मुखपृष्ठ

Sunday, September 19, 2010

झ्याँक्री र दार्जीलिङे कवि एउटै?

प्रतीक रुम्बा अहिले दिल्लीमा छन्। जुँघाको युवा-रेखाझैं धारिलो छ युक्तिवादी विचार तिनको। खादीको खैरो पञ्जाबी र कुन्नि कुन ब्राण्डको नीलो जीन्स पहिरेका प्रतीक भारतको व्यस्त राजधानीका कुन्नि कुन-कुन बाफिला गल्लीहरू हुँदै कुन्नि कता गइरहेका छन् होला अहिले। भिरेर बिप्लवी झोला। आत्मविश्वासको चहकिलो आँखाले तिनी सामन्ती-पूँजीवादी दिल्लीको बौलाहा गर्मीमा केहीहरू हेर्न खोज्दा हुन्। केहीहरू खोज्न हेर्दा हुन्। तिखो-टर्रो कविता लेख्ने सुकान्तले झैं। तिनको यही एट्टिट्युडले तिनलाई कहिलेकाहीँ खरो र हठी समेत बनाइदिँदो हो। प्रतीकको पुस्ताका प्रतीकझैं युवाहरूको स्वाभिमान र अभिमानको धर्सा निकै पातलिएर जाँदो छ। मलाई लागिरहन्छ, सामाजिक सङ्क्रमण-रूपान्तरणको गतिशीलताको कोखले नै प्रतीक ब्राण्डका युवाहरूको यस्तो व्यवहार जन्माउँछ। त्यो अस्थिर युवा स्वरूप, जसको बारेमा स्थायी केही फट्ट भनिहाल्नु निकै गाह्रो हुन्छ।  
हेरिटेज हो दिल्ली। त्यो दिल्लीको ऐतिहासिक वर्तमान बालकोनीबाट संसार कस्तो देखिन्छ हँ? भारत नि, कस्तो देखिन्छ? सोध्नु छ भेटेपछि प्रतीकलाई। अझ सोध्नु मन हुन्छ, अमेरिका र नेपाल कत्रा-कत्रा, कस्ता-कस्ता र कता-कता देखिन्छन्? कश्मीर र दार्जीलिङ चाहिँ? दिल्लीले चलाउँछ भारत, तर देशै चलाउने दिल्ली नै पो देखिन्छ के दिल्लीबाट, यो पनि एउटा ठूलै प्रश्न हुनुसक्छ। आम दिल्ली जसले आम भारतझैं प्रत्येक दिन सङ्घर्ष गर्नुपर्छ जीवन र मृत्युको। प्रत्येक दिन एउटा युद्धै हुन्छ जसलाई। त्यो दिल्ली कहाँ र कस्तो दखिन्छ, जहाँ प्रतिदिन हजार दिल्लीहरू मर्छन् र जन्मन्छन् हजार दिल्लीहरू। "मेरा भारत महान्" र "जय हो" मात्र भनेर कहाँ भर्छ र पेट विश्वको बाक्लो यो देशमा, यो नगरमा जहाँ टीभी र मोबाइल फोनको दाम घटाउन तेल र चामलको दाम बढ़ाइन्छ।
फेसबुकमा विनोदले हालेको एउटा झरिलो कवितामाथि मनोज बोगटी र मेरो मन्तव्यमाथि उर्लेको चाखलाग्दो अनलाइन बहसमा सुत्त छिरेका प्रतीकले एक ठाउँ प्याच्च भनिपठाएका रहेछन् - दार्जीलिङे कवि र झ्याँक्री एउटै हुन्। काठमाड़ौंकी कुञ्जिनी शाक्य र यताका सिद्धार्थ स्याङ्देन, सुचन प्रधानहरू पनि जोड़तोड़ले सामेल भएका रहेछन् बहसमा। मार्क्सवादी दर्शन र यसको वर्तमान स्वरूप लिएर पनि धेरै तर्कनाहरू राखिएका रहेछन्। धेरजसो ठाँउ भने