मुखपृष्ठ

Monday, August 16, 2010

तपाईं को हुनुहुन्छ?

जीवन-जगतका सबैजसो प्रश्नका उत्तर दिने आँट राख्थे तिनी। आत्मचिन्तन र परचिन्तनले पाकेका यी नामी कवि-दार्शनिकले आफू एकैपल्ट निरुत्तर हुनुपरेको स्वीकारोक्ति गरेका छन्। तिनी त्यस बेला निरुत्तर भएका छन्, जब कुनै मान्छेले तिनलाई सोधेका थिए, "तपाईं को हुनुहुन्छ?" करोड़ौं प्रकाश वर्ष टाढ़ा ताराको गर्भमा कुन वायु छ, त्यो हाइड्रोजन वायुको वर्णाली हेरेर सहजै बताउन सकिन्छ, तर म को हुँ, यो प्रश्नको उत्तर पाउन साह्रै सजिलो कहाँ छ ? म फलानाको छोरो हुँ। म फलाना देशको वासिन्दा हुँ। म फलाना स्कूलमा पढ़ें। म फलाना जातको हुँ। मेरा नसामा फलानो नस्लको रगत कुद्छ। म फलाना पेशामा छु। म फलानाको जीवनसाथी हुँ। म फलानाको मित्र र ढिस्काको शत्रु हुँ। म यो रङ्गको छु। म यो गन्ध बोक्छु। म यो राजनीति गर्छु। मेरो आदर्श फलाना दिशामा ढल्किएको छ। मेरो शारीरिक उमेर र मानसिक उमेर यति-यति छन्। लु हेर्नुहोस् त, कुन उत्तर सही उत्तर, छान्न कति गाह्रो भएको!

कवि मनप्रसाद सुब्बाको प्रश्न कविता र तिनको कवितामाथि कवि मनोज बोगटीको मन्तव्य पढ़ेर प्रश्नको मेरो धारणालाई कुन्नि केले कुन्नि कस्तो गरी छोइराखेको छ। सम्भवत त्यो प्रश्नबोधै हुनुपर्छ जसले मेरो चेतनाको छालालाई यसरी जिस्किएको भावमा संवेदनशील स्पर्श गरिराख्यो। प्रश्नको के धरातल हुँदैन त? प्रश्न के साँच्चै निर्मम हुन्छ? प्रश्नहरू किन गतिछाड़ा हुन्छन् त? धारावीको विश्वविख्यात झोपड़पट्टीको के हुन्छ, दार्जीलिङ भारतको वा नेपालको हो भन्ने हेगमा हुने भनिएको फसेला किन उड़न्ते साबित भयो, दिल्लीमा गोर्खाल्याण्डको नाममा पाकिरहेको सेटअपको खिचड़ी पकाउने भान्सेहरू को-को हुन् - प्रश्नहरू एक छिनलाई उदाहरणका रूपमा टिपिहेरौं। प्रश्नका धरातल चिप्लिएको र प्रश्नहरू गतिछाड़ा भएको छेतछेती देख्नेछौं।

