साहित्यमा पहिचान
• राजा पुनियानी
आउँदै
गरेको आँधी
“अब त उमेर भयो। खै, फोनमा कुरा हुने हैन...।
इन्द्रबहादुर दाइसँग कुरा भएको त दुइ वर्ष पो हुनलाग्यो।”
-
भन्नुहुँदै थियो बैरागी काइँला। तेस्रो
आयामका हस्ताक्षर कवि। जीवनको अग्लो चुचुरोमा सन्तुष्ट उभिएका लागिरहेका। बसेका
छन् होटलको रिसेप्सनको सोफामा दुवै खुट्टा माथि चढ़ाएर। पलेंटी कसेका। सोफाको
दुइतिर केही कुर्सीमा अरू सर्जक छन्।
टिफिनपछिको
गर्मी अपराह्न पिरियडहरूमा तीन महिना लगाएर पढ़िएको ‘मातेको मान्छेको भाषण’ कानमै गुञ्जिरहेको हुन्छ अहिलेपनि।
के यिनी तिनै काइँला हुन्, जो डल्लै नेपाली साहित्यमा अभिव्यक्तिको एउटा भैंचालोको
उत्केन्द्र थिए। जसले उत्खनन गरे ग्रिक मिथहरूको र नेपाली साहित्यलाई शैलीको गैंती
लगाएर निक्कै माथि उकासे। म तिनको सरलता देखेर सम्झँदैछु आन्दोलित पहाड़ी खोला,
जुन जति-जति समुद्रछेउ अघि बढ़्दो छ, उति-उति फैलावट बढ़ाउँछ र उति-उति साम्य
बन्छ। गम्भीर बन्छ। बैरागी काइँला कविमनको उत्खनन गर्ने क्रम कार्यक्रमको कड़ीले
छिन्याएको थियो तर।
मान्छेको
पहिचानको खोजीलाई साहित्यमा तेस्रो आयामको आन्दोलनले निक्कै चर्को पारेको हो। तेस्रो
आयामको घोषणापत्रै ननिस्किए पनि दुइ अङ्कमात्र निस्किएको त्यही पत्रिकालाई
घोषणापत्र मान्दा हुने। दार्जीलिङबाट थालिएको साहित्यको नयाँ आन्दोलनले सिङ्गो
नेपाली साहित्यलाई नै एउटा नयाँ अनुहार दिएको थाहा लाग्छ। एउटा नयाँ पहिचानको
दावा।
आगोनेर
उभिरहेका भए पनि कूल कवि विमल निभा। अँध्यारो र उज्यालोको डाइलेक्टिक्सलाई समात्न
खोजिरहेकी लाग्दैथियो कुमारी लामा। प्रयोगमुखी प्रसन्नमुख प्रसन्न घिमिरे।
चिन्तनशील सरिता तिवारी। भारतबाट पुग्नुहुने मनोज बोगटी र नेपालबाटै आउनुहुने महेश
पौड़्याल, राजन मुकारूङ, उपेन्द्र सुब्बाहरू भित्रहाबिर गर्नुभइरहेका। हामी मुस्कुराउँदै
सुन्दैथियौँ नेपाली कविताका एक अग्ला स्तम्भलाई। इन्द्रबहादुर राई सरसँग अहिले भेटघाट
कस्तो छ त भन्ने सवालको जवाब दिँदैथिए काइँला।
सरिताले
सोध्नुभएको थियो उमेर कुमारीको। कुमारीले अप्ठ्यारो मान्लिन् कि भन्ने ठानेर होला
पथ्वीआकारको चश्माभित्रबाट हेर्दै हत्तपत्त भन्नुभयो निभाले, “सोध्नुहुन्न उमेर त”। तर कुमारीले सोध्नुस् न, के
हुन्छ र भनेर सामान्य पार्नुभयो। मैले चाहिँ उमेर सोध्ने सिलसिलालाई मुसुमुसु
मुस्कुराइरहनुहुने बैरागी काइँलासम्म सारिदिएँ। तिनको उमेर भन्नुभएपछि मलाई
इन्द्रबहादुर राईसँग तिनको उमेर कति नगिच हो, सोध्न मन भयो।
काइँला
भन्नुहुन्थ्यो, “आईबी
दाइ त मभन्दा निक्कै जेठा थिए। हामी पढ़ेको स्कूल पढ़ाउने उनी। हामी विद्यार्थी थियौँ
त्यसबेला। कताबाट आइपुगे ईश्वरवल्लभ। तीनभाइको सल्लाह भो। अब हुन्छ नि क्या...
