मुखपृष्ठ

Saturday, August 21, 2010

कस्तो है?

हो, धेरैपल्ट म यसरी नै छक्क परेको छु। शायद तपाईं पनि पर्नु भयो होला। मानिस छक्क पर्नु स्वाभाविक र सामान्य भए पनि छक्क परेको स्थितिले प्रायजसो हरेकपल्ट नै व्यवहारको स्वाभाविकता र चिन्तनको सामान्यताको धरातल पल्टाइदिने गरेको हुन्छ। छक्क पर्दै आफैलाई वा अरूलाई केही सोधेको छु । धेरैपल्ट अरू छक्क परेका छन् र छक्क पर्दै आफैलाई वा मलाई केही सोधेका छन्। कस्तो है, केटी भएर सिगरेट तानेको? त्यो गोरी बहिनी त काले मद्रासीसित पो भागिछ! आँ... आइमाइले गाड़ी चलाएको देख्यौ? बारमा पसेको त एक हुल केटीहरू रक्सी पो पिउँदैरहेछन् नि सोम! आँ... केटी डक्टरले पो पोस्टमोर्टम गरी त हौ! आम्मामा... यति सानो केटा गाड़ीको खलासी? यति सानो केटाले बिहे गरेछ! अप्पुइ, बूढ़ा भएर खाना पो पकाउँदै रहेछ! लोग्ने मान्छेले नङ पालिस लगाएको हेर न! थेत, राम्रो हेरेको त केटा पो रहेछ नि हौ! त्यो फिल्म हेर्यौ , आर्नोल्डले नानी पाएको? नेटमा क्रसड्रेसरहरू खोज त... केटाले केटीको, केटीले केटाको लुगा लगाएर सामान्य जीवन जिउँदा रहेछन् नि! कस्तो है, यो उमेरमा...बूढ़ोको पनि गर्लफ्रेण्ड रहेछ नि हौ। त्यो सर र गुरुमामाझ त एक्स्ट्रा मेरिटल अफेर पो छ अरे!

कस्तो है, त्यो नेता मान्छे मर्छु भनेर नमरेको! बाघको शिकार खेल्न गएर स्याल पो मारेर ल्याएछन्! अचम्म, अन्धाहरू छन् चित्र प्रतियोगिताका जज, बहिराहरू सङ्गीत प्रतियोगिताका! अपराधीहरू राजनेता भएपछि अपराधीको राजमा न्याय हुन्छ भन्छन्! सरकारले यौन शिक्षा थाल्ने सोचेको? एक सौ दिने काम अरे, वर्षको रहल दुइ सौ पैंसठ दिन चाहिँ के खाएर बस्लान् तिनीहरू? माओवादीहरूले गाँउमा पानीको नल बसाएछन्! माओवादी इलाकामा शान्ति कायम गर्नु सरकारले बन्दुकले लैस फोर्स उतार्ने अरे! सरकारले सर्वशिक्षा अभियान चलाएको भन्छ, हिल कार्ट रोड किनार चिया दकानको त्यो केटा त दिनभरि चिया बाँड़्छ त! एकताका "जय किसान" भन्ने देशमा वर्षैपछि किसानले आत्महत्या किन गरेका हँ! देशमा गणतन्त्र छ भन्छ, विरोध प्रदर्शन गर्ने किसानहरूलाई पुलिसले गोली ठोकेर मार्नु पनि गणतन्त्रै हो के! जुन अमेरिका ग्लोबल वार्मिङको धेर चिन्ता जताउँछ, विश्वभरि उही धेर तेल चलाउँदा रहेछ! ग्लोबलाइजेशनले गर्दा पृथ्वी खुम्चिँदैछ अरे! उदेकको अनुभूति र उदेकको रहस्यभेदनले मानिस सौन्दर्यबोध, तुलनाबोध गर्दो छ। प्रेम र घृणा गर्दो छ। जीवनबोध र मृत्युबोध पनि गर्दो छ। उदेककै हम्मरले हानेर रुढ़िको पर्खाल पनि भत्काउँदो छ। उदेककै लप्काले सल्काउँदछ नयाँ सोच, नयाँ चेतको मसाल।