मानव समाजको उत्पत्ति कालदेखि नै प्रश्नले मानव मनमा शिर उठाएको हो। एउटा गतिलै प्रश्न गरे मिर्जा गालिबले, म नभएको भए के हुनेथियो? भौतिकवादले खास केही हुनेथिएन भन्छ भने क्वाण्टम भौतिकी पसेको आधिभूतवादी दर्शनले धेरै थोक भएको केके केके जाती कुरा गर्नेछ। करोड़ौं यस्ता प्रश्न छन् होला, जसको उत्तर न मसँग छ, न तपाईँसँग छ, न कसैसँग नै छ। तर उत्तरका धर्साहरू पाइन्छन्। उत्तरका सङ्केतहरू पाइन्छन्। उत्तरका बीउहरू पाइन्छन्। प्रश्न-उत्तरको यो अटुट जुगलबन्दीमा यथार्थका सम्भावित धमिला चित्रहरू टाँगिन्छन्। प्रत्येक ताला नै चाबीसँग बनाइएझैं प्रत्येक प्रश्नको उत्तर खोजे पाइँदो पनि हो। तर पाइएको उत्तर उत्तर नहुन पनि सक्छ। जसरी सोधिएको प्रश्न प्रश्नै नहुन सक्छ। उत्तर मात्र प्रश्नैको अर्को एउटा ताजा संस्करण हुन सक्छ। उत्तरको भुँड़ीभरि प्रश्नै-प्रश्नको भ्रूण भए के गर्नुहुन्छ तपाईं? त्यसैले प्रश्नलाई हल गर्न निरन्तर लागिपर्ने संस्कृति नै हो महत्त्वपूर्ण मुद्दा। अस्तित्ववादी चिन्तक-लेखक अल्बेयर क्यामुले जीवन दर्शनको निचोड़मा 'प्याशन' (तीव्रभाव) भनेर यही मुद्दालाई त बुझाउन खोजेका होलान् नि। यसमा चाहियो अध्यावसिता, लगन, सङ्कल्पबद्धता, प्रतिबद्धता, इमानदारी, लक्ष्यप्रेम।

प्याज केलाउँदा प्याजै पाइने रनभुल्लको (प्रश्नमय) स्थितिलाई दृष्टान्त राखेर निबन्धका जादूगर शङ्कर लामिछानेले जीवनबारे अमूर्त्त चिन्तन गरेका छन् 'एब्स्ट्र्याक्ट चिन्तन प्याज'-मा। प्याजपछिको प्याजको निरन्तरतालाई कोषविभाजनपछिको विभाजन, तन्त्रिका प्रसारणपछिको प्रसारण, पारमाण्विक विखण्डनपछिको विखण्डन, ब्रह्माण्डोत्पत्तिपछिको ब्रह्माण्डोत्पत्ति (बिगब्याङ्गपछिको बिग क्रञ्च र बिग क्रञ्चपछिको बिग ब्याङ्ग)-सम्म तन्क्याएर हेर्न सकिँदो हो। संसारमा भएको मात्र एउटा सङ्ख्या हो एक। यही एक्लो एकाइ एकमा एकपछि अर्को एकको योगले बनिएका अन्य 'सङ्ख्या रूपहरू'-को विस्तार र अन्विति 'अनन्त सङ्ख्या' (इन्फिनिटी)-को धारणा पनि दँजाएर हेर्दा मिल्दो हो। यहाँसम्म कि नश्वरताको ठूलै दार्शनिक विमर्शलाई समेत यस चिन्तनअघि उभ्याएर कैरन गर्न सकिन्छ। त्यसर्थ प्रश्नको उत्तर निरन्तरतामा छ न कि स्थिरतामा। प्रश्न पनि गतिमा सोधिन्छ, उत्तर पनि गतिमै खोजिनुपर्छ। त्यसर्थ एउटै प्रश्नका एकभन्दा बढ़ी उत्तर पनि हुनसक्छन्। एउटै प्रश्नको उत्तर बेग्लै समय र बेग्लै अवस्थामा बेग्लाबेग्लै हुनसक्लान्। जीवन, कला, राजनीतिका प्रश्नहरू पनि विभिन्न टाइम-स्पेसमा बेग्लाबेग्लै उत्तरको माग गर्छन्।