गोजीखर्च भेला पारेर... निकाल्यौँ फूल-पात-पत्कर। त्यसपछि त्यो चल्यो।”
“के छ त तपाइँहरूको?” अब सोध्नुभयो काइँलाले।
पहिचानको प्रश्न जस्तै लाग्ने। उमेरले पनि पहिचानको कड़ी समातेको हुन्छ कि जस्तो
लागिरहेको थियो।
काइँला
थिए इटहरीको दुइदिने राष्ट्रिय कविता महोत्सवका मुख्य निम्तारु। लोकविम्बहरूका
जादुगरी प्रयोक्ता कवि हेमन यात्रीको एकल मिहिनेतले रङ देखाइरहेको थियो। अहिले
नेपालमा मोफसल लेखन र राजधानी लेखनजस्तो बहसमाझ राजधानीलाई समानान्तर राख्दै
धरानको कलरवको यो दुइदिने आयोजनले केन्द्र-परिधि दुरत्व छोट्याइरहेको प्रतीत हुन्थ्यो।
कार्यक्रमको पहिलो दिन आयोजित कविता प्रतियोगिताबाट छानिएका उत्कृष्ट पन्ध्र
कविताहरूलाई महोत्सवमा सहभागी गराई उनीहरूको प्रतिभाको पहिचान गर्ने प्रयास
देखिन्थ्यो। दोस्रो दिन बहसको दिन। विषयहरू थिए - नेपाली
कवितामा सांस्कृतिक चेतनाको प्रयोग अनि आगतमा नेपाली कविताको बाटो र साहित्यमा
नेपाल।
विचारको
धुवाँ छुटाइरहेका थिए बम देवान, श्यामल,
भूपाल राई, राजन मुकारूड, मनु मञ्जिल, मिश्र वैजयन्ती, भूपिन।
जोरदार तर्कहरूको चापले चलाएको नेपाली साहित्यको प्रतिनिधि विचारहरूको तूफान
हेर्नलायक थियो। भेलाकोठाका भित्ताहरूमा ठोक्किएर थुरिँदै एउटा विचारको आँधी आउँदै
थियो। त्यो थियो पहिचानको।
सङ्क्रमणमा
पहिचानको सङ्घर्ष
छालाको
रङ, नस्ल, धर्म र जातपातका उँचनीचको मूल सामाजिक व्यवस्थामा छ। यसलाई समस्या मानेर
केवल सामाजिक स्तरमै यसको समाधान खोज्नु फूललाई टुप्पोमा पानी हालेर बोट
मार्नुजस्तै हो। हिन्दूहरूभित्रै पनि जातपातको भेद खेतीपातीमा कामविभाजन हुँदा
शुरू भएको हो। चार वर्ण विभाजनमा के हिन्दूभित्रै पनि शोषण छैन र?
हिन्दू शूद्र के सिमान्तीकृत होइन त? वैजयन्ती
मिश्राले पनि यस्तै सवाल उठाउनुभइरहेकी थिइन्। भूपिनले राजन मुकारूङको नयाँ
किताबमा सिमान्तीकृतहरूको पक्षमा लेख्ने दर्बिला कवि केशव सिलवाल (‘चिबे चरीको गीत’ चर्चित कविताका कवि)-को नाम कसरी
छुट्यो, सवाल उठाउनुभइरहेका थिए।
हिन्दूभित्रकै
नारीलाई बोल्दैमा वेश्या (‘मनुस्मृति’ एवं भानुभक्तको ‘वधुशिक्षा’-लाई सन्दर्भ राख्दा पनि हुने)-को आरोप लाग्ने नेपाली हिन्दू समाज थियो र
छ पनि। आफ्नै समुदायबाट शोषित हिन्दू महिलाको पहिचानको लड़ाइँ त झन् पुरूषको
लड़ाइँभन्दा दोब्बर गाह्रो छ। पहिचानको लड़ाइँ हिन्दूभित्रकै शूद्रहरूको पनि छ।
नेपालमा
मङ्गोल-भोट-बर्मेली मूलका सिमान्तीकृत र खसबाहुन मूलका केन्द्रीकृतको विभेद मास्नु
भौतिक वा वैचारिक लड़ाइँ लड़्नखोज्ने शक्तिले सामन्तवाद र उपनिवेशवादलाई मूल
प्रतिपक्षी शक्ति चिन्नु जरूरी हुन्छ। सामन्तवादी ताकतप्रति मौन रहेर केवल जातीय
हुँकार लगाउनु अव्यावहारिक आक्रोश पोख्ने सतही चेष्टामात्र साबित हुने सम्भावना
