मुखपृष्ठ

Sunday, October 10, 2010

देवाल किन?

गहिरिँदै गएको छ रात। दिनभरि मान्छे, घरका भित्ता, रूख, गाड़ी, बाटोमा थुरिएका आवाजहरू अहिले विश्राम गरिरहेका छन्। घरैघरका छानाहरूको सिमानाले घेरिएको एक पाटा आकाश हेर्दै हुन्छौं। टिमटिमाइरहेका छन् ताराहरू। चहकिलो खगोलपिण्ड देखेर म भन्छु- "हेर्नोस् बुध ग्रह।" अहिले फूलका बोटहरूतिर हेर्दै सिकुवामा उभिएका टिका भाइ भन्छन्- "निकै भेला पार्नु भएको रहेछ नि।" मैले केही भन्नअघि नै मेरो अल्छेपनबारे थाहा पाइसकेका तिनले भनिहाल्छन्- "तर तपाईंले त होइन होला।" तिनको कुरालाई तर्कको जलप हालिदिन्छु- "सबै आमाको जोहो नि।" एकछिन मौनता। मोबाइलमा म्यासेजहरू हेर्छन्। त्यसपछि देवालतिर हेर्दै टिका थप्छन्- "मधेशतिर घरघरमा देवाल किन है? ...मलाई त सास थुन्छ देवाल देखेर।" विद्यार्थी आन्दोलन, मजदुर आन्दोलन, जनान्दोलनहरूका वर्तमान दिशा र सङ्कटहरू, युवाहरूको स्थिति, साहित्यमाथि हामीले कोलाज ढङ्गमा टुक्रा-टुक्रा, छोटो-छोटो बात मारिसकेका छौं यतिञ्जेल। भित्र पसेपछि म भन्छु- "कस्तो सञ्जोग, हेर्नुहोस् न, मैले पनि यसपालि देवालमाथि नै लेख्दैछु।" लेख्नथालेको यसपालिको कालबोधको तलको आरम्भिक अंश तिनलाई देखाउँछुः

कस्तो होला? एउटा यस्तो सपना देख्नु। हामी कहीँ जाँदै गरेको हुनु। जहाँ-जहाँ पनि जाँदैछौं, त्यहीँ-त्यहीँ जङ्गलहरू हुनु। ती जङ्गल एक-एक गर्दै मान्छेको बस्ती, गाँउ र शहरहरूमा फेरिँदै जानु। हाम्रो त्यो जानुको कुनै नाम हुनु। त्यो हिँड़ाइ यायावरको हिँड़ाइ हुनु। हामी कहीँ एक ठाउँ अल्झिनु र फेरि हिँड़्नु थालिहाल्नु। कहीँ सुत्त हराउनु। कहीँबाट फेरि फुत्त निस्कनु। क्रमशः हर दिशा फैलिँदै-फैलिँदै जानु हाम्रो हुनुले। त्यो हिँड़ाइको कुनै केन्द्र नहुनु, कुनै किनार पनि नहुनु। त्यो सपनाबाट फुत्रुक- फुत्रुक उफ्रिएर हामी विपनामा हिँड़्न थाल्नु। सपनाबाट बाहिर विपनामा आएर हेर्दा त्यो सपना पनि अर्को एउटा विपना देख्नु। सपनाको यो वृत्तान्त तर विपना नै हो मानव समाजको। सपनैजस्तो लाग्नसक्छ इतिहास। तर त्यो विपना नै हुन्छ। समयको बाटोमा पछि छाड़िएको घुम्तीझैं छाड़ेर आइएको ठाउँमै उभिरहेको। सामूहिक चेतनाको नदी भएर बगिरहेको। यसरी हामी जाँदा-जाँदै हजारौं, लाखौं, करोड़ौं बाटोहरू बनिनु। हामीले बाटो-बाटो प्रश्नचिह्नहरू भेट्नु। प्रश्नहरू जसले डाम्छन्। डस्छन्। चिथोर्छन्। चिमोट्छन्।

