मुखपृष्ठ

Saturday, June 18, 2011

केश, कफी हाउस र छुरी

 "तपाईँको आपत्ति नभए, यो पालि कालबोधमा तपाईँ एक पात्र हुनुहुनेछ," म भन्छु। मुस्कुराएर दाइ दावा बम्जन भन्छन्- "छैन नि आपत्ति।" कौतुहलतावश सोध्छन्, "के हुनेछ विषय चाहिँ?" कुरा लुकाउन खोज्दै इशारा मात्र गरेको छु, "त्यही हाम्रो अस्तिको गफ। तपाईँको बयान।" तर कौतुहल सकिँदैन उनको।

यो कुराकानी हुन दुइ-एक दिन अघिको कुरा। दिनभरिको उखरमाउलो गर्मी अहिले केही खस्किएको छ। साँझपख दावा दाइको कार्यालयमा छु। उनी इण्टरनेटमा इ-पत्रहरू हेर्दैछन्। मसँग बात मार्दै वेबसंसारमा कसैसँग उनको इ-कुरा पनि चल्दैछ। भर्खरै उनी पोखरा भ्रमणबाट फर्किएका छन्। देख्छु, उनले केश कैलो रङ्गाएछन्। मैले भनें, "छेउछेउको केश अलिक छाँट्नुभएका भए त अझ राम्रो देखिने नि।" हाम्रो सर्कलमा उनको परिचित शैलीमा उनले भने, "केश नकाट्ने अब। यत्तिकै राख्ने।" सधैं चिटिक्क केश काट्ने मान्छेले यस्तो कुरा सुनाए। उद्यमी दावा दाइ यस्तै अनपेक्षित, नाटकीय र व्यङ्ग्यात्मक टिप्पणीका निम्ति हामीबीच चाखलाग्दा रहरिला व्यक्तित्व हुन्। मैले सोध्नु पर्ने भयो, "किन नकाट्ने दाइ?" उनले मुसुक्क मुस्कुराएर भने, "जबसम्म गोर्खाल्याण्ड हुँदैन, तबसम्म काट्दिनँ भाइ।" दुवै गललल हाँस्यौँ। मैले ठट्टामा अझ व्यङ्ग्यको जलप चढ़ाइदिएँ। भनें, "उसो भए तपाईँको केश चैं रक स्टारहरूको झैं कम्मरसम्मै झर्नेभो।" झन् ठूलो हाँसोको फोहोरा नै छुट्यो। त्यतिखेर एक साथीले एउटा व्यङ्ग्य कवितामा "गोर्खाल्याण्ड कहिल्यै नपाक्ने फल" भइसकेको लेखेको सम्झना भयो।

दावा दाइ कार्यालय बन्द गर्छन्। त्यसपछि दावादाइको काम लिएर हामी हिल कार्ट रोडतिर लाग्छौं। त्यतैबाट मेरो काम लिएर लाग्छौँ कलेज पाड़ातिर। काम सकेर बाघाजतीन पार्कको किनारमा रोकिन्छौं। ठेलादोकानको प्रसिद्ध चिकन सुप र चिकन पकौड़ा खानलाई। बाघाजतीन पार्कको दृश्य देखेर दावा दाइ छक्क पर्दै सोध्छन्, "यो के हो भाइ?" मैले भनें, "अड्डा हो दाइ। बङ्गालीहरू कामधन्धा सकेर यसरी अड्डा मार्छन्।" उनी गम्भीर भएर भन्छन्, "साह्रै उपयोगी हुन्छ नि अड्डा त। हाम्राहरूले यसरी कहिले अड्डा मार्नथाल्ने भाइ?" मैले भनें, "दाइ यो अड्डामा अब दम छैन। यो फजुलको अड्डा हो।" अड्डाको वास्तविक अर्थमा अड्डा अब इतिहास भइसकेको महसुस हुन्छ मलाई।

उनले भने, "होइन भाइ, यसबाट समाजलाई धेरै फाइदा छ। एकार्कालाई यसले उँभो लगाउँछ। कुराहरू, विचारहरूको साटासाट हुन्छ।" मलाई मन्ना दे-ले गाएको लोकप्रिय गीत "कफी हाउसेर सेइ आड्डाटा आज आर नेइ" (कफी हाउसको त्यो अड्डा अचेल जम्दैन) याद आइरहेको थियो। उनलाई नभनी मैले मनैमन भनें, हामीसँग त्यस्ता कफी हाउस, चिया हाउस, बार छैनन्, जहाँ एकैचोटि कला, सङ्गीत, दर्शन, फिल्म, संस्कृति, साहित्य, अर्थनीति, पर्यावरण, राजनीतिका विकीर्ण विषयहरूमा विकीर्ण मस्तिष्कहरू घोत्लिरहेका होउन्। गफिरहेका, लेखिरहेका, अन्तर्क्रिया गरिरहेका होउन्। उद्दीप्त विचारहरूले प्रेरित भइरहेका होउन्। एल्डस हक्सले, रामकृष्ण शर्मा, देवकोटाहरूले निबन्धबाटै यस्तो रचनात्मक गफको वकालती गरेको याद आउँछ। हामीसँग त केवल गफिनलाई गफका लागि गफ मात्र छन्। छैनन् बुझ्नका लागि गफ। बाँच्नका लागि गफ। बाघाजतीन पार्कको मैदानभरि र मैदान वरिपरि झुरुपझुरुप झुप्पिएका झुप्पाझुप्पा मान्छेका झुण्डहरूतिर फेरि एकपल्ट हेर्दै दावा दाइ भन्छन्, "यो कुरा त चाहिन्छ है भाइ।"

