मुखपृष्ठ

Saturday, October 30, 2010

लाट र स्याल्याम्याण्डर


   गाँउलाई सञ्चो छैन
एकक्षण पनि।...

...गाँउलाई अप्ठ्यारो छ
गाँउमा अप्ठ्याराहरू छन।
तोरीबारीको महकभन्दा समस्याहरूका घाउ
तेज छन्।

यसपालि लाटपञ्चरबाट फर्केपछि एकप्रकारको मिठास पनि रहिरह्यो। एकतमासको अमिलो पनि। सरोज गिरीले केही वर्षअघि तिनको विद्यार्थीकालमा एउटा स्मरणीय लेख छपाएका थिए 'सुनचरी'-माः "लाटबाट फर्केपछि।" दिल्ली विश्वविद्यालयका प्राध्यापक गिरी अन्तरराष्ट्रिय स्तरका एक र्‍याडिकल राजनैतिक विशेषज्ञ-चिन्तक। माओवादी आन्दोलन र भारतीय राजनीतिको प्रवृत्ति, अन्तरविरोध र दिशामाथि गहिरो पकड़ राख्छन् गिरी। भारतीय राजनीतिको उम्लिँदो अजायबघर मानिन्छ जेएनयु-लाई। त्यहीँबाट तिनले एमए र पीएचडी गरेका। विदेशतिर तिनलाई वार्ता दिन निम्तो भइरहन्छ। कति छिटो लाट (लाटपञ्चरको बोलाउने नाम)! लाटले तिनलाई सुन्न निम्त्याएको थियो तिनी विद्यार्थी छँदै। लाटबाट सिलगढ़ी फर्किएपछि लेखेका थिए त्यो लेख।

समुद्रतलबाट ४ हजार ५ सय फीट माथि प्रकृतिको सौन्दर्य छर्दै चुपचाप ठिङ्ग उभिएको लाग्छ लाटपञ्चर। महानन्दा अभ्यारण्यकै सबैभन्दा अग्लो पहाड़। एक्लो, शान्त र चुपचाप। उपनिवेश बसाउँदै यहाँसम्म आइपुगेका ब्रिटिशहरूको पाइला अहिले पनि आलै गन्हाइरहेको झैं लाग्छ लाटकोठी हेर्दा। घण्टीडाँड़ा हेर्दा। साइरनको सट्टा यही घण्टीडाँड़ामा घण्टी झुण्ड्याएको थियो कामको शुरू गन्ती, मध्याह्न, कामको अन्त्य गर्ने सङ्केत दिन। अहिलेसम्म त्यही घण्टी ठोकिन्छ यहाँ। फेरिएर पनि नफेरिएको लाटमा। जहिले पनि मुस्कुराइरहने, रेलाठट्टा गरिरहने, हाँसिरहने मान्छेहरू बस्ने यो पहाड़का पनि तर गुनासो, पीड़ा र कुण्ठाहरू त छन् नै। समस्याहरूको बादलले घेरेकै हुन्छ लाटलाई। पेरुका इङ्काहरूले खोजेको सिन्कोनाको बोट लाटपञ्चरका पाखापखेराहरूसम्म आइपुग्यो ब्रिटिशहरूको झोलाभित्र पसेर। यसको बोक्रामा भएको कुइनाइन मलेरियाको दबाइ। यही कुइनाइनको स्थानीय अपभ्रंश कुलैन। कुइनाइन प्लाण्टेशन यसरी कुलैनबारी भयो। मङ्पू, मन्सोङ र रोङ्गोको सहोदर कुलैनबारी लाटपञ्चर। अर्थात्, लाट।

कुलैनबारी साहित्यमा फाँटिलो र उर्वर साबित भयो। धेरै हस्ताक्षरहरू दियो। मोहन ठकुरी, सुरेन्द्र थीङ, सञ्जय विष्ट, उदय थुलुङ, कालुसिंह रनपहेंली, डिकू मुखिया, वसन्त, वीरू बाङ्देल, विराम, जय क्याक्टस, सूरज रोसुरी। माथिको सरल-सशक्त कविता गर्ने रेमिका थापा। तिनको लोकप्रिय कविता शृङ्खला 'गाँउमा कविताहरू'-मा तिनको कुलैनबारी मङ्पू ठाँउ-ठाँउ बेला-बेला सुत्त-सुत्त छिरे होलान्। मेरो बाल्यकाल लाटमै बित्यो। जेजति सृजनकर्ममा जुटेको छु, त्यसको पृष्ठभूमिमा म सधैं लाटलाई चहकिलो गरी पाउँछु। प्रकृतिको कोखमै सिकें कखग। चित्र कोर्नु। कविता गर्नु। एक चोक्टा कञ्चनजङ्गा, टिस्टाको नृत्याङ्गना लावण्य, सुन्तलाझैं झुल्केघाम, जूनको बाङ्गो मुख, बादलको जरायो, निर्दोष धुप्पीहरू, मायालाग्दा भङेरा र रुप्पीहरू, झ्याउँकिरीको चर्को स्वर, छहराको कलकल, नाङ्ले भूतसँगै मेरो शैशवले लाटमै छोयो पसिना झरेको माटो। त्यो पसिना सिञ्चित माटोबाट निस्केको गन्धले मलाई खबरदारी गराइरहन्छ।

