मुखपृष्ठ

Monday, March 07, 2011

एउटा उपनिवेशको हस्पिसबाट



"मुटुबाट मरेको सासबिना
कसरी बज्छ बाँसुरी?"
-मञ्जुल

स्तब्ध हुन्छु। जब सुन्छु, कलकलाउँदो उमेरमै ऊ मर्‍यो रे। पल्लो घरका दाइ अब रहेनन्। बिह्वल बन्छौं। गाउँछिमेकमा नपत्याउँदो पाराले जब अप्रत्याशित मृत्युका घटना हुन्छन्। यतिखेर मृत्युभयअघि अभयदान दिन कोही आउनसकेको हुँदैन। केवल मृत्युको अपरिहार्यताक सत्य ठिङ्गठिङ्ग उभिन्छ सबैको अगाड़ि। यसबेला म सम्झन्छु सुनचरी समाचारमा कार्यरत छँदाको कुरा। मृत्युको समाचार र सुनचरी समाचारको कुरा अलिक नमिलेको झैं लागे पनि कुराको गाँठो एकै ठाउँ छ। उत्कृष्ट लेखकको तीन प्रति किताब आएपछि निरूपण गर्नलाई किताब तैंछाड़-मैछाड़ हुन्थ्यो। लटरपटर किताब चाहिँ तैंफ्याँक-मैफ्याँक। तर राम्रो लेखकको राम्रो किताब विरलै आउने। प्रायः अस्तरीय नै आउने किताब त अस्तरीय लेखकको पनि, स्तरीयको पनि।
यस्तैमा एक दिन कार्यालयमा आएको हो 'हस्पिस'। विन्द्या सुब्बाको कृति। मनोवैज्ञानिक कथाहरूको सुन्दर सङ्कलन। म स्पर्द्धामा पछि पारिएँ। पाइनँ किताब मैले। फेरि भएन, आफू गद्य लेखक नपरेकोले प्रायः पद्यकृतिकै मात्र निरूपण गर्न रूचाएको हुन्थें म। त्यसो र, गद्यकृतिको किताब पाउने होड़मा म प्रायः हार्नुपर्थ्यो। पदम पराजुली दाइ सबै मान्छेलाई जस्तै सबै लेखकलाई, सबै किताबलाई पनि लगभग बराबर माया गर्न खोज्छन्। तिनी लेखकहरूलाई गणतान्त्रिक तराजुमा तौलन्छन्। लेखकको नामै नहेरी, किताबको गुणै नजोखी निरूपण लेख्न बस्छन्। यसो गर्दा प्रायः किताब तिनकै झोलामा पर्ने।
नेपाली र हिन्दी भाषामा सरल र सुन्दर कविता लेखेर लुकाइराख्ने विनम्र कवि पदम पराजुली। कसैलाई नबिझाउने पदम दाइको कालो अचम्मको झोलाबारे पनि यहाँ केही भनिहाल्नु मन लाग्यो। मलाई जादूझैं लाग्ने तिनको रहस्यमय झोला। अपेक्षित-अनपेक्षित सबथोक तिनको झोलामा हुने। दामी कलमदेखि लिएर पुराना दुर्लभ स्ट्याम्पहरू। विभिन्न विषयका किताबदेखि लिएर सफ्टवेयरका सीडीहरू। लाग्थ्यो, लगभग एउटा संसार, एउटा संस्कृति, एउटा भाषा नै गर्भमा बोकेर तिनको देब्रे काँधमा झुण्डिएको छ त्यो झोला।
पछिबाट विन्द्या सुब्बाले उपन्यास 'अथाह'-को लागि साहित्य अकादमी पुरस्कार पाएको समाचार हामीले नै छाप्यौं। तिनको चर्चा भयो- तिनले 'अथाह' होइन, 'हस्पिस'-का लागि यो पुरस्कार पाउनुपर्ने। सुन्दर, सरल र बेजोड़ छन् 'हस्पिस'-का कथाहरू। लाग्छ, सङ्ग्रहभित्रका कथाहरू एकार्कासित मैत्रीपूर्वक स्पर्द्धा गर्दै सयपत्रीझैं पत्रै-पत्र मिलेर सजिएका छन्। जुन कथा पढ़्यो, त्यही जब्बर। तथापि, 'हस्पिस' कथाकै हाराहारी उभिएको विशेष कथा पनि छ 'क्याथार्सिस'। कथाकार विन्द्याका रहरलाग्दा ताजा कथाहरू पढ़ेर सोचिरहें, तिनको कथाकारिताले यथार्थवाद र सामाजिकताको धार पाउनु हो भने तिनका कथाहरू अझ उम्दा र अझ उपयोगी साबित हुने।           
विन्द्या सुब्बा पुरस्कार थापेर दिल्लीबाट फर्किइन्। सुनचरीका सम्पादक डा. कुमार प्रधानले सोधे, "राजा, विन्द्याको अन्तर्वार्ता लिने हो?" प्रधाननगरस्थित सुनचरी कार्यालयमा लगभग एक घण्टाजस्तो कुराकानी गरेर मैले अन्तर्वार्ता तयार पारें। कार्यालयमा 'हस्पिस'-को निकै चर्चा भइरह्यो। बढ़ी चर्चा गर्ने मुकुन्द दाइले आफ्नो प्रति पढ़्नसम्म त ल्याइदिने भए मलाई। किताब पल्टाएँ। 'हस्पिस' शब्दको माने खोलिएको छ। लाग्यो, विन्द्या सुब्बाले नेपाली भारतीय साहित्यलाई एउटा नयाँ शब्द दिइन्। तिनको नयाँ सङ्ग्रहभित्र गाभिएको नयाँ कथा 'हस्पिस'-सँगै। यद्यपि हस्पिस चिकित्साशास्त्रमा पुरानै शब्द। ज्यानमारा रोगले ग्रस्त रोगीले चैनसित मृत्यु अँगाल्न बनाइएको घर- हस्पिस। पीड़ा-प्रबन्धनको एक उपाय। आराम र गौरव प्रदान गरी रोगीका अन्तिम दिनहरूको गुणवत्तालाई अझ उकासेर लैजानु हस्पिसको व्यवस्था गरिन्छ। मानौं, रोगीको अन्तिम घर। पीड़ालाई नियन्त्रणमा ल्याउन हस्पिसका प्रशिक्षित कार्यकर्ताहरूले रोगका लगभग सबै लक्षणलाई ध्यानमा राख्छन्। कुनै रोगीलाई हस्पिसको खाँचो तब पर्छ, जब उपचारको हरेक उपायले आत्मसमर्पण गरिसकेको हुन्छ।      
