मुखपृष्ठ

Saturday, July 02, 2011

घोड़ा, तस्लिमा र लाज

केही दिनअघिको कुरा। उल्टा बेला मिरिक जाने सल्लाह भयो। पर्यटनको मौसममा पनि पर्यटकशून्य मिरिकको एक्लोपन देखेर एकतमासको खल्लो लाग्यो। तर मिरिकको बाटोको आफ्नै सौन्दर्यगत विशेषता छ। बाटोभरि भेटिने चियाकमानहरूको घुमाउरो थुम्काथुम्कीहरूको मनोरम सौन्दर्यको तुलना दार्जीलिङ-कालेबुङ-सिक्किम सबैसँग गरेपछि मलाई त मिरिकै मन पर्छ। नागबेली बाटो उक्लँदै समुद्रतलदेखि हजारौँ फीट माथि छौँ। जति गोलाइ नाघिन्छ, उति केही फीट अझ चढ़िन्छ। लाग्छ, बादल त छन् तलतल, अझ तल। टेकुँटेकुँ लाग्ने। मनैमन सोधेँ मिरिकका चुपचाप धुप्पीहरूलाई- "ओ मिरिक, तिमी जाति नै छौ?" तर सधैँ चिटिकचाटाक परेर बस्ने मिरिक यसपालि अलिक फोहोरीफोहोरी पनि लाग्यो। के भयो? कसको खेल पर्योट? चिरिच्याँट्ट सुन्दर मिरिकले आफ्नो लावण्य गुमाइरहेको छ कि? कि मिरिक ठीकै छ? यो मेरो दृष्टिभ्रम त होइन? अन्योलताले चिमोटिरह्यो।

 नौका चल्न बन्द भएको कहिलेदेखि, थाहा भएन। धन्न घोड़ा चढ़्न पाइँदो रहेछ। घोड़ा चढ़्यौँ। दुइएक पर्यटकहरूलाई घोड़ा चढ़ाएर झीलको पल्लो किनार डुलाएर ल्याउने सइसहरू घोड़ा चढ़्नेहरूको पर्खाइमा व्यग्र देखिन्छन्। प्रायजसो सइस नै चौध-पन्ध्र वर्षका ठिटाहरू छन्। उनीहरूको घोड़ा हाँक्ने आत्मविश्वास देखेर छक्क परेँ। केही घोड़ा छाड़ेर प्राय घोड़ा मन दुखिरहेका, जीउ दुखिरहेका, भोक लागिरहेकाजस्ता देखिने। मायामाया पनि लाग्यो चढ़्नु। तर चढ़ेँ।

म चढ़ेको सेतो घोड़ाका मालिक सइस ठिटौले छ। उसलाई बिस्तारै सोधेँ, "यो घोड़ा कसको?"

"आफ्नै हो," उसले धाकसँग भन्यो।

"कतिवटा छन् होला यहाँ घोड़ा जम्मा?"

"झण्डै बीसपच्चीसवटा," उसले सोच्दै जवाफ दियो।

यसबेला घोड़ालाई उसले पुलमा चढ़ायो। पुल बीचमा पुगेर घोड़ा अघि बढ़्न मानेन। डर पनि लाग्यो। कतै यसले झार्ने त होइन? तर त्यसो भएन। घोड़ालाई त सइसको चाबुकको पो पर्खाइ रहेछ। मानसिक नियन्त्रण र हैकमको चाक्लो दृष्टान्त। समाजमा पनि एउटा ताकतवर वर्गले अर्को कमजोर वर्गलाई यसरी नै नियन्त्रण गर्दै आएको छ। व्यक्तिलाई आफू र समाज दुवैले थोपेको नियन्त्रणले चाहिँ ऊभित्र श्लीलता, आचरण, अनुशासन, चरित्र, व्यवहार र लज्जाको जन्म दिन्छ। समाजको नियमपरम्परा नियन्त्रण बिना असम्भव छ। व्यवस्थाको परिचालन र स्थायीकरणका लागि पनि चाहिने नियन्त्रण। अरूले गरेको नियन्त्रणलाई नमान्न ऐन अवमानना, सत्याग्रह, सशस्त्र आन्दोलनहरू भएका। अरूको अरनखटन, हेपाइ मन नपराउने, आफैले आफूलाई नियन्त्रण गरिनु मन पराउने मान्छे विश्वभरि आत्मनिर्णयको लड़ाइँ लड़िरहेका। तर संसार अझ नियन्त्रण गर्ने र नियन्त्रण हुनेहरूमाझ विभाजित छ। जबसम्म यो विभाजन टुट्दैन, शायद मानव समाज एकता, समानता र स्वतन्त्रताजस्ता विचारलाई व्यावहारिकतामा भोग्न नपाएर छटपटिरहनेछ। जसरी यो घोड़ा अहिले अघि बढ़्न मानेको छैन। थाकेको, अल्छी लागेको, हारेको घोड़ा फेरि अघि बढ़्यो एकपल्ट हिनहिनाएपछि। त्यसको हिनहिनाइमा आक्रोश पनि थियो, हुकूमको स्वीकारोक्ति पनि। सइसको चाबुक एकपल्ट पेरि बज्छ।

चड़कन दिँदै सइस ठिटोले अबोला घोड़ालाई भन्यो, "साला, हिँड़्। खुट्टा फ्याँक्छस्?" त्यसपछि लुरुलुरु हिँड़्छ घोड़ा। बोल्न सके पो। सबल्टर्न बोल्न सक्ला र भन्ने विवादास्पद शङ्काझैँ घोड़ाविषयी शङ्काले मलाई गिजोल्छ। मसिना कुराहरूले मलाई छोए। कुत्कुताए।

