मुखपृष्ठ

Saturday, July 31, 2010

पाठशाला कि कारखाना?


"हामी ज्यादाजसो शिक्षा जसलाई भन्छौं, त्यसले मानिसलाई मूर्ख बनाइरहेछ।"
-लक्ष्मीप्रसाद देवकोटा
˜ नाङ्गो घडीको अथक सुइले बिहानको दश बजेको निर्लज्ज सङ्केत दिइसकेको छ। अब बज्नेछ साइरन क्रूरतासाथ असह्य तीव्र आवाजमा। टिकटिकिरहेको घडीको विशाल सुइमा झुण्डिएर चलायमान विद्रूप काललाई त्यहीँ रोक्ने वा त्यहाँबाट उल्टा घुमाइपठाउने मानवीय दुष्प्रयासहरू हुनेछन्। तर सीमित दुष्प्रयासले शक्तिशाली कालको दुरुह गतिलाई न रोक्न सक्छ, न पछि फर्काउन। साइरन त बजिसकेको छ। काममा आउनेहरूको भीड धरि लागिसकेको छ। हत्तपत्त भित्तामा झुण्डिएका निष्प्राण मास्क र ग्लोभहरू उडेर गई अनुहार-अनुहार र हात-हातमा टाँसिन्छन्। त्यसपछि शुरु हुन्छ एकनासे रोलकल। उपस्थित र अनुपस्थितहरूको खरो गणितीय लेखाजोखाले मान्छेका आदिम पाश्विक प्रथाहरूलाई जिउँदो राख्न गतिलै मद्दत पुऱ्याएको छ। त्यसपछि चारैतिर फिँजिन थाल्छ कल र यन्त्रपातीहरूको कर्णकटु आवाज। विशाल, मझौला र ससाना कलपुर्जाको झिँझेट लाग्ने हल्लामा 'सुस्तरी श्वास फेरिरहेको' प्रकृति पनि टाढो-टाढो भाग्छ। कृत्रिमले सुटुक्क छिरेर टाउको उठाउँछ कारखानाको मूल फाटकभित्र।  
˜ चल्दो छ तथ्य, सूचना, धारणा, सिद्धान्त र ज्ञानहरूको अन्धरटाइ। बीचबीचमा बेतको चड्कन पनि चल्छ। पासुला, हात र गालाहरू रात्तिन्छन् पनि। यसरी कच्चामाल प्रशोधित र प्रक्रिया हुने (र गराइने) दैनिक क्रम चालू रहन्छ कारखानामा। विचारको भ्रामक बोझ लादिन्छ। दृष्टिको सोझोपनको लागि आँखाका दुइपट्टि पट्टा लगाइन्छ। धारणाहरूको फर्मुला पनि दिइन्छ। बजारलाई चाहिएको हो उत्पाद। उत्पादन प्रक्रिया चालू छ। दिउँसो खाने छुट्टीपछि खोलिएको कारखाना फेरि यन्त्रपातीहरूको कर्कश आवाज घन्काएपछि साँझ बन्द हुन्छ। यो हो विश्वको कुनै पनि पाठशालाको हरदर दैनिकी।
˜ खै तपाईँहरूलाई के लाग्दो हो कुन्नि, मलाई अचेल पाठशाला कारखाना लाग्न थालेको छ। चिन्तक देवकोटाले पनि भनेका थिएछन्, "विद्यालयहरू यन्त्र बनाउने कारखाना छन्।" गुरुहरू कारखानाका म्यानेजर, इञ्जिनियर, फोरम्यान र मजदुरहरूजस्ता लाग्छन्। विद्यार्थीहरू चाहिँ कच्चा माल। बोर्ड परीक्षा सिद्धिएपछि पाठशालाबाट निस्किएको उत्पाद विश्वविद्यालय पुग्छ। धेरजसो चाहिँ बजारमा पुगिहाल्छ। र शुरु हुन्छ किनबेच।  कसैको सयमा, कसैको हजारमा र कसैको लाखमा बोली लाग्छ। यहाँ सिक्नु-सिकाउनुको अर्थ हुन्छ बजारको भाषा र बजारको शैली सिक्नु-सिकाउनु। ज्ञानको अर्थ हुन्छ बजार-ज्ञान। सही अर्थमा ज्ञानी हुनुभन्दा सूचित हुनुलाई महत्त्व दिइन्छ। सूचना हावी भयो ज्ञानमाथि। किनभने रोबोटलेझैं सूचना ग्रहण गर्ने र आदेशको पालन गर्ने कर्मचारी चाहिएको हो बजारलाई। पश्चिमका कवि टि. एस. इलियट –को सोधाइ यहाँ सान्दर्भिक छ- "त्यो ज्ञान कहाँ छ, जसलाई हामीले सूचनामा गुमाइपठायौं?" सूचनाको एकाइलाई संज्ञानको सहायताद्वारा ज्ञानमा रूपान्तरित गरी मन्थनको प्रक्रियामार्फत् व्यावहारिक जीवन-जगतलाई परिवर्तित गर्ने मानव चाहेको छैन बजारले। यसरी भटाभट तयार हुन्छ पाठशालामा मान्छेरूपी रोबोटहरू। सूचित भद्रमानिसहरू।