पचासको दशकतिर मन्ना दे-ले गाए मायालाग्दो भाका हालेर कफी हाउसको गीत। कलकत्ताको कलेज स्ट्रीटमा रहेको ऐतिहासिक कफी हाउसको यादमा बनाइएको गीत त्यो। सन् 1958-देखि भारतीय कफी श्रमिक सहकारी सङ्गठनले चलाएको कफी हाउसलाई बङ्गालको जागरणको प्रतीकै मानिन्छ। साहित्य, कला, संस्कृतिले धनी बङ्गालको बौद्धिक जगतले उत्पीड़ित मान्छेहरूका लागि त्यही ऐतिहासिक कफी हाउसमा बसेर सपनाहरू जन्माए। योजनाहरू पाले। तर बजारवादको प्रभावमा परेर समाजको आदर्शगत घनत्व पात्लिनु थालेपछि भने कफी हाउस चले पनि कफी हाउसको सास भने रहेन।

समाजको मुक्तिका सपनाहरू देखिने कफी हाउसको बाक्के बसेको देखेर दुखी भएको गीत हो मन्ना देको गीत। "सुनौला साँझहरू कता हराए" भनेर सोधिएको त्यो रोमाण्टिक गीतमा बितेको एउटा सङ्घर्षशील युगको नस्टलजिया, पीड़ा र प्रेमको विरह आलाप छ। विज्ञापनको चित्र आँक्ने निखिलेश पेरिस गए उता खबरहीन छन्। ढाका गएर पत्रकार मोइदुल खबरहीन छन्। चिहानमा सुतेका मौन दर्शक डिसूजा, प्रेममा धोका पाएर पागलखानामा रहेकी नाट्यकर्मी रोमा रे, जीवनले क्षमा नदिएको क्यान्सरपीड़ित कवि अमलका हृदयविदारक कथाहरू त्यो एउटै गीतले कसरी बोक्न सकेको, म छक्क पर्छु। कतिकति सपनाका घाम लाग्छन्, कतिकति सपना बादलले ढाकिन्छन् वैचारिक धरोहर भइसकेको कफी हाउसमा। यो गीतले वास्तवमा बौद्धिकताको पतन र सङ्कटको कथा हालेको छ।

पन्ध्रौं शताब्दीमा प्रथमपल्ट इस्तानबुलमा हुक्कासँगै कफी अड्डाको संस्कृति बसेको थाहा लाग्छ। त्यसपछि, मध्यपूर्वका टर्की, दामस्कस, काइरो हुँदै पश्चिम र पूर्व विश्वभरि कफी संस्कृति सरेको। यसरी सर्दैसर्दै भारत आइपुगेको कफी अड्डा संस्कृतिले कलकत्तामा वैचारिक उन्मुक्तिको दैलो खोलिदिएको। म घर पुगिसकेर पनि यसैबारे सोच्दैछु। फजुलका गफको सट्टा वैचारिक अन्तर्क्रियाका अर्थपूर्ण गणतान्त्रिक अड्डाहरूको खाँचो कुनै एउटा सम्प्रदाय, कुनै एउटा ठाउँ, कुनै एउटा समय मात्रको माग होइन भन्ने लाग्छ। यो त निरन्तर समयको माग हो लाग्छ सबैको निम्ति।

रात पर्न लागेको छ। घर जान विदा माग्न के लागेको छु, दावा दाइले एउटा हँस्यौली सुनाएर हुरुक्कै पारे। एउटा मान्छेले छुरी उमाल्दै गरेको देखेर अर्को मान्छेले यो के गरेको भनी सोधेछ। त्यो छुरीले आफैलाई हानेर आत्महत्या गर्न आँटेको बताएपछि झन् चकित बन्दै अर्को मान्छेले छुरी चाहिँ किन उमालेको भनी सोधेछ। त्यस मान्छेले भनेछ, छुरीको इन्फेक्शनबाट बाँच्नलाई। छुट्टै गोर्खा राज्य माग्ने पुस्तैपछिका नेताहरू सबै त्यही छुरी उमाल्ने मान्छेझैं लागिरहेको हास्यास्पद र विडम्बनापूर्ण स्थिति छ। यो राजनैतिक-सामाजिक डाँवाडोलमा रचनात्मक चियाअड्डा, रक्सीअड्डा, कफीअड्डाहरूले हामीजस्ता आम मान्छेलाई बौद्धिक प्रश्रय दिनसक्ने थिए कि भन्ने सोच्दैगर्दा निदाउन-निदाउन लागेको थिएछु।

No comments:

Post a Comment