एउटा प्रश्नले मेरो खेदो गरिरहन्छ सधैंजसो। छायाँजस्तै। जबजब म मेरो घरको देवाल देख्छु। मेरा छिमेकीहरूको घरको देवाल देख्छु। जहाँ-जहाँ जहिले-जहिले जो कसैको पनि घरको देवाल देख्छु। यो प्रश्नले मलाई सताइरहन्छ। आखिर मान्छेले किन देवाल बनायो? वास्तवमै देवालको खाँचो किन पर्योल त? आरम्भिक दिनहरूमा वन्य जन्तुहरूको आक्रमणको डरले उसले देवाल बनाएको हुनुपर्छ। घर त छँदै थियो उसले बनाएको। तर घरले पनि पूर्ण सुरक्षा दिन नसकेकोले नै हुनुपर्छ, मान्छेको मनमा देवाल ठड़्याउने विचार पलाएको। यसरी एउटा अभयदान नै दिएको हुनुपर्छ देवालले मान्छेलाई। मान्छेको प्रकृतिसँगको सङ्घर्षमा जन्मिएको देवाल आज केको प्रतिरूपमा खड़ा छ त प्रत्येक घरलाई घेरेर घरको वरिपरि? देवाल आज जहाँ-जहाँ जसरी छ, के त्यस्तै हो त मान्छेले चाहेको देवाल? यो एउटा गतिलै दार्शनिक विमर्शको विषय हुनुपर्ने हो लाग्छ। घरका भित्ताहरूको सुरक्षा घेरोलाई बाह्य रूपमा अझ बलियो पार्न ठड़्याइने देवालमा मानव इतिहासको कथा लुकेको देख्छु म। कथा मौन छ देवालजस्तै। यसलाई सुन्ने साधना उति सजिलो अनुशीलन त छैन नै।...

लेखिसकेको यति देखाएको हुँ टिकाजीलाई। त्यसपछि थपिएका यी शब्दहरू तल राखिदिएको छुः

...विकासक्रममा बुद्धिको विकाससँगै प्रकृतिबाट छुट्टिने र प्राकृतिक कोपबाट आत्मरक्षा गर्ने आवश्यकताको क्रमलाई पछ्याउँदै मान्छेले गरेका माइलखुट्टी आविष्कारहरूमध्ये एक देवाल पनि। प्रकृतिमा बसेर प्रकृति नै भइरहेको भए मान्छे बाँदरको बाँदर नै त रहिरहने। गाँस-वासको स्थायी चाँजो मिलाउन मानवले समाजको स्थापना गर्न प्रकृतिमै रही बिस्तारै प्रकृति विमुख हुने बाटो हिँड़्यो। यसै विकासक्रमको सिलसिलाको एक कड़ी देवाल। प्रकृतिको नियन्त्रणबाट एकप्रकारको मुक्तिको उपाय। प्रकृतिका प्रत्यक्ष एजेण्टहरू घाम-पानी, जानवरहरू। देवाल तिनीहरूबाट एकथरीको विच्छिन्नता। तिनीहरूप्रति एकथरीको चुनौती। प्रकृतिको काँचो, हिंस्रक, अचेत, जङ्गली व्यवस्थाको विकल्पस्वरूप मान्छेले आफै खोज्नु र जोहो गर्नुपरेको मानवीय समाज व्यवस्थामा देवाल यसरी एकथरीको खोज, इतिहास र धरोहर भएर अघि आयो।

मान्छेलाई देवालले मान्छे बनायो। मान्छे जानवरहरूबाट फरक हुनु वाञ्छनीय थियो उसको अस्तित्वको निम्ति र यही छुटानामको आवश्यकताले गर्दा उसले सिर्जना भाषा, गीत, जादू, कविता, वैज्ञानिक सोचको सिर्जना गर्नुपर्ने भयो। यही क्रममा उ सर्जक बन्यो। त्यसो र जानवरपनबाट चुँड़ियो उ सिर्जनकर्मले पनि। त्यसैले पनि सिर्जनालाई स्वैरकल्पना, फन्तासी, लीला, भ्रमहरूको अमूर्त्त र अर्थहीन कसरत नभएर मानवीय आवश्यकताको वस्तुगत स्थितिमा चलायमान अप्राकृतिकरणको माध्यमको रूपमा ठम्याउन जरूरी हुन्छ।

घरलाई घेर्ने देवालले त देशसम्मै घेर्न पनि पुग्यो। सम्झिनुहोस्- चीनको महान् देवाल। उपग्रहले आकाशबाट पृथ्वीतिर हेर्दा सबैभन्दा छुट्टै देखिने र चिनिने चीनको देवाल। पाँच हजार पाँच सय फीट लामो त्यो देवाल। त्यसपछि सम्झौं बर्लिनको देवाल। शीतयुद्धको समाप्ति र उदारीकरणको युगारम्भमाझको सङ्क्रमण गराइराखेर ढलेको बर्लिनको त्यो देवाल। यस्ता अझै थुप्रै देवाल छन् विश्वभरि। देखिएका र नदेखिएका। जुन देवाल खड़ा गरिँदा वा ढालिँदा खबरमा आएका र नआएका। तर मानव समाजले प्रकृतिसँगको दूरी स्थापनामा खड़ा गरेको देवालजस्तै एउटा अर्को खाले देवाल पनि त खड़ा गरेको हो आदिकालतिर नै। मान्छे-मान्छे माझको देवाल। जुन देवाल अझ अग्लो, अझ बलियो र अझ प्रोमिनेण्ट बन्दै गइरहेको हेक्का हाम्रो आ-आफ्नै बौद्धिक उचाइ र मानसिक गहिराइबाट भइरहने गर्छ।