रहेको हुन्छ। जातीय सामाजिक विज्ञानअनुसार सामन्ती साङ्लाहरू चुँड़ाउँदै बुर्जुआ
वर्गको उदयले नै वास्तवमा कुनै समुदायको राष्ट्रिय स्वरूप तय गर्दछ। छुट्टै
भूगोलमा साझा अर्थ-राजनैतिक-सांस्कृतिक-भाषिक बुनोटभित्र रहेका समरूपी मानिसहरूमा सामूहिक
‘राष्ट्रिय चेतना’ वा ‘राष्ट्रिय पहिचान’-को
प्रादुर्भाव ‘एक’-पनको साझे मानसिक
अनुभवबाट हुनेगरेको छ।
सामन्ती
जुवाबाट उन्मुक्त समुदायले नै जातीयताको पहिचान हासिल गर्न राष्ट्रिय मुक्तिको
लड़ाइँ लड़ेको इतिहासले बताएको छ। सामन्ती चक्रबाट मुक्ति निक्खुर ‘राष्ट्रिय पूँजी’ - को उदयबाट
मात्र सम्भव छ। यस अर्थमा पहिचानको लड़ाइँ भनेको राष्ट्रिय पूँजीको उत्पत्ति र प्राप्तिको
लड़ाइँ हो। पूँजीको छिटो विकास भएको अमेरिकामा
राष्ट्रिय पहिचानको खोजीले वाल्ट व्हिट्म्यानको उन्नाइसौँ शताब्दीको लेखनबाटै
अभिव्यक्ति पायो। पूर्वी यूरोपमा पूँजीको ढीलो विकासले गर्दा बहुजातीय स्वरूप भएका
राष्ट्रहरू पछिसम्म रहिरहे। यता एशिया, अफ्रिका र ल्याटिन अमेरिकामा भने औपनिवेशिक
प्रभुत्वका कारण राष्ट्रिय पहिचानको बहुरूपी उतारचढ़ाउ पाइन्छ।
मान्छेको
अतीत र समान सांस्कृतिक गतिविधिहरूबाट उसलाई अलगथलग पारिएपछि शुरू हुन्छ पहिचानको
सङ्कट। गाउँलाई शहर बनाइनु वा आधा शहर - आधा गाउँ। शहरलाई नगर। नगरलाई कारखाना।
यसरी मान्छेको पहिचानको सङ्कट बिस्तारै मान्छेसँगको अन्तर्घातबाट मशिनसँगको
अन्तर्घातमा सङ्क्रमित हुन्छ। यो पहिचान सङ्कटले नेपाली पहिचानको साहित्यमा स्थान
कहाँ पाउने हो र कसरी पाउने हो?
भोकको
छेउछाउ
नेपालजस्तो
गणतन्त्रमुखी तर सामन्ती मुलुकमा जातीय पहिचानको सवाल केवल सांस्कृतिक विषयको
सङ्कुचित घेरोभित्र राखेर हेर्न मिल्दैन। यो सवाल त राजनैतिक सवाल हो। त्यो पनि
केवल नेपालको सार्वभौमिक राष्ट्रियताभित्र नभएर नेपालका अन्तर्राष्ट्रिय सम्बन्धहरू
(जस्तै, नेपाल-भारत, नेपाल-चीन, नेपाल-अमेरिका)-को पृष्ठभूमि एवं वर्तमान जमीनको
सवाल हो पहिचानको सवाल।
नेपालको
सन्दर्भमा पछाड़िएका समुदायहरूको पहिचानको वास्तविक प्रश्न केही जटिलताहरूमा
जेलिएको छ। प्रथमतः यो प्रश्न धर्म र राजनीतिको अन्तर्घुलनले धमिल्याएको देख्न
पाइन्छ। त्यसपछि धेरै समुदायको जातीय स्वरूप परिपक्व अवस्थामा रूपान्तरण नभइसकेको
स्थिति अर्को एउटा कारक हो। साथै, सङ्क्रमणकालबाट गुज्रिरहेको देशको अर्थ-सामाजिक
एवं अर्थ-राजनैतिक चरित्र त झन् ठूलै कारक हो। यसलगायत नेपालमा विदेशी पूँजीहरूको
देख्य-गोप्य चलखेल पनि गत्तिलै कारक हो।
गे-लेस्बियन,
नारीवाद, पारिस्थितिकीजस्ता उप-सांस्कृतिक विषयको कुरा उठाउँदा हिन्दीका वरिष्ठ
कवि-चिन्तक कालिकाप्रसाद सिंहले झोंक्किँदै भन्नुभएको थियो एक दिन, “भोकको सामुन्ने यी सवाल सेकेण्डरी हुन्। यी सवाल सत्ताले जनतालाई आफ्नो
मूल समस्याबाट कटाउन प्रायोजन गरेको थाहा पाउनुहुँदैन?”