केही दिन लगाएर किताब डल्लै पढ़िसक्दा यो संसारै हस्पिसजस्तो लागेको थियो। हस्पिसमा आफ्नो मृत्यु पर्खेर बसेकोजस्तो हामी। न त जीवनलाई लम्याउने, न नै मृत्युलाई चाँड़ो डाक्ने हस्पिसको विशेषताले मलाई संसारको सांसारिकतालाई अझ नजिकबाट हेर्ने मौका दियो। रोगको मानसिक र सामाजिक प्रभावसँग सरोकार राख्दै मृत्युलाई सहज, गरिमामय अनि, एक अर्थमा, अर्थ प्रदान गर्ने मानवीय कोशिश हस्पिस। मृत्युको निम्ति सहजता, गौरव र सौन्दर्यको पृष्ठभूमि तयार गरिदिने एक जीवनमय पहल हस्पिस। एकप्रकारले मृत्युलाई जीवनको कसीमा हेर्ने, भोग्ने र संस्कार दिने कोशिश हस्पिस। हस्पिस - एउटा मृत्यु दर्शन।
मृत्युमाथि धेरै दर्शन छन्। साहित्य छन्। कला छन्। कवि मञ्जुलले मृत्युमाथि एक सय आठवटा कविता लेखे। तिनको कृति "मृत्यु-कविता"-ले तिनको मृत्युबोधलाई काव्यिक बाटोबाट पाठक मानसमा हस्तान्तरण गराउँछ। मृत्युको अस्तित्व भएर नै जीवनको निम्ति यति भागदौड़, यति ठेलाठेल र यति होड़। जीवनप्रतिको यति मायामोह। सृजनात्मकताको स्रोत नै मलाई त मृत्युबोध हो झैं लाग्छ। मृत्यु र मृत्युको बोधलाई स्मृतिको इतिहास बसाल्न र सौन्दर्यको जलप चढ़ाउन नै पिरामिडजस्ता निर्माणचेष्टा छन्। जीवन रहुञ्जेल केही स्मरणीय र सुन्दर काम गरिराखौं, अर्थ खोजिराखौं भन्ने दर्शन प्रायः सबैको हुन्छ त्यसैले।
रसियाली अन्धो उपन्यासकार निकोलाइ अस्त्रोवस्कीको यहाँ सम्झना हुन्छ। मानवले गर्नसक्ने सबैभन्दा सुन्दर काम भनेको आफू यो संसारमा नरहेता पनि आफ्नो सृजनाद्वारा अरूको हित गरिरहनु हो, तिनले भनेका छन्। साँच्चै, मृत्युबोध नहुँदो हो त जीवन कति सपाट, नैराश्यपूर्ण, एकरसी, एकरङ्गी र खल्लो हुने हो। यही मृत्युबोधलाई जीवनको सङ्ग्लो पर्दाबाट हेरेर वैज्ञानिक, कलाकार, सर्जकहरूले सर्वहित-को निम्ति आफ्ना जीवन होमे। मृत्युबोधले झकझकाइरहेको बेला विन्द्या सुब्बाको 'हस्पिस'-को सम्झनाले केही मानसिक राहत त दिन्छ नै। र दिन्छ जीवनलाई अझ माया गर्ने, अझ सम्मान गर्ने ताकत र हौसला। जीवनलाई अर्थ दिने प्रेरणा। मृत्यु यसरी भय त होइन, अनन्त ऊर्जाको स्रोत पो हुन्छ। तपाईंले विन्द्या सुब्बाको 'हस्पिस',  मञ्जुलको 'मृत्यु-कविता' पढ़्नुभएको छैन भने खोजेर पढ़्नुहोला। मलाई विश्वास छ, मृत्युलाई चिन्न र अर्थ्याउन अनि जीवनलाई जीवन्त बनाउन यी कृति सहायक सिद्ध हुनेछन्। हामीले मृत्युको धारणालाई सहजता र सौन्दर्य दिँदै मृत्युबोधको अर्थपूर्ण उपभोग गर्नुपर्छ झैं लाग्छ।
यतिखेर चर्को गरेर एउटा विचारले पोलिरहेको छ मलाई। मानव समाजको शोषणको उपनिवेश पनि हस्पिसमा आफ्नो मृत्यु नै पर्खेर बसेको छ। यो उपनिवेशको मृत्य़ु रुङाइको रङमा हाम्रो सङ्घर्षको चित्र कोरिँदैछ। हाम्रो सङ्घर्षको कथा यही मृत्युबोधको मसीले लेखिन्छ। यो उपनिवेशको हस्पिसमा असामनता, अन्याय र शोषणका रक्तबीजहरू आफ्नो मृत्यु कुरेर बस्दा हिंस्रक पनि बनेका छन्। उनीहरूलाई मृत्युभयले पिरोलेको छ। हिटलर, नेपोलियनहरू पछि पालो मुबारक, गद्दाफीहरूको छ। पालो व्यक्तिको भन्दा पनि व्वस्थाको छ। व्यवस्थाको हरेक दरवार, भारादार, किल्ला र दुर्गद्वारहरूको छ। उपनिवेशको यो हस्पिसमा पालो छ औपनिवेशिक शोषणको हरेक मिथक र हरेक विम्बप्रतीकको। 
                        
