मुखपृष्ठ

Sunday, October 24, 2010

ऐनामा हेर्दा

यसपालिको यात्रामा पनि देख्न पाइयो यो सन्देश। गाड़ीमा चढ़्दैपछि यो सन्देश देख्छु। हरेकपालि पढ़्छु र हरेकपालि सोच्छु पनि। यस सन्देशसँग गाँसिएर बिटिटि आउने गरेको विचार- शृङ्खला जहिले पनि गाड़ी चढ़ेपछि मेरो धुरी वरिपरि बेह्रिने गर्छ। लूकिङ ग्लास बनाइँदा यो सन्देश प्राविधिक उद्देश्यले नै छापिएको हुन्छ। वाहन दुर्घटनाबाट जोगाउन। वस्तुलाई खुम्च्याएर सानो देखाउने उन्नतोदर (कन्भेक्स) डल्ले ऐना छ गाड़ीमा। त्यही ऐनामा लेखिएको छ यो सन्देश।

देख्दामा सोझो तर ठम्याउँदा गम्भीर लाग्ने यो सन्देशले उदाङ्गो पारेको चेताउनी केवल गाड़ीका माननीय चालकका लागि मात्र हो सम्झिएर हामी विषयबाट सहजै छुटकारा पाउँदा हौं। तर मैले त धेरैचोटि यो सन्देशलाई केही घण्टाको सामान्य यात्रादेखि दैनिक र डल्लै जीवनसम्म तन्क्याएर ओल्टाइपल्टाइ हेरेको छु। यहाँ तपाईंहरूलाई पहिल्यै खोलेर भनुँ - मेरो लागि यो साङ्केतिक सन्देशको प्राविधिक उद्देश्य गौण छ, दार्शनिक उद्देश्य भने मुख्य। फेरि एकपल्ट पढ़्छु गाड़ीको त्यो सन्देशः अब्जेक्ट्स इन मिरर आर क्लोजर द्यान दे अपिअर। ऐनामा चीजहरू देखिएकोभन्दा अझ नजिक छन्।

गाड़ीको ऐनामा प्रतिफलित विचारको ऐनाबाट यस सन्देशको स्वरूप र अन्तरवस्तु चिहाउने गर्छु। ऐनामा हेर्दा ऐनाबाट देखिनेहरू त हेर्छु नै। मेरो कौतुहल चाहिँ नदेखिनेहरू पनि हेर्ने चेष्टा गरिरहेकै हुन्छ सँगसँगै। त्यसो त सन्देशभित्रको अर्थ कोट्याउँदै भाषाविज्ञानसम्म पुग्न सकिँदो हो। वाक्यको छाला, त्यसपछि बोसो चिर्दै रानीमासुसम्मै। भाषाको दर्शनसम्म पनि। कहिले अर्थको अर्थ पाउँछु। कहिले अर्थको अनर्थ। अर्थ र अनर्थ दुवैलाई जोड़ेर पनि हेर्छु 'डल्लै अर्थ' बुझ्ने कोशिशमा। विचारको कुन-कुन किनारसम्म पुग्नु सकिन्छ? कुन-कुन किनारको जँघार तर्न सकिन्छ? कुन-कुन किनार कोर्न सकिन्छ? सबै सोध्न र सोच्न लगाइबसेको हुन्छ अर्थको खोजाइले। त्यसैले खोजीको गुण नै मलाई त कहिलेकाहीँ मानव सभ्यताको अनन्य, मौलिक र उत्प्रेरक मानवीय गुण हो भन्ने लाग्छ।