हामी
पहिचानको सवाललाई अर्थनैतिक वा राजनैतिक आयामबाट बेग्लै छुट्टाएर हेर्न थाल्छौँ
भने पहिचानको अवधारणा हावामा हल्लिरहेको हुनेछ। जसको कुनै जमीन हुनेछैन। त्यो
भ्रामक विचार मात्र बन्नेछ, जसले जनता र पाठकलाई उत्तेजित त गर्ला तर अन्तमा
गुमराह नै गर्नेछ।
पहिचानको
विरोधाभास
प्रचुर
आन्तरिक एवं बाह्य मानव स्थानन्तरण वा माइग्रेशन भोगिरहेको, भ्रष्टाचारको दलदलमा
फँसिरहेको, संविधान निर्माणको दीर्घकालिक सासकष्ट सहिरहेको, अनपेक्षित राजनैतिक
उथलपुथलको गवाही दिइरहेको नेपाल आफ्नै
बाध्यता र परिबन्दहरूले गर्दा अस्थिर मुलुक हो। राजनैतिक र सामाजिक तहमा हल्लिरहेको
मुलुकमा पहिचानको खोजी भनेको यस्तो समूहको खोजी हो, जुन स्थिर छ र निश्चित छ। तर
यो एकरूपी पहिचानको खोजी पनि विरोधाभासमा जेलिन्छ। समाजशास्त्री हार्वर्ड के
ओर्लांदो पेटर्सनअनुसार “यो (पहिचान) यस्तो चुनाउ हो, जुन यति तीव्र
विश्वासले तय हुन्छ कि व्यक्तिसँग त्यस विशेष समूहको हुनुबाहेक अरू केही विकल्प नै
रहँदैन”।
यहीँनेर
नेपाली समाजको सिमान्ती पहिचानको लड़ाइँको अन्तर्विरोधी चरित्र अन्तर्निहित छ। विकल्पहीन
समाजको लड़ाइँ होइन नेपालको ‘सांस्कृतिक अभियान’। जातीय संस्कृतिलाई साहित्यमा
उतार्ने कवि-सर्जकहरूको दृष्टिकोण आफ्नो जातिको पहिचानको अन्यान्य समुदायसँगको अन्तर्सम्बन्धको दार्शनिक बुझाइले
नै तय गर्नसक्नेछ। नत्र हरेक चोटिलो जातीय सांस्कृतिक सिर्जना बायस्ड हुने जोखिम
रहिरहनेछ। जसको काम पाठकलाई उत्प्रेरित गर्नुको साटो सङ्कुचित पार्नु नै हुनेछ।
अतिको
जोखिम
महत्त्वपूर्ण
इतिहासकार एरिक हब्सबमले पहिचानमाथि २ मई सन् १९९६-मा लन्दनको इन्स्टिट्युट अफ
एडुकेशनमा पहिचानको राजनीतिमाथि दिनुभएको व्याख्यानलाई जरूरी दस्तावेज मानिन्छ।
तिनले उक्त व्याख्यानमा केही बुंदा छर्नुभयो। तिनले पहिचानसम्बन्धी राख्नुभएका
विचार चालु मान्यताको प्रतिलोमी छन्। तर मननयोग्य छन्। ती के हुन् भने -
·
सामूहिक
पहिचानलाई नकारात्मक रूपले परिभाषित गरिएको हुँदछ, अर्थात् ‘अरू’-को विरूद्धमा। हामी एकार्कालाई साख्खे यसकारणले
ठान्छौँ कि हामी उनीहरूबाट ‘अलग’ छौँ।
·
वास्तविक
जीवनमा पहिचानलाई कपड़ाजस्तै फेर्न सकिन्छ वा कुनै विशेष एकथरी कपड़ाको सट्टा धेरै
थरीको मिसाएर लगाउन सकिन्छ।
·
यदि
तपाइँले तमाम सम्भावित पहिचानमध्ये कुनै एउटा छानिहाल्नुभएको छ भने पनि पहिचान वा
त्यसको अभिव्यक्ति स्थिर रहिरहँदैन।
·
पहिचान
सन्दर्भमाथि निर्भर गर्दछ र सन्दर्भ फेरिनसक्छ।