अन्योलता नै व्यक्त छन् यस मुद्दामा। तर्कातर्की निकै लामो भइसक्दा पनि मलाई चाहिँ हेक्का नभएको। पछि थाहा लागेपछि मात्र मन्तव्यहरूको बाढ़मा यसो पसिहेरें। सरलीकरण नगरौं है, सबै दार्जीलिङे कवि झ्याँक्री होइनन् भनेर मैले प्रतीकलाई सावधानी गराएछु। अझ पछिबाट उदीयमान देब्रेगामी बुद्धिजीवी टिका भाइ सोचको लचिलोपनको अपील लिएर बहसमा सामेल छन्। साहित्यलाई 'वैज्ञानिक दृष्टिकोण' (साइण्टिफिक-आउटलूक)-ले हेर्नुपर्ने खाँचो रहेको कुरो मैले झिकिदिएदेखि यता बहस लगभग ठप्प छ। सुचन र कुञ्जिनीले वैज्ञानिक चिन्ताधारामाथि गहिरो चासो देखाउँदै कुराकानीलाई अघि बढ़ाइनुपर्ने जोशिलो पैरवी गरिसकेका चाहिँ छन्। भर्खरै टिका भाइले बहसको निरन्तरतामाथि सवाल गरेको अपडेट आएको हो फेसबुकको न्युजफीडमा।   
उहिल्ये नै प्लेटोले समस्त कविलाई थुनामा हाल्ने सल्लाह दिएका थिए भने फेदेरिको गार्सिया लोर्का, अवतार सिंह पाशजस्ता कविलाई त हत्या नै गरिएको थियो। देवकोटा, पारिजात, नेरुदाहरू मानसिक अशान्तिले नै मरे। रहस्यमय मृत्यु र आत्महत्याले अल्पिएका कविहरूमध्ये पर्सी बिसी शेली र सिल्भिया प्लाथ प्रमुख छन्। त्यसै पनि कविहरूलाई धेरैले धेरै थोकसँग दँज्याएका छन्। उसो त केही 'र्‍याडिकल' बुद्धिजीवीहरूको जमातले दार्जीलिङे कविहरूलाई "पिँधै नभएको लोटा"-सँग तुलना गरेको समेत सुन्नुपरेको छ। दार्जीलिङका कविहरूलाई झ्याँक्रीहरूसँग तुलना गरेर उदीयमान बुद्धिजीवी प्रतीकले के बिगारे त, सोधिरहें पछिसम्म आफैलाई। लगभग म त सन्तुष्टै पनि भएँ प्रतीकको प्रतीकात्मक मन्तव्यसँग। एउटै नहुँदा-नहुँदै संसारका समस्त कवि र झ्याँक्री एउटै हुन् पनि। झ्याँक्री र कविको जन्म मानव सभ्यताको उषाकालतिर लगभग एउटै बेलामा भएको हो। त्यसबेला भाषाको भ्रूण सङ्केतभाषामा लाग्नथालेको हो। त्यसैले झ्याँक्रीको जादू र कविको कविता सहोदर र समकालीन हुन्। मानव समाजको विकासक्रममा चाहिएको विभ्रमको सामूहिक माग पूरा गर्न जन्मिएका जादू र कविता।
तर धर्मले अन्धविश्वासको धुरीमा मानव समाजलाई कावा खेलाइरहेको वस्तुस्थितिझैं जादूले भ्रमबाट जन्मेर भ्रममै मानव समाजलाई अल्झाइरह्यो। कविता यथार्थबाट जन्मेर भ्रममा पुग्ने र फेरि भ्रमबाट यथार्थतिरै फर्किने गतिकीमा जीवन्त रहिरह्यो। संवेदना र यथार्थको इलाकादेखि उता बुद्धिसम्मकै विज्ञानसम्मत यात्राले कवितालाई जिउँदो राख्यो। जादूले मानवीय कमजोरीको प्रतिनिधित्व गर्दै त्यसको भ्रामक मानसिक ओढ़ार तयार पार्‍यो। कविताले मानवीय ऊर्जाको प्रस्फुटन गर्दै त्यसको यथार्थिक मानसिक बाटो बनायो। जादू आँखा चिम्लाई हो, कविता आँखा उघाराइ। यतिखेर प्रतीक मुस्कुराइरहेको झझल्को भइरहेको छ।