गाड़ीको नाममा केवल दुइचार ट्रक हुन्थे। बाटोको नाममा ढुङ्गैढुङ्गा। ट्रकको पिठ्युँमा हुन्थ्यो सबैको सिलगढ़ी यात्रा। यसो र हरेक यात्रा नै एडभेञ्चर। सिलगढ़ी आई म उच्च विद्यालय पढ़्ने भइसकेको थिएँ। यसरी घ्वान्द्राङघुन्द्रुङ हुँदै सिलगढ़ीतिर दन्किरहेको छ ट्रक। गर्मीको विदा लाटमै बिताएर फर्किरहेको छु। ट्रकको चुल्ठो समातेर उभिएका एक वासिन्दाले छ माइलका पाखा, नम्मुङ छाँगो, जोरसाँस छाँगोतिर हेर्दै लाटको पर्यटनीय महत्त्वबारे भनिरहेका छन्। कसैले तिनलाई पत्तो नै नदिएको र एकछिनमै तिनले जोक्स भन्न थाल्दा ट्रकको पछिल्लो भागमा बसेकाहरू सबै गलल-गलल हाँस्दै कालिझोड़ा, सेभोक र सालुगढ़ा तरेर सिलगढ़ी आइपुगेको झझल्को अहिले पनि छ। तर आज फाटाकफुटुक भए पनि आउन थालेका पर्यटकहरू भने हुरुकहुरुक हुँदै फर्कन्छन् लाटको रूप देखेर। पर्यटन मूल्य फस्टाइरहेको आम लाट फेरिँदैछ। फेरिए पनि आम लाट भने अझ पहिलेकै भाकामा गफिन्छ, सुस्ताउँछ, डुल्छ, सुत्छ र उठ्छ।

लाटका घरका केही छानाहरूमा टिभीका एण्टेन्नाहरू ठड़्याइएको देखेर औपनिवेशिक धङधङी नहराइसकेको सोझो र अपरिपक्व लाटमा उपभोक्तावादको चतुर बाछिटा पर्नलागेको अड़कल काटेका थिए गिरीले आफ्नो उक्त लेखमा। त्यसो त हुनु नै थियो। भयो पनि। एमटीभी त पस्नै पर्‍यो। अमेरिका कहाँ-कहाँ पस्दैन र? नपसी धर पनि छैन साम्राज्यवादलाई। उपनिवेश र साम्राज्यको फरक भनेको बिरालो र बाघको फरक त हो। ब्रिटिश उपनिवेशवादको छायाँ परेको कुनै पनि ठाँउले साम्राज्यवादको युगमा बाटो पक्का होस्-नहोस्, धेर दिन ब्याट्रीमा टिभी हेर्नपर्दैन। बिजुली जान्छ। एलपीजी जान्छ। सीडी जान्छ। सेकेण्डह्याण्ड जोङ्गा पनि जान्छन्। नयाँ ब्राण्डेड गाड़ीहरू पनि। बाटोको अवस्था खराब भएको बेला, कर्मठको पैह्रोले बाटो नै सोहोरेर लाँदा कति लाटवासीहरूले लाटलाई नै 'कालापानी' भनेको समेत सुनिन्छ। बेरोजगारी, अवसरहीनताजस्ता समस्या यथावत राखिन्छन् साम्राज्यवादमा उपभोक्तावादी केही सुविधासँगै। तब यो साम्राज्यवादी षड़्यन्त्रको पञ्जाबाट लाट मात्र कसरी बाँच्न सक्थ्यो? पसिछाड़्यो अमेरिका।

