मुखपृष्ठ

Sunday, September 26, 2010

आउनुहोस्, अनडु गरौं

गएको साताको एउटा साँझ सृजन समूहको आम सभा। केही वर्षदेखि गणतन्त्रको पक्षमा प्रतिवादको अभियानमा छ सृजन। वैचारिक घम्साघम्सीहरूबीच। पाँच बज्न अगाड़िको समय छ। सभा शुरू हुनअघि चिया पिउने सुरमा छौं- सर सुरजीत अधिकारी, साथी सुमन र म। साँझको रमरमले घेर्न थालेको बाघाजतीन पार्क अधबैंसे देखिन्छ। पार्क किनार ठेलागाड़ीको एउटा चिया दोकान। सुरजीत सरले काँधमा भिरेको लुगाको झोलाबाट केही कागज निकाल्छन्। एउटी उन्नाइस वर्षे युवतीले लेखेका बङ्गला र असमी कविता रहेछन्। नाम दुर्बा। दुर्बा तिनको क्लाएण्ट। कवि- राजनैतिक कार्यकर्ता बाहेक सर मनो-परामर्शदाता पनि हुन्। दुर्बा पेइङग गेस्ट बस्छे रे यहाँ सिलगढ़ीमा। घर असम। भर्खरै कलेज सिद्ध्याएकी। कम्प्युटर सिक्दैछे अहिले। पत्रकारिता अध्ययन गर्ने सुरमा छे। उसलाई कुनै मानसिक आघात पुगेको थियो। दुर्बाबारे यी तथ्य हामीले पाउञ्जेल पोख्त कथाकार विन्द्या सुब्बाको मास्टरपीस कथाकृति 'हस्पिस'-भित्रका मनोवैज्ञानिक पात्रपात्राहरू सल्याङमल्याङ गर्दै हुन्छन्। कस्तो शाब्दिक ऐक्य। नेपालीको दुबो। बङ्गलामा दुर्बा। असमीमा दुबोरी। सुरजीत सर र मैले दुबोको पारस्परिक भाषिक अर्थबोध साटासाट गर्दा यी भाषाहरूले एकार्कामा खुनै साटेकोझैं लाग्दैथियो। भाषाको सांस्कृतिक पक्ष। "लिनुहोस् चिया"- ठिटोले भनेछ। हामी हत्तपत्त आ-आफ्ना चिया लिन्छौं।

चिया बेच्ने ठिटो व्यस्त छ। चिया बनाउनु र बाँड़्नुमा। पैसा लिनु र फर्काउनुमा। गञ्जी र हाफप्याण्ट लगाएको छ। खिरिलो शरीरको त्यो ठिटोको हाउभाउ परिपक्व मान्छेकै छ। उसको किशोरपन उसले अघि नै कहीँ बन्धकी राखेर आएको छ मानौं। नमान्नु हो भने त उसको हातको चिया पिउनै साह्रो पर्नेछ हामीलाई। उसको बन्धकी उमेर, बन्धकी सपना र बन्धकी विपनाको पछि कसको हात छ- सोच्नअघि नै सरले काँधमा भिरेको लुगाको झोलाबाट केही कागज निकालेका हुन्। "असमी त बुझ्दैनौ, बङ्गला सुन" भनेर बङ्गला कविता सुनाउँदैछन्। चिया पिउँदै कविता सुन्दैछौं बाटोको हल्लाखल्लाबीच। यसरी पनि सुन्नु-सुनाउनु पर्ने कविता। तब कविता सड़कको, धुलोमाटोको हुन्छ कि। वास्तवमै सबै मान्छेको हुन्छ कि। सुन्दा-सुन्दै एउटा कविताको एउटा ठाउँले मेरो चेतनालाई तन्किन लगाइरहेको छ। एक ठाउँ दुर्बाले यस्तो लेखिछ- "तबुओ तोमार अतीतेर पाताय/ खुँजेछी तोमार भविष्यत्।" (तरै पनि तिम्रो अतीतको पन्नामा/खोजेकी छु तिम्रो भविष्य) कविता 'आगुनेर शिखा' (आगोको लप्का)-भित्र। समयको यस्तो पाको बोध कसरी आयो दुर्बामा, सोच्दैछु। दुर्बा, जसलाई म चिन्दिनँ। दुर्बाको कविसँग पहिलो भेट भयो यसरी। त्यो ठिटोको चिया दोकानमा।

