मुखपृष्ठ

Saturday, April 09, 2011

कि त्यहाँ एउटा सपना छ


"दुवै आँखा फुटाइदे
तर पनि म त देख्नेछु
आफ्नो सपना"

कसले भन्छ, 'सपना देख्नलाई आँखा नै चाहिन्छ' भनेर? आँखै हुनेहरूले पनि सपना देख्छन् र? देखे र? केवल दृश्य, ज्यू दृश्यै हेरिनलाई हो आँखा। आँखा नहुनुको चेत नै पो बरू अझ जुझारु आँखा हुने गर्छ कहिलेकाहीँ। प्रिय पाठक, राम्ररी सोचिहेर्नुहोस् त लु एकपल्ट। सङ्घर्षले पिल्सिएका रगतपच्छे वर्तमान औंलीहरू सपनाभित्र गुजुक्क परेर सुतेको उज्यालोलाई च्याप्प-च्याप्प समात्दै ओल्टाइपल्टाइ हेर्दैछन्। सपनाभित्रको ध्वनिलाई छङछङाइरहेको सुन्छन् यी औंलीहरू। अझ तिर्सना, सङ्कल्प, चाहना, आक्रोश, झञ्झा... के-के छन् के-के सपनाभित्र। के यी औंलीहरू हुन नसक्लान् सपना समातिदिने जोशिला औंलीहरू?

सपना देख्ने आँखाहरू उम्रन्छन् धरतीकै नले पोसिएर। धरतीकै पानीले सिँचिएर। उम्रन्छन् धरतीकै आगोले सेकिएर। आँखाहरू धरतीबाट उम्रन्छन् र हौसिन्छन् चुम्न धरती माथिको आकाशको अनन्ततालाई। आँखाहरू बढ़्छन् छुन अनन्तताको शुरुआतलाई। आँखाहरू अकासिन्छन् छोइन अनन्तताको अन्तद्वारा। ती आँखा, जसको स्पञ्जमा रसिएर बाँचिरहन्छ गहिरो र गाढ़ा अतीत। जसबाट जिउँदोजाग्दो भविष्यको मगमगाउँदो बासना निस्कन्छ तिक्खर। चुहुन्छन् त्यागहरू सपना देखिने झरिला आँखाबाट बिहानको शीतजस्तै। कहिल्यै नलेखिएको एउटा श्रेष्ठ कविताका चुनिँदा शब्द र नौला विम्ब भएर।

सपना तिखो मातजस्तै हुन्छ। सपना जादुइ उन्मादजस्तै हुन्छ। मानवीय इतिहास  जन्मन्छ सपनाकै योनिबाट। सपना भोक मार्ने। त्यो भोक जसको खाल्डो कहिल्यै भरिँदैन। त्यो भोक जो सधैं सयौंपल्ट मर्छ र सयौंपल्टै जन्मन्छ नयाँ भोकहरूमा अनूदित हुँदै। भोक जसले सधैं जीवन्त राख्छ सपनालाई। सपना देख्ने ऐतिहासिक प्रक्रियालाई। इतिहासको सपना यसरी मान्छेले हलमा देखिल्याएकैले यसको चरित्र सामाजिक भइदिएको हुन्छ। सामाजिक भइसकेपछि सपना भइदिन्छ राजनैतिक पनि।

सपना देख्नुले मान्छेलाई पहिले कवि-कालिगढ र पछिबाट कलाकार समेत बनाइदिन्छ। सपनामा मानव श्रम जोड़िएर मान्छेलाई विज्ञानीसम्म बनाइदिन्छ। अप्राप्तिको आँसु र प्राप्तिको आशा सम्भोग भएर जन्मन्छ गीतहरू गाइहिँड़्ने गाइने मान्छेको। सपनाले एउटा वास्तविक पुल हालिदिन्छ मान्छे र सीमान्त मान्छेबीचको वास्तविक मान्छेमाझ

मान्छेले सपना देख्छ। मान्छेले नै सपना देख्नुलाई लिएर अनेक कल्पनाजल्पना गरेको छ। गढ़िएका छन् सिद्धान्तहरू। केही दशक यता गरिँदै छन् प्रयोग र जाँचहरू 'ओनिरोलोजी' (स्वप्नविज्ञान)-मा। विज्ञानले आफ्नै आँखाबाट सपना देख्नुलाई देखेको छ भने कविताले आफ्नै मुटुबाट सपना देख्नुको ढुकढुकीलाई सुन्ने गरेको छ। सार्वकालिक मनोवैज्ञानिक डा. सिग्मण्ड फ्रायडले सपना देखिनुको मूल कारणको रूपमा तेर्साएका छन् अवचेतन मनको अवधारणालाई।

