मुखपृष्ठ

Saturday, October 02, 2010

जहाँ छ, त्यहाँ छैन

सम्भवतः यो आलेख सबभन्दा पहिला तिनले नै पढ़्नेछन्। एकाबिहानै चारै भाषाका प्रतिनिधि अखबार पढ़िसिद्ध्याएपछि शुरु हुन्छ तिनको दिनचर्या। सबैका भाइ गिरी तिनी। सूचना-तथ्यहरूको पावर-हाउस। कहीँ पनि जाँदा झोलामा किताबहरू र मस्तिष्कमा विचारहरू भरेर हिँड़्छन् तिनी। तिनी प्रायः भनिबस्छन्- जो जहाँ छ, उ त्यहाँ छैन। साँच्चै। हो त। जो जहाँ छ, उ त्यहाँ छैन। जे जहाँ छ, त्यो त्यहाँ छैन। साँच्चै। हो त। यसो हेर्छु, मेरो घर जहाँ थियो, त्यहाँ त छैन। हाम्रा बाजेहरू भारत-पाकिस्तान पार्टिशनको बेला पाकिस्तानको रावलपिण्डीबाट भारत पसेका रे। बाबा सानो हुँदा कश्मीर बसेका थिए रे। पछि खरसाङ पुगेका। अन्ततः सिलगढ़ी सरेका बाजेहरू। बाजे छैनन्। तिनलाई देख्न पनि नपाई म जहाँ छु, त्यहाँको उमेर, भूगोल, इतिहास र विचारको धरातल छाम्दै उभिएको छु। समयको यो मोड़मा। यसरी। यहाँ।

अहिले सुकनामा छौं। यसको केही वर्षपछि कहाँ हुन्छौं, म किटेर के भन्न सक्छु र? मेरो घर जहाँ छ, त्यहीँ कहाँ हुनेछ? यसो हेर्छु, मेरो अनुहार, आजभन्दा एक वर्षअघि जस्तो थियो, त्यस्तो कहाँ छ र? यसो हेर्छु, म आज जसरी कुराहरूलाई हेर्छु, जसरी बुझ्छु, त्यसरी कहाँ हेर्थें-बुझ्थें? आजभन्दा एक वर्षपछि कहाँ यस्तै चिन्तन प्रकिया हुनेछ र मेरो? मेरा बाजे-बाबाहरूको पालामा सिलगढ़ीमा दिउँसै चितुवा लाग्थ्यो भन्दा शपिङ मल, नर्सिङ्ग होम र मल्टिप्लेक्सहरूले खचाखच भरिँदै गएको 'कस्मोपोलिटन' सिलगढ़ीका धेरै वासिन्दा नै हाँस्नेछन्। हुनु र नहुनुको यो अन्तरविरोधमा नै गतिमान छ विश्व। केही कहीँ हुनु र त्यहीँ भएर पनि त्यहाँ नहुनु नै स्वकेन्द्रिक, आत्ममुखी र नाटकीय समाजको चरित्र हुन्छ।

पान चपाउँदै कतै गइरहेका, कतैबाट आइरहेका देख्थ्यौं कवि कालिकाप्रसाद सिंहलाई। अचेल देखिँदैनन् तिनी। देवकोटा सङ्घ ग्रामीण पुस्तकालयमा प्रायः भेट हुन्थ्यो हाम्रो। देवकोटाको 'मुनामदन'-बारे गहिरो चासोसँगै ज्ञानसम्म राखेका हिन्दीभाषी सर्जक तिनी। देवकोटाको अन्तरविरोधलाई समातेका कवि। 'मुनामदन'-कालिन कथालाई अन्योलतापूर्ण तिनी बाँचेको तिनको समकालिन समाजमा रहेको गज्याङमज्याङसँग दँजाएर हेर्ने संवेदनशील, भावुक र चिन्तनशील कवि। नैतिक पतनको यसखाले विकट सामाजिक सङ्कटमाझ कविले इमानदार भएर लेखिरहनु ठूलै चुनौती हो- तिनी भन्थे। आज कविहरू पूँजीवादको विज्ञापन लेख्दैछन्- तिनी कड़किन्थे। सतही भएको सामाजिकताप्रति तिनी क्षुब्ध रहन्थे। आत्मालोचनाको नाममा आफैप्रति पनि बढ़ी नै शङ्कालु भइसकेका कालिकाजी अतिशय आत्मविरक्ति भोगिरहेका थिए। डिप्रेशनै पो थियो कि त्यो? आफ्नै व्यक्तित्व र इमानदारीमाथि समेत बारम्बार प्रश्न उठाइरहन्थे। यदाकदा देखिने त्यो विरल हिम्मत थियो तिनमा।

