मुखपृष्ठ

Friday, June 03, 2011

हकिन्स, ईश्वर र हामी

 अन्ततः बङ्गालमा तीन दशकाधिक टिकेको लाल दुर्ग ध्वस्त। चीनका कैदी चित्रकार आन्दोलनकारीलाई त्रिचालीस दिनपछि पत्नीसँग भेट्ने अनुमति। कराँचीमा अज्ञात बन्दुकधारीद्वा रा साउदी कुटनैतिकको हत्या। मानवता हननको अपराधमा हेग अन्तर्राष्ट्रिय न्यायालयले गद्दाफीविरूद्ध पक्राउ आदेश जारी गर्ने सम्भावना। यी पहिलोपन्ने ताता समाचारहरूको ढाड़मा दोस्रोपन्ने समाचार - स्टीफन हकिन्स। सम्भवतः धेरै कमले पढ़ेको हकिन्सको मस्तिष्क, मृत्यु, ईश्वरमाथिका ताजा बयान तात्ताता समाचारहरूले चेप्टिएका थिए होलान्।


राजनीति सर्वोपरि रहने हुनाले विज्ञान-कला-दर्शनका कुरा गौण नै हुने गर्छन्। विज्ञान-कला-दर्शनका प्रवाह राजनैतिक दृष्टिकोणले धारिलो गरी प्रभावित हुने गरेकाले यस्तो भएको हुनुसक्छ। हकिन्सको छोटो समाचार पढ़ेर मैले दुइ थरीका मान्छे सम्झिएँ। अतिवादी मान्छेहरू। जति नै गहन कुरा भए पनि त्यसमा राजनीतिको पुट खोज्नेहरू वा जुनसुकै कुरामा पनि राजनीतिकै स्वाद खोज्नेहरू एकथरी। राजनीति शब्द सुन्नासाथ कुनै अछुत रोगीबाट टक्टकिएझैँ च्यातिनेहरू अर्काथरी। यी दुवै थरीका मान्छेबीच हकिन्स न त पुल हुन्। न नै पर्खाल। त्यसैले हकिन्समाथि मेरो विशेष चासो छ।

ग्यालिलियो जन्मिएको ठीक तीन सय वर्षपछि जन्मिएका हकिन्स। एक्काइस वर्षको पट्ठो जवान हुँदा निको नहुने मोटर न्युरोन (एक थरीको कुँजे रोग)-ले थलिए। सबैले भने- अब हकिन्स नबाँच्ने भए। तर तिनी बाँचिछाड़े। तिनको बाँच्ने अदम्य उत्साहसामु कुँजे रोग स्वयं कुँजिनुपर्यो । सत्तरीको लग लाग्न लागेका हकिन्स भन्छन्- "गत उनन्चास वर्षदेखि द्रुत मृत्युको सम्भावनासँगै म बाँचिरहेको छु। म मृत्युदेखि डराउँदिनँ। तर म मर्ने हतारोमा पनि छैन।"

शताब्दीका अब्बल र प्रतिभाशाली वैज्ञानिक हकिन्स न्युटन, आइन्स्टाइनहरूपछिका सबैभन्दा प्रभावी वैज्ञानिक व्याख्याता-चिन्तकका रूपमा दरिए। ज्युँदो लिजेण्डै भएर। तिनको बहुपठित, बहुचर्चित किताब 'कालको संक्षिप्त इतिहास'-मा भौतिकीका जटिलतम विषयवस्तुलाई आम पाठकका निम्ति सहज पाठ्य भाषामा व्याख्या गरे। सबै सिद्धान्तहरू जोड़ेर एउटै 'संयुक्त महासिद्धान्त' (ग्र्याण्ड युनिफाइड थ्योरी) खोज्ने महत्त्वाकाँक्षी प्रस्ताव समेत राखे। तिनी लोकप्रिय भए।

तिनले केही भनिदिनु अब सबैको चासोको विषय भयो। 'कालको संक्षिप्त इतिहास'-पछि पनि तिनले धेरै पुस्तक लेखे। शरीरभरि मात्र दुइवटा औंली चल्ने व्यक्तिले सारा ब्रह्माण्ड कसरी चल्छ, त्यसको चुरो फुकाउने आँट जुराएको देख्ता संसारै छक्क पर्यो्। भर्खरै 'महाढाँचा' पुस्तकले तिनी अझ ठूलो चर्चाका चोटिमा पुगे।