मनलाई चेतन मन(कन्सियस माइण्ड), अवचेतन मन (सबकन्सियस माइण्ड) र अचेतन मन (अनकन्सियस माइण्ड) तीन भागमा बाँड़ी फ्रायड अवचेतन मनलाई सपना देखिने स्रोतको रूपमा चिनाउँछन्। तिनी चेतनभन्दा पनि अवचेतन मनलाई गुरुत्वपूर्ण मनको दर्जा दिन्छन् र अवचेतन मनलाई चेतन मनको 'प्रेक्षक-रक्षक' मनको रूपमा दर्‍याउँछन्। चेतन मनको सम्पूरक मन ठहर्‍याउँछन् अवचेतन मनलाई। चेतन मनले प्राप्त गर्न नसकेको "अप्राप्य" मनोजगतमा "प्राप्य" भइदिन्छ। फेरि वास्तविक जगतमा चाहिँ चेतन मनलाई नियन्त्रित र सन्तुलित गरिरहने "अभिभावकीय मन" नै हुन्छ अवचेतन मन। सपना मान्छेलाई सधैं मनोबल दिएर वास्तविकतातिर उत्प्रेरित गरिरहने अवचेतनगत ऊर्जा हो। सपना त्यसैले ऊर्जा हो। दीप्ति हो। सपना मेरुदण्ड हो समस्त मानवीय व्यापारको।

सपना देखेर यहाँसम्म आइपुगेको मान्छेलाई मान्छेले नै सपना देख्नबाट रोक लगाउँछ भने मान्छे आफैबाट हार्छ। वास्तवमा जुन सम्भव हुन नसकेको प्रमाण इतिहास आफै हो। कसले सक्यो र सपनाको मात र उन्मादलाई निभाउन? न आदिम प्रकृतिले सक्यो न रूसी जारहरूले सकेसके रोमका नीरोहरूले। न क्रुसेडहरू बाधा भए नै कट्टर जेहादहरूअन्धा हिन्दुवादहरू। न हिटलरको बन्दुक काम लाग्यो ब्रिटिशहरूको चाबुक। सपनालाई गाड़्न१९६९-का सरकारी 'साम्यवादीहरू'-ले सके, न नरेन्द्र मोदीहरूले सके, न सके क्लिण्टन-बुश-ओबामाहरूले।

पश्चिमा नियन्त्रणविहीन विश्व यस्तै एउटा सपना। रङ्गभेदविहीन विश्व यस्तै एउटा सपना। सामन्ती शोषणविहीन नेपाल यस्तै एउटा सपना। गोर्खाल्याण्ड यस्तै एउटा सपना। गणतान्त्रिक अरबी मुलुकसमूह यस्तै एउटा सपना। जुन पूरै वास्तविकतामा फेरिइहालेका नहोलान्। तर सपना पूरा गर्ने आँट, कोशिश, सङ्घर्ष, पहल र उद्दीपनहरू त छन्। समुद्री कल्लोल गर्जिँदै उर्लिउठेको छाल हो सपना, जो कुनै उचाइ चुम्छ र साम्य भइदिन्छ। फेरि उर्लिउठ्छ। अझै अग्लो छाल। अरू अग्लो छाल। त्यसैकारण, सपना देखेर यहाँसम्म आइपुगेको मान्छेलाई मान्छेले नै सपना देख्नबाट रोक लगाउँछ भने अरूबाट होइन, मान्छे आफैबाट हार्छ।

मान्छेले कहिल्यै हिँड़िसक्दैन आफ्नो यात्रा। जहाँ सक्छ, त्यही उसको निम्ति अर्को यात्राको प्रस्थानविन्दु हुन्छ। सबथोक हराएर पनि, जहीँतहीँ हारेर पनि, केही-केही नभएर पनि। ऊ सकिएछ भने पनि। मान्छेको सपना सकिँदैन। उसको प्रत्येक अन्त्यले उसको सपनाको शुरुआत गराइदिइरहन्छ।

र त कवि वेणु गोपाल सपनाको शाब्दिक चित्र यसरी आँक्छन्-

"नहोस् केही
केवल होस् सपना
तरै पनि हुनुसक्नेछ
थालनी
र यो एउटा थालनी नै त हो
कि त्यहाँ एउटा सपना छ..."                                       
  

No comments:

Post a Comment