उदेकहरूको कतार सकिँदैन। घरमा, समाजमा, पृथ्वीमा अचम्महरूका असङ्ख्य सुलसुलेहरू आदिकालदेखि नै जताततै दौड़िरहेका हुन्। वास्तवमा ती आदिम उदेकका सुलसुलेहरू नै मानव इतिहासका कालिगढ़ भए। निर्माता भए। उदेकको अनुभव गर्ने नियमितता र उदेकको गाँठो फुकाल्ने प्रयास र सङ्घर्षको क्रममा नै मानव जङ्गली, बर्बर र पाश्विक प्राणीबाट लाखौं वर्षको धाप पार गरेर आजको शहरे, कुटिल र सभ्य प्राणी हुन सकेको प्रमाण पाउँछौं। उदेकको समानान्तर चलेको जिज्ञासाको बोधले नै मानव समाज ज्ञानले सम्पन्न समुदाय बन्न सकेको कुरा अकाट्य छ। उदेक र जिज्ञासाको दुइधारे तलवारले मानव समाज अज्ञानताका भस्मे फाँड़्दै अघि त बढ़्यो। तर जति अघि बढ़्यो, त्यति अन्योलता र अनिश्चितताका नयाँ भस्मे भेट्यो, जसलाई मात्र उदेक र जिज्ञासाको दुइधारे तलवारले फाँड़्न सम्भव भएन। जति जान्यो, उति मूर्ख। जति बुझ्यो, उति लाटा। यस सिसिफसीय विडम्बनालाई अध्यात्मवादीहरूले मानवको सीमित क्षमता र सर्वव्यापी ईश्वरको अगम सत्ताको हठवादी व्याख्या देलान्। तर धेरै मौकामा मानवीय क्षमताको सीमा तोड़िएका कीर्ति पनि छन् भने अगम ईश्वरीय अस्तित्वको प्रमाण ईश्वरैले दिए ठीकै छ, नत्र ईश्वरको अबोधगम्य सत्ता भनेको मानवको अबोधनका इलाकाहरूकै मानसिक प्रतिफलन हुन्। कहिलेकाहीँ चाहिँ मान्छेको विवेक समेत पङ्गु हुने गरेको दृष्टान्तले हामीलाई चारखुट्टे जन्तुहरूकै हाराहारी उभिएको समेत अनुभव हुन्छ। उदेक सम्बन्धी यो प्रश्न त्यसैले 'युक्तिवाद' (र्याकशनलिजम्)-को प्रश्न पनि हो।

आश्चर्यहरूबाट हामी आ-आफ्नो दिन थाल्छौं र आश्चर्यहरूबाटै सक्छौं पनि। जीवन यस्ता लाखौं उदेकहरू हेर्दा-हेर्दै, ती उदेकहरूको भेद खोल्न खोज्दा-खोज्दै उदेक लाग्दो तरिकाले एक दिन सुटुक्कै बित्छ। उदेकलाग्दो यो संसारमा उदेकलाग्दो कथाहरू बोकेर उदेकलाग्दो जीवन गुजारिरहेका हामी पनि एक-एक उदेककै नमूना हौं, लाग्छ। आफ्नै अनुहार ऐनामा एकटक हेरिरहनुहोस्, तपाईँलाई आफै अचम्म लाग्न थाल्नेछ। राति फुर्सद निकालेर आकाश हेर्नुहोस्, उदेकको आकाशले ग्वाम्म छोप्नेछ। आफू पनि र आफू बाहिरको गोचर जगत पनि उदेकलाग्दो लाग्ने यो स्थितिमा उदेकलाई हेर्ने, केलाउने र बुझ्ने वैज्ञानिक दृष्टिकोण र संस्कृतिको विकास हुन नसके उदेकले भरिएको संसारको मिथ्याबोधले अनर्थवाद, रहस्यवाद, अवसरवाद र आलस्यवादसम्म पुर्याेउनसक्छ। भ्रमको खेती लहलह हुनेछ र यथार्थको अपव्याख्याले अनावश्यक युटोपियाको निर्माण हुनेछ। त्यही उदेक यसरी घातक सिद्ध हुनेछ।