‘अरू’-को विरोधले आफ्नो जातीय गौरव ‘जातीय अभिमान’ वा चाह्विनिजममा फेरिने जोखिम त
छँदैछ। त्यसोसले जातीय पहिचानको कुरा फासिजममा पुग्न नसकोस्, ध्यान दिनु जरूरी
लाग्छ। यो भय अनपेक्षित अतिवादको भय हो।
पहिचान
फेर्नयोग्य छ। समयअनुसार पहिचानको पनि परिवर्तन हुनु कहिलेकाहिँ आवश्यक पनि हुने गरेको
पाइन्छ। पहिचानको अभिव्यक्ति अस्थिर वा गतिमान छ। त्यसैले फेरिँदो सौन्दर्यका
आधारहरूबारे स्पष्ट हुनु जरूरी छ। कुन-कुन
पृष्ठभूमिमा रहेर अनुभूतिका रेखाहरू सरलदेखि वक्र र वक्रदेखि सरल बन्दैछन्, पड़ताल
गर्नु आफैमा एउटा चुनौति नै हो।
सपनामा
‘नयाँ नेपाल’
कुन
सामाजिक, राजनैतिक सन्दर्भमा कुरा उठाइँदैछ, यो प्रश्न टकटकाउनै सकिँदैन। निश्चित
रूपले सामन्ती समाजमा पहिचानको मुद्दा जसरी उठ्छ, पूँजीवादी समाजमा त्यो अर्कै
किसिमले उठ्ने गर्छ। नेपालको परिप्रेक्ष्यमा पनि उठिरहेको पहिचानको सवाल भनेको
नेपालको राष्ट्रियताका सामन्ती नेलहरूबाट वास्तविक मुक्तिको सवाल हो। एउटा ‘नयाँ नेपाल’-को निर्माणको सवाल हो।
आत्मनिर्भर
र स्वावलम्बी अर्थनीतिको बलियो जगमा नै नेपालका साहित्यकारहरूले देख्दै गरेको
सपनाको नेपाल बनिन सम्भव छ। यो ठोस सत्यलाई सोझै नकारेर वा यो सवाल फजुलको हो भनेर
मुख फर्काउनुले प्रस्तावित पहिचानको सवाल भ्रामक हुनजान्छ। नेपालको परनिर्भर व्यवस्थाबाट
मुक्तिले नै नेपाली जनतालाई वास्तविक पहिचान दिने हो। यो सवाललाई गौण देखेर चल्ने
हो भने ‘केन्द्रीय
ब्राह्मणवादी’ औ ‘नव-ब्राह्मणवादी’ (योगी नरहरी वा गोपाल गुरुङ-मार्का) शक्तिहरूविरूद्ध क्षेत्रीय र स्थानीय तहका समस्त रङवादी, जातीय वा
गोष्ठीगत सङ्घर्षले अर्थ र गुरूत्व गुमाउने निश्चित छ।
‘बुद्धा वज बोर्न इन नेपाल’
एकल
वाचनको सिलसिलामा काठमाड़ौँ यात्रामा थिएँ। केही होटलको भित्ता, केही बसहरूका
काँचमा एकैखाले स्टीकर देखेँ :
बुद्धा वज बोर्न इन नेपाल। एउटा मान्छेले आफ्नो टाउको देखाउँदै यो
मेरै टाउको हो भन्नु परिरहेको अवस्थाजस्तै। नेपालले क्लेम गरिरहनुपर्ने कि नेपालमै
जन्मिएका थिए बुद्ध। कति ठूलो विडम्बना। नेपालले म नेपाल हुँ भनिरहनुपरेको स्थिति
हो यो। प्यालेस्टाइनले म प्यालेस्टाइन हुँ, कश्मीरले म कश्मीर हुँ, दार्जीलिङले म
दार्जीलिङ हुँ भन्नुपरिरहेको स्थिति छ। अहिले पनि प्यालेस्टाइन, कश्मीर,
दार्जीलिङहरूको आवाज सुनिँदैन। तिनीहरू चिनिँदैन जसरी तिनीहरूको परिचय हुनुपर्ने।
म काठमाड़ौँ जाँदा मोदी नेपाल आउनुहुने हल्लाले नेपालको हावा तात्तिएको थियो।
भारतको