रहस्यजस्तो, कुनै गाह्रो पज्जलको प्रवेशद्वारजस्तो ऐना। विम्बहरूभित्र ऐनाले हजार-हजार विम्ब, ती हजार-हजार विम्बभित्र अझ हजार-हजार विम्ब लुकाएर राख्छ। फेरि कवितात्मक पनि छ ऐना। कथात्मक पनि। कुनै पनि वस्तुको प्रतिरूप, प्रतिविम्ब देखाउने यो ऐना नहुँदो हो त अरूको अनुहारको कलङ्क देख्ने मान्छेले आफ्नो अनुहारको कलङ्क कसरी देख्थ्यो होला? आफूभित्रको रिस, डर, हिंसा, विषाद, खुशी, उत्तेजना उसले कहाँ गई केमा हेर्नु? एस्थेटिक्स वा सौन्दर्यबोधको उत्स ऐनामै फेला पार्न सकिन्छ। सौन्दर्यशास्त्रकै उपकरणजस्तो लागे पनि ऐना वास्तवमा यथार्थको बोध गराउने ऐतिहासिक यन्त्र हो। सौन्दर्यबोधको आवश्यकताबाट जन्मिएको हो लाग्ने ऐनाले अन्ततः मान्छेलाई सत्यको जाँचपड़तालसम्म त पुर्या्उँछ नै। रूपसँग जोड़िएको ऐनाले अन्तरवस्तुसम्म पुर्यातएरै छाड़्छ। त्यसर्थ, रूपवादी लाग्ने ऐना खासमा यथार्थवादी छ। इतिहास यस्तै एक अस्थिर ऐना न हो। साहित्य-कला यसरी समाजको गतिवान ऐना त हो। वास्तवमा मानिसहरू, संसारका वस्तुहरू सबै एकार्काका ऐना हुन्। त्यसैले सबैथोक ऐना। यो पृथ्वी नै ऐना जूनका लागि। जून जसरी पृथ्वीको लागि ऐना हो।

ऐनामा हेर्दा ऐनाबाट हेरिपठाउँछु म गाड़ीले कुल्चिएर छाड़ेको बाटो। छाड़िएको बाटोका चिनिने-नचिनिने किनारहरू। बाटोछेउका अस्थिर लाग्ने रूखपात-खोलानाला। पछि कुद्दै गरेका देखिने गाउँघर। दोकानपाट र विज्ञापनका बोर्डहरू। पछिबाट पछ्याउँदै हाँकिएर आइरहेका गाड़ीहरू। गाड़ीले पछि छाड़ेका मान्छेहरू। यी त भए देखिनेहरू। नदेखिनेहरू चाहिँ? ती कल्पन्छु। कल्पन्छु बाटोमुनिको धरतीको उम्लिरहेको कोख। रूखपातभित्रका लाखौं जङ्गल जन्माउने क्षमताहरू। गाँउघरका गाढ़े घाउझैं समस्याहरू। विज्ञापनका झूठहरू। हाँकिएर आएको गाड़ीको चालकको हाँक र होड़को निरर्थकता र सार्थकता। मान्छेका डरहरू र साहसहरू। उसको विवेक र मूर्खता। उसका जीतहरू र हारहरू। ठीकहरू र भूलहरू। यसरी ऐनैले दिन्छ हेर्नुलाई नयाँ हेर्नुहरू। हेर्नुलाई हेर्ने र हेरिनेको सिमानाका विस्तारहरू र आयामहरू दिँदै मनावीय सामान्य काम 'हेर्नु'-लाई गौरवबोध दिन्छ ऐनाले। सोच्नुहोस् न, हिटलरले ऐना हेर्दा आफैलाई कस्तो लाग्दो हो?