केही समानताहरू हेरौं न त: झ्याँक्री अनौठो पहिरनमा हुन्छ, कवि अनौठो भावनामा हुन्छ। झ्याँक्रीले प्रकृति (जसलाई तपाईंहरू देवीदेउता भनेको सुन्नुहुन्छ)-को आराधना गर्छ। कविले प्रकृतिको गीत गाउँछ। झ्याँक्री झारफुक गर्छ, जहाँ रोगीले आफै निको हुने मानसिक प्रश्रय पाउँछ। कवि समवेदना व्यक्त गर्छ, जहाँ पीड़ितले कष्टसँग स्वयं लड़्ने प्रेरणा पाउँछ। झ्याँक्री पागलझैं शरीरले काम्छ, कवि पागलझैं शब्दहरूले उफ्रिन्छ। झ्याँक्रीले अछेता, फूलपाती, अण्डा, दुम्सीको काँड़ा, जन्तुको हड्डीजस्ता अर्द्धमूर्त्त औजार चलाँउछ। कविले कथा, विम्ब, रूपक, प्रतीकजस्ता मूर्त्त, अर्द्धमूर्त्त र अमूर्त्त औजार चलाउँछ। झ्याँक्री तन्त्रमन्त्रको भ्रम उत्पन्न गर्छ र त्यही भ्रममै सकिन्छ। कवि पनि कविताको भ्रम सृजना गर्छ र त्यही भ्रममै सक्रिय रहन्छ। वास्तवमा झ्याँक्रीको झ्याँक्रीपन र कविको कविपनको अस्तित्व समाजको मनोवैज्ञानिक भ्रमको नाभीबाट झाँगिएको हुन्छ।
तर यी समानताहरू हुँदा-हुँदै पनि कवि र झ्याँक्रीमा मौलिक, वस्तुवैज्ञानिक र बुनियादी फरकहरू छन्। जस्तै: झ्याँक्री उत्पादित भ्रम (सपना)-को उपभोगले मानिस सृजनात्मक रूपमा माथि उक्लन सक्दैन तर कवि उत्पादित काव्यिक भ्रम (सपना)-को उपभोगले सक्दछ। झ्याँक्रीको तन्त्रमन्त्रको वैज्ञानिक आधार छैन भने कविको आलापको समाजवैज्ञानिक आधार छ। आलाप, विम्ब, प्रतीक, शब्द, क्षमताले झ्याँक्री सीमित छ तर कवि छ निस्सीम। झ्याँक्री केवल दोहोर्‍याउँछ भने कवि सृजना गर्छ। झ्याँक्री स्थितिलाई नियन्त्रित गर्न उद्यत हुन्छ भने कवि गति जन्माउन व्याकुल रहन्छ। झ्याँक्रीको कल्पना र भ्रम उँधोतिर झर्छ, कविको उँभो चढ़्छ। झ्याँक्रीको कथा स्थिर छ, कविको गतिशील। झ्याँक्री प्रतिरूपक मात्र हो, कवि निर्माता। झ्याँक्री अन्योलताको खेती गर्छ, कवि सत्यको। झ्याँक्री प्रकृतिको, त्यसर्थ समाजको यथास्थिति चाहन्छ। कवि प्रकृतिको, त्यसर्थ समाजको परिवर्तन चाहन्छ। झ्याँक्री प्रकृतिको अङ्ग हो। त्यसैले उ प्राकृतिक छ। पाशविक छ। कवि प्रकृतिदेखि माथि उक्लिएको मानव समाजको अङ्ग हो। त्यसैले उ अप्राकृतिक छ। मानवीय छ।