आम नागरिक म फर्किएँ। प्रधानमन्त्री पुगेछन्। गौतम बुद्धले नेपालमा जन्म लिनु नरेन्द्र
मोदीले नेपाल भ्रमणमा दिनुभएको बयानले तय भएको भान हुन्थ्यो। यो बयान छिमेकी देश
भारतको हेपुवा व्यवहारको विरोधाभासी बयान थियो, जुन देशका प्रधानमन्त्री हुन् नरेन्द्र
मोदी। एकातिर त्यही भारतीय समुदाय बुद्ध भारतमा जन्मिएका हुन् भन्ने अन्धा दावा र
प्रचार गरिरहेको हुन्छ, अर्कोतिर त्यही देशका प्रधानमन्त्री ध्यानाकर्षणको
तिकड़मस्वरूप बयान दिन्छन्, ‘बुद्ध नेपालमा जन्मिएका थिए’।
एकताका
सृजनशील अराजकता हाँकेका। अहिले आएर सिमान्तीकृत सांस्कृतिक चेतनाका प्रबल
प्रयोक्ता राजन मुकारूङ। इटहरी महोत्सवको पहिलो दिन कवितापाठ चलिरहेका बेला
हलबाहिर झोंक्किँदै थिए, “त्यही मोदीले जापानमा गएर चैँ बुद्ध जापानमा जन्मिएको भन्यो। त्यस्तोको
पनि कुरा पत्याउने त?”
पहिचानको
सङ्कट यसैले नेपालको राजनैतिक घेराभित्र त छ नै बाहिर पनि छ। सनि १८१६-को ‘सुगौली सन्धि’-ले नेपाललाई धेरै अर्थमा कम्प्रोमाइज
गर्न लगाएको हो। सन्धिअघिसम्म औपनिवेशिक ताकतअघि घुँड़ा नटेकेको नेपालले पछिल्लो
समय अन्तर्राष्ट्रिय प्रभाव र दबाउ त थेग्नैपरेको छ। बुद्ध जन्मस्थान प्रकरण यही अन्तर्राष्ट्रिय
राजनीतिक सत्यको एउटा गतिलो दृष्टान्त न हो। बीचबीचमा चलिरहने माउण्ट एभरेष्टको
उचाइको अन्तर्राष्ट्रिय विवाद पनि अझ अर्को उदाहरण।
बेनामहरूका
नाममा
“हामीलाई के चाहिएको छ, त्यो बुझ्ने थोरै छन्” - आफ्नो
चर्चित निबन्ध ‘शिक्षा’-मा लक्ष्मीप्रसाद
देवकोटाले भन्नुभएको छ।
साहित्यले
गर्नुसक्ने काम समाजको चलायमान प्रतिविम्बन। बदलँदो नेपालको जमीनी सच्चाइहरूमध्ये
एक ज्वलन्त सिमान्तीकृत मुद्दा हो। यसलाई सही दिशा दिनु पनि आजको नेपालको
साहित्यको ठूलै भूमिका भएर छ। सामाजिक, राजनैतिक, आर्थिक, अन्तर्राष्ट्रिय
समीकरणहरूको परिप्रेक्ष्यमा नेपालको सिमान्तीकृतको मुद्दाको स्पष्ट अड़ान अघि
ल्याउन सक्छ साहित्यले नै। पहिचानको सवाललाई झर्रो पारेर लानु साहित्यले नै सक्छ। यसरी
यही पहिचानको व्याख्याले नै ‘नयाँ नेपाल’-को शोषणमुक्त मान्छेको खाका दिनसक्ला।
साहित्यले
जिउँदो रहिरहनलाई सामाजिक सरोकारका विषयमा सामेल हुनुपर्ने साहित्यको इतिहासले
सिद्ध गरेको छ। साहित्यले पहिचानको सङ्कटलाई एड्रेस गर्नै पर्छ। र समस्याको
सम्भावित समाधानमार्गतिर पनि ईशारा गरिदिएको हुनुपर्छ।
साहित्य
आफैमा यसरी पहिचानको लड़ाइँ भइदिन्छ। पाइतालातल्तिरका मान्छेका लागि। जसको रङ,
उचाइ, गोत्र, थर त टाढ़ाको कुरा, नाम समेत अपहरण भएको हो।
No comments:
Post a Comment