मुखपृष्ठ

Sunday, May 22, 2011

क्रिकेट, बजार र हामी

"आत्म-मुक्ति नै सबैभन्दा महान् मुक्ति हो।"

- पल हेवार्ड

(खेल लेखक, लण्डन)

सन् 2011-को पूर्वाह्न। क्रिकेट विश्वकप सकियो। आइपीएल चल्दैछ। आइपीएलको एउटै म्याच हेरिएको छैन। भन्नु पनि सङ्कोच हुन्छ। यसै पनि सानैदेखि खेलकुदमा चासो नभएको मान्छे। अहिलेसम्म आफ्नो शारीरिक क्षमताप्रति सदा सशङ्कित म। तर क्रिकेट नहेरेर र नखेलेर खासै ठूलो क्षति भएको महसुस पनि छैन। शारीरिक रूपले फीट रहन क्रिकेटै खेल्नुपर्ने वा हेर्नुपर्ने जस्तो नियमबद्धता शायद कपिल, गावस्कर, लारा र तेन्दुलकरहरू स्वयं पनि नमान्दा हुन्।

प्रशिक्षण केन्द्रमा मैले लिनुपर्ने क्लास राखिएको छ कि सोध्दा केन्द्रका सहकर्मी कड़किए- "भोलि वर्ल्ड कप फाइनल हो। थाहा छैन तपाईँलाई? अट्ठाइस वर्षपछि भारत फेरि एकपल्ट फाइनलमा पुगेको छ। तपाईँ चाहिँ क्लास सोध्नुहुँदैछ।" पछुतोपछुतो भयो। एकछिन भए पनि। आफ्नो सूचनाहीन दिमागी एण्टेन्नाप्रति झोंक चल्यो। एकछिन भए पनि। सुनिरहें। झस्किएको अभिनय गर्दै मैले भन्नुपर्यो्- "ए हो त है। भुलिएछु नि त।" झण्डैझण्डै राष्ट्रद्रोही लाग्यो आफैलाई। एकछिन भए पनि। "भोलि त छुट्टी गर्ने नि। तपाईँ त हेर्नुहुँदैन कि क्या हो?" शङ्का गर्दै हप्की लगाए तिनले। "हेर्छु-हेर्छु," आत्मबचाउमा मैले हत्तपत्त भनें।

याद आयो, भारत-पाकिस्तान सेमिफाइनल चाहिँ हेरेको हुँ। जहिले पनि यस्तै त हुन्छ। भारत-पाकिस्तान युद्धको छायाँ प्रत्येक भारतीयको अनुहार-अनुहारमा परेको हुन्छ। क्रिकेट मानौं कुनै खेल नभएर, कुनै घातक युद्ध हो। पाकिस्तानपट्टि पनि यस्तै हुँदो हो। नजानिएको, नचिनिएको देशप्रेम र देशभक्ति मान्छेका व्यवहारभित्र नआँटेर पट्टपट्ट फुटी देशी झण्डा, देशी गीत र देशी नाराहरू भएर निस्कन्छन्। तर बुझ्दै जानु हो भने थाहा पाइन्छ, छिमेकी राष्ट्रप्रतिको एब्सट्र्याक्ट रीसदेखि लिएर अपरिभाषित देशप्रेम, सबै-सबै मिडियाद्वारा प्रायोजित छन्। मिडिया स्वयं चाहिँ प्रायोजित छ उद्देश्यप्रेरित व्यवस्थाद्वारा।

भारत-श्रीलङ्का फाइनल हेरें। योसँग दोस्रोपटक हेरेछु यसपालिको विश्वकप क्रिकेटको खेल। मिडियाको कति जोड़। टिम इण्डियाले फाइनल जित्दा म पनि उत्तेजित भएछु। तर त्यो उत्तेजना मात्र केही घण्टालाई त रह्यो। सोधिरहें आफैलाई, दिगो किन छैन क्रिकेटजयको यो गौरवानुभूति? अनुभव भइरह्यो- क्रिकेट नहेर्ने, नबुझ्ने र नखेल्ने व्यक्ति लोकलाजमा पर्नुपर्ने विडम्बनापूर्ण स्थिति छ। क्रिकेटको ट्रेडमार्कमा नलट्टिएको व्यक्ति लगभग असभ्य र संस्कारहीन ठहरिने सम्भावनाले व्याप्त यो क्रिकेटमय समयसमाजमा छौं हामी। गरीबी, भोकमरी, बेरोजगारी, कुपोषण, अस्वस्थता, निरक्षरताको चपेटमा परेर छटपटिरहेका तेस्रो विश्वका देशहरूले खेलेको विश्वकप क्रिकेटलाई कसरी विश्व कप भन्नु? यो प्रश्न उठाउनु क्रिकेट उन्मादी व्यक्तिहरूको विक्षोभको सामना गर्नु हो। नवउपनिवेशवादको किल्लाको दैलोमा टाउको ठोक्काउनु बराबर हो।