माइक्रोसफ्टको अफिस सफ्टवेयरमा अनडु भन्ने निर्देश हुन्छ। त्यो निर्देश प्रयोग गरेपछि अघि गरिएको कुनै कामलाई मेट्न सकिन्छ। अङ्ग्रेजीमा डु भन्नुले गर्नु बुझाउँछ। अनडु भन्नुले नगर्नु। तर यहाँ यस शाब्दिक अर्थलाई अझ फैलावट दिँदा अनडुलाई गर्दै नगर्नु मात्र नभनेर अघि गरिसकिएकोलाई मेटाएर अघिजस्तो नगर्नु भन्दा कुराले खाप खान्छ। सोच्नुहोस् त, गर्दै नगर्नु र गरेपछि नगर्नुमा फरक हुन्छ नि। यहाँ त्यही गरेपछिको अक्रियाकै कुरा हो मैले झिक्न खोजेको। भारतीय समाज र विशेषतः दार्जीलिङे समाजमा यस्ता थुप्रै-थुप्रै डु-हरू देख्छु, जसलाई अनडु नगरिएकैले भूलहरूको, मिथ्याहरूको र अवाञ्छितहरूको थुप्रो चुलिँदै गएको छ। राजनीतिदेखि साहित्यसम्म, शिक्षादेखि संस्कृतिसम्म, सिद्धान्तदेखि संस्कारसम्म र विचारदेखि आचारसम्म। थुप्रै गरिसकिएकाहरू गरिसकिएपछि नगरिनुले ठूलै प्रतिबद्धता, इमानदारी र त्यागको माग गर्दछ। यो नगर्नुको गर्जो टार्ने मात्र कुरो होइन। हुनु भएन। गरिएका भूलहरूमा केही सतही 'सुधार' ल्याउने सहजी सुधारवादी कुरा होइन यो अनडुपछिको डु-को कुरा। आमूल आधारभूत नयाँ सूत्रदेखि गरिने युक्तिवादी गराइको कुरा हो अनडुपछिको डु।

जति जान्यो उति लाटा होइने एउटा दार्शनिक भनाइ अङ्ग्रेजी सङ्गीत दल 'इगल्स'-ले आफ्नो एउटा गीतमा हाम्रै निम्ति राखेको जस्तो छ। हाम्रो गर्नुहरूको थाकले वास्तवमै गर्नुपर्ने गर्नुहरू पुरिएको तपाईं देख्नुहँदैछ के? सदाको एउटा गहिरो चिन्ताको र ठूलै चिन्तनको विषय रहिआएको छ विमर्श -"अब के गर्नुपर्ने हो त?" इतिहासले कतातिर कोल्टे फेर्ला? कुन दिशामा बत्तिएर जाला इतिहास? कसरी फड़्को हान्ला इतिहासले? यी मामिला अब के गर्नु भन्ने यही चिरकालिक प्रश्नको उत्तरले तय गर्ने गरेको छ इतिहासको प्रत्येक चतुर टर्निङ पोइण्टमा। घुम्तीमा। आधुनिकवादी कवि टीएस इलियट इतिहाससँग धेरै चतुर चोरबाटो रहेको दावा गर्छन् आफ्नो कुनै कवितामा। यी चतुर चोरबाटोहरू यही अब के गर्ने भन्ने प्रश्नको हल निकाल्न नसक्दा जाति, समुदाय वा वर्ग विशेषले खोजेका सर्ट-कट बाटा हुन्, जुन बाटाले पुर्‍याउनु त पुर्‍याउँछन्, तर कहिलेकाहीँ बदनामीसहित। भारत नव अर्थनीतिको नाममा वैश्वीकरणको जालोमा पर्नु, भारतले ग्याट प्रस्ताव मान्नुदेखि लिएर नेपाल र भारतमाझको विषम सन्धि, दागोपापको समझौता र प्रस्तावित सेटअप इतिहासका यस्तै चोरबाटाहरू हुन्। जहाँ जबर्जस्ती शक्तिशालीले शक्तिविहीनलाई हिँड़्न कर लगाउँछ। किनभने सबै हिँड़्दा बाटो बनिन्छ। एक्लै हिँड़्दा दर्शन।

हावा कुन दिशामा बगिरहेको छ, त्यो जान्न सधैं आबहवाकर्मी चाहिँदैन भन्छन् लोक-रक् गायक बब डाइलन। त्यही एकातिर बगिरहेको हावाले नै मानव समाजका जटिल धेरै प्रश्नका उत्तर बोकेको कुरा पनि गर्छन् अर्को एक ठाउँ डाइलन। बिहानले नै बताइदिइहाल्छ दिन कस्तो जाला। हुनेहरू र नहुनेहरूको घम्साघम्सीमा नहुनेहरूले हुनेहरूको निम्ति प्रायजसो नै सधैं हारिदिँदै आएको इतिहास छ। त्यही इतिहासबाट वर्तमान र यहाँसम्म कि भविष्यको समेत लेखाजोखा पाउनसकिन्छ। डाइलनले यस्तै केही भन्न खोजेका हुन्। अब जोड़्नुहोस् त दुर्बाको अघिको त्यो वैचारिक दुबो सदृश कवितांशः अतीतको पन्नामा उभिएर भविष्य चिहाउने विचार।