विमर्शका रूपमा चिन्तन गरिनुपर्ने प्रश्नहरू पनि थरीथरी छन्। हाइडेगरले सोधे, केही नहुनुको सट्टा किन केही छ? एउटी अबला विधवा नारीको छोरोको प्रश्न हुनुसक्छ- आमा, बाबा कहिले आउँछ? सड़क किनार बसेको अस्थायी घरमा नानीहरू सोध्दै हुनसक्छन्- आज खाना पाक्दैन? एउटा कुण्ठित बुद्धिजीवी सोध्नसक्छ-मेरो विचार मन पर्नैपर्छ तपाईंहरूलाई, तर किन मन पराउनुभएन हँ? नेताको सोधाइ हुनसक्छ-दादाको दादागिरी हुनसक्छ भने नेताको नेतागिरी किन चल्दैन? कार्यालयमा नोकरशाह एक लाख कि डेड़ लाख रुपियाँ घुस मागौं भन्ने प्रश्नले पिरोलिरहेको हुन्छ भने आम कर्मचारी एक हजार कि एक सय रुपियाँ भन्ने प्रश्नमा अल्झिरहेको हुन्छ। नारी मनमाथिको तीस वर्षको अन्वेषणमा पनि नारी वास्तवमा के चाहन्छे, सो बुझ्न नसकेको डा. सिग्मण्ड फ्रायडको स्वीकारोक्तिले नारी मनमाथिको पुरुषहरूको सार्वकालिक प्रश्नलाई अझ जियालो बनाउँछ। नारीवादसँग फ्रायडको यो प्रश्नको के उत्तर छ, यो पनि चाखलाग्दो प्रश्न हो। विश्व के हो, समाज व्यवस्था किन यस्तो कोल्टे छ, मानव समाज के हो भन्ने प्रश्नको आ-आफ्नै व्याख्या मात्र दिए सबैले तर यसलाई कसरी फेर्ने हो, मूल प्रश्न यही हो भने दार्शनिक कार्ल मार्क्सले।

"तपाईं को हुनुहुन्छ ?" के तपाईंलाई यस्तो प्रश्न मन पर्छ? के सधैं यो खाले अस्तित्ववादी प्रश्नको सामना गर्नु सक्नुहुन्छ? तपाईँ उल्टा प्रतिप्रश्न गर्नुसक्नुहुन्छ- प्रश्नको अनुहार कस्तो हुन्छ? के प्रश्नले मखुण्डो लगाएको हुन्छ? प्रश्नको पनि मन हुन्छ? प्रश्नको जिब्रो कुन रङ्गको हुन्छ? प्रश्नले श्वास फेर्छ? प्रश्नबारे यस्ता थुप्रै प्रश्न त्यतिबेला जन्मन्छन्, जब हामी प्रश्नका आँखामा आँखा मिलाएर सिधा हेरिरहेका हुन्छौं। अट्टेरी भएर। प्रश्न मानौं कुनै एक ज्यूँदो-जाग्दो चुनौति हो। असूचना, अज्ञानताको हत्या गर्न तम्सिएको मानव समाजले जति विकास गर्यो्, जति सभ्य भइटोपल्यो, त्यति नै अन्योलताको कुइरो पनि जन्माउँदै आयो। त्यसैले आजको सबैभन्दा ठूलो प्रश्न "जीवन किन" होइन, "जीवन कसरी" भयो। कोमल दार्शनिकताबाट हामी सर्यौंद खरो यान्त्रिकतामा। गम्भीरताबाट सर्यौं सतहीपनमा। आज ज्ञानभन्दा बढ़ी चाहिन्छ सीप (स्कील)। चिन्तकभन्दा बढ़ी कर्ता चाहियो। यो भयो संस्कृतिको कुरा। "मान्छेले कतिचोटि टाउको घुमाउन सक्छ र केही नदेखेको बहाना लगाउन सक्छ?"-यस स्थापित संस्कृतिको समानान्तर दौड़ाउनुपर्ने प्रतिसंस्कृतिको पैरवी गर्दै हामीलाई सोध्छन् साठीको साङ्गीतिक दशक थर्काउने नामूद गायक-गीतकार बब डाइलन। ज्यू, के तपाईं टाउको उतै घुमाइरहनु हुने त? अहिले तपाईं कुन विश्व देख्नुहुँदैछ (पहिलो, देस्रो, तेस्रो, चौथो, पाँचौं,.....)? कहीँ ठम्याउनु सक्नुभयो आफैलाई? होशियार, "आत्मज्ञान" भन्दै धार्मिक पेशाजीवीहरू तपाईंकहाँ आइपुग्न आगावै उत्तरको मेसोसम्म चाहिँ पहिल्याइहाल्नुहोला। प्रश्न दोहोर्‍यादिइहालौं है त - "तपाईं को हुनुहुन्छ?"

No comments:

Post a Comment