उदेकको पनि वर्ग छ। कुनै उदेक प्राकृतिक हुन्छ, कुनै सामाजिक। कुनै उदेक व्यक्तिगत हुन्छ, कुनै सामुहिक। कुनै उदेक दार्शनिक हुन्छ, कुनै राजनैतिक। उदेकको भुइँ टेकेर ज्ञानको आकाशमा उड़्नेहरू छन्। उदेककै भुइँ टेकाएर धोकाको डिलमुनि झार्नेहरू पनि छन्। त्यसैले उदेकको मिमांसा जरूरी छ। उदेकले नै मानिसलाई बुद्धिमान पनि बनायो। उदेकैले बनाएको छ मूर्ख पनि। उदेकको वर्गीय र सापेक्षित चरित्र बुझ्नेले सूचना र ज्ञानको वर्गीय प्रकृति पनि बुझ्छ। त्यसैले उदेक किन-कसरी-कहाँ मान्ने, त्यो पनि ठूलै दार्शनिक विमर्श हुनजान्छ।

उदेकको कोल्टेपन जबसम्म ठीक हुँदैन तबसम्म समाजमा सही अर्थमा गणतन्त्र लागू हुँदैन। लागू भएको छ भनिन्छ भने पनि त्यो गणतन्त्र पनि कोल्टे नै हुन्छ। कवि सुकान्त भट्टाचार्यले पूर्णेको जूनलाई रोटी देखिपठाउनुको उदेक र भोकमरीले मरिरहेका आफ्नै जनताले "किन केक नखाएका" भन्ने ब्रिटेनकी महारानीले मानेको उदेक एउटै हुँदै होइनन्। सरकारको उदेक जनताको निम्ति ढोङ हुनसक्छ। जनताको उदेक सरकारको निम्ति बोझ हुनसक्छ। बढ़ी जसो अवसरमा नै नेताको चलाकीलाई बाध्यता भनेर देखाइएकोले जनताले त्यो देखेर उदेक मान्न सक्छ। लट्टिन सक्छ पिसिन शोषणको जाँतोमा। उदेक लाग्ने चीज उदेक नलाग्नुपर्ने पनि हुनसक्छ। उदेक नलाग्ने चीजलाई हामी उदेक नमानी बसिरहेका पनि हुनसक्छौं। पुरुषले सिगरेट पिउने समाजमा केटीले सिगरेट पिएको देखेर के उदेक मान्नु पर्छ र यदि नारी-पुरुष समानताको कुरा गर्छौं भने? शोषणको रापले छाला काढ़िसक्दा पनि हामी आफैप्रति छक्क नमानेर ढुक्कसँग बस्नु के उदेकलाग्दो छैन र? कस्तो है, उदेकबारे पनि उदेकलाग्दो कुरा!

1 comment:

  1. दा कालबोध निरन्तर पढ़्दै छु। बौद्धिकतालाई तिखार्न चाहनेहरूलाई यो हँसिया उध्याउने ढुँगा नै साबित भएको छ। सुतेकाहरूलाई त के भन्ने, तर उठेर पनि सुतेको भान गर्नेहरूलाई भने धारिलो प्रहार भएको छ। यहाँ व्यवस्था यस्तै छ। व्यवस्थाको दास वन्नु भन्दा व्यवस्थाको विरूद्धमा बोल्नु / लेख्नु ठूलो कुरा हो।

    ReplyDelete