यसै पनि उपभोगबाजी, होड़बाजी र हतारोबाजीको विश्वले राजनैतिक र सामाजिक अस्थिरता, अनिश्चितता र अन्योलता भोगिरहेको समय विज्ञान, दर्शन र सिद्धान्तका मिहिन कुराहरू धेरजसो समय धेरजसोलाई निकम्मा लाग्नु स्वाभाविक हो। निश्चित छ, विज्ञान, राजनीति, साहित्य, कला, दर्शन, यी क्षेत्रहरू तबसम्म विशेष र अलग भइरहनेछन्, जबसम्म समाज चिरा पर्दै खण्डहरू, कोठाहरू, कम्पार्टमेण्टहरूमा विभाजित रहिरहनेछ। समाज तबसम्म विभाजित रहनेछ, जबसम्म व्यक्ति, समाजको एकाइ, आफैभित्र विखण्डित रहन्छ। त्यसर्थ, विज्ञान-कला-साहित्यको चर्चा गर्नुलाई समाजको यथार्थदेखि भाग्ने कायर र चलाकीपूर्ण कसरत देख्ने व्यवहारवादीहरू विज्ञानकलालाई 'सजिलो बाटो'-को अपव्याख्या गरिरहनेछन्।

पूर्वमा बुद्ध-चार्वाक-भगतसिंहहरू र पश्चिममा नित्से-सार्त्र-मार्क्सहरूले अगावै भगवानको अस्तित्वप्रति प्रश्न उठाउनेदेखि अस्तित्वलाई नकार्ने प्रवृत्ति बसालेका हुन्। आज संसारभरि नास्तिकहरू र जुक्तिवादीहरूको गतिलै जमात छ। यस्तोमा हकिन्सले 'कालको संक्षिप्त इतिहास'-भित्र "हामीले एउटा सम्पूर्ण सिद्धान्त खोज्न सकेको खण्डमा मानव बुद्धिको निम्ति त्यो खोज निर्णायक जीत ठहरिनेछ, अनि त्यसपछि भने हामीले ईश्वरको मनलाई बुझ्न सकौंला" भनेर ईश्वरको अस्तित्वलाई स्वीकार्ने ठाउँ राखे। जुक्तिवादीहरूको निम्ति यो ठूलै नोक्सान थियो। किनभने हकिन्स पढ़िन्छन्, सुनिन्छन्।

विज्ञान पनि समाज व्यवस्थाकै औजार हुने हुनाले विज्ञानको 'स्वायत्त सत्ता'-माथि मार्क्सवादी सौन्दर्यशास्त्री क्रिस्टोफर कडवेललले प्रश्न उठाएका थिए। यही कारण हकिन्सहरू पनि ठाउँठाउँ चिप्लिएका छन्। तथापि, सन् 2010-मा निस्किएको अघिल्लो पुस्तकमा हकिन्सले ब्रह्माण्डको उत्पत्ति किन भयो, त्यो जान्न कुनै 'दैविक शक्ति'-को सहारा नचाहिने घोषणा गरेपछि हकिन्सको माझिँदै गएको तार्किक चिन्तन प्रक्रियामा जुक्तिको पाइन चढ़ेको अनुभव गरियो।

"ब्रह्माण्ड स्वतःस्फूर्त रूपमा उत्पत्ति नभएर ईश्वरले यसलाई गति प्रदान गरेका हुन्" भन्ने आइजक न्यूटनको मतलाई समेत उक्त किताबमा हकिन्स खण्डन गर्छन्। एउटा टीभी साक्षात्कारमा तिनले 'व्यक्तिगत ईश्वर'-को अस्तित्वमाथि आफ्नो कुनै विश्वास नरहेको बयान दिँदा संसारभरि जुक्तिवादीहरू रमाए होलान्।

साक्षात्कारको एउटा प्रश्नमा हकिन्स मानव मस्तिष्कलाई कम्प्युटरसँग तुलना गर्छन्। अङ्गहरू नचल्ने, नलाग्ने भएझैं मस्तिष्क पनि पुर्जाहरू काम गर्न छाड़े अचल बन्छ। हकिन्स भन्छन्- "बिग्रिएको कम्प्युटरको निम्ति कुनै स्वर्ग वा उत्तरजीवन छैन। स्वर्ग त अँध्यारोसँग डराउनेहरूको परीकथा मात्र हो।"

भातरोटी, पानी र माटोकै बुनियादी लड़ाइँ लड़िरहेको हाम्रो निम्ति "तारापुञ्ज, ग्रहनक्षत्र र जीवनको बीज आरम्भिक ब्रह्माण्डका 'पारमाण्विक हलचल' थिए" (हकिन्स) भन्ने कुरा अव्यावहारिक लाग्लान्। तर "हामी किन यहाँ छौं" विषय वार्तामा तिनले यही तर्क अघि राखे होलान्। हकिन्सको कुरा गराइ हाम्रो जीवनगतिकै कुरा न हो। भलै यी कुराले हामीलाई सोझै रोटी र राजनीति नदेलान्। यी कुराले अवश्यै पनि रोटी र राजनीति जोगाड़ गर्ने प्रेरणा देलान्। हकिन्स त्यसैले हाम्रो समाजमा, हाम्रो जीवनमा अप्रासङ्गिक छैनन्। यति भन्नलाई हामी विशेषज्ञ वा वैज्ञानिक भइहाल्नुपर्दैन।

(29 मई 2011)

No comments:

Post a Comment