मुखपृष्ठ

Saturday, June 04, 2011

घर फर्किएको छोरा

उनीहरूले जिते, किनभने उनीहरू हतोत्साहित हुन मानेनन्। कसैले भनेका रहेछन्।


गोधुली साँझ झर्नझर्न लागेको छ। मानिसहरू ठाउँठाउँ झुरुप्प परेर थकाइ मारिरहेका छन्। श्रमजीवी दाजुभाइहरू फूलबारी नहरको तल्लो भागमा ढुङ्गा ओछ्याउने काममा लागिरहेका छन्। शहरको व्यस्तताको पञ्जाबाट फुत्किएका छौं। यसलाई अवकाश होइन, पुनर्सृजनाको समयको रूपमा भोग्न खोजिरहेको छु। मानवनिर्मित नहरमा छेकिएका प्राकृतिक पानीको अचलता देखेर एकतमासको बिस्वाद भएर आउँछ। कहाँ छ, छाड़िएको पानीको उन्मुक्त स्रोत, पुलको किनारैकिनार हिँड़्दै खोज्दैछौं। खोज्दैछौं नदीका लहड़ी लहरहरू।

अन्ततः दाइ अशोक प्रशान्त र म दुवैजना लगभग ढुक्क मान्छौं। "ए यतातिर छाड़िएको रहेछ नि त पानी," उनी भन्नुहुन्छ। कलकलाउँदै, छमछमाउँदै बगेका पानीका लहरहरू देखेर एकछिन दुवै मौन हुन्छौं। अन्तसलाई एकप्रकारको रमाहटले कुत्कुत्याइराखेर जान्छ। बगेको पानीलाई देखेर हामीले ढुक्क मान्नु-नमान्नु एउटा कुरा हो। तर पानी नबग्दा पानीलाई ढुक्क नहुँदो हो। यो अर्को कुरा। पानी बग्नुपर्छ। पानीले बग्नु पाउनुपर्छ। चाहे त्यसले ठोक्करहरू पाओस्। ठोक्किँदै भए पनि पानी त बगिछाड़्छ।

त्यतिखेर कविता सुन्न-पढ़्न-लेख्न भर्खरभर्खर सिक्दै थिएँ। "हामी पानी हौँ/ पानीजस्तै बग्नुपर्छ/ हामी पातपातमा सर्नुपर्छ/ हामी हातहातमा सर्नुपर्छ/ यो डड़ेलो लागेको धर्तीलाई जोत्नुपर्छ/ हामी पानी हौँ/ थोपाथोपा भएर बग्नुपर्छ।" कवि भवानी घिमिरेका यी काव्यलहरहरू पढ़्न मात्र पाइएको। तिनको बारेमा सुन्न मात्र पाइएको। एक दिन तीनधारेमा कवि भवानीलाई नै साक्षात् सुन्न पाइयो। निकै अघि तिनको लोकप्रिय "हामी पानी हौं" कविताको विलक्षण वाचन सुनेर आङै सिरिङ्ग भएको, रौंहरू ठाड़ा भएको सम्झना गरायो यो फूलबारीको जीवन्त पानीले। भोक कविता आन्दोलनका प्रणेता कवि घिमिरेप्रति मनैमन श्रद्धा जाग्यो। फूलबारीको पानीछेउ भोक कविको सम्झनाले जीवनजगतलाई बुझ्ने भोक अझ एक हरफ थपिएझैं लाग्यो।

पानीलाई थुनेर राखौं। पानीले बग्नो बाटो कतै न कतैबाट खोजिहाल्दो रहेछ। बग्नुमा गति छ। गतिले शक्ति जन्माउँछ। पानी र पृथ्वीको गुरुत्वाकर्षणको द्वन्द्वको परिणाम। यो द्वन्द्वमै छ जीवनको स्रोत। सत्यको आलोक। जीवन पनि पानीको बग्नुको यस्तै सङ्घर्षको समानान्तर कथा हो। जीवनमा पनि ठोक्करहरू छन्। बाधाहरू छन्। ठोक्कर जति कठोर, गति उति तेज। गति जति तेज, त्यसबाट जन्मिने बल उति घना। हामी बाँचेको विषम समाज दमन र प्रतिरोधको सङ्घर्षले अघि बढ़िरहेको सैद्धान्तिक सत्यको व्यावहारिक दृष्टान्त पाइरहेको झैँ लाग्दो छ। प्रतिरोधको धार उति तेज हुन्छ, जति शोषण चर्को हुन्छ। संसारभरिका चिह्नारीका आन्दोलन, राष्ट्रिय मुक्ति आन्दोलन, परिवेशका आन्दोलन, गुरिल्ला लड़ाइँ र वर्गसङ्घर्षहरूमा यस्तै सूत्र लागू हुने गरेको छ। फूलबारी नहरको एकातिर बन्द र अर्कोतिर खोलिएको जलपथले यस्तै केके केके मनैमन भन्न लगाइरहेको थियो।

