मुखपृष्ठ

Saturday, September 04, 2010

भानुहरू र पालाहरू

"भानु र पाला हेर्‍यौ?" कविता लामाले भनेकी हुनुपर्छ। अथवा कसैले। अझ, "सीडी निस्किएको छ त नाटकको" जनाउने समेत कविता लामा नै हुनुपर्छ। अथवा कोही अरू नै। "आम्मामा, हेर्नु है," यो पनि जोड़ेकी हुनुपर्छ तिनले। अथवा कसैले। त्यसअघि र पछि धेरैले धेरैपटक धेरै मौका सोधे "ओ, भानु र पाला हेर्‍यौ?" यो सुझाउ पनि सबैले नै जोड़े, "आम्मामा, हेर्नु है एकपल्ट चैं।" हरेकपल्ट मैले "अँह, हेरेको छैन नि...हेर्छु-हेर्छु" भन्दै आएँ। जतिपल्ट चर्चा भयो, त्यतिपल्ट मलाई यो नाटकको नामले नै एक किसिमको कुतकुती लगाइरह्यो। चिथोरिरह्यो चैतन्यको छाला। लख काटें - संयोजन अनौठो नै हुनुपर्छ। एकातिर भानु त अर्कोतिर पाला। संयोजन वा विभाजन? निर्माण वा विनिर्माण? शुरुदेखि नै मैले "हो"-को सट्टा "हुनुपर्छ-हुनुपर्छ" दोहोर्‍याएर आफ्नै निर्दोष स्मृतिमाथि शङ्का गरेको देखेको हुनुपर्छ तपाईंहरूले। यो 'हुनुपर्छ'-को पनि एउटा ठूलै आर्थ-सामाजिक कारण छ। स्मृति-हरण र स्मृति-विलोपको स्मरणयोग्य युगमा हामी बाँचिरहेको हुनु नै यो कारण हो। जब बलजफ्ती इतिहासहरू मरेको कुतर्क दिइँदैछ, जब लेखकहरूको मृत्युको घोषणा गरिँदैछ र जब ज्ञानको सट्टा सूचनाहरूको महाविस्फोट प्रायोजित गराइँदैछ, तब त स्मृति क्षणिक, अनिश्चित र अस्थिर हुन्छ नै। सङ्कटमा हुन्छ स्मृति। विस्मरण नै हुन्छ संसारको निष्ठूर र चिसो यथार्थ।
नाटकको गढ़ कालेबुङ। कालेबुङमै बनिएको गूड़ नाटक यो। कालेबुङमै यसपालि 'ऐनामा हेर्दा रामसाइँली'-ख्यात नाटककार सीके श्रेष्ठलाई पनि हेर्न पाइयो। धेरै दिनपछि। परा-यथार्थवादी चित्रकार साल्भाडोर डालीझैं नाटकीय जीवन गुजारिरहेका श्रेष्ठलाई हेर्नु र सुन्नु नै आफैमा नाटकीय अनुभव हुन्छ। नाटकीय प्रस्तुतिका लागि डालीले अचम्मको घुमाउरो जुँघा राख्थे। श्रेष्ठ राख्छन् पोनीटेल (घोड़पुच्छ्रे) केश। सन्तमय लाल लुगामा फेशनेबल स्नीकर। कपाल सेतो तर विचार तरुनो। तिनले "सामाजिकताको रेजिष्ट्रेशन रिनिउ गर्न भेला भएकाहरू हौं हामी" भनेर हँसाउँदै थिए। जे होस्, अन्तत: मैले सीडी भेट्टाएँ। हेरें भारतीय नेपाली नाटकको इतिहासमा एउटा माइलखुट्टी नाटक। समकालीन विश्वनाटकको तहमै पनि उभ्याउन सकिने यो नाटक हेरेर लेखक-कलाकार-निर्देशक ललित गोले जिनियस हुन्, त्यो देखेछु। साथै, नाटक हेरेर देखिएका दृश्यहरूसँगै देखेछु धेरै-धेरै (नदेखेर नदेखिएका र देखेर पनि नदेखिएका) थोकहरू।

