्गु भएको
छ। जीवन धान्ने जीवन-मरणको लड़ाइँमा जोतिएको जेठासँग आजका कविहरूको कविता पढ़िरहने
अवकाश खै? कालिकासिंह कड़्किन्छन्। म हेरेको हेरेकै हुन्छु।
हो-हो लाग्छ। चुरुप्प भन्छु तर मेरो आत्मरक्षा तिनको रापिलो अधबैंसे बौद्धिक तापअघि
फीका हुन्छ।
“तपाइँसँग
भाषा खै? तपाइँको भाषा त चोरी भएको छ।”
चुनौती गर्छन्। सत्ताले हाम्रो भाषा चोरेर थोपेको छ उसको भाषा। उसलाई धन्धामा सजिलो
हुने। उसको राजपाटमा चाहिने। यसैलाई हामी सांस्कृतिक साम्राज्यवादको एउटा चोटिलो
रणनीति मान्न सक्छौँ। नव-उपनिवेशवादमा ‘लिङ्गुवा फ्र्याङ्का’-को मिथ पनि यही भाषिक दमनको एउटा शासकीय चाल नै हो। हरेक दिन संसारमा
एउटा-एउटा भाषाको मृत्यु भइरहेको छ। उब्रेका भाषा भाषिका बन्दैछन्। आदिवासी
भाषाहरूमाथि सरकारी पहल छैन संरक्षणको। आदिवासीलाई सभ्य बनाउने र सभ्य भइसकेपछि
समकालीन साम्राज्यवादी वा विस्तारवादी विश्वबजारको उपभोक्ता बनाउने हिड़कीमा
सत्ताले हरेक मौलिक भाषाको घाँटी निमोठिरहेकै देख्न पाइन्छ। हामीले नै बोलिराखेको
भाषा उसो भए हाम्रो नै होइन त? कति खतरनाक अड़ान। विचारको यो
माकुरा गिदीमा चलिदिँदा शरीरै सिरिङ्ग हुने।
केहीबेरपछि
तिनी भाषा नहुनु र नभएको भाषा खोज्नुमाझको द्वन्द्वात्मक स्थितिमाथि लेखेको आफ्नो
कविता सुनाउँछन्। क्लासमा नानीलाई पढ़ाएझैँ। म भाषाका पत्रै-पत्रा तरेलीहरू
सोच्दैछु। कालिकाको कविता सुन्दै गर्दा मलाई केही प्रश्नहरूले चर्को गरी
हिर्काउँदै थिए : एउटा भाषा के
साँच्चै रहिबस्छ? हराउँछ कि लुटिन्छ? कविताले
बोल्ने भाषा के हो? मान्छेले बोल्ने भाषा के हो? कविता र मान्छे जोड़्ने भाषा कस्तो होला? कविताको त्यो
भाषाले निकाल्ने आवाज के हो?
कविताको ‘आवाज’ हुन्छ कि ‘आवाज बोक्ने
भाषा’ हुन्छ? मलाई यी प्रश्नहरूको
माझबाटै समकालीन नेपाली भारतेली कविताको आवाजबारे केही कैरन गर्ने मन भएको हो
वास्तवमा।
आत्मनिर्णय र त्यसदेखि पर्तिर
कवितामा
ध्वनि हुनुपर्छ - घरि घरि घन्किरहन्छन् कालिकाप्रसाद। त्यही ध्वनिको खोजीमा रहेको
नेपाली भारतेली कवितालाई एकैसाथ राखेर हामी सुनिरहेका छौँ - चिह्नारीको खोजी
(अगमसिंह गिरीको जातीय उद्बोधनको लेखन), उपनिवेशित
पीड़ा (मनप्रसाद सुब्बा, रेमिका थापाको किनारीकरण लेखन),
सहजीकरण (नोर्जाङ् स्याङ्देन, मोहन ठकुरी, केवलचन्द्र
लामा), राजनैतिक प्रतिरोध (हस्तक्षेप लेखन अभियान)। र अरू
पनि केही ध्वनि।
निग्रो
साहित्यको मुख्य ध्वनि वा आवाज सुनियो - रङभेदविरोध। ल्याटिन अमेरिकीको पहिले र अरबीहरूको
अहिले सुनिँदैछ - अमेरिकावादविरोध। सन् साट्ठी र सत्तरको दशकमा बङ्गला साहित्यमा मुख्य
स्वर थियो – उपनिवेशी शोषणविरोध। अहिले बङ्गला साहित्य स्वरविहीनताको सङ्कटबाट
गुज्रिरहेको छ। समाजमा गति, आन्दोलन छैन भने साहित्य पनि गुङ्गा बन्ने सत्य हो। नेपाली
भारतेली समाजमा आत्म-पहिचानको मुद्दाले गति दिइरहन्छ र भारतमा लेखिने नेपाली
कविताको आवाज चर्को भइरहेको छ।
यसो र नेपाली
भारतेली कवितामा आत्मनिर्णयको सुरिलो र घोर्ले आवाज सुन्छन् चित्रकार-मूर्तिकार
अमीर सुन्दास। लेखक उषा नन्दी
गहतराज भारतीय नेपालीहरू
स्वतन्त्रताको उत्तरकालदेखि लिएर आजसम्म पनि राजनैतिक प्रपञ्चकै शिकार हुँदै
आइरहेको मान्छिन्। यसरी धेरै-धरै-धेरैजनाले
नै यो कैरनको अवधि नेपाली भारतेली कविताको मूल स्वरमा आत्मनिर्णयको अधिकारलाई
राखेका हुन्।
‘भारतेली
नेपाली कविताको मूल आवाज के हो?’ फेसबुकको भित्तामा यो