पानी बगेन भने, बग्न पाएन भने के हुन्छ? पछिल्तिर उभिएको यो प्रश्नले कुममै समातेर तर्साइरहेको पनि छ। यतिखेर एडवर्ड मुञ्च-को प्रसिद्ध चित्र 'स्क्रीम' (चित्कार) सम्झिराखेको छु। नर्वेका यी विम्बवादी चित्रकार अभिव्यक्तिवादी चित्र आन्दोलनका सशक्त प्रणेता पनि हुन्। प्रेम, भय, मृत्यु, विषाद र व्यग्रतामाथिको शृङ्खला चित्रमध्ये एक चित्र हो 'स्क्रीम'।

सन् 1893-मा तेल, टेम्परा र प्यास्टलले बनाइको यो चित्र आँक्ने प्रेरणाको स्रोतबारे एडवर्डले आफ्नो डाइरीमा एक ठाउँ लेखेका छन्। उनी आफ्ना दुइ साथीसित बाटामा हिँड़्दै गरेका हुन्छन्। साँझको बेला छ। अचानक आकाश रगताम्ये हुन्छ। उनी टक्क रोकिन्छन्। लखतरान अनुभव गर्छन्। बाटो किनारको बारमा उनी अड़ेसिन्छन्। पछिल्तिर शहरको तमतमाउँदो नीलो ढाड़मा रगत र आगोको जिब्रो लपलपाइरहेको छ। साथीहरू हिँड़्दैछन्। व्याकुल भएर उनी त्यहीँनेर थरथरी काम्दै उभिन्छन्। उनी प्रकृतिबाट एउटा अनन्त चित्कार गुज्रिरहेको अनुभव गर्छन्। यही अनुभूतिलाई रङ्ग र रेखाहरूले आँक्न खोजेका हुन् एडवर्ड मुञ्चले 'स्क्रीम'-मा। "अब पढ़िरहेका, सिलाइबुनाइ गरिरहेका मान्छेहरूको चित्रको सट्टा ज्यूँदाजाग्दा मानिसहरू, श्वास फेरिरहेका, अनुभव गरिरहेका, दुखिरहेका र प्रेम गरिरहेका मानिसहरूको चित्र बनाइनुपर्छ" भन्ने एडवर्डले जीवनजगतलाई मिहिन अनुभूति, चाक्लो दर्शन र व्यावहारिक मनोविज्ञानको तहमा चित्रकलालाई उकास्ने कोशिश गरेका थिएछन्।

अशोकदाइले बगिरहेको पानी हेर्दै घर फर्किएको एक छोरोको फर्किएको जीवनप्रेम र सङ्घर्षबोधबारे सुनाए। सिलगढ़ीका एक रिक्शाचालकका छोरा आत्महत्याको उद्देश्यले महानन्दातिर लाग्छन्। घरको सोचनीय आर्थिक स्थिति। कतैबाट पनि सहयोगको हात छैन। पढ़्नुमा अब्बल यी मेधावी केटोको माध्यमिक परीक्षा आउनै लागेको थियो। विषम समाज व्यवस्थाले हतोत्साहित भएका यी केटोले जीवनदेखि हार माने। तर जसो उनले नदीमा पानीका लहरहरू देखे, तिनमा एउटा बोधनको सञ्चार भयो। पानीले ढुङ्गामाटा, बलौटाहरूको घात सहेर, तीविरुद्ध जुझेर जसरी पनि अघि बढ़ेको देख्छन्। पानीका यी उद्यमी, सङ्घर्षशील लहरहरूले जीवनको व्यावहारिक किताबका सक्कली पन्नाहरू उनीसामु उदाङ्गो पर्छन्। बुद्ध हुन घर छाड़्ने राहुल थिए। उनी घर फर्किएका बुद्धझैं हुन्छन्।

छोरो आत्महत्या गर्न गएको पनि थाहा नभएकी आमा। आत्महत्याको निर्णय फालेर जीवनलाई अझ बढ़ी माया गर्न फर्किएको पनि थाहा नभएकी आमा। सधैंझैं छोरोलाई भात पस्किदिइन् होला। व्यवस्थाद्वारा हतोत्साहित बनाइएर पनि हतोत्साहित हुन नमान्ने यस्ता कति छोरा समयलाई जितेर घर फर्कन्छन्, त्यसको हिसाब गर्नु मन लागेर आउँछ। लाग्छ, सङ्घर्षमा जुझिरहेका यी जितुवाहरूले गर्दा नै त संसार अझ ज्यूँदो छ। सुन्दर छ।

अशोकदाइ र मैले फेरि एकचोटि नहरकिनारबाट पानीका प्रावहमान लहरहरूतिर ओह्रालै हेरिपठायौं। साँझ टुङ्गिएर रातको छायाँ पर्न लागेको छ। फर्कनअघि, नहरकिनारमा स्थानीय माछा बेच्ने र किन्ने वासिन्दा र बटुवाहरूको पातलो झुप्पाहरूबीच केही बेर रल्लिन्छौं। बेच्न राखिएका साना नदीहारी र बुदुना माछाहरू देख्दा सानोमाछा भनेपछि हुरुक्कै हुने नेपालका माओवादी चिन्तक पार्थको कुरा पनि निस्किन्छ। अशोकदा भन्छन्- "पार्थदा भएका भए, यी सब साना माछा उठाउने थिए।" यो कुरा गरेर र सुनेर दुवै मुस्कुराएका रहेछौं।

No comments:

Post a Comment