वस्तु आफैमा छ तर हेराइको कोण (दृष्टिकोण)-ले मात्र देखिन्छ वस्तु त। लोकप्रिय जादुगर डेभिड ब्लेनले देखाएको ठाड़ै उड़्ने जादू 'लेभिटेशन' यही हेराइको कोणको कौशलगत प्रयोग हो। मतान्तर, सन्दर्भान्तर, विषयान्तर, भाषान्तर र अर्थान्तर गराउँछ हेराइको कोणले नै। फोटोग्राफी-सिनेमाटोग्राफीमा यही हेराइको कोणको अन्तरले एउटै वस्तुलाई विभिन्न आकारको देखाउन सकिएको रहेछ। 'पर्सपेक्टिभ डिस्टर्शन' भनिन्छ यसलाई। यही हेराइको कोणान्तरले उत्तरी भारतेहरू रामलाई नायक देख्छन्। दक्षिणी भारतेहरू रावणलाई। सर्वहाराहरूका लागि स्ट्यालिन, पोलपट र माओ क्रान्तिकारी नेता दरिए। बुर्जुआहरूका लागि बदनाम नेताहरू। राति भागिरहेको चोरको लागि टहटह जून दुश्मन हुन्छ। खेदिरहेको पुलिसको लागि साथी। सबैले आ-आफ्नो ठाउँबाट हेर्छन् र हेर्दा जे देख्छन्, त्यो त्यहीँ र त्यस्तै हुँदैन। आइन्स्टाइनको सापेक्षिकताको कुरा यो। जीवन, समाज सबै सापेक्षिक छन्। गतिमा हेर्नुपर्ने जे पनि। जो पनि।

त्यसैले म त ढुक्कसँग भन्छु, अमेरिका जहाँ छ, भारतदेखि अझ नजिक छ। उसका रितिनीतिहरू पनि नजिक छन्। दिल्लीदेखि तकभर अझ नजिक। चीन र सिक्किम जति दूरीमा छन्, त्यो दूरी अझ कम। सिलगढ़ीदेखि सिङ्गुर कति टाढ़ो र? दार्जीलिङ र जङ्गलमहल छेउछेवै हुन्। दूरीहरूको अतिकरण र न्यूनीकरण भेगिरहेको समाजमा छौं हामी। त्यसैले दूरीको सही नाप लिने काम गाह्रो, जोखिमपूर्ण र चुनौतीले भरिएको छ। दूरीको धारणाले यदाकदा धोका दिन्छ। दूरी जति छोटो, त्यति लामो हुनुसक्छ। दूरी जति लामो, त्यति छोटो हुनुसक्छ।

दूरीको यो विलोम चरित्रले नै मान्छेलाई दुस्साहसहरू गर्ने साहस पनि मिलेको हो। लक्ष्यप्राप्ति जति नजिक लाग्छ, अझ नजिकिन्छ त्यो मनोबलले। समस्याले जति छेउबाट गिजोलिरहेको भान हुन्छ, त्यसभन्दा बढ़ी छेउबाट त्यो हाबी हुन्छ। समाधान पनि त्यति नै छेउमा हुनेगर्छ। हामीलाई छेउछाउ घटिरहेका घटना छेउमै छन् लाग्छ मात्र, तर ती घटनाको छायाँ समेत भौतिक रूपमा नपरेकै ठान्छौं। तर हामीलाई टाढ़ाका घटनाले छोएका त छन् नै, नजिककाले अझ बढ़ी छोएका छन्। चाहे त्यो घटना सामाजिक होस् वा सांस्कृतिक। अर्थनैतिक होस् वा राजनैतिक। किनभने, न त पानी एक ठाउँ जमिरहन्छ। न आगो एक ठाउँ सल्किबस्छ। सबै सर्छ। सरिबस्छ।

ऐनामा हेर्दा मैले सिकिराकेको कुरा यति नै हो। तपाईंको साथी जहाँबाट तपाईंलाई अँगालो हाल्न आइरहेको देख्नुहुन्छ, उ त्यहाँदेखि अझ नजिक छ। तपाईंको दुश्मन जहाँबाट हातमा हतियार लिएर तपाईंतिर झम्टिरहेको छ, उ त्यहाँदेखि अरू नजिक छ। त्यसैले सावधानः अब्जेक्ट्स इन मिरर आर क्लोजर द्यान दे अपिअर!

No comments:

Post a Comment