मुखपृष्ठ

Saturday, June 25, 2011

दैलोबाट

चुइँय... आधाराति पिसाब फेर्न दैलो खोलें। दैलो बोल्यो यसरी। साला, अरू बेला डराउँदै बोल्ने दैलो, आज कसरी यो च्याँठिएर बोलेको। एकछिन मनैमन झर्किएँ। पानी पर्न थालेपछि आर्द्रताले ढुस्सिएर दैलाहरू यसरी बज्छन्। फरमासँग खाप नखाएर कराउने दैलोले यसरी घोड़ा बेचेर सुत्नेहरूको निद्रामा कि विसर्ग, कि अर्द्धविराम, नभए पूर्णविरामै लगाइदिनेगर्छ। दैलो बोलेको सुनेर यस्तो गर्मीको रातमा मलाई केही वर्षअघिको जाड़ो साँझको पो झझल्को भयो। त्यो साँझ कवि-चित्रकार दाइ केवलचन्द्र लामा केही भन्दैथिए। कवि मञ्जुलको बारेमा। दैलोको बारेमा।

कवि केवलले भने, "भाइ, दैलोजस्तो विषयमाथि गीत। विश्वास हुन्छ तिमीलाई?" उनी भन्दै गए, कसैले फूल-भमरा, कसैले प्रेममाथि गीत लेखे। मञ्जुलले चाहिँ खूब मिहिनेत गरेर लेखे दैलोको गीत। दैलो - सबैले आ-आफ्नो र अरूको घरमा सधैँ भेटेको तर कहिल्यै त्यसबारे केही विचार्ने, बोल्ने, लेख्ने नसोचेको। गीतको थीम फ्ल्याट भयो भन्ठानेर गीतलाई धेरैले एप्रिशिएट गर्न सकेनन्। दैलोजस्तो विषयलाई मञ्जुलले कसरी अङ्गाल्न सकेका? कसरी न्याय गर्न सकेका? ठीक के-के भने, उस्तै याद आउँदैन। तर यस्तै केही भन्दैथिए कवि केवल।

कसरी नचाहिएको ठानिएको विषय चाहिने विषय बनाएर प्रस्तुत गर्नुपर्छ। कसरी अफालिएको वा किनारिएको कुराबारे कुरा गर्नुपर्छ। कवि केवल अप्रत्यक्ष रूपले मलाई अभिप्रेरित गरिरहेका थिए। उनी कवि मञ्जुलको प्रतिभाको कदर गरिरहेका थिए। म चाहिँ हामीले सधैँ देखेको, छोएको, तानेको, ठेलेको मौन दैलोको कैरन गर्नलागेको थिएँ।

अहिलेसम्म सुन्न-पढ़्न पाइएन मञ्जुलको दैलोको गीत। तर मञ्जुलको सरल शैलीलाई, मिहिन खाले विचारलाई सम्झँदै यस्तो लेखेका होलान् त्यो दैलोको गीत भनेर गम्छु। यस्तो गम्छु र दैलोलाई अझ बढ़ी ख्याल गर्ने अभिप्रेरणाले ओतप्रोत हुन्छु। दैलो अब मेरो निम्ति दैलो मात्र रहेको छैन। दैलो अब वस्तुबाट मेरो चेतनाको तहमा उक्लिसकेको छ। जब मानव र दैलोको अन्योन्याश्रयी सहसम्बन्धन बुझ्न खोज्दछु, तब दैलोको दैलोपनमा म दैलोभित्र र दैलोबाहिरका तत्त्वहरूको अस्तित्वको चलखेल देखेर छक्क पर्छु।

मान्छेले प्रकृतिबाट पाएको रेडिमेड घर ओड़ारलाई विकसित गर्दै लैजाँदा उसले यसमा आफैले थपेका अङ्गहरूमध्ये महत्त्वपूर्ण भाग दैलो। दैलोले मानवको असुरक्षाबोधलाई उसको चेतनामा थुनिदिएको छ। लाग्छ, दैलोले ढाकिएर सुरक्षित ठान्ने मानव अब आफ्नै मानसिक र वस्तुगत व्यवस्थाले थुनिएर उकुसमुकुस छ।

कति-कति के-के गरेको दैलोले? लेखाजोखा गर्दै जान्छु। दैलोले जन्माउँछ घरको, समाजको, देशको भित्र र बाहिर। नातागोता, नियम, परम्परा, विचार, संस्कृतिमा थुप्रै भित्रकाहरू र बाहिरकाहरू। भित्र र बाहिरमा फ्याक पारिएको मान्छेको आफ्नै व्यक्तित्व देखेर मलाई एकतमासको विरक्ति लाग्छ। मान्छेका महरू र हामीहरू पनि दैलोले गर्दा "भित्रका म-हामी" र "बाहिरका म-हामी" भएका। समयको घामछायाँले कुरा कहाँसम्म पुग्छ भने दैलो नै उल्टिएर कहिले भित्र चाहिँ बाहिर र कहिले बाहिर भने भित्र हुन्छ। यसो र भित्र के, बाहिर के? आगो के, धुवाँ के? सरल के, जटिल के? भौतिकीले तत्त्वका विपरीत पारमाण्विक कणहरू एकार्कामा फेरिरहेको कुरा गर्छ। परमाणुमाझैँ भित्रहरू र बाहिरहरू एकार्कामा यसरी अदलाबदली भइरहने यो समाजमा भित्र र बाहिरको वास्तविकताले मान्छेलाई जीवनको छाला काढ़ेर रानीमासुसम्मै सुँघ्न लगाउँछ। यो कुरो हामी तब यथार्थको तहमा आत्मस्थ गर्न सक्छौँ, जब हामी समाजको द्वन्द्वात्मक चरित्र छिचोल्छौँ।

