मुखपृष्ठ

Monday, August 09, 2010

साइबर साहित्य र ब्लगिङ

नेपाली साहित्य पनि समयसँगै तालमा ताल मिलाएर हिँड्नुपर्ने हो भन्ठान्नेहरूले यसलाई साइबर आयाम दिइरहेका छन्. शंका छैन, नेपालतर्फको प्रयास यस सन्दर्भमा स्तुत्य छ. यतिखेर ब्लग र वेबलाई सूचनाको आदानप्रदानबाहेक साहित्य सम्प्रसारणको समेत सुगम र सुलभ माध्यमको रूपमा अत्यधिक परिमाणमा प्रयोगमा ल्याउन सकिन्छ भन्ने सोच बिस्तारै यतातिर पनि खँदिलो भइरहेको छ.
इतिहासकार एवं साहित्यका नामूद विद्वान डा. कुमार प्रधानको कुशल सम्पादनमा सिलगढी (प. बंगाल, भारत)-बाट प्रकाशित हुने दैनिक सुनचरी समाचार-को सम्पादन समूहमा आफू पनि सेवारत छँदा अति नौलो वेब माध्यम ब्लगिङ आधारित एउटा आलेख तयार पार्नुपर्दा आफूलाई यसबारे धेरथोर थाहा हुन गएको हो. विषयवस्तु थिए- नेपालको जनान्दोलन एवं सुकी परिचालित म्याँमारको आन्दोलनमा इन्टरनेटको सशक्त र प्रभावशाली प्रयोग एवं साफल्य. नेपालका तत्कालीन स्थापित पत्रकारहरू (जस्तै नारायण वाग्ले)-ले कसरी ब्लगिङ गरी नेपालको ऐतिहासिक जनान्दोलनलाई विश्वसामु प्रस्तुत गरिरहेका थिए, कसरी आन्दोलनको पक्षमा विश्व समुदायको नैतिक समर्थन, मानसिक सहानुभूति एवं गणतान्त्रिक जनमत संग्रह गर्दैथिए, त्यसबारे एउटा आलेख तयार पार्नुपर्दा ब्लगिङबारे अलिकति भए पनि जान्न पाइयो.
टिस्टा र मेचीमा धेरै पानी बगेर गइसक्दा पनि आफूले ब्लगिङ गर्न चाहिँ थालिएन. साहित्यलाई ब्लगिङको माध्यम दिने इच्छा मनमा पालेर राखेको राखेकै भइयो. अन्तत: 20 जुलाई 2008-को दिन आफ्ना अंग्रेजी कविताहरूको ब्लग www.rajapuniani.blogspot.com –को औपचारिक विमोचन भारततिरका सुप्रसिद्ध कवि मनप्रसाद सुब्बाको बाहुलीबाट भएको हो. भारतभित्रै छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन (अहिले आएर गोर्खाल्याण्डकै आन्दोलन हो के त, सोध्दैछन् सबै)-को दोस्रो पहरको गर्भाधान भइरहेको बेला बंगालभित्रका साम्प्रदायिक ताकतहरूले यस आन्दोलनलाई साम्प्रदायिकको कलंक पोत्न खोजेर नेपालीभाषीहरूमाथि दलबलसहित आक्रमण गरेर, दंगा गरेर फियर साइकोसिस पैदा गरिदिएको त्यस उद्वेलित समयमा मेरो ब्लगको विमोचन हुन गएको हो. सिलगढ़ीलगायत समग्र डुवर्स, उत्तर बंगाल जातीय चरम संघातको अग्निगर्भ भइरहेको अनियन्त्रित र अनिश्चित बेला. साम्प्रदायिक सद्भावना, मानवीय ऐक्य र गणतिन्त्रक अधिकार रक्षाको पक्षमा आयोजित ‘अन्तर्भाषिक कवि गोष्ठी’-माझ विमोचित मेरो ब्लग त्यस अस्थिर समयको साक्षी छ. नेपाली, बंगला, हिन्दी, आदिवासी (सादरी), अंग्रेजी भाषाका कविहरूले एकसाथ एकै मञ्चबाट सम्बन्धित भाषामा कविता सुनाइरहेको उक्त कार्यक्रमले सांकेतिक अर्थ बोकेको थियो, जसले स्पष्ट भाषामा ‘मानवीय ऐक्य’-को आह्वान गरिरहेको थियो.
त्यसपछि मैले आफ्ना नेपाली कविताहरूको ब्लग www.vritta.blogspot.com पनि थाले. यसपालि चाहिँ सुटुक्कै. उता नेपालतिरबाट साइबर साहित्यको काम जति मात्रा र गुणात्मकतामा भइरहेको छ, त्यसको एकांश समेत यहाँ हामी भारततिरका नेपाली साहित्यकर्मीहरूबाट भएको छैन भन्दा हिच्किचाउनुपर्ने हुँदैन. अहिले आएर सम्भावनापूर्ण सिपालु कवि मनोज बोगटी (हाल कालेबुङ)-ले पनि आफ्नो ब्लग थाले. सरल कवि किरणकुमार राई (दार्जीलिङ, हाल-असम), जण्डा कवि केवलचन्द्र लामा (दार्जीलिङ), विचलन समूह (कालेबुङ), किनाराका आवाजहरू, उदीयमान कवि सुचन प्रधान (हाल उत्तरबङ्ग विवि) आदिले पनि आआफ्नै थरीले ब्लग गर्न थालेका छन्. यस दिशामा सिक्किम दार्जीलिङभन्दा अघि हो. पत्रकार पारसमणि सम, प्रयोगधर्मी लेखक प्रविण राई जुमेलीहरूले निकै अघिदेखि नै साहित्यिक वेबसाइट www.tistarangit.com चलाउँदै आएका हुन्. समको आफ्नै ब्लग समेत छ. यसरी दार्जीलिङतिर बिस्तारै भए पनि शुरु भएको साहित्यिक ब्लगिङको चाल सकारात्मक छ. यस परिप्रेक्ष्यमा अझ सक्रियता, रुचि, जाँगर, प्राविधिकता, सृजनात्मकता र मनोबलको खाँचो छ. साथै, सकारात्मक अन्तर्क्रियाको.

No comments:

Post a Comment