"मृत्युको मुकुट लगाएरै
जिन्दगी बादशाह भएको हुन्छ"
-मञ्जुल

1 comment:

  1. MY NOTE ON FACEBOOK
    राजाजीको कालबोध

    विषय भेट्नैपर्ने चुनौति त छँदैछ त्यसभन्दा बड़ी ति विषयलाई सिर्जनात्मक रुपमा ढाल्ने चुनौतिले लेखनलाई प्रत्येक चोटी एडभेन्च्योर बनाईदिदोँ रहेछ। हिड़्न गाह्रो पनि हिड़्रदाको उन्माद पनि हिड़िसकेपछि बिसौनीमा फेर्न पाईने सुखद् निस्वास पनि।
    हस्पिसबाहेक विन्ध्याजीका अरु कृति पड़ेको थिएँ। आज हस्पिस पड़्नै पड़्ने जिज्ञासा यो लेखले(एउटा उपनिवेशको हस्पिसबाट) मभित्र उमारेको छ। कालबोधमा पाईने स्वाद फेरि फेरि खाईरहुँ लाग्ने तिर्सना र मिठासको जत्ति व्याख्या गरेपनि कम हुन्छ ।लामो लामो लेख, कैयन उद्धरण र व्याख्या भरिएका समिक्षा वा लेखको आफ्नै महत्व छ तर आम पाठकदेखि विद्वत समाजसम्मलाई छोटो समयमा धेरै खुराक पुग्ने धेरै सोच्न र गर्न प्रेरित गर्ने कालबोध सरह छोटो निबन्ध वा लेखको आफ्नै विशिष्टता महत्व र स्थान भएको कुरालाई यसले स्थापित गर्न सकेको छ।
    धेरै वर्षदेखि दाइ राजा पुणियानीजीले स्याहार्दै गोड़मेल र मलजल गर्दै ल्याउनु भएको कालबोधमा निहित विषयमा कति सामयिक राजनैतिक सामाजिक तथ्य , कति गुड़ दाशर्निक प्रश्न, कतिमा साहित्यिक विमर्श र कतिमा आम जन-जीवनमा भोग्न परेका समस्या यि समग्र विषयमा केन्द्रित लेखको पुष्प वाटीका जस्तै लाग्ने कालबोध पड़्रने पाठकलाई विषयप्रति आकर्षित र उर्जावान तुल्याँउदछ। पड़्रनेलाई कौतुहल र भाषिक सुन्दरतामा बाँधीराख्ने यि साना लेखको कोशेली थाप्नेहरु अवश्यै सोँच्लान 'म कालबोध जस्तै लेख्न चहान्छु ,पड़्न चहान्छु '
    www.rajapuniyani.blogspot.com

    ReplyDelete