अब के भन्ने त- कवि र झ्याँक्री एउटै हुन्? के भन्लान् प्रतीक? तपाईंहरू, के भन्नुहुन्छ? निचोड़मा मलाई चाहिँ भन्नु छ: झ्याँक्री र कवि एउटै होइनन्। फेरि निचोड़मा यो पनि भन्नु छ: केही उम्दा कवि छाड़ेर धेरजसो दार्जीलिङे कवि नै झ्याँक्री हुन्। कविताको यो नचाहिँदो बहुलतावादी बाढ़मा झ्याँक्रीझैं अन्योलता-अन्धविश्वास-रूढ़िवादको खेती गर्दै भाटगिरी, सत्ताशंसा र सङ्कीर्ण राजनीति गर्ने तथाकथित स्वनामधन्य कविहरूकै जगजगीमा कविताको गरिमामाथि प्रश्न उठ्नु स्वाभाविक छ। दार्जीलिङमा जे भइरहेको छ, त्यो कविताको सवालमा सकारात्मक छ जस्तो लाग्दैन। कविता कम र वाद-लेखनको प्रचारवाद बढ़ी चर्कियो। मौकावाद, पुरस्कारवाद, अनुकरणवाद, तेलघसाइवाद, अकादमीवाद, विसर्जनवाद, समर्पणवाद-ले हिलाम्य दार्जीलिङे साहित्यको वातावरण संसदीय सुँगुरे खोरभन्दा कम छैन। गुणात्मकताभन्दा मात्रात्मकताको होहल्लाबीच अल्पियो कविता। उत्कृष्ट कविता लेख्नुभन्दा, जसरी होस्, जस्तोसुकै होस्, भटाभटी कतिधेर कविताको किताब निकाल्नु, त्यसको होड़मा चेप्टियो कविता चाहिँ। कविता गर्ने काम सृजनात्मकता कम र आडम्बरे बजारे होड़ धेर भयो। कविता दर्शन कम र फेशन बढ़ी भयो।
यस्तै के-के-हरू देखिन्छ 'वैज्ञानिक-दृष्टिकोण'-ले हेरिएको देखाइमा दार्जीलिङको कवि-कविता। केही बेजोड़ कविहरू नगन्ने हो भने दार्जीलिङका बहुसङ्ख्यक कविहरूले जीवनजगत र सामाजिक अन्तरविरोधहरूका सूक्ष्म आयामहरूको अन्वेषण र अभिव्यक्ति गर्नुमा भन्दा वादै-वादको खिचड़ी पकाउनुमा र सतही-भावुक-कोरा जातिवादी नाराहरू घन्काउनुमै समय खर्चिएकोले दार्जीलिङे पाठकहरूको निम्ति कविता भनेको घिसापिटा, थोत्रो र बोरिङ 'पाठ' भयो। सस्तो भयो। रक्सीभन्दा अपोषक भयो कविता। टाढ़ो, अझ टाढ़ो हुँदै गयो कविता जनतादेखि। कविताको नाममा यतिखेर यस परिप्रेक्ष्यमा प्रतीकको प्रश्नमय बयान ठीकै लागिरहेको छ- दार्जीलिङे कवि र झ्याँक्री एउटै हुन्। प्रतीकले सधैं चर्को घामले डामिएको दिल्लीको कुतुबमिनारबाट दार्जीलिङको नित्य कठ्याङ्ग्रिने चिसो चौरास्तामा ठिङ्ग उभिएको कवितालाई कस्तो देखे होलान्, त्यो जान्ने इच्छा तपाईंहरूलाई लागेको छ कि? व्यक्तित्व-भञ्जन भोगिरहेको मेरो मगजको कानमा चाहिँ अघिदेखि कुञ्जिनीको फेसबुके भनाइ गुञ्जिएको छ-छ: दार्जीलिङका कविहरूमा अझसम्म तेस्रो-आयाम र लीला-लेखनकै छाप छ।    

No comments:

Post a Comment