मुखपृष्ठ

Sunday, August 29, 2010

फेरि एउटा ब्रेकिङ्ग न्यूज

गएको दिन एउटा स्कूले नानीले क्लासमा बस्ने ठाउँको झगड़ामा आफ्नै साथीलाई छुरी हानिदिएको समाचार पढ़्दैथिएँ। उति विचलित भइनँ म। त्यो नानीको अनुहार, स्कूलको युनिफर्म कल्पना गरिरहें। तर मेरो मन भने चाम्रिरह्यो। चियाको तलतल पो लाग्यो बरू। हिजोआज अखबार र टीभीतिर नानीहरूले कसैलाई मारिदिएको, नानीले चोरी गरिदिएको, किशोरले बलात्कार गरिदिएकोजस्ता खबर आउन थालेका छन् घरि-घरि। यसो सोचेर हेरें, नानीहरू समेतले अपराध गर्न थालेको यो समाजमा ठालूहरूले गरेको अपराधले संवेदनहीनता भोगिरहेको हामीलाई उस्तो छुँदैन पो है। मानवको उदासीनीकरण वा उदासीको मानवीयकरण, बुझ्नै गाह्रो! अपराधको सामाजीकरण वा समाजको अपराधीकरण, बुझ्नै नसकिने यो सामूहिक अन्योलतामा घटनाहरूको व्यक्तिगत उपभोग मात्र गरिबस्छौं हामी। मानौं, कहीँ केही भएकै छैन। तर अन्तरसम्बन्धहरूले निर्मित यो संसारमा कुनै पनि कुनामा हुनगएको घटनाको आगोले मेरो कुनै किनार, तपाईँको कुनै छेउ जलाइराखेकै हुन्छ। थाहा हुँदैन र पो त!

आर्थिक र राजनैतिक तरेलीकरण भोगिरहेको समाज समुन्नत हुँदैन। पाउनेहरू र गुमाउनेहरू, जित्नेहरू र हार्नेहरू, खटिखाने र चुसिखानेहरूमा पत्रा-पत्रा परेको यस्ता जटिल समाजमा निहित आर्थ-राजनैतिक अन्तरविरोधले नै वास्तवमा नैतिकताको स्वरूप र चरित्र तय गर्ने गर्छ। नैतिकता स्खलित भइरहने कुनै पनि समाजले निश्चय नै अपराधलाई भरण-पोषण गर्दछ। सामाजिक परिवेशले नै अपराधको बाटो खनिदिन्छ। अपराधलाई प्रश्रय दिनुको अर्थ हुन्छ अपराधी क्रियाकलापको निम्ति अपराधी मानसिकताको घड़ेरी बसाइदिनु। अपराधको मानसिकतालाई युक्ति प्रदान गर्नु। अपराधलाई सत्यापित गरिदिनु। त्यसैले अपराधलाई बुझ्न अपराध गर्न हौस्याउने अपराधी मानसिकता बुझ्नु जरुरी छ।

समाज र अपराधमाझको अन्तरविरोधी सम्बन्धलाई बुझ्नु भनेको पनि यही मानसिकताको रूप र चरित्र बुझ्नु हो। असन्तुलित समाजको नसामा विषझैं नदेखिने गरी बगिबसेको यो अपराध आज समाज र जीवनको अभिन्न र सामान्य हिस्सा बनेको छ। चोरी, डकैती, हत्याजस्ता हाक्की अपराध त छँदैछन् तर सत्तागत समझदारी, शक्तिगत तालमेलजस्ता शान्तिप्रिय-सन्तुलित, भद्र-भद्र लाग्ने अपराधहरू क्षेत्रीय र राष्ट्रिय स्तरमा भइरहेकै छन्। यसलगायत भ्रष्टाचार, घूसवाद, भाइभतिजादवाद, कुलवाद, गोत्रवाद, जातवादजस्ता अपराधले पनि अब मान्यता पाइसकेका छन्। त्यसैले नैतिकताको अवधारणा र परिभाषा समेत निफन्नुपर्छ लाग्दैन र तपाईंलाई?

कोल्टे-खोंड़े समाजमा न्याय प्रदान गर्ने कानून पनि कोल्टे-खोंड़े नै हुन्छ। यो न्याय प्रक्रिया शक्तिधारीहरूको निम्ति शक्तिरक्षाकै माध्यम मात्र भइदिन्छ सधैं। यसैलाई हामी 'मत्स्य-न्याय' भन्ने गरेको यदाकदा सुन्छौं। समाज चलाउनेहरूले आफ्नो प्रत्येक असन्तुलित क्रियाकलापलाई तार्किकता र प्रामाणिकता प्रदान गर्न अनि शक्तिहीनहरूलाई किनार पार्न यही पवित्र लाग्ने तर अपवित्र कानूनलाई सजिलो र प्रभावी हतियारको रूपमा चलाउने गरेको सबैको आँखा सामु छर्लङ्ग छ। शक्तिहीनले न्यायको तराजु कोल्टे देखेर पनि त्यसलाई कोल्टे छैन मान्नुपर्छ। त्यसैले कथित रूपले समानता र स्वतन्त्रता मानिलिने कुनै पनि समाजमा समेत गणतन्त्र भनेको चुसनतन्त्र हुनसक्छ। कोल्टे सीधा हुनसक्छ, सीधा कोल्टे। शान्ति हिंसा हुनसक्छ, हिंसा शान्ति। त्यसैले शान्ति, हिंसा, युद्ध, सन्धि-समझौता, समझदारी, भाइचारा, मानव अधिकार, नारी शक्ति, स्वतन्त्रता, गणतन्त्रजस्ता विवादास्पद र अनेकार्थी शब्दावली चलाउँदा गहिरै होशियारी चाहिन्छ। नत्र चिप्लिने डर भइहाल्छ - विचार र आचार दुवैमा।