म केही भन्दैथिएँ। अन्तत: मैले सीडी भेट्टाएँ। 'भानु र पाला - पार्ट टु' हेर्नु त हो तर कसरी, यही बिलखबन्दमा परिरहेको बेला। हतार-हतार हेरें। फेरि दोहोर्‍याएर-तेहेर्‍याएर हेरें। कस्तो जमाना, नाटक मञ्चमा नहेरेर सीडी, डीभीडीमार्फत् हेर्नुपर्ने। सीडी हो भने जहीँ पनि, जहिले पनि हेर्न सजिलो। तर अप्ठ्यारो के भने, नाटक मञ्चमा जीवन्त नै हेर्नुको मज्जको मर्मान्तक अन्त्य। तर नाटकले सीडीकृत भएर व्यापक प्रचार-प्रसार पनि पाउँछ। साथै, नजानिँदो तरिकामा यसरी जर्मन नाट्यकार बर्तोल्त ब्रेख्तको "एपिक-थिएटर" र "एलिअनेशन"-को नाट्य-सिद्धान्त पो सीडीकृत नाटकले अङ्गीकार गर्दै लगेको छ भन्ने लाग्छ। ब्रेख्त भन्छन्, दर्शक नाटक हेर्न पस्दा टाउको हलबाहिर राखेर पस्दैनन्। नाटक दर्शकले आलोचनात्मक दृष्टिले हेर्नुसक्नुपर्दछ। दर्शक नाटकको वातावरणमा डुब्नु हुँदैन तर दर्शक र मञ्चमाझ सधैं "दूरी" रहिरहनुपर्छ भन्ने 'एलिअनेशन'-को नाट्य-विचारको निर्वाह तिनले आफ्नै नाटकहरूमा गरे। पछि विश्वभरि ब्रेख्तलाई पछ्याउने प्रायजसो जनमुखी-जनवादी नाट्य टोलीहरूले यो नाट्य-विचारलाई प्रभावी र दक्ष ढङ्गमा प्रयोग गरिरहे। एकताका क्रान्तिकारी स्पिरिटका जनमुखी-जीवनमुखी मास्टरपीस गीत र नाटकहरू दिने 'इप्टा' यसको एउटा दृष्टान्त हुनुपर्ने।

आफ्नो नाट्य-सीपमार्फत् गोलेले मलाई जनलेखक लु शून सम्झाइरहेका छन्। लु शूनका 'एक पागलको डाइरी' र 'आ क्यूका कथाहरू' सम्झाएका छन्। अस्तित्ववादी अल्बर्ट क्यामुको विशिष्ट र कठिन नाटक 'क्यालिगला' सम्झाएका छन्। क्यामुका आत्मोन्मत्त राजा क्यालिगला र गोलेको नाटकका सत्ताच्युत नेता भानुभक्तमाझ एक किसिमको सदृश्यता छ, संवाद छ, सम्पर्क छ, लाग्छ। नेतृत्वशून्य, मूल्यस्खलित, युक्तिहीन र विसङ्गत दार्जीलिङे समाज र राजनीतिमाथि यति ठूलो र यति प्रभावी 'कालो व्यङ्ग्य' केवल नाटकैले गर्नसक्थ्यो, त्यसको हेक्का हुन्छ 'भानु र पाला - पार्ट टु' हेरेपछि। परिकल्पना, कला र प्रस्तुतिमा अब्बल यो नाटक आफैमा दार्जीलिङको 'स्वान-सङ्ग' (शोकगीत) भएको छ। अझ, दार्जीलिङे गीतको रिस समेत भएको छ। यो नाटकले समझौतापरस्त दार्जीलिङे भानुभक्ते र मिङमे नेताहरूको निरङ्कुश फरमानलाई एउटा चुनौति दिनु लगाएको छ आम पाला जनतालाई। पालाहरू भानुहरूलाई प्रश्न गर्छन्। हाक्की। भानुहरूलाई पालाहरूले स्पष्ट भनिरहेको भान हुन्छ- तपाईंहरू केहीजनालाई केही समय मूर्ख बनाउनुसक्नुहुन्छ तर सबैलाई सधैं त कहाँ र? नाटककै खड़ेरीमाझ उम्रिएको गोलेको यो क्याक्टस मास्टरपीसले दार्जीलिङे समाजको लुकुवा अन्तरविरोधलाई नाङ्गै पारेर दार्जीलिङलाई नै देखाउँदै भनेको छ, "लु हेर्, देखिस् त आफैलाई?"

