मुखपृष्ठ

Saturday, May 21, 2011

अन्तरालपछि अन्तरालबारे

लामो यात्राबाट फर्किरहेका छौं। गर्मी पनि निकै छ। आत्मीय दाइको गाड़ीमा चढ़ेको छु। लगभग दुइ घण्टामाथि हाँकिसकेका छन्। एक ठाउँ तिनी गाड़ी रोक्छन्। मेलै भनें, "गएको-गएकै गरेको भए चाँड़ो घर पुगिने थियो नि।" दाइले भने, "भाइ, गाड़ी धेरै बेर चलाएर थाकिएको हुन्छ। एकरसता तोड़्न बीचमा ब्रेक जरूरी हुन्छ।" तिनले यसरी एकरसता घातक हुनसक्छ भन्ने बताइरहेका थिए। तिनले अन्तरालको कुरा गरिरहेका थिए। मलाई पनि तब अनुभव भयो, हो त, लामो यात्राको यो छोटो अन्तराल जरूरी छ।


दाइको उक्त सामान्य भनाइ मलाई कुनै दर्शनको सूत्रवाक्य झैं लागेको थियो। पढ़्नुमा पनि बीचबीचमा ब्रेक जरूरी छ। स्मरण शक्तिको दैर्घ्यको निम्ति। स्कूलमा क्लासहरूमाझ ब्रेक राखिएको हुन्छ। यहाँसम्म कि मनोरञ्जनका साधन सिनेमा, नाटकमा पनि ब्रेक राखिन्छन्। कवितामा पनि बीचबीचमा रोक वा यति छैन भने कविता मर्छ। गीत-सङ्गीतमा पनि ठहराउको चर्चा सुनिन्छ। मान्छेले सुतेर ब्रेक नलिए, अर्को दिनको निम्ति ऊर्जा सङ्ग्रह हुँदैन। अग्रिम विज्ञानमा क्वाण्टम मेक्यानिक्सले ऊर्जा गुच्छा-गुच्छामा गतिमान भएको कुरा गर्छ। एउटा गुच्छा र अर्को गुच्छामाझको ऊर्जाको यो अन्तरालले नै तय गर्छ ऊर्जाको स्तर र जीवनको।

एउटा छोटो अन्तरालपछि यो स्तम्भ पुनः तपाईँहरूसामु उभिएको छ। यतिका दिन स्तम्भ ननिस्कनुको बारेमा तपाईँहरूले आ-आफ्नै अड़कलअनुसारका अर्थहरू दिनुभएको होला। अहिले ती अर्थहरूलाई उस्तै रहनुदिने मन छ मेरो। कतिले अल्छी मानेको भने होलान्। कतिले लेख्नुबाट थाकेको ठाने होलान्। कतिले त यो मान्छे कतै अलन्तरमा परेर हराएको हो कि ठाने होलान्। अहिले ती एक-एक अर्थलाई म सादर कदर गरिरहेको छु। लेखनको यो अन्तरालमा यसपालिको विषय सोचिरहें। सोच्दैछु, अन्तरालपछि अन्ततः अन्तरालमाथि नै केही कुरा गरौं कि।

अन्तराललाई केही चाखलाग्दा दृष्टिकोणबाट हेर्न सकिने सम्भावनाबारे मैले यसपालिको अन्तरालमै पत्तो लगाएको हुँ। अन्तराल - समयको त्यो इलाका, जहाँ समयले समयको अस्तित्वको दाबी गर्दोरहेछ। अन्तराल बिना न त शुरुको कुनै महत्त्व देख्छु। न अन्त्यको नै। अन्तरालकै लमाइले तय गरेको हुँदो रहेछ समयको आयु समेत। जति लामो अन्तराल हुन्छ, उति ढिलो बित्छ समय। यतिखेर शब्दलाई पछि फर्कनु लगाएर आफू एक्लै अघि जान खोज्ने मानसिक सङ्घर्षले खारिएर प्राज्ञ बनिरहेका कवि राजेन्द्र भण्डारीको अनौठो कविता "समय बित्दैन" सम्झिँदैछु। नबितेको लागेर पनि बितिरहेको यो समयलाई, समयको धारणालाई गल्यातगुलुत पार्छन् तिनी आफ्नो यस लोकप्रिय कवितामा। डालीले जस्तै।

आइन्स्टाइनले भौतिकीअन्तर्गत कविता गरेझैं लाग्छ सापेक्षतावादमा। सापेक्षतावादभित्र गरिने "समयको सम्पीड़न"-को विचित्र कुरालाई कवितामा कसरी भन्न सकिँदो हो। यही सोच्दैछु। अन्तराललाई गणितमा, जीवनविज्ञानमा, भौतिकीमा र दर्शनमा ठूलै मर्यादा छ। अन्तराल सापेक्षतावादको निम्ति पनि मुख्य कुरा।