राजनैतिक, आर्थिक, औद्योगिक अपराधहरूले भरिँदै गएको समाजको सत्तागत अपराधलाई प्रश्न नगरी अरू प्रश्नमा जानै सकिँदैन। जरा देखिँदैन तर त्यसैमा उभिएको हुन्छ रूख। त्यसर्थ रूखको क्षमता र कमजोरी बुझ्नु हो भने त्यसको जराको फैलावट हेर्नु पर्छ। त्यसैले नदेखिने हुन्छ महत्त्वपूर्ण। सत्तागत अपराध पनि सोझै देखिँदैन। तर त्यही सबै सामाजिक अपराधहरूको जरा हो। सत्ता शक्तिहरूको सञ्चय र प्रयोगको भाग प्रक्रिया हो जहाँ भाज्य (संसाधन)-लाई भाजक(शक्तिधारी)-हरूमाझ भागफलले बाँड़्छ। अन्तत भागशेषको हिसाब पनि मुख्य भइदिन्छ। यही संसाधनको (अप)प्रयोगको खिँचाखिँची, तानातान र घम्साघम्सीको हिंस्रक खेललाई शक्तिखेल (पावर गेम) भन्छौं।

यो बाघचाले शक्तिखेलमा पिसिन्छ आम जनता। यहाँसम्म कि भागशेषमा पनि पर्दैन उ। सधैं भाज्यमा मात्र पर्ने गरेको जनता शक्तिको घम्साघम्सीको जाँतोमा दुर्घटनाग्रस्त भइबस्छ। घरि उ उत्पादन शक्ति भइदिन्छ, घरि उपभोक्ता, घरि बजार शक्ति। घरि बन्दुक भइदिन्छ, घरि बन्दुकको गोली थाप्ने छाती। घरि भइदिन्छ देशप्रेमी, घरि देशद्रोही। घरि उपनगरीको निम्ति विस्थापित हुन्छ, घरि उपनगरीको इँटा जोड़्ने हात हुन्छ। घरि कानुनको कागज भइदिन्छ, घरि कानुनको कफिन। साह्रो छ, जनतालाई साह्रो छ। तर यही सामाजिक साह्रो व्यावहारिक सामान्यता भइसकेको जनतालाई अपराधको सामाजीकरण पनि अचेल सामान्य लाग्नथालेको उत्तर-औपनिवेशिक भूमण्डलीकरणको बेला हो यो। साम्राज्यवादी युद्ध, पूँजीवादी शोषण, समाजवादी आन्दोलन-क्रान्तिकै फड़्को हनाइ र काँचुली फेराइको यो सङ्क्रमणकाल अपराधकै भूमण्डलीकरणको काल हो यो। त्यसर्थ क्षेत्रीय अन्तरराष्ट्रिय हुन्छ र अन्तरराष्ट्रिय क्षेत्रीय। त्यसर्थ क्षेत्रीय राजनीतिको आपराधिक स्वरूपलाई अन्तरराष्ट्रिय आपराधिक कड़ीसँग जोड़ेर हेर्नै पर्ने हुन्छ।

जहाँ अपराधलाई पनि बड़ो सुन्दर ढङ्गमा सजाइन्छ। जब अपराधबोधलाई ग्ल्यामर प्रदान गरी समाजमाथि अपराध-फन्तासीहरू थोपिन्छ। जब 'पपुलर कल्चर' सिनेमाका रूपैला पर्दाहरूमा डन, खलनायक, ग्याङ्गस्टर, मर्डर, वन्स अपन अ टाइम इन मुम्बईजस्ता सिनेमाका नायक-नायिकाका माध्यमबाट अपराधको आदर्शलाई दार्शनिकताको भुइँ राखिन्छ। जहाँ रुमानी प्रेम पनि पैसा र हत्याको अपराधसँग जोड़िएको खरो वास्तव बनाइन्छ। यसरी अपराधको यौक्तिकता र प्रामाणिकतालाई सिनेमा, गीत-सङ्गीत, नाच, टीभी, खानपान, लुगाफाटाजस्ता पपुलर कल्चरमार्फत् आम जीवनमा प्रतिदिनको निम्ति अन्यान्य धेरै सामान्यताझैं अझ एउटा सामान्यताको रूपमा स्थापित गरिएको छ। अपराध सड़ककिनार पाइने आइसक्रीमझैं हुन्छ। अपराध लुगा दोकानमा पाइने गञ्जीझैं हुन्छ। अपराध भान्साकोठामा राखिएको भाँड़ाकुड़ाझैं हुन्छ। अपराध स्कूलमा रटाइएको गुणाको पहाड़ाझैं हुन्छ। अपराध प्रेमीले प्रेमिकालाई दिएको चुम्बनझैं हुन्छ। अपराध शिशुले आमाको स्तनबाट चुसेको दूधझैं हुन्छ। अर्थात् अपराध जीवनको सामान्यता हुन्छ। र हुन्छ समाजको पनि। यो सामान्यतालाई के आत्मसात् गर्ने हौं त, यो ठूलै प्रश्न तपाईंको भागमा पार्दैछु अहिलेलाई। म चाहिँ एकछिन टीभीमा भुलिएँ है - नामी नेतासँग नाम जोड़िएर परिचित भएका एक अपरिचित अपराधी भागेको ब्रेकिङ्ग न्यूज आइरहेको छ।

No comments:

Post a Comment