घोड़चढ़ी गरेको केही बेरपछि झीलछेउको झीँगासरिको एउटा होटलमा बस्यौँ। परपर झीलतिर हेरिपठायौँ। शान्त सौम्य धुप्पीका रूखहरू देखिन्छन्। उहिलेउहिलेका कथाहरू लुकाएर राखेकाझैँ। सोधुँसोधुँ लाग्ने। उकालो हेरिपठाउँदा केही माथि गुम्बा, त्यसभन्दामाथि सोझै आकाश देखिन्छ। चढ़ुँ-चढ़ुँ लाग्ने। वाइवाइ र मोमो अर्डर गर्यौँह। ग्राहक सम्बन्ध टिकाउन त होइन, फुराउनै नजान्ने भाइहरूले चलाउँदा रहेछन् होटल। लगभग एक घण्टापछि वाइवाइ आयो। त्यो पनि कामचलाउ प्रकारले बनिएको। मोमोको अर्डर रोकेर हतारहतार वाइवाइ खाएर फर्किने तर्खरमा लाग्यौँ।

फर्कँदा रमरम साँझ भइसकेको थियो। कृष्णनगर पार गर्न लाग्दा एउटा चिनिएको आकार बिस्तारै हिँड़िरहेको देख्छु।

"अङ्कल, कस्तो हुनुहुन्छ," मैले अत्तालिएर रमाउँदै सोधेँ।

"जाति नै। तिमी यता? कार्यालयको कामले?" अचम्मित र आनन्दित बन्दै उनले भने।

मैले भनें, "होइन, त्यसै घुम्दैफिर्दै।"

"हिँड़-हिँड़ घर जाऊँ। एक-एक कप चिया पिएर जाऊ", तिनले स्नेहपूर्वक प्रस्ताव राखे।

मैले अबेर भइसकेकोले अर्को मौकामा घर जाने वाचा गरेँ। कवि विचन्द्रको मिरिकको घर देखाए कवि विचन्द्रले, "ऊ त्यो मेरो घर। पछि पक्का आउनु नि ल।"

अवकाशको जीवन काव्यमय तरीकाले बिताइरहेका कवि विचन्द्रको शिरमा पुलिसको सोझो टोपीको सट्टा छड़्के ढाका टोपी देख्ता एकप्रकारको मज्ज लाग्यो। मैलेँ मन बिगार्दै बिदा मागेँ। उनी टहल्न लागे। म ओह्रालो झर्न लाग्दा निकै बेर उनको स्मृति भइरह्यो।

 धेरै भयो, तस्लिमा नसरीनको कुरा सुनिँदैन। गरिँदैन पनि। कहाँ छिन्, के गर्दैछिन्- कवि विचन्द्रलाई देखेपछि याद आउँछ। कवि विचन्द्र तसलिमा भनेपछि हुरुक्कै हुन्छन्। उनको कवित्वबाट प्रभावित भएर उनले तसलिमाका कविताहरूको अनुवाद ग्रन्थ समेत छापे। तसलिमामाथि कविता लेखे। केही वर्षअघि तसलिमा दार्जीलिङ आउँदा तसलिमाको सुरक्षाको दायित्व पाएका थिए होलान्। सँगसँगै फोटो खिचाएर लेखकविता सुनचरीमा छपाए।

तसलिमा कहाँ छिन्- म यस सूचनाले अपडेटेड छैन। तसलिमाको कुराले भन्न लगायो- अचेल मान्छेलाई लाज लाग्नुपर्ने कुरामा लाज लाग्दैन। लाज नलाग्नु पर्ने कुरामा लाज लाग्छ। कट्टरता, धार्मिक अन्धोपन, जातिवादको लाजको पोल खोल्दै 'लज्जा' लेखिन् तस्लिमाले। उनको गृहदेश बङ्ग्लादेशमा किताब त प्रतिबन्धित भयो-भयो, उनी स्वयं नै पनि प्रतिबन्धित भइन्। असली लाजको बारेमा लेख्दा देशबाट निष्कासित हुनुपर्ने बेला छ तस्लिमालेझैँ। लाजको बारेमा कुरा गर्ने प्रायोजित सिजनल नेताहरू हजारेहरू र रामदेवहरू धरि लज्जित हुनुपर्ने स्थति छ। तस्लिमाझैँ निर्वासन भोगेर बसेको समाजमा निर्वासित जीवन बिताउन बाध्य छौँ। नलजाएर पनि जबरजस्ती लजाउन बाध्य। लजाएर पनि जबरजस्ती नलजाउन बाध्य।

नाङ्गो राजा देखेर पनि लुगा लगाएको देखेको भ्रम वा बुझ पचाइअघि राजालाई नाङ्गै देख्ने र नाङ्गै छ भन्ने इमानदार बालकको सत्योक्तिप्रति उदासीन हामी सदा साँचो बोल्नुको, साँचो बाँच्नुको नाटक खेलेर झूठो, बोक्रे र खोक्रो जीवन बिताउँदछौँ। "राजा त नाङ्गै छ त" भन्ने बालक पनि अचेल कता हरायो कुन्नि? लाग्छ, व्यक्तिगत र सामूहिक लाज हराएको छाड़ा समाजमा नयाँ अराजकताको कि निर्माण कि संहार पर्खेर बसेका छौँ। कहाँ लाज लाग्नुपर्ने, कहाँ नलाग्नुपर्ने, सुध हराएर समाजले निर्लज्जतालाई रक्षा गर्न नयाँनयाँ ऐन, सेटअप र परिभाषाको कालिगढ़ी गर्दैछ। सभ्यताको यो ढोङ र नाङ्गोपन देखेर लाजलाज लागेर आउँछ। तर पची पनि त हाल्छ। कस्तो विडम्बना?

No comments:

Post a Comment