लाटमा अब लाट मात्र कहाँ छ? लाटमा अमेरिका पनि छ। १९४३-मा लाटमा रोपिएका कुलैनका रुखहरू के भन्न खोजिरहेका हुन् कुन्नि। छड़्के माटोमा अप्ठ्यारो गरी उभिएको कुलैनले संसारको रोग निको पार्छ। कुलैनबारी आफै चाहिँ रोगी। भारतका रोगी उद्योगहरूमध्ये एक यो सिन्कोना उद्योग। यो विडम्बनाको मार भोग्ने लाटवासीहरूमा चैतन्य त पलाएकै हुनपर्छ। लाटबाट फर्केपछि मलाई लागिरह्यो, कुलैन उद्योग बचाउने र फस्टाउने उपायस्वरूप म्याककिन्सेले रबर, अलैंची र सुन्तला फलाउने सुझाउ दिए पनि यो कति कार्यकर सिद्ध भयो? लाटका श्रमिकहरूको र तिनीहरूमाथि आश्रितहरूको र आउने पुस्ताहरूको अनिश्चित भविष्य लाटको लोकप्रिय बन्दै गइरहेको सूर्योदयले निश्चित पार्ला? के लाटको प्राकृतिक सौन्दर्यको रोमाण्टिक तत्त्वले यथार्थको  यो खरो, फुस्रो र भद्दा रूपलाई ढाकछोप गर्न सक्छ र? अहँ सक्दैन। त्यसैले रोमान्स सधैं सुन्दर हुँदैन। सधैं पूर्ण हुँदैन। यसको अँध्यारो पाटा पनि हुन्छ। यहाँ हामी आधुनिकताको आधारमा पुगेका हौं।

सालौंदेखि कुनै जैविक परिवर्तनबिना जस्ताको त्यस्तै हुन्छ स्यालाम्याण्डर। हिमालयन न्यूट। डायनासोरकालदोखि बाँचिआएको प्रजाति। जो जिउँदो छ प्रकृतिको परिवर्तनहरूका थपेड़ाहरू सहँदै। स्यालम्याण्डर एक जीवाश्म (लिभिङ फस्सिल) हो। प्रकृतिको इतिहासको कथा आफ्नो मौन अस्तित्वमा कुँदेर राखेको छ यसले। भारतभरिमै सुके, जोरपोखरी, गोपालधारा, शिवटारलगायत लाट मात्र यो धरोहर प्रजातिको वासस्थल रहिआएको छ। प्राकृतिक परिवर्तनहरूसँगै उक्त परिवर्तनले जन्माएको परिवर्तित पारिस्थितिकी र वातावरणमा खाप खान प्राणी र उद्भिदले आफ्नो रूप र अन्तरवस्तु फेर्ने गर्छन्। जसले यसरी एडजस्ट गर्नसक्यो, बाँच्यो। नत्र अस्तित्वहीन। सम्झनुहोस्, जीवविज्ञानी ल्यामार्कलाई यहाँ।

स्यालाम्याण्डरमाथि शोध गर्नेहरू छक्क परेका छन्। किन स्याल्याम्याण्डर फेरिएन? परिवर्तनको परिभाषा फेरि निफनेर हेर्नुपर्छ जीववैज्ञानिकहरूले यो अनौठो स्याल्याम्याण्डरको प्रश्नमा। कसरी, स्यालाम्याण्डरले समयलाई चुपचाप चुसेर पचाइदिनसकेको? प्रश्न अझ अनुत्तरित। यो प्रश्नको उत्तरले त मानव जीवनको दैर्घ्य तन्क्याउने आधारै पो देला कि। लाटमा वर्षौंपूर्व जे हुन्थ्यो, त्यही हुन्छ। लाट स्वयं एक जीवाश्म भइसकेको छ। लाटबाट फर्केपछि लागिरहेको छ, लाटलाई आफ्नो रूपबारे उस्तो थाहा छैन। न घाउबारे थाहा छ। घाउको दुखाइ लाटले दबाएर राखेको छ रेलाठट्टाहरूमा। 
 
श्रम, पौरख, बुद्धि, प्रतिभाहरूको कमी छैन। तर युवा ऊर्जाको विस्थापन भोगेर-भोगेर सधैं बूढ़ो भइबस्ने लाटपञ्चर कहिले तन्नेरी होला? मलाई लाटले सबैभन्दा चिन्ता लगाउने कुरा हो – लाट बोल्दैन। शताब्दीको यो किनारमा उभेर यसो हेर्छु, लाटले धेरै ठाँउ नबोलेकोहरू बोल्नुपर्थ्यो। नतरेका धेरै नदी तर्नुपर्थ्यो। नहिँड़िएका धेरै बाटो हिँड़्नुपर्थ्यो। तर लाट खुशी छ। चाप छैन। चाप चाहिएन। केवल चुपचाप मात्र छ। लाट बोल्दैन। जसरी बोल्दैन स्यालाम्याण्डर। लाट अहिले चलाक मात्र भएको छ। एण्टेन्नाका सट्टा डीटीएच डिसहरू छन् छाना-छानामा। अहिले रेमिका थापाको गाँउ म लाटमा खोज्दैछु। रेमिकाको गाँउमा पनि पसेकै छ अमेरिका त। नपसी धरै छैन। लाटबाट फर्किएपछि, सोध्नु मन लागिरहेको छ लाटसित- लाट, तिमी कहिले बोल्ने?

No comments:

Post a Comment