कहिलेकाहीँ मिथक यथार्थ हुन्छ र यथार्थ मिथक। भानुभक्त र घाँसीको मिथकलाई पुनर्रचना गरेर पोख्त नाट्यकार ललित गोलेले त्यसको प्रतीक प्रसारण आम मान्छेको पात्र पालासम्म ल्याइपुर्या एका छन्। तर पहाड़े जीवनको अभिन्न अङ्गै बनिसकेको रक्सी बेच्ने पाला नै आम मानिसको प्रतिनिधि पात्र उभ्याइएकोले पाहाड़को अपरिहार्य यथार्थ रक्सी पनि नाटकको मूल मुद्दा नै भएको छ। भानुभक्त रक्सी पिउँछन्। पाला रक्सी सर्व गर्छन्। रक्सीपनको तहबाट उकासेर रक्सीलाई प्रतीकात्मक 'दार्शनिक व्यक्तित्व' दिएका रहेछन् गोलेले यहाँ। अगुवाहरूलाई जनताले सधैं ऐश र ऐयाशीको रक्सी सर्व गर्दै आउनुपरेको बाध्यताको सत्यापन पनि देख्न पाइन्छ नाटकमा। भानुहरू र पालाहरूमाझको यो द्वन्द्वात्मक सम्बन्धले नै अन्तरविरोधी समाजलाई ठेल्दै गतिशील बनाइरहेको छ। यो सामन्ती सम्बन्धको टुप्पो कहाँ छ, कहाँ छ फेद, यसो मस्तिष्कलाई तर्कमा अर्जापेर सोचको धारले अन्योलताको गला रेटिदिएर हेर्नु हो भने हेक्का भइहाल्दो हो।

समाज नाट्यशाला हो। यस नाट्यशालामा नाटकको पटकथा छ, संवादमालाहरू छन्, दृश्यहरू छन्, रङ्ग-प्रकाश-ध्वनि छन्, पात्र-पात्राहरू छन्, र सबैभन्दा मुख्य रूपले, मञ्च छ। अझै मुख्य रूपले नाटककार छ। त्यसभन्दा मुख्य रूपले छ नेपथ्य। दर्शक दीर्घाको मुखामुखी। मञ्चको ठीक पछिल्तिर। मञ्चको ठीक विपरीत। मञ्चको पूरक। मञ्चबाट छेलिएर। पात्र-पात्राबाट छेलिएर। दर्शकबाट छेलिएर। त्यहाँ त्यो छेलिएको नेपथ्य छ। नेपथ्यका इशाराहरू छन्। छेलिएका इशाराहरू बेला-बेला देखिन्छन् फिलिक-फिलिक। पिलिक्क हेर्छन् नेपथ्यका सङ्केतहरू दर्शकहरूतिर, जो जिउँदा छन्। जो जिउनुको आनन्द, कोशिश र बिस्वादमा छन्। जो जिउनुको सङ्घर्षमा जुधिरहेका छन्। सङ्केतले के सङ्केत गर्दो हो, इशाराले के इशारा गरेको हो, भन्न गाह्रो हुन्छ प्रायश:। नेपथ्यको नियन्त्रणमा चल्छ मञ्च। नेपथ्यले जे चाहन्छ, जसरी चाहन्छ, मञ्चले पनि त्यसै गरेको हुन्छ। नेपथ्यको उठबसमा चल्ने मञ्चले पात्र-पात्रलाई उफार्न चाहन्छ।

नेपथ्यमा छायाँ छ। गोले र तिनको नाट्यटोलीको नेपथ्यको छायाँले छेतछेती देखाएको छ आधापिल्ठो दार्जीलिङे राष्ट्रिय मुक्ति आन्दोलनको विगतको र वर्तमानको गाँठो परेर जेलिएको, कचल्टिएको विसङ्गतिलाई। पार्ट टु शुरु भइसकेको कुरा गर्छन् 'भानु र पाला - पार्ट टु' -भित्रै बुद्धिमान एक मत्थु पात्र। हत्तपत्त कालेबुङवासी मनोज बोगटीलाई फोनमा सोध्छु, "पार्ट वान पनि मञ्चित थियो त?" उ भन्दैछ, "थियो नि।" यता नाटक हेर्दा-नहेर्दै नाटकीय आन्दोलनको वास्तविक 'पार्ट टु' लगभग सकिएको जस्तो छ। एउटा खुल्ला रहस्यजस्तै। यस्तैमा जुरुक्क उठेर सोध्न मन लाग्छ, मुर्दा इतिहासको भारी घिस्याइरहेका पालाहरूको दिन आउला के त? उत्तर अहिले नै पाउनु-नपाउनुको अथाहको त्यो कुहिरो कुदिरहला हाम्रो पाइतालादेखि टाउकोसम्मको सिङ्गै अस्तित्वलाई बेर्दै र प्रश्नलाई नै घेर्दै। तर गोलेजी, हामी भानुहरूको र पालाहरूको 'पार्ट थ्री' चाहिँ पर्खिबसेका छौं है अहिले। व्यग्र भएर।

No comments:

Post a Comment