मुखपृष्ठ

Sunday, April 03, 2011

ओढ़ारदेखि घरसम्म


हामी घरदेखि टाढ़ा, धेरै टाढ़ा छौं। घर हामीदेखि टाढ़ा, धेरै टाढ़ा छ।
                                                    -ब्रुश स्प्रीङ्ग्सटीन

आगन्तुकहरूलाई सुनाउँछिन् आमा - "आइतवार पनि यो त घरमा हुँदैन।" मानौं, घरबाहिरै घर खोजिहिँड़्ने हाम्रा पूर्वजझैं यायावरै हुँ म। घरदेखि टाढ़ा हुँदा चाहिँ घरि-घरि घरकै चिन्ता। मानौं, घरबाहिर भए पनि घरमै हुन्छ जरा त मेरो। घर र हामीमाझ एउटा विचित्रको द्वन्द्व। घरबाहिर घरको जति याद, उति घरभित्र घरको बेवास्ता! घरको तलतलमा जति छटपटी, उति घरको विरक्ति पनि! घरबाहिर गइरहेका हुँदा त्यही घर जाने इच्छा प्रकट गर्छन् आफ्नो एउटा  गीतमा पल साइमन। जहाँ उनको विचार भागिरहेछ। जहाँ उनको सङ्गीत बजिरहेको छ। जहाँ चुपचाप पर्खिरहेको छ उनलाई उनको प्रेमले। 

पृथ्वी – ब्रह्माण्डको एक कप्टेरो नीलो पिण्ड। पृथ्वीका स-साना कनिकामाथि मान्छेले बनाएको छ एक-एक टुक्रा घेरो। जसलाई घर भन्छौं। मान्छेले आफ्नो जीवनको लगभग आधी भाग यही एक टुक्रा घेरोभित्र बिताइदिन्छ। लाग्छ, घरसंसारै त्यागेर जङ्गल पसेका गुरिल्लाहरूलाई पनि बेलाबखत घरसुरक्षा, घरमोह र घरसुर्ताले तान्दो हो। यो घेरो त्यसैले मानव सभ्यताको धुरीजस्तै।

पहिले थियो ओढ़ार। मानवले प्रकृतिबाट लिएको। त्यसैले ऊ प्राकृतिक। आज छ घर। मानव आफैले बनाएको। त्यसैले ऊ सामाजिक। तर मानवको ओढ़ारप्रेम र घरप्रेममा खासै ठूलो फरक आएको छ जस्तो लाग्दैन। त्यसैले ओढ़ारे-मानवका शिकार गर्ने र शिकार हुने, डर मान्ने र डर देखाउने, शक्ति खोस्ने र शक्ति गुमाउनेजस्ता बुनियादी बेहोरा, चिन्तन र प्रवृत्ति हस्तान्तरण हुँदै आजको घरे-मानवसम्म त आएकै छन्। हठी सरकारले विद्रोही जनतालाई कुल्चिन चलाएका दमन अभियानहरू र बलियो देशले दुर्बल देशविरुद्ध चलाउने एकपाखे युद्धहरूको अटुट क्रमले पनि प्रमाणित गरिरहन्छ यो सत्यलाई। त्यसैले घर- कुनै मौलिक परिवर्तन बिनाको महानतम आविष्कार।

जहाँ छौं, त्यहाँको कुरा विरलै। जे नचाहिएको हो, त्यसैको पछि कुदेरै जीवन फाल्ने पुस्तैनी बानी। जहाँ धेर समय कटाउँछौं, त्यही ठाउँ भुलेर सुदूरको मोहनीमा लहड़िने स्वच्छन्द मनको गुलाम हामी। सके, भुलिन्छौं आफैलाई समेत। जसरी हाम्रै बारेमा सोच्दासोच्दै आफैलाई भुलिन्छौं। जसरी आफ्नो उन्नति हेर्न अरूको पतन हेर्न खोजिहिँड़्छौं। जसरी पृथ्वीको कुरा धुरीमा भए पनि पृथ्वीबाहिरका कुरा किनार लाग्दैनन्। घर यस्तै एउटा बिर्सिएको विषय हो। घरमा घर छैन। यसबारे न हामीलाई थाहा। न त घरलाई। यस्तो नपाइएको, नसोचिएको, बात नमारिएको र बिर्सिएको विषय घर। घरमाथि विभिन्न भाषामा कविता र कथाहरू गरिए। तर घरको सङ्कथनबारे कुनै दर्शन बनिएन। न बनियो कुनै विज्ञान। घर यसैले एउटा बिर्सिएको विषय।