मान्छेको समाज कसरी भित्र र बाहिरमा बाँड़िएको छ, कसरी मान्छे यही भित्र र बाहिरबाट एकार्कासँग जुझिबस्नुपर्छ, यो द्वन्द्वबोधलाई दृष्टान्तमा हेर्दा पनि हुने हो। यो संसारलाई जति नै गणतन्त्र, समानता र स्वतन्त्रताका शब्दावलीले बाहिरबाट सिङ्गारे पनि भित्रबाट संसारलाई चारित्रिक क्रान्ति खाँचो रहेको थाहा लाग्छ। जब कोही देशभित्र, कोही देशबाहिर पर्छ, जब कोही जातिभित्र, कोही जातिबाहिर पर्छ, जब कोही कानूनभित्र, कोही कानूनबाहिर पर्छ, जब कोही हकभित्र, कोही हकबाहिर पर्छ, तब भित्र र बाहिरको यो नाङ्गो र घीनलाग्दो सत्यले दैलोको त्रासद सत्यलाई अझ चहकिलो गरी देखाउँछ। मानवीय इतिहासको थालनीदेखि नै दैलो यसरी विभाजन, असमानता र शोषणको भौतिक प्रतीक रहिआएको पाउँछौँ। जसरी धर्म हो मानसिक प्रतीक।

तर दैलोका दार्शनिक विमर्श पनि छन् जहाँ दैलो कुनै नयाँ वाक्, विचार, बोधनको बाटो खोल्ने माध्यमको प्रतीक हुन्छ। कवि विलियम ब्लेकको भनाइमा "जब बोधनका दैलोहरू सफा हुन्छन्, तब मान्छेले वस्तुहरू जस्ताको त्यस्तै, अनन्तमा देख्न सक्दछ।" यही काव्यांशबाट उत्प्रेरित भएर सन् 1954-मा एल्डस हक्सले आफ्नो निबन्धको शीर्षक राख्छन् 'डुवर्स अफ पर्सेप्सन' (बोधनका दैलोहरू)। जानिएका कुरा छन्। नजानिएका कुरा छन्। ती दुवैबीच छन् बोधनका दैलो। हक्सलेको यही भनाइबाट उत्प्रेरित भएर कवि जिम मरिशनहरू आफ्नो साङ्गीतिक ब्याण्ड-को नाम गर्छन् 'डुवर्स' (दैलोहरू)। 60-को दशकमा आएको रक सङ्गीतको हुरीमा मरिशनहरूले गीतमार्फत् विचारको उत्पात मच्च्याए।

बोधनको, हेराइको, बुझाइको यस्तै सफा दैलोको अर्थमा दैलो परिशोधन, परिमार्जन र क्रान्तिको विम्ब समेत बन्न पुग्दोरहेछ। कवि एन्तोनियो पोर्शियाअनुसार एउटा बोधनको दैलो खोलेर कहीँ पस्दा सयौँ बन्द दैलोहरूले हामीलाई पर्खिरहेका हुन्छन्। दैलोपछि दैलो, ती दैलोपछि अझ अरू दैलोहरूको सातत्यमा नै छ जीवनको गति। तर हामी दैलोभित्र छौँ वा बाहिर, सोध्नु मन हुन्छ दैलोलाई। भित्र छौँ कि बाहिर, जबसम्म यो भेउ हामी पाउँदैनौँ, तबसम्म कसरी भन्ने हामी कहाँ छौँ? कहाँ पुग्यौँ? जातजाति, धर्म, समुदाय, राष्ट्रियताहरूका गुफाका चिराहरूबाट डराउँदै संसार हेरिरहेका हामी बोधनका दैलो नउघारेसम्म जति नै भौतिक उन्नति गरे पनि जहाँको त्यहीँ आफूलाई आदिम बर्बर गुफाहरूमै थुनिरहनेछौँ। चुपचाप उभिबसेको लाग्ने दैलोले मानव इतिहासको कथा मुखैमा लुकाएर बसेको प्रतीत हुन्छ। दैलोलाई घचघचाउँदै सोध्न मन हुन्छ, "दैलो, मान्छे कति बदलियो वा कति उस्तै छ?"

मञ्जुलले लेखेको दैलोको गीतमा दैलोका यी कुरा पनि पसे होलान्, सोच्दै पिसाब फेरिसकेको छु। कोठाभित्र पसेर दैलो बन्द गर्छु। फेरि बोल्छ दैलो त चुइँय...। ओछ्यान पस्नअघि आफ्नो हात एकपल्ट बत्तीमा राम्ररी नियालेर हेरेँ। मान्छेको इतिहासबाट आएको क्रन्दन र चित्कारहरू भित्रै थुनेर राखेको दैलोको जीउमा दागहरू छन्। दैलोमा धर्मयुद्ध, औपनिवेशिकयुद्ध, गृहयुद्धका खुनका छिटाहरू परेर बसेका दागहरू छन्, जसलाई हामी रङ्ग गरेर, पलिसले चम्काएर ढाकछोप गर्नखोज्छौँ। सुन्नु भयो, त्यो दाग दैलोबाट भर्खरै मेरै हातमा पनि सरेको महसुस भयो।

No comments:

Post a Comment