कुरा यहाँ काव्यात्मकताको मात्र नभएर युक्तिको पनि त छ। यहाँ दुर्बाको काव्यात्मकताले अतीतको यात्राबाट भविष्यलाई चिहाइपठाउने एउटा असामान्य खाले फन्तासी दिएको छ। युक्तिले अतीत नै भविष्यको पाठेघर-कोख (म्याट्रिक्स) भएको यथार्थबोध गराइरहेको छ। भविष्य हेर्न अतीत हेरे पुगिजाने त होइन तर हेराइ खँदिलो, सही र वैज्ञानिक छ भने अतीत हेरेर भविष्यको आकारप्रकारबारे धेरै थाहा लागिहाल्छ। इतिहास त्यसैले महत्त्वपूर्ण। इतिहास त्यसैले मर्दैन। किनभने त्यसमा भविष्यको छाप अगावै छ। किनभने प्रत्येक वर्तमान आफ्नो छायाँरूपी इतिहास आफूसँगसँगै हिँड़ाएर हिँड़ेको हुन्छ। भविष्य कहीँ मरेको छ र मरोस् इतिहास? भूल सिकिएकाहरू, भूल सोचिएकाहरू, भूल गरिएकाहरू मेटाउनै सकिन्छ यदि त्यसको अनुभूति हुनसकेछ भने। यहाँ अलिक त इच्छाशक्तिको पनि कुरा छ। कनै भूलहरूको मेटाइ र त्यस्तै भूलहरू नदोहोर्याँउने प्रणले नयाँ भूल गर्ने सम्भावना निकै घटेर जान्छ। यद्यपि भूल त फेरि पनि हुनै सक्ला। तर त्यो भूल पहिलेकोझैं नहुने ग्यारण्टी रहनेछ। दैनिक जीवनमा समेत भूल हिँड़ेको सुधारिन्छ। कहीँ जाँदा गलत बाटो पक्रिएछ भने फर्किएर सही बाटो सोधखोज गरी त्यस बाटोमा हिँड़्न थालिन्छ। यो सत्य सामान्य जीवनमा पनि लागू हुन्छ। यही हो अनडु प्रक्रिया।

हाम्रो राजनैतिक जीवन, शैक्षिक जीवन, सामाजिक जीवनमा हामीले चाहेर वा नचाहेर धेरै अवाञ्छित गर्नुहरू गर्‍यौं। तीमा अब विरामचिह्न लगाइदिने इच्छाशक्तिको विकास हुन जरुरी भएको छ जस्तो लाग्छ। पोजिटिभ एटिट्युडको संस्कार पालेकाहरूले सहजै यो अनडु प्रक्रियालाई सम्भावित सही गराइ खोज्ने र सम्भावित सटीक गराइ गर्नेतिर लाग्ने अभियान बनाउन सक्नेछन्। केही नयाँ सिक्नुअघि त्यसबारे सिकिएका भूल सिकाइ पखाल्नु त्यो सिकाइको शुरुआती खुड़किलो हुन्छ। केही नयाँ काम गर्नु त्यो काम गराइको नाममा गरिएको भूल काम गराइ पखाल्नु पनि काम गराइको शुरुआती खुड़किलो हुन्छ।

हाम्रा व्यक्तिगत र समष्टिगत इतिहास छन्। मानसिक र चेतनागत इतिहास छन्। यी इतिहासहरूको भ्रमणमा गइरहनुपर्छ पटकपटक। औपचारिक इतिहास भ्रमणको सट्टा अनौपचारिक र जीवन्त भ्रमण। अतीतबाट सिकेर वर्तमानमा केही अनडुहरू हाम्रो भविष्यको नाम नहोलान्? कर्मको चकले वर्तमान लेखिरहेका हामीलाई डस्टर पनि चाहिएको हुन्छ। दुर्बाले झैं खोज्नु मन हुन्छ हाम्रा अतीतका पन्नाहरूबाट हाम्रा भविष्यलाई। यहाँ दुर्बाको दुबोजस्तै कवितांशले हाम्रो चिन्तनको माटोमा एउटा आह्वानकै दुबो रोपिदिएको अनुभव भइरहेको छ। आह्वानः आउनुहोस्, अनडु गरौं। सृजनको सभा सकिएको छैन अझ। मतविरोध र मतऐक्यहरूको टक्कर। बहस-अन्तरक्रियाहरूले केही निर्णय लिन खोजिरहेका छन्। सभाकक्षबाट निस्किएर गाड़ी भेट्ने हतारोमा कोर्टमोड़ ताकेर हिँड़िरहेका छौं हामी चाहिँ। दुर्बाको कविता सोच्दै मैले सुमनलाई मनमनै भनिपठाएँ- "साथी, के साह्रो मतविरोध। खै के होला र यसरी?" हतार-हतार मनमनै अनडु गरें र फेरि भनें- "होइन, लड़ाइँ सकिएको छैन। अन्तरविरोधहरूमाझ नै जसजसले जहाँजहाँबाट जसरी-जसरी आफ्नो हिस्साको लड़ाइँ लड़्दैछन्, लड़िरहनुपर्छ। जीवनको लड़ाइँ। स्वाभिमानको लड़ाइँ। मुक्तिको लड़ाइँ।"

No comments:

Post a Comment