बेलाबेला सोच्छु, यति बेजोड़ कवि कहाँ छन्? कहाँ गए? किन गए? तिनी अण्डरग्राउण्ड छन्? तिनमा कस्तो कुण्ठा आएको थियो कि हामी जब केही दिन अघिसम्म पनि तिनको अनुहार विरोधाभासयुक्त, विचलित र चिन्तित मात्र देख्थ्यौं? एकैसाथ आक्रोशित र निराश भएर देशबारे, समाजबारे, वर्तमान मान्छेबारे आलोचना बोलिरहेको सुन्थ्यौं। जनताको निम्ति लेख्ने-बोल्ने कवि-पत्रकार कालिकाजी कहाँ गए? "उन्हीँ में पहचाना जाउँगा"-जस्तो उम्दा कविता सङ्ग्रह दिने कविको पहिचान खोइ? पूँजीवादी समाजको उपभोक्तावादी संस्कृतिको राजनैतिक अन्तरविरोधलाई अनन्य अभिव्यक्ति दिँदै तिनले 'टेलिभिजन' कविता लेखे- "टेलिभिजनका दृश्यहरूमा जे-जे छन्/ घरमा छैनन्/ घरमा टेलिभिजन छ/ टेलिभिजनमा घर कहाँ छ?" जे होस्, सिलगढ़ीमै होलान् कालिकाजी। तर तिनी जहाँ भए पनि त्यहाँ छन् त?

बीसौं शताब्दीको पूर्वार्द्ध। हाइडेगरको घोषणाः उप-पारमाण्विक पदार्थकणको आवेग (पदार्थको द्रव्यमान र वेगको गुणनफल) र स्थितिको भेउ एकसाथ पाउन गाह्रो छ। भौतिक विज्ञानमा ठूलै आँधी आउँछ। सिङ्गो मानव समाजमा वस्तुहरूलाई हेर्ने, देख्ने र बुझ्ने प्रक्रियाले ठूलै फड़्को मार्छ। यसको ठीकअघि सापेक्षतावादका बिप्लवी वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले प्रेक्षक (घटनाका दर्शक)-को स्थान निर्धारण गरिदिएर शास्त्रीय भौतिकीलाई नयाँ आयाम थपिवरि गएका। भौतिकी स्थूलको प्रेक्षणबाट सूक्ष्मतिर लम्किन्छ। ठूलोदेखि सानोतिर। ठूलोभन्दा सानो झन् ठूलो, देवकोटाले समेत भनिदिन्छन् यता। साना कुराहरूले महत्त्व पाउन थाल्छन्। भौतिकीको ध्रुव सर्छ 'क्वाण्टम मेक्यानिक्स'-तिर। यद्यपि, अधिभूतवादीहरूले यस नौलो विज्ञानको जटिल व्याख्या-विमर्शहरूलाई अपप्रयोग समेत गरिरहेका हुन्छन्।

राजामहाराजाहरूको प्रशस्ति लेखनको प्रथाको विकल्पस्वरूप आम मान्छेहरूको कथा भन्ने वैज्ञानिक चेतसँगको इतिहासलेखन शुरु हुन्छ। रङ्गभेद विरोधी हब्सीहरूको नागरिक अधिकार आन्दोलन चर्किन्छ अमेरिकामा। किनारिएका, दबिएका, हेपिएका र बेचिएका हब्सीहरूको चहकिलो पदचिह्न परेर विश्व साहित्य, विश्व सङ्गीत र विश्व खेल जगत् जहाँ थियो, त्यहाँ रहँदैन। समयले यसरी कोल्टे फेर्दै जान्छ। धनी व्यापारीकी पत्नी मोना लिसाको चित्र बनाएर लोकप्रिय भएका लियोनार्डो द भिन्सीको रेनेसाँकालिन चित्रकला अघिको शास्त्रीयतावादी चित्रकलाभन्दा अघि गएझैं। पछि कपड़ा सिउने मानिस, शरीर बेच्न विवश महिलाहरू, पोलेको आलु खाएर बाँच्नेहरूको चित्र बनाउने प्रभाववादीहरू रेनेसाँका चित्रकारहरूभन्दा अघि आएझैं। प्रभाववादीहरूपछि आधुनिकतावादीहरू अझ अघि जान्छन्। लगभग विरामचिह्नै लाग्छ मिथक, महानायक र पराख्यानहरूको युगमा। ठूलोको नाममा बाँकी रहन्छन् त विश्वका महाशक्ति र विश्वयुद्धहरू मात्र।