ब्रिटिश साम्राज्यवादको उत्पाद क्रिकेटलाई भारतमा लगभग अघोषित राष्ट्रिय खेल मानिन्छ। यसको पछिका राजनैतिक, मनोवैज्ञानिक र समाजशास्त्रीय आधारभूमिको अवलोकन गर्ने पहल न त खेल समीक्षकहरू गर्छन्, न त दर्शकहरू। यसमा खेल आफ्नै कुनै दोष त छैन। तर लिएर हुने आयोजन, प्रायोजन र संयोजनमाथि आपत्ति र असन्तुष्टि राख्ने ठाउँ भने प्रशस्तै रहेका छन्। पैसाकै छेलोखेलो र ग्लयामरको चमकदमकले भरिएका क्रिकेट आयोजनहरूमा खेल कम र धन्धा बढ़ी भएको अनुभव खेलप्रेमीहरूले गर्न तालिसकेका छन्। सन् 1991-को तथाकथित "आर्थिक सुधार"-का विपत्तिहरू भोगिरहेको भारतीय समाजमा क्रिकेटको नाममा हुने गरेका सट्टा, दाउ र गोरखधन्धा एकातिर छन् भने कर्पोरेट धन्धा अर्कोतिर। यस्तोमा विशुद्ध मानिने खेलमा चढ़ेको राजनीति र पैसाको रङ्गले सबैको आँखा त टट्टाएकै छ।

बजारले क्रिकेटलाई जसरी आत्मसात गरेको छ र जसरी प्रस्तुत गरेको छ, लाग्छ, क्रिकेट बुझ्न नसक्नु र हेर्न नसक्नु सामाजिक अपराधै ठहरिँदो छ। क्रिकेट कल्चरले भारतीय समाजको आत्मालाई कतातिर ठेल्दैछ, यो प्रश्न सोध्नुसम्म नेगेटिभ एटिट्युडको शिकार भएको सहनुपर्ने स्थिति प्रबल छ। तर क्रिकेटबारे चासो नराख्दा नै कसैले अपराध गरेको हुँदैन। राजनैतिक सत्ता बचाउन, यथास्थिति जोगाउन गरिने अपराधहरूबारे कसैले चासो नराख्ने समाजमा क्रिकेटबारे चासो नराख्नु उति ठूलो अपराध हो जस्तो लाग्दैन।

साधारणतः खेललाई आम जीवनको यान्त्रिकीबाट पलायनको यान्त्रिकीको रूपमा हेर्ने गरिन्छ। दैनन्दिन जीवनका यन्त्रणा, विषण्णता, एकनासेपन र विरक्तिको विकल्पको रूपमा खेलले जीवनलाई पुनः सञ्चार र पुनः सृजना गर्ला भन्ने उद्देश्य-आशय हुन्छ। कामको शारीरिक र मानसिक चापको मात्रा कमाउने सृजनात्मक उपाय पनि खेल हुनुसक्छ। खेल मानव समाजमा मानवद्वारा निर्मित फूर्तिको आयोजन हो। तर बिस्तारै उत्पादन प्रक्रियाझैं एकनासे र यान्त्रिक बन्दै गएको खेल त खेलाड़ी र दर्शकको निम्ति केवल खरो अभ्यस्ततामा फेरिएको छ। खेल सृजनाको ऐच्छिक हलुङ्गोपनबाट एकरसताको बाध्यतामूलक बोझमा सङ्क्रमित छ।

मालको उत्पादन प्रक्रियाको यान्त्रिकताबोध, युद्धहरूको विनाश-हिंसा-विपत्तिबोधबाट सृजनात्मक शान्तिमा प्रश्रय पाउने प्रयासमा मान्छेले खेल जन्माएको धारणा राख्नेहरूको ठूलै जमात छ। मानवले खेलकुदको आयोजन गर्नथालेको इतिहास साह्रै लामो छैन। मानव समाजमा सङ्गठित रूपमा खेलकुद धेरै पछि आए पनि आदिकालदेखि नै मानव समाजको मुक्ति आकाँक्षाले सङ्गीतमा झैँ खेलमा आश्रय लिनुखोजेको हो। खेल एकप्रकारले स्वाभाविक रूपले उपार्जित कला हो। मुक्त समय प्राप्त गर्ने एकप्रकारको साधन। तर वर्तमानमा खेल कृत्रिम ढङ्गले अभ्यासजनित चटक भएको छ। खेल मुक्त समय साधन रहेन। किनभने मुक्त समय वा अवकाशको समयले मान्छेलाई कामको समयको निम्ति तयार मात्र पार्दछ। त्यसर्थ, समस्त समय, आयोजन र उद्योग नै सामाजिक र प्रक्रियासँग सोझै जड़ित छ। यस्तोमा क्रिकेट मानसिक आरामको साधनभन्दा पनि बेचैनीकै साधन भएको छ।

तथापि, खेलको दर्शन र इतिहासले बताउँछ, खेल मानसिक तृप्तिको साधनभन्दा बढ़ी प्रतिवादको समारोह हो। खेल आत्मपरिचय र राष्ट्रियताको अभिव्यक्तिभन्दा प्रतिरोधको कलात्मक शैली हो। प्रतिरोध मानवीय कमजोरी र सीमाविरूद्ध। प्रतिरोध सामाजिक सामाजिक व्यवस्थाको श्रमशोषणविरूद्ध। प्रतिरोध सामाजिक एकरसता र असमानताविरूद्ध। प्रतिरोध अगणतान्त्रिक व्यवस्थाविरूद्ध। प्रतिरोध युद्ध र शोषणविरूद्ध।

साम्राज्यवादको उद्भवसँगै श्रमिक श्रेणीद्वारा युद्ध र दमनविरूद्ध एकजुट हुने प्रयासमा थालिएका खेलहरू आज आएर बजारका क्रयविक्रयका साधन र साध्य भएको बेला खेलमाथि पुनः विचार गर्ने खाँचो छ। खेललाई हेर्ने, बुझ्ने र आत्मसात गर्ने संस्कृतिको आलोचना एवं आत्मालोचना नगरे यो संस्कृति विकृतिसम्म हुनसक्ने प्रबल सम्भावनाहरू बीच तैरिरहेका हुनेछौं हामी।

(1 मई 2011)

No comments:

Post a Comment