मुखपृष्ठ

Saturday, June 11, 2011

वर्षा, स्पण्डिलाइटिस र क्रान्ति

बिहान उठेको त घरै अँध्यारो लागेर आयो। उज्यालै छ र पनि। अरअर परिरहेको रहेछु। घाँटीको स्पण्डिलाइटिस बल्झिएर दुख्नसम्म दुख्दैरहेछ। घिच्रो यताउता कतै हल्लिनु मानेको छैन। राति हठात् परेको पानीमा बेस्सरी भिज्नु मन लागेर आएको थियो। आमा चेताउनी दिँदै भन्दैथिइन्- "नभिज् है पानीमा। बिमार हुन्छ।" एकछिनमै सबैको आँखा छलेर घरको छानामा भिज्नथाल्छु। मज्ज मान्दै। वर्षको आरम्भिक वर्षामा रमाउँदै।


यति जोड़ले घिच्रो दुखेको बेला सम्झिन्छु, राति चिसो लागेछ। बिमारी बल्झाइपठाउन बित्थामै भिजेछु। कसैको भनाइ छ- कवि त्यो हो, जो झरीमा बज्राघातले उसलाई स्पर्श गर्ला भन्ने अपेक्षामा भिज्दै उभिरहन्छ। आफूलाई कवित्व प्रदान गर्ने यस्तै लहड़ी सोच पो मेरो उपचेतन मनको पछिल्लो भागमा उभिएको थियो कि? हास्यास्पद शङ्का पनि जाग्यो। जे नै भए पनि गर्मीको दिनलाई खेद्दै आएको पानी परेको रात पानीमा भिज्नुको सुख कस्तै पैसाले पनि किन्न नसकिने सुख हो लाग्छ। तर हरेक सुखबोधको निम्ति दुःखबोधको ऋण त तिर्नै छ। त्यो पनि ब्याजसहित। मेरो स्पण्डिलाइटिसको दुखाइ पनि यस्तै ब्याजसितको ऋण तिराइ भयो।

कहिलेकाहीँ मुस्कुराउँदा पनि ओठहरूमा भने तिर्न परेको सापटी झुण्ड्याइराखिएको लाग्छ भनेर गुलजार साहबले आफ्नो लोकप्रिय गीतमा हाम्रै मुस्कुराहटहरूको कथा सुनाएका छन्। मानिसको जीवन दुःखको एक सुदूर ठाउँबाट शुरु हुन्छ। सार्त्र भन्छन्। बुद्ध दुःख नै मौलिक सत्य रहेको कुरा सुनाएर विदा लिन्छन्। पीड़ा लिएर इटालीका एन्तोनियो पोर्शियाको विचार बड़ो अचम्मको छ। पीड़ा सबैभन्दा माथि छ। प्रत्येकले पीड़ा तल रहेको ठान्छन् र नै प्रत्येक उक्लिन चाहन्छन्।

उत्सवहरू पनि मलाई खल्लो लागेका दिनहरू छन्। मेलाहरूमा पनि एक्लो लाग्नुका अनुभवहरू छन्। बेलाबेला ती खल्लो दिन र एक्लो अनुभूतिहरू सम्झिन्छु। अस्ति कामबाट घर फर्किँदा गाड़ीधुरामा म रोकिएँ। पटेकाहरू पड़्काँइदै छन्। मान्छेहरूको भीड़। पुलिस गाड़ीहरू रोकिएका। पुलिस टोलीहरू गश्ती दिइरहेका। एकातिर पटेका। अर्कोतिर पुलिस। मामिला बुझिनँ। कौतुहलवश मैले बाटाछेउका दोकाने दाइलाई सोधें, "यो के भएको?" तिनी छड़्के मुस्कुराए। तिनको मुस्कानले त मलाई नै पो घोंचेकोजस्तो लाग्यो। एकछिनपछि भने, "गोर्खाल्याण्ड पाएर खुशी मनाएका।"

घर पुगेर टिभीमा समाचार च्यानलहरू ओल्टाइपल्टाइ गरें। थाहा लाग्यो, बङ्गालको नयाँ सरकारसँग कुनै "सेटअप"-को निम्ति हस्ताक्षर भएछ। मलाई थाहा लागेअनुसार, गोर्खा र मेक्सिकनहरू समकक्षी समुदाय हुन्। रौसफूर्ति गर्नुमा। सुख होस्, दुःख होस्, सधैँ एउटै मूड। रौसको। निहुँ मात्र चाहिन्छ। नाच्न-उफ्रिनलाई। चाहे त्यो निहुँ यथेष्ट होस्-नहोस् रौस गर्नलाई। गोर्खाल्याण्ड नपाई गोर्खाहरू घिसिङकै पालादेखि "गोर्खाल्याण्ड पायो - गोर्खाल्याण्ड पायो" भन्ने हाउड़े हल्लामा धेरैचोटि उफ्रीपाफ्री गरिसके। यस्तो आखिर कहिलेसम्म? लाग्यो, राति वर्षामा स्वच्छन्द भिज्नुको आनन्दले कस्तो दुःखबोध दियो। यो दुःखबोधले फेरि कुन-कुन कुरालाई सम्झायो। कुन-कुन दुखाइलाई बल्झायो।