तर के देवाल साँच्चै छ त? मान्छे-मान्छेबीचको त्यो देवाल छ नै भने पनि कहाँ छ त? सोध्नै सक्छ कसैले। मान्छे-मान्छेलाई जोड़्ने सूत्र कमजोर हुँदै आएकोले क्रान्ति आउँछ भन्ने यहुदी कवि जोसेफ बोसोभरले यही देवालको उपस्थितिले मानवीय सूत्र कमजोर बन्दै गएको सङ्केत दिएका हुन्। सामाजिक जीवनका भौतिक स्थितिहरूमा मानवीय विभेदलाई स्थापित गरी अदृश्य रूपमा खड़ा छ त्यो देवाल। मनमा, चेतनामा, विचारमा झन् नदेखिने गरी खड़ा छ त्यो देवाल। देखिनेभन्दा नदेखिने झन् जोखिम। छाम्नुसकिनेभन्दा छाम्नै नसकिने देवाल भ्रम नभएर पनि भ्रमजस्तो। यही देवाल मान्छेको जीवनमा, मनमा र विचारमा खड़ा छ, जसले उसलाई हुनेहरू र नहुनेहरू, चुसिमाग्नेहरू र चुसिखानेहरू, ठगिमाग्नेहरू र ठगिखानेहरू, लुटिमाग्नेहरू र लुटिखानेहरू, पाउनेहरू र नपाउनेहरू, जान्नेहरू र नजान्नेहरू, जित्नेहरू र नजित्नेहरूका दुइ अलग कित्तामा हाल्छ। उ पर्नैपर्छ कुनै न कुनैमा। उसले पर्न नचाहन सक्छ तर परेकै हुन्छ देवालको विभाजनीकरणको एकांशमा।

पहिले-पहिले देखिने पारेका थिए मानव समाजको देवाल खड़ा गर्नेहरूले। अचेल देवाललाई सक्दो प्रत्यक्ष नदेखिने पार्छन्। खटिखानेलाई चुसिखानेको निम्ति खट्नु छ। देवाल नदेख्ने भएछ भने खटिखानेलाई आफूमाथिको शोषणको हेक्का रहँदैन। अप्रत्यक्ष रूपले आफूलाई दल्ने, हेप्ने कित्ताकै जीवन दर्शनलाई उसले गुणगान गर्छ। त्यसकै निम्ति लड़्छ। ज्यानसमेत दिन्छ। जति उ अनभिज्ञ, त्यति देवाल बलियो। जति देवाल बलियो, त्यति शोषित शोषित रहिरहने। यसो सोच्छु, देवाल त तोड़ेकै राम्रो। शिक्षकहरूले उत्पीड़ितहरूलाई दिएको शिक्षाशास्त्र उत्पीड़ितहरूको नरहेकोले नै पिङ्क फ्लोयडले शिक्षकहरूलाई मोठमा त्यही देवालकै उचाइ बढ़ाउने इँटा मात्र भएको आरोप प्रसिद्ध गीत "अनोदर ब्रीक इन द वाल"-मा लगाएको हो।

सारा विश्व गुमाइपठाएको आम मान्छेले फेरि यसमाथि विजय प्राप्त गर्नु हो भने तोड़्नैपर्छ यो देवाल। मानसिकताको देवाल, चिन्तनको देवाल, जातको देवाल, लैङ्गिकताको देवाल, धर्मको देवाल, शिक्षाको देवाल, अधिकारको देवाल। सबभन्दा बलियो अर्थनैतिक देवाल। के तपाईं देवाल देख्नुहुँदैछ? टिकाजीको सास थुन्छ देवाल देखेर। तिनी राजनैतिक रूपले परिपक्व युवा। तिनी परिपक्व त्यसैले सास थुन्छ। के तपाईंलाई अझै सञ्चै छ त? यो यति लेखिसक्दा टिकाजी हुनुहुन्न यहाँ। तर जहाँ पनि छन्, तिनले देवाल तोड़्ने कुरै गर्नेछन्। रात हिजोजस्तै गहिरिसकेको छ। प्रश्न पनि गहिरै त छ- के तपाईंलाई अहिलेसम्म सञ्चै छ? साच्चै? यसपालि कालबोध लेखेर सन्तुष्टि छैन। फेरि एकपटक बाहिर निस्किन्छु। त्यो हिजो हामीले हेरेकै देवाल हेर्छु। फेरि एकपटक।

No comments:

Post a Comment