˜"तिमीलाई मूर्ख बनाउने अवसर उनीहरूलाई नदेऊ/ तिमीलाई सिकाउने केशिश चलाउन नदेऊ/ हाम्रो आफ्नै बुद्धि छ/ त्यसो र नर्कमा जाऊ तिमी जे सोच्दैछौ, त्यो सही छैन भने"- प्रख्यात रेग्गे गायक बब मार्ले भन्छन् आफ्नो गीतमा। त्यसैले गुरु र गुरुगिरीमाथि पनि शङ्का उठ्न थालेको विमर्श तिनी झिक्छन्। व्यवस्थाले हामी सबैलाई सानैदेखि 'स्कूलिङ' गरेको (सिकाएको) भण्डाफोर यो गीतको उद्देश्य हो। व्यवस्थाले आफूलाई चाहिने शिक्षा दिने गर्छ न कि हामीलाई चाहिने। व्यवस्थाकै चश्मा लगाइदिएको छ व्यवस्थालाई हेर्न। त्यसैले हामी पराधीनतालाई पनि स्वाधीनता देख्छौं, अन्याय र असमानतालाई गणतन्त्र देख्छौं, देख्छौं युद्धलाई शान्ति र हिंसालाई अहिंसा। न आँखा आफ्नो छ, न कान। हामीले देख्न-सुन्न चाहेको देख्न-सुन्न सक्दैनौं। मिडियाले देखाइदिन्छ-सुनाइदिन्छ व्यवस्थाले देखाउन-सुनाउन चाहेको कुरा।
˜ स्वतन्त्रता मिचेर आज्ञा पालन गर्न सिकाउने पाठशालाहरूबाट मूर्ख-सभ्यहरू उत्पन्न हुने निश्चित हुन्छ। अराजकतावादीहरू पाठशालालाई सक्दो कम प्रयोग गर्ने प्रस्ताव दिँदै "श्रेणीदेखि बाहिर" शिक्षित हुनुपर्ने कुरामाथि जोड दिन्छन्। समकालीन अशिक्षाको विकल्पस्वरूप पाठशाला र वयस्कहरूको संसारको सिमाना तोड्न अशिक्षकहरू, जस्तै औषधिवाला, स्टोरकिपर, मेकानिक, -लाई पाठशालामा ल्याइनुपर्ने सुझाउ दिन्छन् पल गूडम्यान। बाध्यतामूलक उपस्थितिको विचारलाई विरोध गर्दै गूडम्यान विद्यार्थीहरूलाई वर्षमा दुइ महिना गाँउ पठाउने (विद्यार्थीलाई शहरे जीवनको विकल्पबारे सोच्नसक्ने बनाउन) पैरवी गर्छन्।  
˜ व्यापकतामा समाज एउटा ठूलो पाठशाला हो जहाँ हामी मूर्ख बन्ने, सत्य मिच्ने र भ्रम पाल्ने प्रशिक्षण लिन्छौं। व्यक्तिपूजन र धर्मभीरू बन्ने पाठ पनि पाठशालाले नै दिन्छ। भ्रमको बीज पनि पाठशालाले नै रोप्छ बालकको मस्तिष्कमा। दार्शनिक एरिस्टोटलले आफ्ना प्रिय गुरु प्लेटो र सत्यमाझ चुनाउ गर्ने कुरो यसरी राखेका थिए - "प्रिय छन् प्लेटो तर सत्य प्रियतर छ।" सवाल छ सत्यको तर व्यक्ति महत्त्वपूर्ण भएको समाजमा सत्यलाई सधैंजसो नै किनारमा पारिन्छ। यो खेलमा चलिआएको कोल्टे शिक्षाको ठूलै हात छ। 