"पानी जो हावा हो, हावा जो समय हो," कुनै कवितामा मेक्सिकोका कवि अक्टाभियो पाज दार्शनिक पारामा भन्छन्। तिनी अझ भन्छन्, "कसैले वर्षाको आवाज सुनिरहेको बेला, मलाई सुन्नू। नसुनिकन म के भन्छु, त्यो सुन्नू। निदाएर। भित्रतिर आँखा फर्काएर। पाँचै इन्द्रियहरू जगाएर। शब्द र समय छन् ओजनविहीन। तर पीड़ा छ गह्रौं।" वर्षा लिएर यस्ता धेरै बेजोड़ कविता छन्। साहित्य छ। वर्षा लिएर चित्र छन्। सङ्गीत छ। वर्षा लिएर विज्ञान छ। वर्षा लिएर व्यापार छ। बितेको रातिको पानीले केही सम्झिने, केही नसम्झिने कुरा सम्झाएर गयो। बर्खायाम अघिको वर्षाको पूर्वसन्ध्याले वर्षाको परिभाषालाई हेर्न आफ्ना हजारौं थोपाझैं हजारौं आँखा दिनखोजेको भान भयो।

केही मान्छे पानीमा केवल भिज्छन्। केही मान्छे भने पानीमा हिँड़्छन्। केवल भिज्नु र भिज्दै हिँड़्न पनि सक्नुको अन्तर समाजले बुझ्नु छ। इतिहासले पनि मौसमले झैं नियमित कोल्टे फेर्छ। इतिहासमा पनि पानी पर्नुका आर्द्र अध्यायहरू आउँछन्। पानी परेर व्यवहार र चिन्तनका वातावरण सफा पार्ने पाठ इतिहासले मानव समाजलाई दिएर जाँदै पछि मानव समाजमा फेरि अशुद्धता र प्रदूषण त फैलिन्छ नै। यस्तो बेला फेरि पानीको खाँचो पर्छ। यही कारण पानी घरिघरि परिरहन्छ। परिरहनुपर्छ। कि पानी क्रान्ति हो। लाग्छ यस्तै एउटा क्रान्ति पर्खेर बसेको हाम्रो समाज सत्य खोज्ने कि भ्रम तोड़्ने, यही अन्योलताको जञ्जालमा फँसेर छटपटिरहेको छ।

उहिले हेपुवा 'विशेष मान्छे' मुख्य पात्र। मानव समाजमा घात-प्रतिघातको समीकरणले बनेको इतिहासको वर्तमान कथामा मुख्य पात्र अहिले हेपिएको 'आम मान्छे'। उ अहिले अलिअलि बोल्न थालेको साबल्टर्न हो। आम मान्छेले चाहेअनुरूप हुन नसकेको भए पनि विश्वले मुक्तिको आकाँक्षा पालेको छ-छ। मुक्तिकामी पहल र लड़ाइँहरू जारी छन् विभिन्न खेमा र विभिन्न मोर्चाबाट। आशावादको दह्रो रूखको हाँगामा बसेर सपनाको चराले हरेक राति विरहको भाकामा हेपुवाहरूबाट हारिएको गीत गाउँछ। फेरि बिहान त्यही चरा जित्ने भाकामा सङ्कल्पको जियालो गीत गाउँछ।

इतिहासमा लड़ाइँ र युद्धहरूको ऊष्णतालाई चिस्याउन पर्ने पूर्णमुक्तिको पानीको कुरा गर्दा कसैकसैले सपनाको कुरा गरेको मात्र ठान्लान्। तर हामीले सीभी विलको कवितासँग स्वर मिलाउनु हो भने हामीलाई सपना, प्राप्ति र परिवर्तनबारे कुरा गर्नु उति गाह्रो पर्दैन। विलको कवितांशअनुसार घरदेखि माइलौंमाइल र वर्षौं टाढ़ो रहेकाहरू जबजब रात्रिवर्षामा जागो रहन्छन्, उनीहरूले बुझेका हुन्छन् सपनालाई। छानामा वर्षाको लय सुन्दै उनीहरू हावामा परिवर्तनलाई चाख्छन्। कवितांश पढ़ेपछि लाग्छ, परिवर्तन काम्य छ। तर परिवर्तनको गीत गाउन र सुन्न सजिलो छ। व्यवहारमा उतार्नु गाह्रो छ। मेरो स्पण्डिलाइटिसको दुखाइले पनि यही अनुभव गराइरहेको छ।

यो पालि बर्खा शुरु नभई परेको पानीले फैज अहमद फैजको भाषामा सोध्न लगाएको छ साम्राज्यवादी युद्धहरूले पानीपानी भएको समाजलाई- खुनका धब्बा धोइन अझ कति वर्षाको खाँचो छ?

No comments:

Post a Comment