भारतीय अङ्ग्रेजी कवि आर. पार्थसारथीले "रफ प्यासेज" नामक कविता सङ्ग्रहमा घरलाई खूब माया गरेर घरलाई दार्शनिक विषयवस्तु बनाए। तीन भागमा बाँड़िएको उक्त चर्चित कृतिले देशको धारणालाई घरको प्रतीकमा दर्‍याएको छ। कविले आफ्नो इङ्ग्ल्याण्ड प्रवासको अनुभूतिलाई "निर्वासन" खण्डमा, प्रेम र मानवीय नाताहरूलाई "जाँच" खण्डमा र तमिलभूमि फर्केर आउँदा आफ्नो पुनः खोज हुन गएको आनन्दानुभूतिको अभिव्यक्ति "घरफर्काइ" खण्डमा व्यक्त गरेका छन्। कवितामा तिनी एक ठाउँ भन्छन्, "अङ्ग्रेजी साङ्लोले बाँधिएको जिब्रो लिएर/ एक पुस्तापछि म तिमीसम्म आएको छु।" मातृभूमिलाई पुनराविष्कार गरी मातृप्रेममा परेका पार्थसारथीले "अङ्ग्रेज देउताहरूसँग वेश्यावृत्ति गर्नुपरेको" प्रतीकात्मक स्वीकारोक्तिसम्म राखेका छन्। अन्ततः उनी घरलाई आमाकै समकक्ष राख्छन्।

भित्र र बाहिरको धारणा दिन्छ घरले नै। बन्द दैलो र खुल्ला दैलोको धारणा आजको खुल्ला समाज, खुल्ला संस्कृति र खुल्ला अर्थनीतिको युगमा झन् प्रसङ्गिक बनेको छ। देशलाई घर मान्ने हो भने। तर देशलाई घर नमानेर पृथ्वीलाई नै घर मान्नेको निम्ति यो धारणामा घरको आयतन खुम्चिनेछ। तब घरलाई अझ ठूलो स्पेस चाहिनेछ। अमेरिकी हैकमी सांस्कृतिक साम्राज्यवादले पछ्यौटे पूर्वी समाजलाई "अदर्स" (अरू) भनेर "घरहबाहिरका" भन्यो। एन्तोनियो ग्राम्सीले अमेरिकी दादागिरीलाई "हेजिमोनी" (सांस्कृतिक दादागिरी)-को व्याख्या दिए यता पूर्वले किनारा, साबल्टर्न र वर्गचेतनाको चिन्तनगत मोर्चाबाट वैचारिक लड़ाइँ चलाइरहेको हो। यसरी जसको लागि जो "अदर्स" भए, ऊ ती "अदर्स"-को पनि "अदर्स" भयो।     

घरमा बस्नेहरूले बिर्सिएको घरको याद दिलाउन यता कवि केवलचन्द्र लामाले घर शृङ्खला कविता गरेका छन्। केवलको आलय - केवलयभित्र पसुँ-पसुँ लाग्ने। तिनका दुइतीन दर्जन जति घर कविता तिनको केवलयडटब्लगस्पटडटकम-मा अनलाइन प्रकाशित छन्। तिनका घर कविता पढ़ेर अझ बलियो गरी थाहा हुन्छ - घर केवल घर मात्र होइन। घर त संस्कृति, इतिहास र सपना हो। तिनका घर कविता पढ़ेरै भेउ पाइन्छ - सबैभन्दा मुख्य कुरा - घर विचार हो। घर घरै भएर पनि कुन्नि के हुनुखोज्ने तिर्खामा घर छटपटिरहेको। घर उस्तै घर नभइरहनुको सङ्घर्षबोधले सधैँ तपिरहेको। परिवर्तनको भोको एक डल्लो चिन्तनजस्तो मात्र घर। जसरी हाइकुपिता बाशो मात्सु भन्छन्- "प्रत्येक दिन एक यात्रा। यात्रा नै घर।" जसरी खलिल जिब्रान भन्छन्- "घर जहाजको अङ्कुसे होइन, जहाजको पाल।"       

ओढ़ारदेखि घरसम्मको गमनपछि मानव घरदेखि फेरि ओढ़ारै पस्न लागेको भ्रम पनि हुने गर्छ। जब तथाकथित बुद्धिमान, श्रमकारी र सृजनात्मक मानव समाजमा अझ आदिमयुगीन र मध्ययुगीन घटनाहरू बेलाबखत दोहोरिन्छन्। अब त आफैलाई सोध्न सक्छौं- जे-लाई हामी घर भन्न खोज्दैछौं, हामी जहाँ पुगेर ढुक्क मान्न खोज्दैछौं, त्यो घर घरमा छैन। जुन घरको सपना साँच्छौं हामी, त्यो घर साँच्चै पाएका छैनौं। जबजब वास्तविक घरले हामीलाई डाकेको छ, हामी घरदेखि अझ टाढ़ा गएका छौं। जेलाई हामी घर भन्छौं, त्यो अहम्, लोभ, डाह, इबी, उपभोग र महत्त्वाकाँक्षाहरूको योगफल मात्र ठहरिएको छ। विज्ञानसम्मत संस्कृति, सकारात्मक चिन्तन, गणतान्त्रिक व्यवहारहरूको आधारमा बनिएको वास्तविक घर हाम्रो अतिवादको हुरीले ढालिसकेको छ। एकार्कादेखि टाढ़ा, अझ टाढ़ा भागिरहेका घरहरू र हामी।

No comments:

Post a Comment