जो जहाँ छ, उ त्यहाँ छैन। यो दार्शनिक अड़ानको वस्तुपरक चुरो कहाँ छ त, यसो सोचिहेर्छु। यी माथिका कुराहरूसँग जोड़िहेर्छु। विज्ञानले पनि कुनै वस्तु जहाँ छ, त्यहाँ नहुने नै कुरा गर्छ। त्यहीँ त्यसलाई भेटे पनि त्यसको भेट्नुमा भूलको मात्रा नाप्ने गरिन्छ। हेराइको भूल जति थोर, त्यति तपाईं निर्दिष्ट। यो अनिश्चयताकै निश्चिततालाई आधार राखेर हुनुपर्छ बालकृष्ण समले 'नियमित आकस्मिकता' दर्शन लेखेका। सूर्य नै जहाँ थियो, त्यहाँ छैन। सिरियस नामक तारातर्फ लम्किरहेको छ। ब्रह्माण्ड नै तन्किरहेको हब्बल टेलिस्कोपले पत्तो लागेपछि त जे जहाँ छ, त्यहाँ रहिरहन्छ कसरी भन्ने त? कोही म कहीँ उभेको छु भन्छ भने, उ पागल हो। किनभने, अघि नै उ त्यहाँबाट सरिसकेको छ कतै।

चीजहरूलाई यसरी गतिमा बुझ्न आवश्यक हुँदछ। ब्रम्हाण्डको केन्द्रमा पृथ्वी स्थिर छ भन्ने सामन्तमुखी चर्चको दबुवा धारणालाई चुनौती दिँदा कोपर्निकसले थुनुवा हुनुपरेको इतिहासको कलङ्क मेट्नै छ मानव समाजले सर्वत्र युक्तिको संस्कृति बसालेर। युक्तिको संस्कृतिः जहाँ न भूतलाई ठाउँ हुन्छ, न भगवानलाई। जहाँ न धार्मिक अतिवाद स्वीकार्य हुनेछ, न जातीय अतिवाद। जहाँ प्रत्येक कुरोलाई कारण र प्रभावको आलोकमा हेरिन्छ। जहाँ वस्तुहरूलाई एकार्कामाझको सम्बन्ध, सापेक्षिकता र निर्भरतामा बुझिन्छ। जहाँ कुराको चौड़ाइसँगै गहिराइको पनि मर्यादा राखिन्छ। जहाँ विज्ञानलाई इतिहास र इतिहासलाई विज्ञानको आँखाले हेरिन्छ। जहाँ साहित्यको रूखलाई उभ्याइन्छ समाजकै धरातलमा। जहाँ दर्शनका चाम्रा वाक्यहरू सललल बगेको खोलाझैं पस्नेछन् आम मस्तिष्कमा। जहाँ जीतलाई जीत र हारलाई हारै भनिनेछ। जहाँ शान्ति-रक्षाको नाममा गरिने राज्य प्रायोजित हिंसालाई शान्ति प्रक्रिया ठ्याम्मै मानिने छैन। गणतन्त्रको नाममा जारी इमर्जेन्सीलाई भण्डाफोर गरिनेछ। जहाँ विचारको पराधीनतालाई स्वाधीनता भनिनेछैन। युक्तिको संस्कृतिः जहाँ केही व्यक्तिको आर्थिक मुक्तिलाई समूहको आर्थिक मुक्ति ठान्न लगाइए पनि ठानिनेछैन। युक्तिको संस्कृतिः जहाँ न स्वर्ग छ, न त नर्क।

यहाँ गिरी दाज्युको राजनैतिक युक्तिले भन्न खोजेको कुरो योभन्दा अझ परको पनि हुनुसक्छ। जसले जे भन्छ, उ त्यसप्रति कम्मिटेड छैन। इमानदारीको कमीको कुरा। जनताको लड़ाइँ लड़्छु भनेर भारादार-ठिकादार-दलालहरूको लँड़ाइँ लड़िदिनुजस्तै। शिक्षाको दायित्व लिएर बस्ने अकादमिशियनहरूले शिक्षाको नाममा गुलामीको पाठ घोकाउने गरेकोझैं। जो जे हुँ भन्छ, उ त्यो वास्तवमा हुँदैन। ढोङको कुरा। अभिनयको कुरा। बाघको खाल ओड़ेको बिरालोको लोककथाजस्तै। अपराधीले नेताको कुर्सी सम्हाल्ने गरेको भारतीय राजनीतिको कुराझैं। जो जहाँ छ, उ त्यहाँ छैन। जुन विषयमा जे-जे मैले लेखें, कालान्तरमा लेखिसक्दा नसक्दै त्यहीँ हुने छैनन्। ती सरिसकेका हुनेछन्। उक्लिसकेका हुनेछन्। यी शब्दहरूभित्र भएका विचारहरू छाम्दाछाम्दै कहाँ जानुहुँदैछ तपाईं चाहिँ? मलाई नभने पनि कमसेकम आफैलाई त भन्नुहोस् है। कालिकाजी कहाँ हुनुहुन्छ, म चाहिँ अहिले पनि त्यही सोचिरहेको छु।

No comments:

Post a Comment