˜"बा पाठशाला जान्नँ म, इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको" भन्ने कवि हरिभक्त कटुवाललाई मान्नु हो भने पाठशाला गरिमा गुमाइसकेको, वैज्ञानिकता र युक्ति हराइसकेको, थोत्रो भइसकेको ठाँउ हो। "फ्रेम हालेर राख्ने आदर्श" सिकाउने पाठशालाले फ्रेम बाहिर सोच्ने र गर्ने ताकत स्खलित गराइसकेको हुन्छ विद्यार्थीहरूबाट। जति जान्यो, त्यति कम बुझ्ने मान्छे र जति बुझ्यो, त्यति थोरै व्यवहारमा उतार्ने मान्छे पैदा गर्दो छ पाठशाला। परिधिभित्र रहेर संसार चिहाउने बानी परेर होला, आज मान्छे आफ्नो सङ्कुचित र सङ्कीर्ण विन्दुबाट बाहिर निस्कन सक्दैन-चाहँदैन। व्यवस्थालाई फाइदा छ मान्छेको यही व्यक्तिगत स्वार्थ र स्वकेन्द्रिकताबाट। पाठशाला त्यसैले सङ्कीर्ण मानसिकता पैदा गर्ने कारखाना पनि हो।
˜ ढोङ, नैतिकता र संस्कारका कुराहरू पनि पाठशालाले सिकाइदिन्छ विद्यार्थीहरूलाई। प्रशिक्षित गरिदिन्छ व्यवस्थाको निम्ति। औपचारिकताको प्रेम र इज्जत, बाहिरी आकर्षणीयता, देखाइने सौहार्द्रता, निष्क्रिय शिष्टाचार, चिसो भद्रता- सबै पाठशालाले सिकाउँछ चरित्र निर्माणको नाममा। चरित्रले बाँधिदिन्छ विद्यार्थीलाई। उसको विचारसँगै, र उसको दृष्टिकोणसँगै। ठूलो भएपछि त्यो बाँध्ने चरित्र खकुलै भए, वा चुँडिएछ भने पनि केही फरक पर्दैन। किनभने उसको उपचेतनमा उ बाँधिएको छ भन्ने सोच गहिरो गरी गाडिएको छ र उपचेतनले नै मान्छेको चेतनलाई नियन्त्रित राख्छ। त्यो नैतिकता जसले शोषण, अन्याय र विषमताको व्यवस्थाको जयगान गराउँछ, पृष्ठपोषण गराउँछ, खतरनाक छ। पाठशालाबाटै बोकेको-बोकिएको भ्रमको भण्डाफोर त हुनुपर्ने हो। नत्र प्रशिक्षित मूर्खहरूको बथानले भरिएको समाजमा अझ घुन लाग्नेछ। पाठशालालाई कारखाना हुन नदिनु हो भने के गर्दा ठीक हुन्छ जस्तो लाग्दैछ तपाईँलाई अहिले? लु भन्नोस् त प्रिय पाठक... 

No comments:

Post a Comment