प्रश्न टाङ्गेको थिएँ। दशवटा विकल्प उत्तर पनि झुण्ड्याएको हो। त्यसै पनि सामाजिक
अन्तर्क्रियाको ठाउँ। फेसबुकमा पनि साहित्यलाई सिरियसली लिने केही पाठक, समीक्षक र
कविहरूको हुद्दा तैनात छ ठान्न सकिने मनसाय। केही अनपेक्षित नामले पनि गरे
मन्तव्य। हालेको ७ दिनमा मात्र ६५ लाइक ठोकियो। आएका जतिमा मात्र २० सान्दर्भिक मन्तव्य
थिए। दुइजनाले एसएमएस गरेर पठाए उत्तर। दुइजनाले कागजमा लेखेर पठाए। पत्रिकामा
छापिएर यो अभिलेख आउञ्जेल प्राप्तिसङ्ख्या बढ़िरहेको हुनसक्छ। स्ट्याटिस्टिक्सको
भाषामा भन्नुपर्दा यो स्याम्पलीकरण ‘र्याण्डम’ हो। किनभने कविदेखि लिएर पत्रकार, मूर्तिकार, कलाकार, शिक्षक, इञ्जिनियरजस्ता
विभिन्न क्षेत्रका पाठकलाई यो संक्षिप्त र्याण्डम सर्वेक्षणमा प्रतिक्रियाकारको
रूपमा लिइएको थियो। माध्यम छानिएको थियो अमूर्त्त सञ्जाल। धेरैलाई फोनमार्फत्
आग्रह नै गरियो यस प्रश्नको उत्तर लेखिपठाउन। यस कैरनलाई अमूर्त्त र्याण्डम सर्वेक्षण
मान्दा हुने हो। प्रश्नको लागि बढ़ी आवृत्ति वा फ्रिक्वेन्सी पाएको विकल्प उत्तर छ
- आत्मनिर्णयको अधिकार।
दार्जीलिङमा
नेपालीभाषी समुदायको बङ्गालबाट छुट्टै तर भारतेली सङ्घीय संरचनाभित्रै आफ्नो एउटा
राज्य प्राप्तिको जनाकाँक्षाको आवाज घन्किएको एक शताब्दी नाघ्यो। सन् १९८६ र सन्
२००७। दुइ ठूला आन्दोलन भए। दुवै आन्दोलन सत्ताले किन्यो। जनता आन्दोलनरत, नेता
समझौतापरस्त। यस्तोमा यहाँको कविता अझ जुझारू बन्ने सम्भावना र आवश्यकता चुलिएर जाने
हो। कवि मनोजले सांस्कृतिक, राजनैतिक, सामाजिक विसङ्गतिहरूसँगै नेपाली भारतेली समाजसामु ठूल्ठूला कर्पोरेट्स,
भूमण्डलीकरण चलखेललाई पनि दुश्मन चिनेका छन्। यसै सिलसिलामा तिनको ताजा
कविता सङ्ग्रह ‘काफरे अमेरिका’-को प्रतिनिधि
कविताको विषय नै साम्राज्यवादी ताकत अमेरिका हो। तथापि, यहाँ तिनको अमेरिका देश अमेरिका
कम र विम्ब अमेरिका बढ़ी हो भनेर पनि बुझ्नु आवश्यक छ।
राज्य
प्राप्तिको लड़ाइँसँगै आजको विश्वकै महाकाय समस्या ग्लोबलाइजेशनको पनि प्रतिरोध जरूरी
छ। कवितामा राज्यप्राप्ति र यसदेखि उता पर्तिरको लड़ाइँको चहकिलो ‘रोडम्याप’ आउनुपर्ने औचित्य ठूलै छ। प्रशासनिक
राज्यमात्र पाउनुको सङ्कीर्णतामा दार्जीलिङे नेपाली सृजनाले आफ्नो निम्ति सङ्कुचित
घेरो कोरेको मान्छन् कालिकाप्रसाद। कालिकाप्रसाद भन्छन्, “म
उत्तर प्रदेशको हुँ। आज बङ्गालमा छु। तर मेरो अनुहार के हो?” चिन्ताजनक प्रश्न हो यो - आफ्नै समुदायको राज्य भएकै मान्छे किन यसरी
चिह्नारीको खोजीमा छ? पूँजीको आफ्नै चिह्नारी त छैन तर
पूँजीले हरेक अन्यान्य चिह्नारीमाथि लूट मात्र मच्याइरहन्छ। चिह्नारीहरूको अपहरण गरिहहन्छ।
कविता
खाने, कविता सुत्ने, कविता हिँड़्ने यी कवि यसै भन्दैनन् - राज्य होइन, हामीलाई त
सारा संसार चाहिएको हो। तिनको अनुहार त संसार रहेछ। नेपाली भारतेली कविताको स्वर
पनि संसारकै आवाज होस् भन्ने तिनी चाहना गरिरहेका छन् फोनमा। तिनी फैजको कुनै शेर
उल्लेख गर्न खोजेका छन्। यस्तै आशयको - आफ्नो पहिचानसँगै पूरै संसार चाहिन्छ मलाई।
तर तिनले शेर भुलिसकेका थिएछन्। फोनको लाइन पनि चुँड़िसकेको थियो यतिञ्जेल। र मलाई
चाहिँ नेपाली भारतेली कविताको स्मृति र भौतिक शक्तिको तार नचुँड़ोस्, बलियो गरी लागिरहेको
छ।
यसले संसार
ताकोस्। अब!
("लेखन", काठमाड़ौं, नेपालको प्रवेशाङ्कमा प्रकाशित)
•
No comments:
Post a Comment