क्रान्ति र आन्दोलनहरूमा पनि राजनैतिक अन्तरालले निकै कुरा लुकाएका, निकै कुरा निकालेका देख्न सकिँदो छ। अरब विश्वको लामो अन्तरालपछि देखा परेको उथुलपुथुलले यही प्रमाणित गरेको छ। गोर्खाभूमिको आत्मनिर्णयको लड़ाइँले आफ्नो एक शतक लामो यात्रामा धेरै अन्तरालहरू भोग्दै आएको छ। घिसिङको नेतृत्वको अन्तरालपछि विमल गुरुङको नेतृत्वको अन्तरालले सतहमा के देखा पार्नेछ, त्यतातिर जनताका मौन आँखा फर्किएका छन् यतिखेर। ओसामा बिन लादेनको कथित हत्याले इस्लामी कट्टरपन्थलाई कस्तो अन्तराल देला, त्यो पनि चासोको विषय छ। विशेष गरी इस्लामी कट्टरताको मुख्य दुश्मन अमेरिकालाई यसको सरोकार पनि छ।

बीचबीचमा आउने अन्तरालले पछि फर्किएर हेर्ने, पर्गेल्ने, आत्म-चिन्तनमा जाने मौका दिइरहेको हुन्छ। आत्म-विश्लेषण, आत्म-आलोचनामा नगई कहिल्यै विकास सुनिश्चित हुँदैन। चाहे त्यो व्यक्तिगत जीवनको कुरा होस्। चाहे सामाजिक जीवनको। चाहे राजनीतिक जीवनको। यही अन्तरालले नै मानिसलाई अतीतका भूलहरूलाई ओल्टाइपल्टाइ हेर्ने अवसर पनि दिँदो छ। ती भूलहरूलाई चिनेर, तिनको चरित्र बुझेर फेरिफेरि उस्तै भूल नदोहेर्या उनलाई यस्ता अन्तराल बीचबीचमा चाहिँदा रहेछन्। कति हिँड़ियो, बाटो अझ कति उकालो वा ओह्रालो छ, यात्रा कति बाँकी छ - जान्न अन्तरालकै खाँचो हुन्छ। क्रान्तिकारी राजनैतिक दार्शनिकहरूले पनि यस्तो अन्तराललाई आफ्नो दर्शनमा अध्ययन गरेको र आत्मसात गरेको पाइन्छ। बाघले शिकार गर्नअघि र शिकारमा झम्टिएको समयमाझको अन्तरालझैं सामयिक अन्तराल सामाजिक विकासको गतिले पनि मागेको हुन्छ।

यहाँसम्म कि, मानवीय सम्बन्धहरूको दीर्घताका लागि पनि आत्मीयताका अन्तराल आवश्यक हुँदो रहेछ। धेरै दिनपछि पाइएको किताबको आकर्षणै छुट्टै हुन्छ। धेरै दिनपछि भेटेको छोरालाई आमाको मोह अझ बढ़ेको हुँदो हो। धेरै दिनपछि देखा परेका साथी अझ रमाइला हुन्छन्। लामो समयपछि भेट भएको प्रेमी-प्रेमिकाको माया अझ गाढ़ा हुँदो हो। बढ़ी नजिक्याइले कहिलेकाहीँ विरक्ति पनि ल्याएको हुन्छ। यही विरक्ति र एकनासेपनको निम्ति केही खाली ठाउँ, केही रित्तो समय त चाहिन्छ नै। जहाँ फेरि एउटा नयाँ अनुभव कोर्न सकियोस्। एउटा नयाँ विचार भर्न सकियोस्। त्यसैले न हुनुपर्छ, रिक्तता जेन दर्शनको मुटु भएर बस्यो। जापानी चित्र, ताङ्का-हाइकु र अग्रगामी प्रविधिको निम्ति खालीपन त आत्मा नै बन्यो।

अनन्तले भरिएको यही रित्तो, खोक्रो, खालीको अन्तराललाई गणितले शून्य भन्यो। कविताले भाव। विज्ञानले सम्भावना। खलिल जिब्रानले कहीँनेर भनेका छन् – अगावै भरेर मुट्ठी पारेको हत्केलामा के हाल्न सकिन्छ र? जिब्रान यहाँ हत्केलामा केही भर्न हत्केलाको खालीपनको अन्तरालबारे हामीलाई सम्झाउँछन्। दृश्यहरू देखेर हेरिरहेको र हेरेर देखिरहेको आँखाले पनि कुनै नयाँ दृश्य, कुनै नयाँ विचार, कुनै नयाँ आलोक देख्न आँखा चिम्लनुपर्छ भन्नुको कारण हुनसक्छ। हेर्नु र देख्नुमाझको आँखाको यही अन्तराललाई ध्यान (मेडिटेशन) भनिएको हुनुपर्छ। हुनसक्छ यो अन्तरालमा, मैले केही दिन आँखा चिम्लिएको थिएँ। मैले नयाँ के-के देखें हुँला, के-के देखिनँ हुँला, त्यो थाहा छैन। तर म केही नयाँ देख्न खोज्ने कोशिशमा अवश्य छु। यो खालीपनमा तपाईँहरूको खरो उपस्थितिबोधले मलाई अन्तरालको चहकिलो अनुहारसम्म हेर्न चाहिँ लगाएको छ।

No comments:

Post a Comment